हिमाली सभ्यताको जीवन्त धर्म, कला–संस्कृति, ज्ञान–विज्ञान, साधना, स्वास्थ्य–शिक्षा, मानव विकास–मानव समाज, चिन्तन–दर्शन,मनोविज्ञान–परामनोविज्ञान–भावातीत मनोविज्ञान, जगत्–जीव–जीवन, नीति–राजनीति आदिको मूल स्रोत योग हो । योगको साधनाद्वारा सत्यको साक्षात्कार गर्नुलाई मानव जीवनको सर्वाेच्च प्राप्ति मानिएको छ । योगले मानव सम्भावनाका सम्पूर्ण ढोकाहरू खोल्न र मानवभित्र रहेको परम् मानवलाई प्रकट गराउन सयौं साधना–पथहरूको खोज गरेको थियो । पथ–यात्राको नक्सारूपी साधना र पथहीन अनन्तको यात्राको सूचना र गन्तव्यको संकेत दिएको थियो । मानव रूपान्तरण या मानवको सर्वाङ्कीण, सर्वाभौम र सनातन विकासका लागि वर्तमान विश्व इतिहासमा योगभन्दा अर्को महाविज्ञान जन्मेको छैन । हिमाली सभ्यताको महाविज्ञान योग र त्यसको मूल स्रोत ‘शिव’ । शिवको सनातन निवास । हिमालयको केन्द्र वर्तमान नेपाल । यहीँबाट योग विश्वभर फैलियो । फैलने क्रममा व्यक्ति–व्यक्तिमा दृष्टिअनुसार दृश्यरूपमा परिवर्तन आउँदै गयो । प्रतिफल विभिन्न विचार–व्यवहारले धर्मको वर्तमान स्वरूप लिए । ती वर्तमान धर्मभित्र पनि धेरै घेराहरू कोरिए । भेद र भित्ताहरूले धर्म रित्ता भए । हरेक घेरा एवं भेद र भित्ताहरूले सम्प्रदायको रूप लिए । मानव, पशु–पक्षी, वनस्पति, पञ्चमहाभूत आदिबीचको सहसम्बन्धको समाज साधना खण्डित भई मानव–मानव एकले अर्कोलाई दुश्मनको रूपमा हेर्न थाले ।
आफूभित्रको सत्यलाई हेर्न छाडे । प्रेम, शान्ति, करुणा, सत्य, अहिंसा आदि सार्वभौम महाव्रतहरूलाई नै निर्लज्ज हिंसा गर्दै मानव अघि बढ्न थाल्यो । योग साधना मानव हृदयबाट निस्केर ग्रन्थका ग्रन्थिहरूमा सीमित भए । साधना छाडेर शास्त्रार्थको छद्म नाटक र तपोबल छाडेर राज्याश्रित बलतर्फ धर्मका आचार्यहरू बढ्न थाले । प्रतिफल विश्वबन्धुत्वको समाज क्षतविक्षत हुन थाल्यो । विश्वभर धेरै नवीन धर्महरूले जन्म लिए र तिनका सन्तानका रूपमा असीमित सम्प्रदायहरू जन्मिए । विश्व इतिहासमा सबैभन्दा बढी युद्ध र मानव विनाश धर्मकै नाममा भयो । प्रतिफल मानव सभ्यता दिनानुदिन धर्मको नाममा अधार्मिक जीवनशैलीमा भासिँदै गयो । यसबाट व्यक्ति र विश्वब्रह्माण्डलाई बचाउन हरेक मानवलाई स्वधर्म साधना चाहिन्छ । स्वधर्म नै आउने समयको विश्वधर्म हो । मानवलाई चैतन्यबोधबाट मात्र आनन्द मिल्दछ । शान्ति मिल्दछ । यो केवल भौतिक, सामाजिक या आध्यात्मिक विकासको एकल प्राप्तिबाट मात्र मिल्दैन । यी तीनै एकसाथ विकास भए मात्र मानव विकास सम्भव छ । स्वधर्ममा शरीरयोग, विश्वयोग र अनादियोगको त्रियोग या भनौं त्रिक दर्शनको त्रिवेणी छ । शरीरयोगबाट स्वधर्मको यात्रा, विश्वयोगबाट स्वधर्मको यात्रा र अनादियोगबाट स्वधर्मको यात्रा ।
विभिन्न धर्म–सम्प्रदायका बलिया डोरीले बाँधिएर बसेका सम्पूर्ण मानव मित्रहरूलाई म स्वधर्म साधनामा आउन मंगल आमन्त्रण गर्दछु । यो स्वधर्म साधनामा आउन तपाईं आफूले स्वीकारेको धर्म– सम्प्रदायलाई छाड्नुपर्ने या नयाँ धर्मलाई स्वीकार्नुपर्ने बाध्यता छैन । यहाँ कुनै धर्म–सम्प्रदायको स्वीकृति या विरोध सिकाइँदैन केवल धर्मको धर्म, स्वधर्म सिकाइन्छ । जो सम्पूर्ण धर्म–सम्प्रदायको साझा गन्तव्य या भनौं मूल हो । जहाँ नपुगी सम्पूर्ण प्रश्नको उत्तर मिल्ने छैन र वर्षौं वर्षको दुःख, पीडा र छटपटी अन्त्य हुनेछैन । जल हिमालयमा जन्मियो नदी, ताल र समुद्र बनेर संसारभर फैलियो । अब पुनः उत्तरवाहिनी हुनुपरेको छ । आफ्नो मूल उद्गमतर्फ; त्यही नै मानसाग्निद्वारा अनादि सत्ताले बताएको स्वधर्म हो । स्वधर्मका तीन सूत्रहरूको संक्षिप्त रूपरेखा :
शरीरलाई पापको घर मान्नेहरूले मानवलाई परधर्मी बनाए । शरीर त देवालय हो । योभन्दा परम पवित्र स्थल अर्को छैन । यसलाई दूषित हुनबाट बचायौं भने मात्र स्वधर्मको यात्रा आरम्भ हुन्छ । आध्यात्मिक विज्ञानको दृष्टिले हेरे पनि, भौतिक विज्ञानको दृष्टिले हेरे पनि दृश्य सत्ताको केन्द्र शरीर नै हो । यसैबाट हाम्रो स्वधर्मको दिव्य यात्रा सुरु हुन्छ । अथर्ववेदमा भनिएको छ– शरीर देवताहरूको नगर अयोध्या हो । यसमा अष्टचक्र, नवद्वार र ज्योतिर्मय आत्माको त्रिकोण रूप प्रतिष्ठित छ । यो अयोध्यारूपी नगरमा ब्रह्मको निवास छ । यहाँ अयोध्याको अर्थ अत्यन्त कठिनाइका साथ जान्न र जाग्न सकिने भन्ने हो । योगीहरूले स्वधर्म साधनाद्वारा यस शरीरलाई जान्न र त्यसबाट जागेर अगाडि बढ्न सक्दछन् । अथर्ववेदमै अर्को ठाउँमा भनिएको छ– शरीर अमृतले परिपूर्ण स्वर्णमयी नगरी हो जहाँ देवताको निवास छ । शरीरमा देवताका साथै ब्रह्मले पनि प्रवेश गरेको छ । साथै चारै वेद र ज्ञान–विज्ञानले पनि प्रवेश गरेको छ । यो शरीरमा सम्पूर्ण देवता यसरी जम्मा भएका छन् जसरी गौशालामा गाई–गोरु ।’
यसरी वैदिक वाङ्मयले यो शरीरलाई दिव्य देवालयका रूपमा पुष्टि गरेको छ । शैव वाङ्मयले पनि यसरी नै पुष्टि गरेको छ । शरीरमा सम्पूर्ण देवता, देवताका प्रतिनिधि, देव–दानव, ब्रह्म, देव पात्र शरीर आदि विभिन्न रूपमा शरीरको महत्व स्वीकारेको छ । हामीले शरीर रचना एवं क्रिया विज्ञानको दृष्टिले हेरौं या सत्व, रज र तमरूपी त्रिगुणात्मक दृष्टिले हेरौं या आकाश, वायु, अग्नि, जल, पृथ्वीरूपी पञ्चतत्वको दृष्टिले हेरौं । पाँच सूक्ष्म भूत, पाँच ज्ञान इन्द्रिय, पाँच कर्म इन्द्रिय, पाँच प्राण, अन्तःकरण, चतुष्टयरूपी ब्रह्मको चौबीस तत्वको दृष्टिले हेरौं या स्थूल शरीर, सूक्ष्म शरीर र कारण शरीरको दृष्टिले हेरौं ।
अन्नमय कोश, प्राणमय कोश, मनोमय कोश, विज्ञानमय कोश र आनन्दमय कोशरूपी पञ्चकोशको दृष्टिले हेरौं या जाग्रत अवस्था, स्वप्न अवस्था, सुषुप्त अवस्था र तुरीय अवस्थाका दृष्टिले हेरौं । यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधिरूपी अष्टाङ्क योगको दृष्टिले हेरौं या राजयोग, ज्ञानयोग, कर्मयोग, भक्तियोग, हठयोग, सांख्ययोग, ब्रह्मयोग, विभूतियोग आदिको दृष्टिले हेरौं । मूलाधार चक्र, स्वाधिष्ठान चक्र, मणिपुर चक्र, अनाहत चक्र, विशुद्ध चक्र, आज्ञा चक्र, सहस्रार चक्ररूपी षट्चक्रको दृष्टिले हेरौं या अस्थिपञ्जरप्रणाली, मांसपेशी प्रणाली, पाचन प्रणाली, स्वसन प्रणाली, रक्तसञ्चार प्रणाली, विसर्जन प्रणाली, ग्रन्थि प्रणाली, प्रजनन् प्रणाली, स्नायु प्रणाली आदिका दृष्टिले हेरौं । यी सबैको आधार शरीर नै हो । शरीरको अभावमा यी कुनैले दृश्य जगत्मा केही कार्य गर्न सक्दैनन् । यसैले शरीरको महत्वको जति व्याख्या गरे पनि कम हुन्छ । शरीर योगले यही महत्वलाई साधनाका माध्यमबाट चिनाउँदै स्थूल शरीरको स्वस्थताका साथ दिव्य शरीरको विराट् स्वरूपको दर्शन गराई सम्बुद्ध हुने महाविज्ञान सिकाउँछ ।
शरीर योग कर्म योगको बृहत् स्वरूप हो । शरीरको माध्यमबाटै सम्पूर्ण कर्महरू हुन्छन् । योगका लागि होस् या भोगका लागि, शरीर एउटा माध्यम हो । यस विराट विश्वमा हामी शरीरकै माध्यमबाट सम्पूर्ण कार्यहरू सम्पादन गर्छौं । यी कार्यहरूको सम्पादन निष्काम भावले हुन थालेपछि यो कर्म योग हुन्छ ।
विश्वब्रह्माण्ड र यसमा हुने दैनन्दिन गतिविधिहरू, मानव– पशुपक्षी–कीटपतङ्क–वनस्पति–पञ्चमहाभूत आदिको अन्तर्सम्बन्धद्वारा विकसित पवित्र स्थल विश्व हो । शरीररूपी देवालयको सुन्दर उद्यान, यही उद्यानबाट हामीले सत्यम्–शिवम्–सुन्दरम्को यात्रा आरम्भ गर्दछौं । यहाँका हरेक कर्मयोगहरू सुन्दर पूmल हुन् जो परमात्माका लागि प्रिय छन् । विश्व हाम्रो विराट् शरीरको एक हिस्सा हो । यसलाई जति प्राकृतिक स्वरूपमा राख्न सक्यो हाम्रो सर्वमंगल त्यसैमा निहित छ ।
शरीरयोगबाट सुरु भएको स्वधर्मको यात्रा विश्वयोगमा आइपुग्दा यसले एक आकार लिन्छ निराकारमा प्रवेशका लागि । विश्वयोगमा स्त्री–पुरुष, माता–पिता र छोरा–छोरी वल्लोघर–पल्लोघर, वल्लोगाउँ–पल्लोगाउँ, वल्लोदेश–पल्लोदेश आदिका बीचको मंगल सम्बन्ध; मानव र पशुपक्षी, मानव र वनस्पति, मानव र प्रकृति आदिबीचको मंगल सम्बन्ध; पृथ्वी र अन्य ग्रहपिण्डबीचको मंगल सम्बन्धका लागि मानवको योगदान आदिको शिक्षा–साधनाद्वारा रूपान्तरणको कार्य प्रारम्भ हुनेछ ।
विवाह ईडा र पिङ्कलाको दिव्य आलिङ्कनबाट तन्त्र चैतन्यको सनातन सुषुम्णा प्रवाहित हुनुपर्ने तर विवाह अहिले झगडा गर्ने अनुमति–पत्र बनेको छ । सन्तान जन्माउनु चैतन्यको चरम प्रयोग नभएर बेहोशीको मनोरञ्जन भएको छ । यही कारणले माता– पिता र पुत्र–पुत्रीबीचको दैवी सम्बन्ध मेटिएको छ ।
जात–पात, रूप–रंग, धर्म–सम्प्रदाय, राष्ट्र–राष्ट्रियता आदिको भेद र भित्ताहरूले मानव सम्भावनाका हरेक ढोका बन्द गरिदिएका छन् । हरेक क्षेत्रमा छुत–अछुतको घेरा कोरिएको छ । जसले मानवभित्र रहेको विराट् सत्यलाई हिंसा गरिरहेको छ । विश्वबन्धुत्वको कालजयी जीवनशैलीलाई युद्ध र हिंसाको कालपराजित् जीवनशैलीमा धकेलेको छ । आचारः परमो धर्मः को जीवनशैलीबाट उठेको विश्व सभ्यता आज दुराचारमा भासिएको छ ।
आकाश, वायु, अग्नि, जल, पृथ्वी सबै प्रकृतिका सुन्दर कृति साथै यसैमा आश्रित र विकसित मानव, जीव–जन्तु, वनस्पति आदि जीव जगत् आज संकटमा छ । यो संकट मानवले विश्व योगको शिक्षा र साधनालाई छाड्दै जानुले सृजना भएको हो । हरेक अमृत स्रोतहरूलाई हाम्रो बेहोसीले विष स्रोतमा परिणत गरेका छन् । प्रकृतिको दिव्य व्यवस्थापनमा प्रकृति र मानव अन्तरसम्बन्धबाट अगाडि बढ्नुपर्नेमा मानवले आफ्नो अहङ्गार, महत्वाकाङ्क्षा र प्रतिस्पर्धाका हतियारको बलमा प्रकृतिमाथि शासन गर्ने दुस्साहस गरिरहेको छ । प्रतिफल मानव सभ्यता घुँडा टेक्दैछ । प्राकृतिक जीवनशैली नै जगत्, जीव र जीवनको रक्षा एवं विकासको मूल स्रोत हो । अप्राकृतिक जीवनशैलीद्वारा आनन्द र उत्सवमय जीवन सम्भव छैन ।
स्वस्थकर दीर्घजीवन दिनसक्ने र आजको विश्वमा घातक रोगका रूपमा देखिएका स्वास्थ्य समस्यालाई सजिलै उपचार गर्न सक्ने दिव्य वनौषधिहरू वनस्पति विनाशको आधुनिक सभ्यताका साथ लोप हुँदैछन् या लोपोन्मुख छन् । वनस्पति जगत्लाई रक्षा र विकास गर्ने हिमवत्खण्डको वैज्ञानिक संस्कृति आज धराशायी छ जसमा वनस्पतिलाई देवतुल्य मानी पूजा गरिन्थ्यो । मांसाहार, बलिप्रथा, जीव– जन्तु, चरा–चुरुङ्कीलाई मारेर या पीडा दिएर प्राप्त हुने सौन्दर्य प्रशाधन र आभूषण एवं गृहसज्जाका सामान आदिले जीव जगत् संकटमा छ । यस विश्वमा रहेका प्रकृतिका सुन्दरतम कृतिहरू जो जीवन्त छन् ती मानव निर्मित होइनन् र तीबिना मानव सभ्यतामात्र होइन जीव जगत् नै एक पाइला अगाडि सर्न सक्दैन र पनि मानव दैनिक तिनैको विनाशसँग प्रत्यक्ष सम्बन्ध राख्ने सभ्यतातर्पm अगाडि बढिरहेको छ । मानव, जीव– जन्तु, चरा–चुरुङ्की, कीट–पतङ्क, वन–वनस्पति, पञ्चमहाभूत अन्तरिक्ष आदि र ती सबैको मूलस्रोतको अन्तरसम्बन्धबाट विकसित विराट्विश्वलाई मूल स्वरूपमा विकसित गराउने सार्वभौम सनातन धर्म, कला, संस्कृति, विज्ञान आदि धराशायी भएको छ । यसलाई पुनर्जागरण गर्न साधनाका माध्यमबाट विश्वरूपलाई आफ्नो स्वरूपमा स्थिर गराउँदै विराट् विश्वको दर्शनद्वारा सम्बुद्ध बनाउने महाविज्ञानको नाम विश्वयोग हो ।
हामी सबैलाई आफ्ना सृजना प्रिय हुन्छन् । ती सृजनालाई माया गर्नेहरू पनि प्रिय हुन्छन् । यो विराट विश्व परमात्माको सृजना हो । र यो विश्वलाई सुन्दर बनाउन जसले काम गर्छ ऊ परमात्माको प्रिय हुन्छ । परमात्माको सृजनलाई सुन्दर स्वरूपमा राख्नु नै सबैभन्दा ठूलो पूजा र भक्ति हो । त्यसैले विश्व योगले यो विराट विश्वमा फैलिएको दिव्य सृजनालाई परमात्माकै मूल स्वरूप मानेर भक्तिपूर्वक त्यसलाई माया, प्रेम र सुरक्षा दिन सिकाउँछ ।
जगदीश्वर, जगत्, जीव र जीवनको मूल स्रोत अनादि सत्ता । सृष्टि–स्थिति–प्रलय अनादि सत्ताकै विभिन्न रूपमा भएको अभिव्यक्ति हो । दृश्य सत्ताका सम्पूर्ण कुरा यसैबाट जन्मिएका हुन्, यसैद्वारा सञ्चालित एवं विकसित छन् र मृत्यु या विघटनपछि यसैमा मिल्दछन् । यसको आदि, मध्य र अन्त छैन । यो नै एकमात्र सनातन सत्य हो । विश्वब्रह्माण्डमा जे–जति कुरा छन् तिनमा यसैको पूर्ण उपस्थिति छ । रूपमा भिन्नता छ तर मूल तत्वमा भिन्नता छैन । भिन्नता देख्नु नै अज्ञानता हो र सबैमा उसैको उपस्थिति देख्नु नै महाज्ञान या संबोधि ।
विश्वका ऋषिहरू, पैगम्बरहरू, दार्शनिकहरू, सन्तहरू, साधकहरू, धर्म एवं धर्म प्रवर्तकहरू आदिले अनादिलाई त्यसको विराट् अभिव्यक्ति या साधनाबाट प्राप्त दृष्टि एवं अनुभूतिको आधारमा विभिन्न नाम–रूपबाट निराकारलाई लोकाकार दिन खोजेको पाइन्छ । जसका केही उदाहरण विनम्रता साथ बताउन चाहन्छु । जस्तै– अनादिलाई वेदान्तीहरूले ब्रह्म भने, सांख्यहरूले पुरुष भने, भक्तहरूले भगवान् भने, श्री हजरत मुहम्मदले इस्लाम् धर्ममा अल्लाहा भने, श्री ईसाले ईसाई धर्ममा गडफादर भने, श्री बुद्धले ज्ञातव्य भने, श्री वर्धमान महावीरले कैवल्यज्योति या केवलज्ञान भने, श्री कृष्णले श्रीमद्भागवद्गीतामा आत्मा या ब्रह्म भने, श्री याज्ञवल्क्यले आत्मा भने, श्री कपिलले पुरुष भने, श्री लाओत्सेले ताओ भने, श्री जरथुश्त्रले पारसी धर्ममा होरमज्द (आहुर मज्द) भने, श्री अब्राहमले यहुदी धर्ममा यहोवा भने, श्री नानकदेवले सिखधर्ममा ओंकार या गुरु भने, श्री किर्केगार्डले अस्तित्व भने, श्री हीगेलले विवेक या प्रेरक शक्ति भने, ग्रीसबासीले लोगोस भने, मिश्रबासीले मात भने आदि विभिन्न लोकनामबाट विराट् विश्वका मानिसहरूले अनादिको सर्वव्यापकतालाई चैतन्यबोधद्वारा स्वीकार गरेका छन् ।
मानवको आजको जीवनशैलीले अनादिसत्तातर्फ न त पाइला बढाउन सक्दछ न त चिन्न नै । जगदीश्वर, जगत्, जीव, जीवनका कृतिमा अनादिसत्ताको उपस्थिति देख्नु र तिनका हरेक क्रियाकलाप अनादिसत्ताद्वारा नै सञ्चालित भएको सत्यलाई जान्नु नै अमृत विद्या हो । अनादिको दर्शन भएपछि सम्पूर्ण प्रश्नको उत्तर मिल्दछ । यही बोधबाट नै संबोधि घटित हुन्छ । हामीले दिएका नाम–रूप सबै आफ्नो मूल स्वरूपमा गएर विलय हुन्छन् ।
ती करौडौं मानवतर्फ नहेर जसले प्रकाशका बीचमा अन्धकारलाई रोजेका छन् र त्यसैलाई समातेर त्यसैलाई गाली गरिरहेका छन् । ती इतिहास र इतिहासपारिका थोरै मानवलाई हेर जसले घोर अन्धकारबीच पनि अन्धकारलाई गाली नगरी प्रकाशलाई रोजेका छन् । सानो प्रकाशको झिल्को पाउँदा पनि आनन्द र अहोभावमा नाच्दै, उत्सव मनाउँदै अनादिसत्ताको दिव्य प्रकाशको भूमितर्फ बढिरहेका छन् । अनादियोगको साधना तिनैका लागि हो ।
साधनाका माध्यमबाट अनादि सत्तालाई साक्षात्कार गरी सम्बुद्ध बन्ने महाविज्ञान अनादियोग हो । त्रियोगको गन्तव्य नै स्वधर्म हो । स्वधर्म साधनाको आधार पनि त्रियोग नै हो, पथ पनि त्रियोग नै हो । स्वधर्मको उपलब्धतापछि मानव प्रयास र साधनापथ शान्त हुन्छन्, पथविहीन यात्रा अगाडि बढिरहन्छ ।
सरल शब्दमा भन्नुपर्दा लोकभाषामा जसलाई राजयोग भनिन्छ, त्यसको बृहत् स्वरूपलाई यहाँ अनादि योग भनिएको हो । लोक भाषामा जेलाई हामी कर्म योग, भक्ति योग र राज योग भन्दछौं, त्यसैको बृहत् स्वरूपलाई यहाँ शरीर योग, विश्व योग र अनादि योग भनिएको हो ।