अध्यात्म वार्ता
१- ध्यान के हो ?
शरीर चलिरहे स्वस्थ हुन्छ, मन नचले स्वस्थ हुन्छ । जन्मपछि संसारका सम्पूर्ण शिक्षा मनलाई चञ्चल बनाउनेतर्फ केन्द्रित भए, यसैले मन अस्वस्थ र दु:खी भयो । केही योग र आध्यात्मिक शिक्षाबाहेक सबै खाले शिक्षाले सूचनाका आधारमा रोबोटपथ देखाए । मन–मस्तिष्क, चित्त–चैतन्य सबैतिर होसको अभाव भयो, सूचनाका हुलदङ्गाले
कोलाहल पैदा गर्न थाले । बिहान उठेदेखि साँझ नसुत्दासम्म मनले
गरेका चलखेल हेर्ने हो भने र त्यसलाई हुबहु लेखेर अरू कसैलाई
देखाउने हो भने जो कोहीले पनि भन्दछ— यो कुनै पागलको दैनिकी
होला । सयौं बिनाकामका कुराकानीमा मन रमाउँछ, कामका कुरामा
आत्तिन्छ र भाग्दछ । आँखा खोलेर साथीहरूको हुलमा हुँदा कम कुरा
गर्ने मन आँखा बन्द गरेर आफूसँग केही क्षण बस्न खोज्दा हल्लाखोर
मच्चाउँछ र आँखा खोलेर भाग्न बाध्य गराउँछ । मनको हल्लाखोर र
कोलाहलमा निर्मल चित्त ढाकिन्छ । चित्तको चैतन्य हराउँछ । जीवन
दु:खको महासागर बन्दछ । यही मनको हल्लाखोर र कोलाहलबाट
मुक्त भई आनन्द, उत्सव र शान्तिका साथ सत्यको भूमिमा विचरण गर्ने
कला, संस्कृति र विज्ञानको नाम ध्यान हो । ध्यान विधि ध्यान होइन,
ध्यानको विराट लोकसम्म पुग्ने यातायातको वैज्ञानिक प्रविधि मात्र हो ।
ध्यान मानिसको प्राकृतिक स्वभाव हो । नौ महिना आमाको पेटमा
ध्यानकै सनातन ऊर्जाले सम्पूर्ण आधार तयार गरेको हुन्छ । हामी ध्यानका
साथ यस संसारमा आएका हौं । तर दुर्भाग्य संसारको बादलले ध्यानको
सूर्यलाई ढाकिदियो र जीवन मध्य दिनमै अज्ञानको अन्धकारमा फस्यो ।
अतीतको स्मृतिको बोझ र भविष्यको कल्पना र सपनाको बोझले
वर्तमानको होसलाई बिर्साइदियो । केवल होसपूर्ण रही जीवन जिउने
कलाको नाम ध्यान हो । वर्तमानमा होसपूर्ण नरही सत्यलाई चिन्न
सकिँदैन । वास्तविक जीवनलाई साक्षात्कार गर्न सकिँदैन । हाम्रो
जीवनका हरेक कार्य ध्यान हुन सक्दछन् । खाना खाँदा, सुत्दा, काम गर्दा
हरेक क्षण होस राख मेरो साथ सम्पूर्ण प्रकृति, कृति र परमात्मा साथ–
साथ छ । स्नान गर्दा होस राख मेरा साथ सम्पूर्ण प्रकृति, कृति र परमात्मा
साथ–साथ स्नान गरिरहेका छन् । हरेक रुखभित्र आफूलाई देख,
आफूभित्र रुखलाई देख । जीव–जन्तु, चरा–चुरुङ्गीभित्र आफूलाई
देख, आफूभित्र ती सबैलाई देख । ध्यानद्वारा यही सत्य शब्दातीत भएर
प्रकट हुन्छ । समत्व धी नै त समाधि हो । पढ्दा अव्यावहारिक जस्ता
लाग्ने यी वैज्ञानिक सूत्रभित्र त जीवन र जगतको रहस्य छिपेको छ । त्यो
रहस्लाई उपलब्ध गरेर मानिसका सम्पूर्ण मागहरू पूरा हुन्छन् । मानिस
तृप्त भएर तर्दछ । मुस्कुराउँदै मुक्त हुन्छ ।
२- जीवन के हो ?
हामीले जे देख्दछौं त्यो जीवन होइन । हाम्रो मस्तिष्कमा पहिलेदेखि नै
सूचनाको शृङ्खला तह–तह भएर बसेको छ । त्यही सूचनाले कुँदेको
प्रतिमा हाम्रो निष्कर्ष बन्दछ । जबसम्म जीवनको अखण्ड प्राकृतिक
सौन्दर्य जान्न सकिँदैन, तबसम्म मानव बन्न सकिँदैन । अहिले हामी
खण्ड–खण्ड भएर विखण्डित छौं । कार्यालयमा हामी अर्कै हुन्छौं,
परिवारमा अर्कै, मन्दिर–मस्जिद–चर्चमा अर्कै । हामीले जीवनलाई
स्वतन्त्र रूपमा उसकै प्राकृतिक सौन्दर्यमा, उत्सवमा, नृत्यमा कहिल्यै
हेर्दैनौं । कुनै न कुनै प्रतिमा र प्रतिमासँग जोडिएको सूचना हाम्रो आधार
बन्दछ । जस्तै : हाकिम–कर्मचारी, बाहुन–क्षेत्री–वैश्य–शूद्र, हिन्दू–
मुसलमान–क्रिस्चियन, भौतिकवादी–अध्यात्मवादी आदि आदि । यही
दृष्टि नै समस्या हो सौन्दर्यपूर्ण जीवनका लागि, ध्यान प्रवेशका लागि ।
कहिले हामी जीवनलाई तिरस्कारको रूपमा हेर्दछौं त कहिले सम्मानको
रूपमा । यो दुवैभन्दा माथि जीवनलाई जीवनकै सौन्दर्यमा हेर्नु पर्दछ ।
दैनिक जीवनका स्थुल क्रियाकलापलाई हेर्दै हेर्दै हामी सूक्ष्ममा प्रवेश
गर्न सक्छौं । सूक्ष्मबाट सूक्ष्मातीत अनादिमा । जहाँ शून्यबाट सत्य प्रकट
हुन्छ, मौनबाट विराट ज्ञान–विज्ञान प्रकट हुन्छ र अनादिबाट अनादि स्रोत
प्रकट हुन्छ ।
३- साक्षीको अर्थ के हो?
ध्यानको अभ्यासका क्रममा साक्षीको अर्थ हो – आग्रहमुक्त तटस्थ
अवलोकन । ध्यानको मूल सूत्र र रहस्य पनि यही हो । जीवनमा केवल
तिम्रा मनद्वारा निर्देशित र गतिशील विचार, सम्झना, इच्छा, सपना
आदिलाई तटस्थ भएर हेर । मनको चञ्चलता हेर । संसारको कोलाहल
भन्दा मनको कोलाहल भयप्रद र डरलाग्दो छ । यी सबैलाई हेर कुनै
विरोध, कुनै निन्दा, कुनै गुणगानबिना ।
अनादि सत्ताको लोकभाषामा प्रतिनिधि शब्दका रूपमा हामीले ब्रहृम,
आत्मा, परमात्मा, परमपिता आदि शब्दको प्रयोग गरेका छौं । आत्मा या
चैतन्य केन्द्रले देख्दछ कि यस्तो भइरहेको छ तब तत्काल बेहोसीको
पुल भाँचिन्छ । यो अवस्थामा आत्मा भोक्ता नभएर केवल द्रष्टा रहन्छ ।
यथार्थमा भन्ने हो भने आत्मा कहिल्यै पनि भोक्ता थिएन र हुँदैन
पनि । सदैव द्रष्टा नै हुन्छ । आत्मालाई ढाकेर बसेका चित्तवृत्तिहरू नै
भोगमा लालायित हुन्छन् र हामीलाई आत्माले भोगेजस्तो भ्रम हुन्छ ।
भोक्ताभाव जब ढल्दछ र द्रष्टाभाव स्थिर हुन्छ तब सुख–दु:ख, लाभ–
हानि, जय–पराजय आदिको छद्म नाटक बन्द हुन्छ । द्रष्टाभावको अर्थ
हो घटनालाई कथा–व्यथा बनाएर आफूलाई त्यसको पात्र नबनाई
घटनालाई उसकै प्राकृतिक सौन्दर्यमा हेर्नु । केवल हेर्नु । सुखको पनि
आफ्नै प्राकृतिक सौन्दर्य छ र दु:खको पनि आफ्नै प्राकृतिक सौन्दर्य
छ । दुवै सौन्दर्यको बीचबाट सत्यको ढोका खुल्दछ । सत्यम्, शिवम्,
सुन्दरम् प्रकट हुन्छ । दुई विषम् भावमा टाँसिएर हामी भासिएका हौं ।
कहिले सुखमा भासिन्छौं त कहिले दु:खमा भासिन्छौं । भासिँदा भासिँदा
नासिन्छौं ।
मानिस सूचनाको जालमा जेलिएको छ, द्वन्द्वको चेपमा पिल्सिएको
छ । त्यसैले मानिसले प्राकृतिक सौन्दर्य देख्न सकेको छैन । प्राकृतिक
सौन्दर्य अर्थात सत्य । सूर्यको तप्त गर्मीको सौन्दर्य, हिमालको कठ्याउने
चिसोको सौन्दर्य, हावाको स्पर्शको सौन्दर्य, वर्षात्को सौन्दर्य, हिमालको
सौन्दर्य, नदीको सौन्दर्य, झरनाको सौन्दर्य, वनस्पतिको सौन्दर्य, जीव
जगतको सौन्दर्य, प्रेमको सौन्दर्य, क्रोधको सौन्दर्य, लोभको सौन्दर्य,
दानको सौन्दर्य आदि आदि । सबैको वास्तविक सौन्दर्य तुलनाबिना
उसकै सुन्दरतामा जसले हेर्न सक्दैन उसले आफूभित्र र बाहिरको दिव्य
सुन्दरतालाई हेर्न सक्दैन । हरेकको प्राकृतिक सौन्दर्यलाई स्वतन्त्र रूपमा
हेर्नु । केवल हेर्नु । होसपूर्वक हेर्नु । यही साक्षी अवस्था हो । साक्षी
अवस्था नै ध्यानको आत्मा हो ।
४- साना बच्चालाई कसरी अहिंसक र ध्यानी बनाउने ?
हाम्रो जीवनको करिब–करिब सम्पूर्ण कार्यशैली हिंसाग्रस्त छ । हाम्रा
विचारसमेत हिंसाबाट दूषित छन् । हामी हिंसाबाट मुक्ति र अहिंसामा
विचरण गर्न निरन्तर चाहन्छौं तर त्यस अनुकूल जीवनशैली बनाउन
चाहँदैनौं । ध्यानी जीवनसँग लालायित छौं र यस्तो जीवन जिउनेलाई
पूजा गरिरहेका छौं तर ध्यानी जीवनबाट स्वयं भने भाग्दछौं । विश्वमा
शान्ति स्थापना गर्ने नाटकका पात्र बनेर हजारौं युद्ध लडिसकेका छौं ।
कहिले धर्म युद्धका नाममा, कहिले आतङ्ककारीका नाममा, कहिले
मातृभूमिका नाममा हतियार उठायौं र मानव रगतको आहालमा अहिंसा,
शान्ति, करुणालाई डुबाइदियौं । ध्यानको जीवनशैलीलाई अहंकार,
महत्वाकांक्षा, प्रतिस्पर्धाका मिसाइलहरूले उडाइदियौं । नाम जे भए पनि
एउटा मानिस अर्को मानिसको विरुद्ध उभिएको छ । युद्धले हिंसामा र
हिंसाले अशान्तिमा पुर्याएको छ । कुनै धार्मिक सम्प्रदाय या राजनीतिक
व्यवस्थाले मानिस–मानिसबीच व्याप्त विद्वेष मेटाउने कोसिस गरेन ।
सायद यो उनीहरूको क्षमताभित्र थिएन । मानिस–मानिसबीच विराट
प्रेम उपलब्ध गराउने क्षमता ध्यानमा छ । मात्र ध्यानमा । धर्मनेता हुन्
या राजनेता शान्तिका लागि विश्वविख्यात भाषण, गोष्ठी, सम्मेलन त
गर्दछन् तर शान्ति उपलब्ध गर्ने कला, संस्कृति र विज्ञानलाई मानवबीच
फैलाउन आवश्यक छ भन्ने बिर्सन्छन् ।
पूर्व होस् या पश्चिमको अधिकांश संस्कृति, सभ्यता, परम्परा हिंसामा
आधारित देखिन्छ । धार्मिक, राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक,
वैज्ञानिक सबै व्यवस्थाले हिंसालाई प्रोत्साहित गरिरहेको छ । कारण
हामीले शान्तिका लागि हिँडेको यात्राले अशान्ति निम्त्याउने कारणको
पहिचान र निराकरण गर्न सकिरहेका छैनौं ।
मानिस अहंकारी, महइभ्वाकांक्षी, परिग्रही र अरूलाई शासन गर्नमा बेहोस
आनन्द मनाइरहेछ । प्रतिस्पर्धा गरेर सबैभन्दा अगाडि पुग्ने होडबाजीमा,
असल हुनेभन्दा सफल हुने शिक्षा–दीक्षामा एकले अर्काको गला काट्दैछ
उपलब्धिका नाममा । अरूभन्दा धनी बन्ने चाहना, अरूभन्दा अगाडि हुने
चाहना, अरूभन्दा शक्तिशाली हुने चाहना । अरूभन्दा म कम हुनु हुँदैन
भौतिक जगतमा भनेर दौडिनुले विश्वका मानव दमनमा उत्रिएका छन् ।
यस्तो अवस्थामा ध्यान कसरी अवतरित हुन्छ ? हिंसा नै त जन्मिन्छ ।
अब हिंसा कसरी मानिसभित्र प्रवेश गर्दछ र विकसित हुन्छ त्यसमा म
सानो उदाहरण बताउँछु । एउटा सानो बच्चा टेबलमा ठोकिएर रुन थाल्दछ
त हामी के गर्दछौं ? टेबललाई प्याट्ट पिटेर भन्दछौं— बाबु अब नरोऊ मैले
टेबललाई पिटिदिएँ । मेरो बाबुलाई ठोक्ने ला तँलाई । त्यो सानो बच्चाले
त्यही क्षणमा बुझ्दछ— जसले ठोक्छ त्यसलाई ठोक्नु पर्दछ । हिंसा यतिबेलै
र यसरी नै ऊभित्र प्रवेश गर्दै जान्छ । यतिबेला बाबु तिमीलाई ठोक्किँदा
दुख्यो त टेबललाई पनि दुख्यो नि टेबललाई फू–फू गर, सुमसुम्याउ, माया
गर, त बच्चा रुन छाडेर आफ्नो पीडा भुलेर त्यसै गर्न थाल्दछ । यतिबेलै,
यसरी नै प्रेम, शान्ति, करुणा ऊभित्र प्रवेश गर्दै जान्छ ।
हामी बजार जान्छौं, फर्किंदा बच्चालाई जस्ता खेलौना ल्याएर दिन्छौं
त्यसले पनि उसलाई हिंसा–अहिंसा, शान्ति–अशान्ति, ध्यान आदिमा
लैजान मद्दत गर्दछ । तिमीले बच्चालाई सानो हुँदा खेलौनाको रूपमा
बन्दुक किनेर दियौ भने उसले हिंसा र बन्दुकसँग सम्बन्ध राख्ने खेल
खेल्न थाल्दछ । ठूलो भएपछि हत्या–हिंसामा प्रवेश गर्दछ ।
यदि आफ्ना बच्चा ठूलो भएर अहिंसक बनून्, धार्मिक बनून्, सदाचारी
बनून् भन्ने चाहना छ भने पुस्तक, खेलौना, खेल, दैनन्दिन जीवनका
सबै कुरा उनीहरूको निर्माणलाई पुष्ट गर्ने हुनु पर्दछ । अहिंसा, सदाचार,
ध्यानका बालकथा सुनाउनु पर्दछ । उनीहरूका कोठामा ध्यानको अभ्यास
गरेका साधकका भित्ते चित्र या मूर्तिले सजाउनु पर्दछ । अहिंसा, ध्यानका
बाल शिविरमा पठाउनु पर्दछ । घरमा पनि परिवेश बनाउनु पर्दछ ।
५- भौतिकवादीलाई ध्यानको के महत्व छ ?
भौतिक ज्ञान–विज्ञानको गहकिलो अध्ययन–अनुसन्धान, अनुभव र
अनुभूति गर्ने व्यक्तिले नै आध्यात्मिक ज्ञान–विज्ञानको पनि गहिरो
अध्ययन–अनुसन्धान, अनुभव र अनुभूति गर्न सक्छ । उसले आध्यात्मिक
ज्ञान–विज्ञान र अनादि सत्तालाई अलोचना गर्दैन । सतही छ भने आलोचक
हुन्छ । कुनै पनि वस्तुको दृश्य सत्ता भौतिक नै हुन्छ र अदृश्य सत्ता
आध्यात्मिक । यी दुई सत्ताको सनातन सम्बन्धको बीचबाट गरिने सम्यक
यात्राको नाम नै त ध्यान हो । दुवै सत्ताको गुणगान या आलोचनाबाट जागेर
तेस्रो सत्तामा अवतरणको कला, संस्कृति र विज्ञान नै ध्यान हो ।
६- तपाईंको कुनै सम्प्रदाय छ ?
म समत्वमा छु सम्प्रदायमा होइन । तिम्रो सत्य तिमी हौ, म या अरू
कोही होइन र हुन पनि सक्दैन । त्यसैले मैले मेरो विचार तिमीमाथि
आरोपित गर्न चाहन्नँ । म त सनातन सत्य उपलब्ध गर्ने सत्पथ मात्र
बताउने छु । जो एकल नभएर सार्वभौम, सनातन र सर्वग्राही छ । मैले
मेरो सत्यको धारणालाई तिमीमाथि आरोपित गरेँ भने एक दिन म
तिमीलाई मार्नेछु र तिम्रो शरीरमा मेरो भूत निवास गर्ने छ । म यसो
गर्न चाहन्नँ । म त केवल तिमी सत्य उपलब्ध गर्ने दुस्साहसका साथ
उठ्यौ भने सत्पथको नक्सा दिनेछु । त्यो पनि तिमीलाई आवश्यक भए
मात्र । आफ्नो प्रकाश पुञ्ज आफै बन्ने कला सिकाउने छु । हिँड्न
स्वयं तिमी पर्ने छ । स्वयं नहिँडी आफ्नो मूल उद्गम अनादि सत्तामा
पुगिने छैन । यसैले म केवल तिमीभित्रको सत्य जान्न मित्रका रूपमा
प्रेरणा र पथ देखाउने छु । जहाँ पुगेर सृष्टि, स्थिति र प्रलयको दिव्य
नृत्य देखिने छ । यसको विधि–प्रविधि ध्यान हो ।
७- सृजनाको मार्ग के हो ?
एउटा जीवकोष, मकैको दाना, माटोको कण या पानीको थोपा सानोभन्दा
सानो कण–कणिकालाई उठाऊ । त्यसमा ठूला–ठूला पुस्तकालयमा
भन्दा धेरै ज्ञान–विज्ञान र त्यसको भूत, वर्तमान र भविष्यको अमर
सूचना समेटिएको छ । बाहिरबाट देखिने विशाल तामझामको पछि
नदौड । विशालता सधैं सरल हुन्छ । एउटा सानो कणभित्र रहेको
नदेखिने विशालतालाई पनि कुनै घेरामा बाँध्न सकिन्न । यसैले आँखा
र सूक्ष्मदर्शक यन्त्रले पनि नदेखिने दिव्य र विराटलाई देख्ने कला
सिक । यसैमा सृजनाको दिव्यमार्ग छिपेको छ । ध्यान विधिहरू
सूक्ष्मातिसूक्ष्मलाई देख्ने कला एवं प्रविधिको महाविज्ञान हुन् ।
८- ध्यान साधनाका मूल चरण के–के हुन् ?
साधनामा दुई चरण छन् । पहिलो शुद्धीकरण, दोस्रो शून्यकरण । शरीर,
मन, विचार, भाव आदिको शुद्धीकरणद्वारा मलविहीन, निर्मल बनाएपछि
फेरि ती सबैलाई शून्य गर्नु पर्दछ । शुद्धीकरण नगरी शून्यकरण गर्न
सकिँदैन । शुद्धीकरण परिधिको साधना हो, शून्यकरण केन्द्रको साधना
हो । यी दुईको योगद्वारा जे उपलब्ध हुन्छ, त्यो नै सम्पूर्ण ध्यान साधकले
खोजेको दिव्य अवस्था हो ।
९- साधनाको लक्ष्य के हो ?
आनन्द, प्रेम, शान्ति, करुणा, अहिंसा आदिको लक्ष्य र गन्तव्य हुँदैन ।
वासनामा लक्ष्य र गन्तव्य हुन्छ । वासनालाई आनन्द, प्रेम, शान्ति, करुणा,
अहिंसा आदिमा रूपान्तरण गर । लक्ष्यद्वारा नभई अन्त: प्रेरणाद्वारा
सत्यको प्यास बोकेर अघि बढ । अनादि सत्तालाई जान जो सबैभित्र छ
र सबै उसभित्र छन् र पनि बन्धनमुक्त छ । जीवनलाई अनादि सत्ताको
काखमा छाडिदेऊ जसरी बाल्य अवस्थामा आमाको काखमा पुगेर सबै
भय विदा भई निर्भय आनन्द उपलब्ध हुन्थ्यो । तब हेर तिमीले जीवनमा
बोकेको लक्ष्य र गन्तव्य धेरै पछाडि छुट्नेछ, तिमी धेरै अगाडि पुग्नेछौ ।
मुक्त, असीम र विराटमा । तब तिमी जहाँ पुगे पनि गन्तव्य तिम्रा साथ
बढिरहन्छ ।
१०- नास्तिकलाई ध्यानको के महत्व ?
यो जगतमा कोही पनि नास्तिक छैन । नास्तिक त्यही हुन सक्दछ जसले
आनन्दलाई अस्वीकार गर्दछ । जगतमा प्रत्येक व्यक्ति आनन्द पाउन
चाहन्छ । मानिस मात्र होइन जीव–जन्तु, चरा–चुरुङ्गी, कीट–पतङ्ग
वनस्पति आदि सबै आनन्द चाहन्छन् । जसले आनन्द चाहन्छ, आनन्द
प्राप्तिको बाटो खोज्छ र आनन्द प्राप्तिका लागि प्रयत्न गर्दछ, ऊ आस्तिक
हो । म स्याउ खान चाहन्छु, स्याउ मलाई अत्यन्तै मन पर्दछ तर स्याउको
बोट र बोटले भरिएको बगैंचा चाहन्नँ, अस्वीकार गर्दछु भन्दछ भने त्यो
सम्भव छैन । यो कृत्य बेहोसी र मूर्खता मात्र हुन्छ । त्यसैले ध्यान सबैका
लागि सधैंका लागि अपरिहार्य अभ्यास हो ।
११- मुक्ति के हो ? सरल भाषामा जान्न चाहन्छु ।
नर्कको यातना र पीडाको दृश्य र स्वर्गको राजसी र वैभवशाली दृश्य
देखाएर गलत बाटोमा हिँडेकालाई असल बाटोमा हिँडाउने प्रयास त
ग्रन्थका ग्रन्थिभित्र बाँधिएका बन्धकहरूले गरेका छन् । तर यो बेहोस
अभ्यास हो । ध्यान साधनाद्वारा होसका साथ सत्यको मार्गमा मानिसलाई
अघि बढाउनु जरुरी छ । यस संसारमा दु:ख पनि छ, सुख पनि छ ।
दु:खमा नआत्तिने र सुखमा नमात्तिने सदाचारी स्वभावमा स्थित हुनु
जरुरी छ । स्वर्ग प्राप्तिको इच्छा पनि वासना नै हो । जिउँदो हुँदासम्म
भोग्न नपाएको सुख–भोगको अतृप्ति मृत्युपछि स्वर्ग प्राप्तिबाट पूरा गर्ने
लालच बोकेर मानिस हिँडिरहेको छ । स्वर्गको भोग–विलासले देवराज
इन्द्रलाई त पटक–पटक खसालेको छ । तिमीलाई के बाँकी राख्ला ।
मुक्तिलाई सरल भाषामा बताउनुपर्दा— दु:खमा आत्तिने र सुखमा
मात्तिने भावबाट मुक्त सत्पथको यात्रा नै मुक्ति हो । नर्क र स्वर्गको
विषमलोकबाट समत्वलोकको यात्रा र समत्वको मूल ढोकाबाट सत्य
उपलब्ध गर्नु नै मुक्ति हो ।
१२- सृजनात्मक विचार गर्न के गर्नु पर्दछ ?
विचार तिनले गर्दछन् जसले विचारलाई जान्दैनन् । जसले विचारलाई
जान्छन् उनीहरूले विचार गर्दैनन् । केवल विचारलाई हेर्दछन् । उनीहरू
जान्दछन् म विचारक होइन, विचारको द्रष्टा मात्र हो । तब विचार
सृजनात्मक हुन्छ । दर्शनको पथ–पद्धति आफूभित्र उठेको विचारको
लहरको निरीक्षण हो । उठ्दा, बस्दा, सुत्दा, जाग्दा, खाँदा, बोल्दा आदि
हरेक अवस्थामा आफूभित्र विचारको जुन लहर उठ्छ त्यसलाई हेर ।
केवल हेर द्रष्टा बनेर । विचारको अनुकूल र प्रतिकूल दुवैतर्फ नबग ।
आफूले राम्रो मानेको विचारको सञ्चय र नराम्रो मानेको विचारको
विरोधमा आफूसँग द्रोह नगर । विचारलाई स्वतन्त्र बग्न देऊ, तिमी
स्वतन्त्र भएर केवल हेर ।
साधारण मानिसमा एक धारा हुन्छ— मात्र विचारको । साधकमा
दुई धारा हुन्छन्— विचार र दर्शनको । सन्तमा मात्र एक धारा हुन्छ
दर्शनको । केवल साक्षी बनेर देख्नु, मात्र देख्नु । कथा–व्यथाबाट मुक्त ।
विचारशून्य निर्विचार लोकबाट नै त संसारका हरेक कुरा सृजित छन् ।
१३- कमल साधनाको प्रतीक किन बन्यो ?
कमल मानव सभ्यताको आदि कालदेखि सत्यम्, शिवम्, सुन्दरम् को
त्रिवेणी बनेर मानव ह्दयलाई झकझक्याई रहेको छ । विश्व गुरु बनेर
सम्पूर्ण मानवलाई सदाचारको जीवन, सम्भावना र रहस्यको खोज,
रूपान्तरणको महाविज्ञान सिकाइरहेको छ । विश्वमा विकसित सबै
सभ्यता संस्कृति र सोचले मुक्त कण्ठले कमलको प्रशंसा गरेका छन् ।
यो प्रशंसा कमलको सुन्दरताले होइन, जीवन्त शिक्षाले हो ।
व्यक्तिगत, घरेलु र सामाजिक परिवेश र परिस्थिति राम्रो नभएर मैले
उत्कृष्ट कार्य गर्न सकिनँ भनेर दोष अरूमाथि थुपारी निर्दोष बन्न
खोज्ने बेहोसहरूका लागि विश्व गुरु कमलको शिक्षा जरुरी छ । कमल
दुर्गन्धित हिलोमा जन्मियो, पानीको तहमा आफूलाई स्वयं शुद्धीकरण
गर्यो र पानीभन्दा एक तह माथि उठेर सुन्दर र सुगन्धित फूल दियो ।
सेतो, रातो, नीलो बनेर रंगीन उत्सव मनायो । कमलको एक कुना अर्थात्
जरा दुर्गन्धित हिजोको दलदलमा छ, अर्को कुना अर्थात् फूल अनन्त
आकाशमा सुन्दरता र सुगन्ध बाँडिरहेको छ । दुवै विषम परिस्थितिका
बीच साक्षी बनेर आनन्दमा मुस्कुराई रहेको छ । निरन्तर निर्मलीकरण,
रूपान्तरण र सत्यको प्यासको प्रतीकका रूपमा कमलले शिक्षा
दिइरहेछ । संकल्प, साहस र सिद्धिको प्रतीक हो कमल । दुई विषम
अवस्थाका बीच समत्वको, सदाचारको, सत्पथको प्रतीक हो कमल ।
१४- ध्यान उपलब्ध गर्ने प्रारम्भिक अभ्यास के हो ?
भौतिक जगतमा विजातीयले आकर्षण गर्दछ तर आध्यात्मिक जगतमा
स्वजातीयले आकर्षण गर्दछ । कुनै पनि तइभ्वले आफू जस्तै समान तइभ्वलाई
आफूतर्फ आकर्षित गर्दछ । यही उसको प्रकृति हो । काँचो काठमा अग्नि
तइभ्व कम हुन्छ, जल तइभ्व बढी हुन्छ । त्यसैले अग्निको सम्पर्कमा जाँदा
दुवै विकर्षित हुन्छन् । अग्नि पनि निभ्दछ, काँचो काठ पनि बल्दैन ।
त्यही काँचो काठलाई घाममा सुकाएमा सूर्यद्वारा प्राप्त अग्नि तइभ्वले
त्यो काठमा अग्नि तइभ्वलाई बढाइदिन्छ, प्रतिफल अग्निको सम्पर्कमा
जानेवित्तिकै बल्न थाल्दछ र दुवैमा भएको अग्नि तइभ्व महाअग्निमा
मिल्दछ । काँचो काठभन्दा सुकेको काठ छिटो बल्दछ । यही सुकेको
काठलाई अग्निद्वारा कोइलाको स्थितिमा पुर्याइदियो भने त्यसमा अग्नि
तइभ्व बढेर जान्छ, प्रतिफल सुकेको काठभन्दा छिटो बल्दछ र बढी ताप
दिन्छ । फेरि कोइला, गन्धक र अन्य अग्नि तइभ्वका स्वजातीयहरू
मिलाएर बारुद बनाउने हो भने अग्नि तत्व सघन भएर सानो झिल्कोले
पनि भयानक अग्निज्वाला पैदा गर्दछ । यसरी नै साधनाद्वारा साधकले
आफूभित्रको अनादि तइभ्वलाई चिन्दै जान्छ । यहाँ चिन्नु नै कणबाट
विराटलाई उपलब्ध गरेर मुक्त हुनु हो । मुक्तिको अर्थ समाप्ति होइन, मूल
घरमा फर्किनु हो, जहाँबाट छुटेर जगतमा छितारिएका थियौं ।
मैले यति धेरै कुरा किन गरेको भने ध्यान तइभ्व तिमीभित्र छ तर तिमी
त्योभन्दा धेरै टाढा छितारिएका छौ । मूल घरलाई छाडेर डेराको सानो
कोठामा रमाएका छौ । ध्यानका विधिहरूले ध्यान तइभ्वतर्फ बढ्न मद्दत
गर्दछन् । यसको प्रारम्भ साक्षी साधनाबाट गर्नु पर्दछ । हिँड्दा, बोल्दा,
काम गर्दा, खाना खाँदा हर क्षण समग्र होसका साथ साक्षी बन्ने अभ्यास
गरियो भने हामीभित्र सुतेको ध्यान तइभ्व जाग्दछ र तिमीलाई पनि
जगाउँछ ।
१५- मुस्कुराउनु पनि साधनाको हिस्सा हो ?
अवश्य हो । तिमीहरू हर क्षण मुस्कुराऊ, एक क्षण पनि मुस्कुराउनबाट
नछुट । निर्मल चित्तले मुस्कुराउनु श्रेष्ठ साधना हो । अरूलाई उपहास
गर्ने उद्देश्य नभई पवित्र सोचबाट मुस्कुराउने र अनुकूल अवस्था भएमा
खुलेरै हाँस्ने गर्नु पर्दछ । प्राकृतिक हाँसोले अमृत बोकेर आउँछ भने
कृत्रिम हाँसोले बिष बोकेर आउँछ । बनावटी हाँसोले अरूलाई पीडा
दिने अधिक सम्भावना हुन्छ । जहाँ हाँस्नु अप्राकृतिक या अस्वाभाविक
हुन्न त्यहाँ हाँस्न चुक्नु हुँदैन । संसारमा जति पनि कुकर्म भएका छन्,
ती उदास व्यक्तिहरूबाट भएका छन् । तनावमा ग्रस्त मानिसहरूबाट
भएको छ । जो व्यक्ति फूल, हिमाल, झरना आदि प्रकृतिका कृति देखेर
मुस्कुराउन सक्दछ । बादल, वर्षात, इन्द्रेणी आदि प्रकृतिको कला देखेर
मुस्कुराउन सक्दछ । मानव जीव–जन्तु, चरा–चुरुङ्गी, किट–पतङ्ग,
वनस्पतिका साथ हाँस्न र नाच्न सक्दछ । ऊ अनादि सत्ताको नजिक
पुग्दछ । त्यसैले हाम्रो साधना परम्परामा साधकहरू जंगलमा, गुफामा
जीव–जन्तु, चरा–चुरुङ्गी, वनस्पतिका साथ बन्धुत्वको साधनाद्वारा
सत्यलाई साक्षात्कार गर्दथे ।
१६- श्रेष्ठ पूजा के हो ?
अरूको परिश्रमबाट प्राप्त चौरासी व्यञ्जनभन्दा आफ्नो परिश्रमबाट
प्राप्त निस्तो भात लाखौं गुणा गुणकारी हुन्छ । संकल्प, साहस र परिश्रम
मिलेर संसारमा गर्न नसकिने कुनै काम छैन । पवित्र परिश्रमको पसिना
बगेको शरीरलाई मात्र परमात्माको शीतल छायाँ र दिव्य माया मिल्दछ ।
पूजामा तिमीलाई रुचि छ भने सतत् सदाचार र पवित्र परिश्रमको
माला गन, पसिनाको गंगाजल चढाऊ, आफ्नो प्रकाशले बत्ती बाल,
अहिंसा–करुणा–प्रेम–सेवाका मिठा फल चढाऊ, चरित्रको धूप बाल,
सर्वोदयको शंख फुक, सर्वमंगलको घण्ट बजाऊ । यही त परमात्माको
विराट पूजा हो । बाँकी पूजा त मुकुण्डो (मुखौटो का खेल हुन् ।
१७- सत्पथको साधनामा के महत्व छ ?
शत्रुले आफ्नो सम्पूर्ण जीवन लगाएर तिमीलाई जति हानि पुर्याउन सक्दछ
त्योभन्दा लाखौं गुणा हानि असत्पथमा बढेको तिम्रो यात्राले तिमीलाई
पुर्याउँछ । सत्मार्गमा बढेको तिम्रो यात्राले तिमीले मानेका सबै सम्प्रदायले
भन्दा बढी दिव्य आशीर्वादका साथ अनादि सत्तासम्म पुर्याउँछ ।
यो सबैले देख्न सक्ने जैविक शरीर एक दिन विज्ञानरहित भई ढल्ने छ ।
त्योभन्दा पहिले यसलाई पनि सम्मानका साथ संयुक्त रूपमा प्रयोग गरेर
सत्यको अर्थात् अनादि सत्ताको साक्षात्कार गर्ने मानिस कहिल्यै ढल्ने
छैन अर्थात् मर्ने छैन । अमर हुनेछ ।
मृत्युलाई देख्न सक्ने आँखाले मात्र जीवनलाई देख्न सक्दछ । एक दिन
यो शरीरबाट विदा हुनु पर्दछ । मृत्यु जन्मका साथ प्राप्त उपहार हो । यही
उपहारमा जीवन सजिएर सुन्दर छ । शरीरबाट मात्र होइन, मृत्युबाट पनि
अमरत्व प्राप्त हुन्छ । यो जान्ने मानिसले जगत, जीव र जीवनको अहित
हुने कुनै काम गर्दैन । अहिंसा, अशान्ति, अप्रेम, कलह, वैरभाव, क्रोध,
अहंकार आदि मनमच्याहटमा लाग्दै लाग्दैन ।
१८- दु:खी मानिस को हो ?
साधनालाई महत्व नदिएर शास्त्रका कुरामा धेरै अहङ्कार गर्ने,
सम्प्रदायको नशामा लठ्ठिएको, भेदको बन्धनले बाँधिएको र स्वधर्मको
जीवनशैली नबाँचेको मानिस संसारको सबैभन्दा दु:खी मानिस हो ।
ऊ प्रकाशका बीचमा पनि अन्धकार बाँचेको हुन्छ । अमृतका बीचमा
पनि बिषपान गरिरहेको हुन्छ । सत्यको बीचमा पनि असत्य खोजिरहेको
हुन्छ । यस्ता मानिसले आनन्द, उत्सव र अनादि सत्तालाई देख्न सक्दैनन् ।
स्वर्ग र नर्क, पुण्य र पाप दुवैबाट मुक्त सदाचार, अनासक्त र चैतन्य
चित्तमा स्थिर भएको मानिसले अनादि सत्ताको दिव्य आशीर्वाद पाउँछ ।
जो सबै प्रकारका ऐश्वर्यभन्दा अमूल्य छ । यही ऐश्वर्य पाएर जीवन
उत्सवमय बन्दछ, वैभवशाली बन्दछ ।
१९- गृहस्थ जीवनमा साधना सम्भव छ ?
यति ठूलो ब्रहृमाण्ड बनाएर पनि परमात्मा गृहस्थ बनेको छैन । मानिस
एउटा सानो घर बनाएर गृहस्थ बन्दछ । यति ठूलो मायाजाल निर्माण गरेर
पनि परमात्मा जेलिएको छैन । मानिस दुई जना भेट्नेवित्तिकै जेलिन
थाल्दछý जसले सोच्दछ— मैले गरेको, म नभए हुने थिएन आदि आदि ।
म, मेरो, मैलेको विस्तार नै गृहस्थी हो । जो निरन्तर निष्काम कर्मयोगमा
रहन्छ र सोच्दछ म माध्यम मात्र हुँ, सम्पूर्ण कार्य स्वचालित रूपमा
भइरहेको छ । यही लयबद्धतामा सर्वमंगलको यात्रा नै सन्यास हो । पूर्ण
मानिस शारीरिक रूपमा गृहस्थ र मानसिक रूपमा सन्यासी हुन्छ ।
२०- मानव शरीरलाई पापको घर किन भनिन्छ ?
मानव शरीर जस्तो पवित्र मन्दिर, गुम्बा, मस्जिद र चर्च अर्को छैन ।
जसमा आएर कृष्ण, बुद्ध, मोहम्मद, ईसा आदि धर्मानन्दको उत्सवमा
नाच्नुभयो । त्यो अनादि सत्ताको विराट ऊर्जा मानव शरीरमा आएर
विलक्षण सत्प्रयोग गर्दछ । हरेक मानवभित्र भएको चैतन्यबोधको दिव्य
प्रयोगद्वारा आफ्नो बाè र आन्तरिक सम्भावनाहरूलाई चिन्ने साथै
रहस्यात्मक र छिपेका ऊर्जा स्रोतलाई खोज्ने प्रेरणा र पथ दिन्छ । यस्तो
परम पवित्र मानव शरीर पापको घर होइन पुण्यको देवालय हो । मानव
शरीर र मनको शुद्धीकरण गरी सम्यक प्रयोग गर्ने हो भने देव लोकको
मूलथलो बन्न सक्दछ । हरेक मानिस आफूलाई जे चाहिन्छ त्यो खोज्न
सक्दछ यो शरीरको माध्यमद्वारा । निर्मल जीवनबाट भागेका र शरीर
र मनलाई मलखातो बनाएकाहरूले शरीरलाई पापको घर भन्दछन् ।
तिमी ध्यान–साधना गर । तिमीले थाहा पाउँछौ : शरीरभन्दा परम पवित्र
तीर्थस्थल यो ब्रहृमाण्डमा अर्को छैन ।
२१- सेवाको सरल मार्ग के हो ?
आर्जन र विसर्जन सेवाको मूल सूत्र हो । सत्कर्मबाट खुब कमाऊ र
सत्कर्मका लागि खुब बाँड । आर्जन अर्थात् सत्कर्मबाट धन कमाउनु
बाè धर्म हो । विसर्जन अर्थात् सत्कर्मका लागि बाँड्नु आन्तरिक धर्म
हो । धन तीव्र गतिको नदी हो जहाँ रोकिन्छ त्यो ठाउँलाई भत्काउँछ ।
बगिरèो भने आफ्ना मार्गका किनारालाई हराभरा बनाउँछ । सम्पन्न र
सुन्दर बनाउँछ ।
२२- आमाको विराटता के हो ?
आमा, ब्रहृमा, विष्णु, महेशको त्रिवेणी तीर्थ हुन् । आमाले जन्म दिन्छिन्,
त्यसैले ब्रहृमा । पाल्दछिन्, त्यसैले विष्णु र दोषहरूको विनाश गरेर
उद्धार गर्छिन त्यसैले महेश । आमाभित्र सम्पूर्ण देवी–देवताको साक्षात्
उपस्थिति छ । आमाको सेवाभन्दा ठूलो अर्को पूजा छैन । यज्ञ छैन ।
प्रश्न सोध्ने भाइ हिन्दू भएकाले मैले यो सत्य उद्घाटित गरेको हुँ । जो
जुन धर्म मान्नुहुन्छ, त्यस धर्मका देवता, देवपुरुष, देवपुत्र सबै आफ्नी
आमाभित्र देख्न सक्नुहुन्छ ।
२३- प्रेम कसरी पैदा गर्ने ?
प्रेम उपलब्ध गर, घृणा विलीन हुन्छ । सत्य उपलब्ध गर, असत्य विलीन
हुन्छ । अहिंसा उपलब्ध गर, हिंसा विलीन हुन्छ । प्रकाश उपलब्ध गर,
अन्धकार विलीन हुन्छ । प्रेम र घृणाको, सत्य र असत्यको, अहिंसा र
हिंसाको, प्रकाश र अन्धकारको कहिल्यै लडाइँ भएको छैन । लडाइँ त
बराबरीमा हुन्छ । घृणा त अत्यन्त कमजोर छ, प्रेम आउनेवित्तिकै विलीन
हुन्छ । असत्य त अत्यन्त कमजोर छ, सत्य आउनेवित्तिकै विलीन हुन्छ ।
यी दुईको भेट कहिल्यै भएको छैन र हुन्न पनि ।
शर्तरहित निष्काम प्रेम सबैभन्दा ठूलो उपहार हो । यो उपहार दिनुमै
आनन्द छ । प्रेमको अमूल्य उपहारको मूल्य खोज्यौ भने या प्रेमको
उपहार दिएर प्रतिउत्तरको प्रतीक्षामा बस्यौ भने प्रेम मर्दछ र त्यसको
लास माथि घृणाका झारहरू उम्रिन्छन् । सर्तका साथ स्वीकृतिको नाम
व्यापार हो, सर्तबिना स्वीकृतिको नाम प्रेम ।
२४- मृत्यु कसरी महोत्सव हुन्छ ?
निरन्तर मृत्युलाई साक्षी भएर देख्नु अमरताको सूत्र हो । मृत्युको स्मृति
मात्रले पनि तिमीभित्र संकलित पापका संस्कारहरू नाश हुन्छन् । पापको
मलले मलीन ह्दय निर्मल हुन्छ । मृत्युसँग भागेर जीवन उपलब्ध हुन
सक्दैन । मृत्युलाई होसपूर्वक जानेर आनन्द उपलब्ध हुन सक्दछ ।
मृत्युको काँधमा चढेर हिँडेको जीवन देखेपछि मात्र पनि मन निर्मल
हुन्छ । पवित्र विचार पैदा हुन्छ । सत्कर्मतर्फ यात्रा बढ्छ । अरूलाई लुटेर
आनन्द प्राप्त हुन्छ भन्ने भ्रम छुट्छ र आफैभित्रको लुटेराबाट कसरी
बाँच्ने भन्ने चैतन्य बोध प्राप्त हुन्छ । करुणाका फूल फुल्दछन्, प्रेमका
झरना झर्छन्, आनन्दको नदी बग्दछ । तब मृत्यु नै सबैभन्दा ठूलो उत्सव
बन्दछ । किनकि जन्म, जीवन र मृत्युको त्रिवेणी तीर्थयात्राबाट उसले
आफूभित्रको अमरनाथलाई चिन्दछ ।
चितामा बत्ती बाल्नुभन्दा पहिले, चेतनामा बत्ती बाल । शव बन्नुभन्दा
पहिले शिव बन । मर बनेर मसान जानुभन्दा पहिले अमर बनेर चैतन्य
बोधमा जाऊ तब मृत्यु पनि महोत्सव हुन्छ । यसप्रकार मसानमा पनि
शान हुन्छ ।
२५- भोजनको आदत र ध्यानको के सम्बन्ध छ?
सुपाच्य अर्थात् हलुका, पोषिलो र कम भोजन साधनामा सहयोगी
हुन्छ । जीवनमा सबैभन्दा गहिरो आदत भोजनको आदत हो । जन्मदेखि
मरणसम्म यो आदत चलिरहन्छ । सम्पूर्ण साधनाको आधार शरीर र मन
यसैमा अडिएको छ । जति भोजनको आदत छ त्यति काम अर्थात् यौन
जीवनको छैन । यौन जीवन जवानीमै सुरु हुन्छ र जवानीमै अन्त हुन्छ ।
बाल र वृद्धावस्थामा यसको प्रभाव छैन । कम समय यो आदत मानिसमा
आउँछ । अत: यसलाई चिन्न र त्यसबाट माथि उठ्न सरल छ । शरीर र
मनका केही विशेष आदतहरू छन् त्यसलाई चिनेर होसपूर्वक माथि उठी
ध्यानको भूमितर्फ बढ्नु पर्दछ । शरीर र मनलाई ध्यानमा लैजान विचार
शून्य अवस्थामा पुग्नुपर्छ । त्यसका लागि सबै किसिमका आदतहरूलाई
घटाउँदै लैजानु पर्दछ । स्थायी जरो गाडेर बसेका आदतहरूलाई ध्यानको
आदत विकसित गराई कमजोर बनाउनु पर्दछ ।
तिमीलाई जस्तो सजिलो र आनन्ददायक लाग्दछ, उपवास, रसाहार,
फलाहार, अल्पहार, अलिनो (नुन नभएको, उसिनेको, अंकुरित,
कन्दमूल आदि जसले भोजनको स्थायी स्वरूप, स्वाद र पाककलालाई
नबिगारोस् । यो खाना नभई हुन्न भन्ने सोचलाई सम्यक बदल्नु छ । यो
नभई हुँदैन र यो हुनु हुँदैन भन्ने आदत ध्यानमा बाधक हुन्छ । आदत एक
प्रकारको नशा हो जसले ध्यानमा जानै दिँदैन । ध्यानको दृष्टिमा हेर्दा
यो लागुपदार्थ या भनौं जाँड–रक्सी, गाँजा–भाङ, ड्रग्स आदि जस्तै हो ।
२६- चञ्चलताको आदत र ध्यानको के सम्बन्ध छ ?
चञ्चलताको आदतमा सुधार नआएसम्म ध्यानको प्रारम्भिक अभ्यास
पनि गर्न सकिन्न । आजको मानिस स्थिर हुनै सक्दैन । उसले त्यस्तो
जीवनशैलीलाई स्वीकारेको छ । उसको हातमा टेलिभिजनको रिमोट
पर्यो भने ५ मिनेटमा ५० च्यानल घुमाउँछ, पुस्तकालयमा गयो भने १०
मिनेटमा १० वटा किताब फर्काउँछ, एक छिन बस्दा खुट्टा हल्लाउनेदेखि
अनुहार बिगार्नेसम्म गर्दछ, दुबोको चौरमा बस्यो भने दुबो उखेलिरहन्छ ।
चञ्चलता आजको जीवनशैली बनेको छý सभ्यता बनेको छ ।
एकाग्रता, स्थिरता र साक्षीको त्रिवेणीबाट हामी ध्यानमा अवतरित हुन्छौं ।
कुनै काम गर्दा त्यही काममा एकाग्रता, स्थिरता र होसपूर्ण साक्षी होऊ ।
खाना खाँदा एक एक गास पूर्ण होसका साथ खाऊ । यसैले त हामीकहाँ
खाना खाँदा पूर्ण होस रहोस् भनेर मौन, नबोलीकन खाने चलन थियो ।
स्नान गर्दैछौ त पानीका हरेक थोपा र तिम्रो शरीरको मिलनमा चैतन्यबोध
रहोस् । स्नानको विराटता अनुभव गर । स्नान धर्म–संस्कृति र स्वास्थ्य
विज्ञान त हुँदै हो, हामी त्यो स्तरबाट माथि उठेर स्नानलाई ध्यानको
साधना बनाउन सक्छौं । हिँडिरहेका छौ त खुट्टाको चाल, हातको चाल र
सम्पूर्ण शरीर एवं मनका गतिविधिमा पूर्ण होस राख । तब थाहा पाउनेछौ
हरेक काम ध्यान विधि हुन सक्छन् ।
केही गरेका छैनौ भने आइरहेको र गइरहेको श्वास–प्रश्वासमा होस
राख । यसले एकाग्रता, स्थिरता, साक्षी तीनै कुरा उपलब्ध गर्ने कला एवं
विज्ञान सिकाउँछ । तिमी जे गर्दछौ होसपूर्वक गर । एकाग्रता, स्थिरता
र साक्षी भावका साथ गर । श्वासमै होस टेकाइराख जो चौबीस घण्टा
चलिरहेको छ । न त भोजन, न त स्नान, न त अरू काम नै चौबीस घण्टा
निरन्तर चल्दछ । बाहिरी दुनियासँग नबग, आफ्नो श्वास–प्रश्वासमा
बग । श्वास–प्रश्वासमा बग्नु श्रेष्ठतम कार्य हो ।
२७- शब्दको आदत र ध्यानको के सम्बन्ध छ ?
मौन अर्थात् शब्द उपवास ध्यानको लागि अत्यन्त महइभ्वपूर्ण छ ।
प्रारम्भिक दिनमा कुराकानीबाट मुक्त भएर एकान्तबासलाई बढाऊ ।
चौबीस घण्टामा पचास शब्दभन्दा बढी नबोल । पचास शब्दले पुगेन,
शारीरिक र मानसिक समस्या भयो भने कागज–कलमको प्रयोग
गर । त्यो पनि अत्यन्त कम । सम्झ हरेक शब्द अत्यन्त महइभ्वपूर्ण र
महंगा छन् । होस पुर्याएर खर्च गर । मुख नबोल्नेबाट सुरु गरेको यात्रा
मन नबोल्नेसम्म पुर्याउनु पर्दछ । मुख त बन्द राख्ने तर दिनमा थुप्रै
कागज–कलम सक्ने या मन–मनै गन्थन–मन्थन गरिरहनेहरू मौनी त
होइनन् नै, मुखले बोल्नेहरूभन्दा घातकसमेत हुन्छन् । तिनीहरू तनाव
र क्रोधमा हुन्छन् ।
मौनले हाम्रो आन्तरिक शक्तिलाई बचाउन र महाशक्तिमा रूपान्तरण गर्ने
काम गर्दछ । मौनद्वारा सञ्चित एवं रूपान्तरित शक्तिले ध्यान मार्गमा
बढ्ने आवश्यक दिव्य ऊर्जा दिन्छ जसले ध्यान विधिबाट ध्यान उपलब्ध
गर्न सजिलो हुन्छ । सरल भाषामा भन्दा ध्यानपथको बाटो खर्च हो मौन ।
मानिसको आन्तरिक शक्तिको आधाभन्दा बढी ऊर्जा केवल शब्दले
लैजान्छ । शब्द सञ्चय, निर्माण र वितरण पूराका पूरा छाडिदेऊ । जति
बढी सक्दछौ त्यति बढी मौन बस तर मौन जबरजस्ती होइन आनन्द र
उत्सवका साथ ।
तिमी मौनमा जान सकेनौ तर कमसेकम यति याद राख तिम्रा कारणले
अरूको मौन नछुटोस् । अकारण कसैसँग केही नसोध, अकारण जिज्ञासा
र अनावश्यक कुरा नगर । कसैलाई कुराकानीतर्फ आकर्षित गर्ने कोसिस
नगर । तिमी मौन हुन सकेनौ त तिम्रो हानि भयो कमसेकम अरूलाई त
हानि नपुर्याऊ । सहयोगी बन अरूलाई मौनमा जान । ऊ बोल्न लाग्यो
भने नबोल्ने संकेत गर । मौनको संकेत गर ।
जसको मन, बुद्धि, चित्त, संकल्प शक्ति आदि कमजोर छ, आफूमा
विश्वास छैन, उनीहरू मौन बस्न सक्दैनन् । त्यस्ताहरू थोरै बोल,
अरूलाई बोल्न बाध्य नगराऊ । तिमी जति बढी मौन हुन सक्दछौ,
त्यति छिटो ध्यान उपलब्ध हुन्छ अन्यथा नहुन पनि सक्दछ । जसको
जिम्मेवारी ध्यान विधि या सहजकर्ता हुन सक्दैन । तिमी स्वयं हुन्छौ ।
शब्द विलासको आदत अत्यन्त घातक छ, यसले सर्जक, सृजना र
सृष्टिको सत्यलाई हामीबाट टाढा पुर्याउँछ । लागुपदार्थको भन्दा पनि
घातक नसा हो शब्द विलासको आदत जसले मानिसलाई शान्तिबाट
धेरै टाढा कोलाहलमा लैजान्छ ।
२८- दृश्यको आदत र ध्यानको के महत्व छ ?
आँखा तिमीलाई बाहिर लैजाने मूल बाटो हो । दुई आँखा बन्द भएपछि
मात्र तृतीय नेत्रको यात्रा सुरु हुन्छ । संसारका हरेक ध्यानीहरूले आँखा
बन्द गरेर हेर्ने महाविज्ञानलाई उपयोग गरेर विराट अनादि सत्तालाई
अनुभूति र उपलब्ध गरे । ध्यानको साधना कालमा आँखा जति
बन्द रèो त्यति राम्रो हुन्छ । हल्का आँखा बन्द गर्ने र आरामपूर्वक
ध्यानात्मक आसनमा स्थिर बस्ने अभ्यास मात्र पनि ध्यान विधिको
आधारभूमि हो । आरम्भिक अभ्यासका क्रममा आँखा बन्द राख्न
कैयनलाई गाह्रो हुन्छ । यस्तोमा आँखामा हलुका पट्टी बाँधेर अभ्यास
गर्ने गरिन्छ । यो जति लम्ब्याउन सक्यो त्यति राम्रो । जब अरू केही
काम हुन्न, खाली बस्नु पर्दछ तब पट्टी बाँधेर बस्नु । यसले बाहिरी
संसारसँग सम्बन्ध हट्छ । कुराकानी गर्न पनि मिल्दैन । आँखाका
माध्यमबाट बाहिरी संसारमा बग्न र आफ्नो केन्द्रबाट बेहोस भाग्न
सरल हुन्छ, सजिलो हुन्छ ।
मौन अर्थात् शब्द उपवास जस्तै शक्तिशाली प्रयोग हो बाहिर नहेर्नु ।
किनकि आँखाले नै चौबीस घण्टा दौडाउँछ । आँखा बन्द गर्नेवित्तिकै
बाहिरको यात्रा बन्द हुन्छ । भित्र चैतन्यबोध वर्तुलाकार घुम्न थाल्दछ ।
सूक्ष्मातिसूक्ष्मदेखि शून्यभित्रको विराटलाई देख्ने बाटो खुल्दछ । पट्टी
बाँधेको बेलामा हिँड्नु परे पट्टीलाई थोरै माथि सार, केवल खुट्टा अगाडि
३–४ फिट मात्र देखियोस् । दायाँ–बायाँ, वर–पर होइन । आँखा बन्द
राख्दा मात्र पनि कैयन तनाव आफै शान्त भएर जान्छन् । आँखा बन्द
गर्ने अभ्यासका बेला मन मौन र धारणा श्वास–प्रश्वासमा टिक्यो भने
यही सरल विधि पनि सत्यको राजमार्ग बन्न सक्दछ । आँखाको तनाव
नै मनको तनावको मूल कारण हो । यदि आँखा शान्त र सदाचारी भयो
भने मन आनन्दमा मगन हुन्छ । तब मनोशरीर जन्य रोगहरू करिब ९०
प्रतिशत ठिक हुन्छन् ।
एक दिन मात्र पनि दृश्य उपवास गर्दा शान्ति–शक्ति र आनन्दमा वृद्धि
हुन्छ । यी साधना विधिहरू संकल्प, स्वीकृति र स्वभाव बन्नु पर्दछ ।
देखाउन र प्रसिद्धि कमाउन गरियो भने यो ठगी हो । यो ठगी अरूका
लागि होइन तिम्रो लागि घातक हुन्छ । ठगी गर्नु आत्महत्या हो ।
२९- श्रवण आदत र ध्यानको के महत्व छ ?
आजको जीवन पद्धति भित्र हेर्नभन्दा बाहिर हेर्नमा मस्त छ । भित्रको
अनाहत नाद, महावचन या विराट शिक्षा सुन्नुभन्दा बाहिरको हाल,
कोलाहल र हलाहल सुन्नमा रमाइरहेको छ । बाहिरी कानलाई बन्द
गरेर, बाहिरको श्रवण लोकलाई विदा दिएपछि भित्रको श्रवण आलोक
सुरु हुन्छ । बाहिरको ध्वनि बन्द गरेपछि भित्रको सनातन महाध्वनि
शून्य अनादि आकाशबाट वर्षिन्छ । जो ध्यान उपलब्ध गर्ने सरल र
शक्तिशाली विधि विज्ञान हो ।
बाहिरको आवाज बन्द गर्न कानमा विशेष प्रकारको इअर प्लग या
गाईको घ्युमा मलेको कपासले बन्द गर्नु पर्दछ । बाहिरी कानलाई विदा
दिएपछि मात्र भित्री कान खुल्दछ । कानलाई दिउँसो बन्द राख्ने र राति
खुला राख्नु पर्दछ प्रारम्भिक साधनाका दिनहरूमा ।
शास्त्रीय संगीतले काल विशेषका लागि ध्वनि र रागको निर्माण गरेर
कालातीत महाध्वनिसम्म पुग्ने बाटो खोलेको थियो जो आज आम
मानिसका लागि उपलब्ध छैन । आज आम मानिसका लागि मोबाइल,
कम्प्युटर, रेडियो, टेलिभिजन उपलब्ध छ जो ध्यान मार्गको प्रथम
बाधाको रूपमा देखिएको छ । चौबीस घण्टा जस्तो, बाटोमा हिँड्दा
पनि हेडफोन लगाएर हिँड्ने युवा जमात शारीरिक, मानसिक र बौद्धिक
रूपमा अपाङ्ग र रोगी हुने निश्चित छ । ध्यान उपलब्ध गर्ने त कुरै
भएन । यस्ता युवाहरूमा देखिने समस्यालाई मैले “हेडफोन सिण्ड्रोम”
नामाकरण गरेको छु । जो भोलि विश्वव्यापी स्वास्थ्य समस्या बन्ने
निश्चित छ ।
३०- आनन्द कसरी प्राप्त गर्न सकिन्छ ?
आनन्द सदा उपलब्ध छ । सुख या दु:ख मेहनत गरेर कमाउनु पर्दछ ।
आनन्द मानवको प्राकृतिक अवस्था हो, सुख–दु:ख अप्राकृतिक ।
सुखमा मान्छे मात्तिन्छ, दु:खमा मान्छे आत्तिन्छ । सुख प्राप्त भयो भने
कहिल्यै नछुटोस् भनेर प्रयत्न गर्दछ । दु:ख चाहिँ कहिल्यै नआसोस् भन्ने
चाहन्छ । तर सुख या दु:खको अनित्य चक्र हाम्रो प्रयासले आएको हो ।
आनन्द प्राप्तिका लागि कुनै प्रयास गर्नु पर्दैन केवल सुख र दु:ख दुवैसँग
अँगालो मार्ने या भाग्ने नगरी होसपूर्वक साक्षी बनेर अघि बढे दुवै विषम
अवस्थाभन्दा पर सनातन आनन्द उपलब्ध हुन्छ ।
३१- आध्यात्मिक जीवन कसरी प्राप्त गर्ने ?
अत्यन्त सरल छ । त्योभन्दा सरल अर्को बाटै छैन । जीवनलाई
परमात्माबाट मिलेको उपहार सम्झेर सुख–दु:खमा समत्वबोधका
साथ आनन्दमा नाच्ने मानवका साथ पशु–पक्षी, रुख–विरुवा, हिमाल–
पहाड, नदीनाला, ग्रह–तारा, लोक–परलोक, कृति–प्रकृति सम्पूर्ण
नाच्न थाल्छन् । यहाँसम्म कि स्वयम् परमात्मा पनि उसका साथ नाच्न
थाल्दछ । परमात्माभित्र ऊ नाच्दछ, ऊभित्र परमात्मा नाच्दछ । यही
विराट नृत्य नै आध्यात्मिक जीवनको लक्ष्य र गन्तव्य हो ।
३२- आध्यात्मिक व्यक्ति कस्तो हुन्छ ?
आध्यात्मिक व्यक्तिले आफू दु:ख र पीडामा हुँदा पनि अरूलाई सुखी
र आनन्दित देख्न चाहन्छ । आफ्नो दु:ख र पीडाबीच पनि जागेर अरू
दुखित, पीडितहरूलाई दु:ख र पीडामुक्त गर्न तल्लीन रहन्छ । दु:ख–
सुखको बेहोस चक्रबाट आफूलाई माथि उठाएर परम आनन्द उपलब्ध
गराउने सत्पथमा अघि बढाउन तल्लीन रहन्छ । भौतिक व्यक्तिले आफू
दु:ख र पीडामा हुँदा अरूलाई सुखी र पीडामुक्त देख्न सक्दैन । आफ्नो
दु:ख र पीडालाई सम्झी–सम्झी अरूलाई सदा दु:खी र पीडित बनाउन
तल्लीन रहन्छ ।
३३- सदाचार भनेको के हो ?
शील र शिष्टाचार सदाचारका दुई किनारा हुन् । अन्तर्जगतको विनम्रतालाई
हामी शील भन्दछौं । सुख–दु:ख, लाभ–हानि, जय–पराजय आदि विषम
अवस्थामा समत्व पैदा हुन थालेपछि शील उपलब्ध हुन्छ । बहिर्जगतको
विनम्रतालाई हामी शिष्टाचार भन्दछौं । यसैले हाम्रो लोक भाषामा पनि
शील–स्वभाव राम्रो हुनुपर्दछ भनेर भनिन्छ । यी दुईमा अन्तरसम्बन्ध छ ।
शील राम्रो भए स्वभाव उपलब्ध हुन्छ, स्वभाव राम्रो भए शील उपलब्ध
हुन्छ । जससँग यी दुवै रत्न उपलब्ध छन् उसलाई हामी सदाचारी भन्दछौं ।
३४- मानव शरीर त अनित्य छ, यसलाई महत्व दिनुको कुनै अर्थ छ र ?
मानव शरीर अनित्य छ र पनि नित्यलाई योभन्दा प्रिय अरू केही छैन ।
मानव शरीरभन्दा पवित्र मन्दिर, गुम्बा–चैत्य, मस्जिद, गिर्जाघर–चर्च,
गुरुद्वारा अर्को छैन । मानव शरीरमै आएर राम, कृष्ण, बुद्ध, महावीर,
हजरत मुहम्मद, इशा आदि पवित्र पुरुषले अध्यात्मको आनन्द र उत्सव
मनाउँछन् । त्यो अनादि सत्ताले परमचैतन्य र दिव्य अवतरण मानव
शरीरमा गरेर विश्व कल्याणका काम गर्यो । हरेक मानव शरीरमा त्यही
अनादि सत्ताले दिव्य प्रयोगद्वारा सम्पूर्ण सम्भावनाका स्वरूपहरूलाई
प्रकट गराउन प्रेरणा र पथ प्रदान गरिरहेको छ । यस्तो पवित्र मानव शरीर
बाहिरी हेराइमा अनित्य जस्तो देखिए पनि नित्यको निवासले चैतन्य
दृष्टिमा यो पनि नित्य नै छ । रूप फेरिए पनि स्वरूप फेरिएको छैन ।
साधनाद्वारा विश्लेषण र जागरण मार्फत विराट शरीरलाई उपलब्ध गरी
अनादि सत्ताले त्यसभित्र गरेका विभिन्न वैज्ञानिक प्रयोगलाई सत्पथ
बनाई हामी नित्य–सनातन सत्यलोकमा पुग्न र अमर हुन सक्दछौं ।
त्यसैले शरीर बाè हेराइमा अनित्य जस्तो भए पनि यो नित्यसँग
जोडिएकाले परमपुज्य छ ।
३५- सुन्दरताको के महत्व छ ?
सुनको थाल भएर के गर्ने त्यसमा भोजन छैन भने । भोजन छ भने
पातमै होस् या हातमै होस् त्यो महइभ्वपूर्ण हुन्छ । मूल कुरा भोजन हो,
थाल–कचौरा होइन । त्यसरी नै मान्छे हीरा–मोती, रत्न–रत्नादि, गर–
गहना र विभिन्न महङ्गा आभूषणले सजिएको होस् तर आफ्ना सम्पूर्ण
सम्भावनाहरूलाई प्रयोग गरेर आफ्नो मूल स्रोत अनादि सत्ता उपलब्ध
गर्न सकेको छैन भने भोजन बिनाको सुनको थाल जस्तै हो । सुन्दरता
बाहिरबाट भित्र प्रवेश गर्न सक्दैन तर भित्रबाट बाहिर उपलब्ध हुन
सक्दछ । संसारमा उपलब्ध सम्पूर्ण आभूषण र सुन्दरता विशेषज्ञ जम्मा
भएर पनि कुनै मानिसलाई बाहिरबाट सुन्दरता दिन सक्दैनन् । तर प्रत्येक
मान्छेले साधनाद्वारा आन्तरिक सुन्दरता उपलब्ध गर्न सक्दछ । जुन दिन
आन्तरिक सुन्दरता उपलब्ध हुन्छ त्यो दिन स्वत: नै बाè सुन्दरता पनि
उपलब्ध हुन्छ । आन्तरिक र बाè सुन्दरताको मेलबाट सनातन सुन्दरता
उपलब्ध हुन्छ । यसैले हामीकहाँ सत्यम्, शिवम् सुन्दरम् भनिएको छ ।
जब सत्य आफ्नो मूल स्वरूपमा पुग्दछ त्यहाँ शिव उपलब्ध हुन्छ भने
शिव आफ्नो मूल स्वरूपमा पुग्दा दिव्य सुन्दरता प्रकट हुन्छ ।
३६- धर्मको वास्तविक अर्थ के हो ?
धर्मको व्यक्ति, सम्प्रदाय र भाषा विज्ञानको क्षेत्रमा आ–आफ्नै र धेरै
अर्थ हुन्छ । मैले देखेको धर्म के हो भने धर्म कुनै मतमतान्तर होइन,
सत्यको शोधको प्रक्रिया हो । शास्त्रार्थको नाममा तर्क–वितर्क गरेर
कसैले हार्ने र कसैले जितेर जगत गुरु बन्ने प्रतिस्पर्धा पनि होइन धर्म ।
धर्म बाहिरी रूप–रङ्गको परिवर्तन र भेदको लडाइँ पनि होइन । धर्म
त साधनाद्वारा आफ्नो रूपान्तरण गर्दै मूल उद्गममा पुग्ने परम विज्ञान
हो । त्यसैले धर्म विज्ञान मानव जातिले उपलब्ध गरेको सबैभन्दा ठूलो
विज्ञान हो । विश्वमा धर्मका नाममा सबैभन्दा धेरै युद्धहरू भए, रगतका
खोला बगे, मान्छे–मान्छेबीच भेद र भय बढ्दै गयो । धर्मको सनातन
साधना मेटिँदै गयो र धर्मको नाममा अधर्मका शिक्षा–दीक्षाहरू फैलिँदै
गए । त्यसैले मानव एक आपसमा टाढिन थाल्यो ।
धर्म बाहिरबाट आरोपित हुनु हुँदैन । भित्रबाट अङ्कुरित भई बाहिरतिर
फैलिनु पर्दछ । बाहिरबाट आरोपित धर्मले भेद, घृणा र भय जन्माउँछ ।
भित्रबाट अङ्कुरित धर्मले प्रेम, शान्ति र करुणा जन्माउँछ । धार्मिकताको
बीज हरेक मानिसभित्र छ । कबीर, लाओत्से, अष्टावक्र आदि चैतन्य
शिरोमणिको परम सम्भावना हरेक मानिसभित्र बीज रूपमा रहेको छ,
मनसुनको प्रतीक्षामा । हरेक मानिसले त्यो बोधको शिखर छोएर समृद्ध
बन्न सक्दछ । सिर्फ होसपूर्वक सत्पथद्वारा सत्यसम्म पुग्ने संकल्प र
साधना जरुरी छ ।
३७- धर्म र विभेदको मेल देखिन्छ, त्यो के हो ?
आज धर्मका आडमा जातीय, लैङ्गिक र अन्य विभेद भइरहेको
सामाजिक सत्यलाई इन्कार गर्न मिल्दैन । धर्मको मूल मर्ममा विभेद कहीँ
छैन । विश्वका सबै धार्मिक ग्रन्थ र आदि आचार्य, गुरु र पैगम्बरहरूले
समता र ममताको शिक्षा दिइरहेका छन् । त्यो हुँदाहुँदै पनि संसारका सबै
धर्म–सम्प्रदायमा कतै न कतै, कुनै न कुनै रूपमा जातीय, लैङ्गिक,
साम्प्रदायिक आदि विभिन्न भेद र भित्ताहरू मानव चेतनाको खिल्ली
उडाउँदै उभिएका छन् ।
हिमवत्खण्ड नेपालबाट शिव शिक्षाका रूपमा विश्वभर फैलिएको
“योग” वर्तमान युगको युग धर्म, मर्म र कर्म हो । यो सनातन ज्ञान–
विज्ञानभित्र छुत–अछुतका घेराहरू छैनन् समता र ममताको अँगालोमा
साधनाको दिव्य उत्सव छ । शरीर, विश्व ब्रहृमाण्ड र अनादिबीचको
विराट मिलनबाट उपलब्ध स्वधर्म छ । यो सनातन धर्म मानव जातिको
सबैभन्दा ठूलो उपलब्धि हो ।
छुवाछुत कुनै पनि धर्मको मूलमा देखिँदैन । विभिन्न कालखण्डमा
धर्मको नाममा स्वार्थपूर्तिमा लागेका मानिसहरूले धर्मको परम पवित्र
सत्पथमा राक्षसी लुटेराका रूपमा आफूलाई उभ्याए । छुवाछुत र अन्य
भेद र भित्ताहरू बनाएर मानिसको स्वधर्म साधनालाई खण्डित गरे ।
अनादि सत्तासम्म पुग्ने सत्पथलाई डरलाग्दो र भयावह बनाइदिए । प्रेम,
शान्ति र करुणालाई कैद गरेर “नछोऊ” को राक्षसी प्रवृत्तिलाई धर्मको
संज्ञा दिए जसले लामो समयसम्म धर्मको ज्ञान, विज्ञान र साधनाको
सम्पूर्ण तइभ्वदर्शनको प्राण चुसिरहेको छ ।
३८- अध्यात्मवाद र भौतिकवादमा लडाइँ किन छ ?
वादमा सधैं विवाद हुन्छ । आध्यात्मिक सत्ता र भौतिक सत्तामा कहीँ
विवाद छैन तर अध्यात्मवाद र भौतिकवादमा विवाद छ । यो विवादको
कहिल्यै अन्त हुँदैन । अन्त हुन्छ त यो दुवै वादको विवादबाट मुक्त
भएर स्वधर्मको सत्पथमा अघि बढी सत्य उपलब्ध भएपछि । यहाँ
मुक्त हुनु भनेको दुवैसँग टाँसिनु या भाग्नु दुवै होइन । दुवैको सम्यक
प्रयोगद्वारा अघि बढ्नु हो । आफूलाई रूपान्तरण गर्दै सत्यसम्म पुग्नु र
स्थिर गतिशील हुनु हो ।
कुनै व्यक्तिले भौतिक ज्ञान–विज्ञानको विराट अध्ययन, अनुभव
र अनुभूति गर्यो भने ऊ आध्यात्मिक हुन्छ । सामान्य सतही छ भने
आलोचक हुन्छ । कुनै व्यक्तिले आध्यात्मिक ज्ञान–विज्ञानको विराट
अध्ययन, अनुभव र अनुभूति गर्यो भने उसले भौतिक ज्ञान–विज्ञानलाई
आलोचना गर्दैन । सामान्य सतही छ भने आलोचक हुन्छ । कुनै पनि
संरचनाको दृश्यसत्ता भौतिक नै हुन्छ र अदृश्यसत्ता आध्यात्मिक । यो
दुई सत्ताको सनातन सम्बन्धको बीचबाट गरिने यात्राको नाम स्वधर्म
हो । गन्तव्य अनादिसत्ताको सत्यानुभूति र त्यसबाट प्राप्त हुने आनन्द ।
३९- तपाईंले देखेको आध्यात्मिक मानव कस्तो हो ?
म हरेक मान्छेलाई बुद्ध बनेको देख्न चाहन्छु, बुद्धिष्ट बनेको होइन । ईसा
बनेको देख्न चाहन्छु, ईसाई बनेको होइन । महावीर बनेको देख्न चाहन्छु,
जैन बनेको होइन । नानक देव बनेको देख्न चाहन्छु, सिख बनेको होइन ।
हरेक मानवभित्र त्यो सम्भावना छ जहाँबाट ऊ अनादि सत्तासँग सिधा
जोडिन सक्दछ । बीचमा कुनै माध्यम र दल–बल, हुल–हुज्जतको
जरुरी छैन । हल्लाखोरी र कोलाहलको जरुरी छैन परम मौन जरुरी छ ।
हुलको जरुरी छैन, नितान्त एकै हुन जरुरी छ ।
संकल्पबाट साधना र साधनाबाट सत्यसम्म पुग्न हरेक मान्छे सक्षम छ ।
उसको संकल्प जति प्रबल भयो साधना त्यति नै दिव्य हुन्छ । साधना
जति दिव्य भयो सत्य त्यति नै छिटो प्रकट हुन्छ । सहयोगका लागि
कोही खोज्नु पर्दैन, स्वयम् अनादि सत्ताले सहयोगीहरू पठाउँछ । केवल
संकल्प प्रवल हुनु पर्दछ । निष्कम्प हुनु पर्दछ ।
४०- शान्ति र स्वधर्मको के सम्बन्ध ?
शान्ति मानिसको प्रकृति, कृति र संस्कृति हो । यसैले यसलाई उपलब्ध
गर्नु, संरक्षण गर्नु र विस्तार गर्नु सबैभन्दा ठूलो धर्म र धर्मको मर्म हो ।
शिक्षा, ज्ञान–विज्ञान, राजनीति, संगठनात्मक धर्म (सम्प्रदाय) आदि
असफल छन् यस पृथ्वीमा शान्ति उपलब्ध गराउन । हजारौं वर्षअघि
भन्दा अहिले हामीले आफूलाई आफ्नो परिभाषामा विकसित, सभ्य,
शिक्षित आदि मानेर बसेका छौं तर त्यो जङ्गली, अविकसित, असभ्य
र अशिक्षित मानेको कालखण्डमा भन्दा अहिले सपनामा पनि सोच्न
नसकिने र कल्पनामा पनि देख्न नसकिने बर्बर र हिंस्रक हुँदै गइरहेका
छौं । आफ्नै जाति र आफ्नै रक्षकको दुस्मन बनेर उभिएका छौं । काम
वासना, क्रोध, लोभ, मोह, ईष्र्या, द्वेष हाम्रो जीवनशैली बनेको छý सभ्यता
र संस्कृति बनेको छ । जसले हिंसाको विश्व संस्कृति निर्माण गरिरहेको
छ । आज विश्वमा शान्तिको ठेकेदारहरूबाट नै शान्ति लुटिएको छ।
दल–बल र हुल–हुज्जतबाट शान्ति उपलब्ध र विस्तार हुन सक्दैन । यो
त हरेक व्यक्तिको रूपान्तरणबाट मात्र सम्भव छ । रूपान्तरणको कला,
संस्कृति र विज्ञान भनेकै स्वधर्म हो ।
४१- नकारात्मक कुरालाई कसरी हटाउन सकिन्छ ?
नकारात्मक कुरालाई हटाउन मेहनत गर्नु बेकार छ, सकारात्मक कुरालाई
बढाउनेवित्तिकै नकारात्मक कुरा आफै हराउँछý विलीन हुन्छ । प्रेम पैदा
गरे घृणा विलीन हुन्छ । सत्य पैदा गरे असत्य विलीन हुन्छ । अहिंसा पैदा
गरेर हिंसा विलीन हुन्छ । प्रकाश पैदा गरे अन्धकार विलीन हुन्छ । प्रेम
र घृणाको, सत्य र असत्यको, अहिंसा र हिंसाको, प्रकाश र अन्धकारको
कहिल्यै द्वन्द्व या लडाइँ छैन । द्वन्द्व या लडाइँ त बराबरीमा हुन्छ । घृणा त
अत्यन्त कमजोर छ, प्रेम आउनेवित्तिकै विलीन हुन्छ । असत्य त अत्यन्त
कमजोर छ, सत्य आउनेवित्तिकै विलीन हुन्छ । यस्तै अरू पनि । यी दुई
अवस्थाको भेट कहिल्यै भएको छैन र हुँदा पनि हुँदैन । जसको भेटै हुँदैन
त्यसमा लडाइँ हुने कुरै भएन । त्यसैले नकारात्मकता अत्यन्त कमजोर
छ भने त्यसलाई हटाउन मेहनत जरुरी नै हुँदैनý केवल सकारात्मकता
पैदा गरे पुग्छ ।
४२- मानव जीवनको शिखर कसरी प्राप्त गर्न सकिएला ?
आफ्नो प्रकाश आफै बनी । जुन दिन मानिस आफ्नो प्रकाश आफै
बन्दछ र त्यही प्रकाशमा सत्पथतर्फ अघि बढ्छ, त्यस दिन त्यो
मानवले कृष्णलाई जत्तिकै प्रेम बुद्धलाई पनि गर्नेछ । ईसालाई जत्तिकै
प्रेम महम्मदलाई पनि गर्नेछ । नानकलाई जत्तिकै महावीरलाई पनि ।
राधालाई जत्तिकै मीरालाई पनि ।
यी सबै परम पवित्र मानव शिखरहरूलाई जत्तिकै स्वयम् आफूलाई
पनि जीवजन्तु, पशुपक्षी र वनस्पतिलाई पनि प्रेम गर्नेछ । मानवलाई
त्यो शिखरको ज्ञान हुनेछ जहाँबाट सबै नदी समुद्रतर्फ बगिरहेका छन् ।
र स्वयं समुद्र बनेका छन् । समुद्रको सह–जीवनको दिव्यताको समय
सकिएपछि पुन: वास्पीकृत, बादलीकृत र वर्षाकृत हुँदै आफ्नो मूल
उद्गम हिमालयतर्फ बढ्छन् । मानव जब साधनामा यो अनुभूति गर्दछ
तब गंगा, जमुना र सरस्वतीको लडाइँ समाप्त हुन्छ । किनारा बेकार
लाग्दछन् । संगम श्रेष्ठ हुन्छ । सबै पवित्र नाम र रूप संगमको केन्द्रमा
अनाम र अरूप अस्तित्व बनेर बस्दछ ।
४३- मौनको जीवनमा के महत्व छ ?
मौन सर्वोत्तम तीर्थयात्रा र दिव्य गन्तव्य हो जहाँबाट सनातन सत्य देख्न
सकिन्छ । बातचित या कुराकानी यो युगको सबैभन्दा ठूलो रोग हो ।
बिहानदेखि साँझसम्म मात्र होइन सुतेको बेलामा पनि निद्रामा मानिस
बडबडाउँछ । अरूसँग बातचित गर्ने मौका नपाए आफैसँग बातचितमा
मस्त हुन्छ ।
जब मानिस अरूसँग सोध्दछ, अक्सर गलत उत्तर पाउँछ र पथभ्रष्ट
हुन्छ । दिशाभ्रम हुन्छ । एकान्त, मौन र परम शान्त अवस्थामा आफैसँग
सोधेर यात्रा गर्ने मानिस मात्र सत्यसम्म पुग्न सक्दछ ।
४४- अहंकारले मानिसलाई के प्रभाव पार्दछ ?
मानिसको सम्पूर्ण पतन या सम्पूर्ण हारको कारण अहंकार, महत्वाकांक्षा
र प्रतिस्पर्धा हो । मसँग धन धेरै छ, मसँग ज्ञान धेरै छ, मसँग त्याग
धेरै छ, मसँग चेला धेरै छन्, मसँग पद–प्रतिष्ठा ठूलो छ . . . . . .
म... म... म... यो भोगमा होस् कि योगमा, त्यागमा होस् कि लोभमा,
आध्यात्मिक जीवनमा होस् कि भौतिक जीवनमा सबै अहंकारका
हुँकार हुन् । यसैले अहंकारले मानिसलाई अनादि सत्ताबाट धेरै टाढा
फ्याँकिदिन्छ । स्वयम्लाई पनि क्षत–विक्षत बनाउँछ सिर्फ अहंकारको
आवरणमा क्षत्–विक्षत् भएको थाहा हुँदैन ।
सारा दुनिया नष्ट भए होस् तर म बाँच्नु पर्दछ । मेरै हातबाट सारा दुनिया
नष्ट गर्न परे गरौंला तर म नष्ट हुनेछैन । मभन्दा जान्ने–सुन्ने र बलशाली
कोही हुनु हुँदैन आदि सोच्ने विध्वंशक विचारको नाम नै अहंकार हो ।
अहंकारी मानिसभित्र प्रेम, शान्ति, करुणा खोज्नु बालुवा पेलेर तेल
निकाल्नु जस्तै हो ।
४५- दिव्य अवस्था कसरी प्राप्त गर्न सकिन्छ ?
साधकहरू साधनाको शिखरमा दिव्यावस्थाको अनुभूति गर्दछन् र त्यसमा
स्थिर हुन्छन्, जीवनका सबै भोक र तिर्खाहरू मेटाएर । त्यस्तो दिव्य
अवस्था हरेक व्यक्तिमा चौबीस घण्टामा एक–दुई क्षण–क्षणिकाको रूपमा
आइरहेको हुन्छ । तर, चेतनाहीन मानिसले यो अनुभूति गर्दैन । अनुभूति
गर्दैन पनि नभनुँ, चारैतर्फको चेतनाहीन जीवनशैलीले अनुभूति गर्ने परम
चैतन्यावस्था नै गुमाएको छ । ती क्षण–क्षणिकालाई एकपटक मात्र पनि
चैतन्यबोधका साथ देख्न सकेमा इच्छा भएसम्म त्यो दिव्य अनुभूति गर्न
सकिन्छ । साथै इच्छाअनुसार उपलब्ध गर्न सकिन्छ । हरेकमाथि वर्षिएको
अमृत वर्षाको त्यो दिव्य अनुभूतिका लागि हरेक क्षण घटिरहेका भित्र
र बाहिरका गतिविधिहरूमा चैतन्यबोध हुनु पर्दछ । यही क्षण–क्षणको
चैतन्ययात्रा नै अनादि सत्ताको बोध गराई सबुद्ध बनाउने सत्पथ हो ।
४६- संसारमा सबैभन्दा दु:खी मानिस को हो ?
पालोको पैंचो । उसले मलाई दु:ख दियो भने मैले उसलाई झनै ठूलो
दु:ख दिन्छु भनी सोच्ने मानिस कहिल्यै सुखी हुँदैन, हुनै सक्दैन ।
यस्तो बदलाको भाव या वैरभाव बोकेको मलिन मनद्वारा सञ्चालित
मानिस संसारको सबैभन्दा दु:खी मानिस हो । मेरो उपस्थिति या मेरो
कारणले कसैलाई दु:ख भयो कि भनी सजग हुने र सबैलाई सुखी देख्न
कार्य गर्ने मानिसलाई कसैले दु:ख दिन सक्दैन । ऊ सदा सुखी हुन्छ ।
यथार्थमा भन्ने हो भने सुख–दु:खभन्दा माथि सनातन आनन्दको उत्सव
मनाइरहेको हुन्छ ।
पुण्यवान अर्थात् सबैको मंगल हुने असल काम गर्ने व्यक्ति जहाँ जस्तो
परिस्थितिमा रहे पनि सुखी हुन्छ । आनन्द र उत्सवमा हुन्छ । पुण्यहीन
अर्थात् आफूलाई मात्र हित हुने अरूलाई अहित हुने काम गर्ने व्यक्ति
जहाँ जस्तो परिस्थितिमा रहेपनि सदा दु:खी हुन्छ । पीडा र अन्धकारमा
हुन्छ । आगोबिना नै जलेर दुर्गति हुन्छ । शास्त्रका कुरा धेरै जान्ने,
सम्प्रदायका नशामा लठ्ठिएको, भेदको बन्धनले बाँधिएको र स्वधर्मको
जीवनशैली नबाँचेको मानिस यस संसारमा सबैभन्दा दु:खी मानिस हो ।
ऊ प्रकाशका बीचमा पनि अन्धकारमा हुन्छ । अमृतका बीचमा पनि
विषपान गरिरहेको हुन्छ । सत्पथमा उभिएर पनि असत्पथ खोजिरहेको
हुन्छ । यस्ता मानिसले आनन्द, उत्सव र अनादि सत्तालाई देख्नै सक्दैनन् ।
निद नआएकालाई रात लामो लाग्दछ । हिँड्ने मन नभएकालाई ५० हात
पनि टाढा लाग्दछ । जिउन नजान्नेलाई जीवन केवल दु:खमय लाग्दछ ।
समयको महइभ्व नजानेकालाई आयु लामो लाग्दछ ।
४७- मानव जीवनको वीरता के हो ?
रगतको खोला बगाउनु र लासमाथि टेकेर विजयको हुँकार गर्दै शासनमा
आसन जमाउनेहरूको जित कहिल्यै हुँदैन । यी संसारका सबैभन्दा कायर
मानिस हुन् । सहनशीलता, क्षमाशीलता, प्रेमशीलता, करुणाशीलता र
अहिंसाशीलता संसारका सबैभन्दा ठूला सैन्यशक्ति हुन् जसका अगाडि
चक्रवर्ती सम्राटहरू घुँडा टेक्छन् । यी पञ्चामृत अस्त्रहरू ती दिव्य अस्त्र
हुन् जसले जीवितको जीवन हरण गर्दैनन् । मृतलाई लाग्यो भने पनि
जीवन प्रदान गर्दछ ।
क्रोधीलाई अक्रोधको बलले, कुभलो गर्नेलाई सुभलोको बलले,
लोभीलाई दानको बलले, हिंस्रकलाई अहिंसाको बलले, असत्यलाई
सत्यको बलले, अहंकारलाई विनयशीलताको बलले जित्नेलाई नै
वास्तविक वीर भनिन्छ । यी नै चक्रवर्ती महावीर हुन् ।
४८- परमात्मा भनेको के हो ?
हरेकको परिवर्तनशील जीवनमा रहेको अपरिवर्तनीय अनादि सत्तालाई
नै परमात्मा भनिन्छ । योगीले परमात्मालाई आफूभित्र खोज्दछ, भोगीले
परमात्मालाई आफूबाहिर खोज्दछ । त्यसैले योगी जहाँ पनि जान्छ
आफूभित्र परमात्माको पूर्ण उपस्थिति देख्दछ र हरक्षण आनन्द, अहोभाव
र उत्सवमा रहन्छ । भोगी जहाँ पनि जान्छ आफूबाहिर परमात्मा छ भनी
खोज्दै हिँड्छ र भेट्न नसकी दु:ख, पीडा र छट्पटीमा जीवन बिताउँछ ।
परमात्माको खोजीमा हिँडेका साधकले वाद र विवादमा अलमल गर्नु
हुँदैन । सत्पथद्वारा सत्य र सत्यद्वारा स्वधर्म प्राप्त हुन्छ । फूलको सुगन्ध,
सौन्दर्य र स्वरूपमा परमात्माको उपस्थिति देख्नुपर्दछ । कर्मयोगीको
निष्काम कर्मयोगमा, जीवजन्तुमा, चराचुरुङ्गीमा, वनस्पतिमा सर्वत्र
परमात्माको उपस्थिति देख्नुपर्दछ । प्रेम, शान्ति र करुणामा परमात्मालाई
देख्नु पर्दछ । तब परमात्मा खोज्न कहीँ जानु पर्दैन । परमात्माले निरन्तर
खोजिरहेको र आफू भागिरहेको देख्न थालेपछि पूर्ण चैतन्यबोध प्राप्त
हुन्छ । यसप्रकार सम्पूर्ण दौडबाट मुक्त भई उसकै काखमा आनन्दित
भएको अवस्था नै संबोधि हो । समाधि हो । सर्वस्व हो । परमात्मालाई
यस्तो प्रेम गर्नु पर्दछ कि डुब्न लागेकाले जीवनलाई गरेजस्तो । आमाले
सन्तानलाई गरेजस्तो । किनकि परमात्मा प्रेमद्वारा देख्न सकिन्छ । यसकै
अभावले त मानिस सबैभन्दा नजिकको परमात्मालाई देख्न र उसको
काखमा रमाउन सकिरहेको छैन । परमात्मालाई जसले प्रेम गर्दछ, ऊ
दु:खमा आत्तिने र सुखमा मात्तिने गर्दैन ।
४९- सत्पथको के महत्व छ ?
मूर्ख मानिसले सधैं असत्पथबाट या भनौं नराम्रंो कामबाट सुख खोज्दछ ।
उसलाई के थाहा तेल पाउन बालुवा पेलेर हुँदैन, तैलीय बीजहरू नै
पेल्नु पर्दछ । पानी मथेर घ्यु निस्कन्न, दूध–दही नै मथ्नु पर्दछ । जति नै
बलवान भए पनि असत्पथबाट हिँडेर सत्यसम्म पुग्न सकिन्न । आगोको
फिलिङ्गोले एकैपटक डढेलो लगाउँदैन, जब लाग्दछ, तब सबै खरानी
हुन्छ । त्यस्तै असत्पथमा हिँड्ने अर्थात् नराम्रो काम गर्ने या सोच्नेलाई
तत्काल कुनै अमंगल अवस्था नदेखिए पनि क्रमश: अमंगल हुँदै जान्छ
र एक दिन यस्तो क्षण आउँछ, ऊ सम्पूर्ण रूपमा पतन हुन्छ ।
जति उच्च कोटीको सुगन्धित फूल, अत्तर, श्रीखण्ड र अन्य सुगन्धित
वस्तुहरू हावा नपुगेको ठाउँमा पुग्न सक्दैनन् । तर, सत्पथमा हिँडेको
व्यक्तिको सुगन्ध हावाबिना नै सर्वत्र फैलन्छ ।
संसारका सम्पूर्ण धर्म, दर्शन, संस्कृति सत्यको गुणगान र साधनामा
केन्द्रित छन् । उपनिषद्ले सत्य नै ब्रहृम हो (सत्यं ब्रहृम) भनेको छ ।
बाइबलले “मलाई सत्यको ज्ञान देऊ” भनेर प्रार्थना गर्न सिकाएको छ ।
कुरानले भनेको छ — जो सत्यनिष्ठ छ अल्लाहले उसैको मनोकामना
पूरा गर्दछ । यस्तै अनेक धर्म, दर्शन, संस्कृतिको मूल स्रोत र गन्तव्य सत्य
नै हो । आधुनिक विज्ञान पनि सत्यकै खोज गरिरहेको छ । आइन्स्टाइनले
एक ठाउँमा भन्नुभएको छ — “मेरो धर्म त्यो उच्चतर असीम सत्ताप्रति
विनम्र प्रशंसाभावमा छ जसको व्यक्त सूक्ष्म विस्तारलाई हामी आफ्नो
मस्तिष्कबाट पनि देख्न समर्थ छौं । त्यो उच्चतर सत्ताको उपस्थितिप्रति
मेरो प्रगाढ भावनात्मक लगाव छ ।”
५०- प्रार्थनाको के महत्व छ ?
आस्था, श्रद्धा र विश्वासका साथ गरिएको सरल शब्दको प्रार्थना
जटिल शब्द संयोजनका मन्त्रभन्दा शक्तिशाली हुन्छ । आस्था, श्रद्धा र
विश्वासबिना दिव्य मन्त्रद्वारा गरिएको प्रार्थना पनि केवल अरण्यरोदन
मात्र हुन्छ ।
५१- त्यागको के महत्व छ ?
अभिमानबिनाको सात्विक त्याग परम पवित्र पूजा हो जहाँ परमात्माले
फूल वर्षाउँछ । अभिमानका साथ आएको त्यागले मानव पतनको
पातालमा खस्दछ । त्यागको अभिमान धन–सम्पत्ति, पद–प्रतिष्ठा,
मान–सम्मानको अभिमानभन्दा धेरै गुणा बढी हानिकारक छ ।
जसलाई इहलोक र परलोकमा कुनै आशा या निराशा छैन, लाभ–हानि,
जय–पराजय, सुख–दु:खमा कुनै भेद छैन, त्यही व्यक्ति त्यागी हो । सन्त
हो । सदाचारी हो । त्याग न हार हो न पुरुषार्थ न हुंकार हो न अहंकार ।
यो त सत्पथमा हिँड्नेको जीवन पद्धति हो ।
त्याग दिव्य जीवन पद्धति हो जो तप–साधनबाट प्राप्त गर्न सकिन्छ ।
त्यागद्वारा शुद्धीकरण र शून्यता पैदा गर्न सकिन्छ । शरीरका माध्यमबाट
भोगको विस्तार या दु:खको विस्तार दुवै रोग हो । त्याग उत्सवमय
जीवनशैली बन्नु पर्दछ । त्यागको नाममा शरीर र मनलाई पीडा दिनु,
दु:ख दिनु महारोग हो ।
५२- विचारको शुद्धीकरण किन आवश्यक छ ?
यो पृथ्वी र अन्तरिक्षमा आउने सृजना, स्थिरता र विनासको मूल कारण
त्यहाँ रहेका मानिसहरूको विचार–आचारमा निर्भर छ । तसर्थ विचार–
आचारको शुद्धीकरण केवल मानव विकासका लागि मात्र होइन,
सृजना, स्थिरता र विनासको त्रिवेणीबाट माथि उठेर अनादि सत्तामा
स्थिर गतिशील हुन पनि आवश्यक छ ।
विचार–आचारलाई, सत्य, शिव र सौन्दर्योन्मुख गराउन संकल्प, साहस
र श्रम गर्नु पर्दछ । विचार–आचार जीवनको मूल हो । विचार शुद्ध भयो
भने त्यसले जीवनको सूक्ष्म कणबाटै रूपान्तरण गर्दै लैजान्छ जसले
मानिसको विराट रूप प्रकट हुन्छ । कुनै विचार भित्र प्रवेश गरेपछि
उत्तेजना पैदा हुन्छ भने त्यो अशुद्ध विचार हो । शान्ति पैदा हुन्छ भने शुद्ध
विचार हो । जुन विचार भित्र प्रवेश गरेपछि आनन्दतर्फ यात्रा बढ्छ भने
त्यो शुद्ध विचार हो । चिन्ता, तनाव, बेचैनीतर्फ यात्रा बढ्छ भने अशुद्ध
विचार हो । विचार–आचार शुद्धिका लागि आफूभित्र प्रवेश गर्ने हरेक
विचारप्रति सजग चौकीदारी जरुरी छ ।
५३- अध्यात्म र विज्ञानको कस्तो सम्बन्ध छ ?
नङ र मासुको सम्बन्ध छ । अध्यात्म र विज्ञान एक–अर्काका पूरक
हुन् । एउटाबिना अर्को लङ्गडो हुन्छ । अध्यात्मले आनन्द र उत्सवमय
जीवन दिन्छ तर सुविधा दिन सक्दैन । विज्ञानले सुविधा दिन सक्दछ
तर आनन्द र उत्सवमय जीवन दिन सक्दैन । आनन्दमय, उत्सवमय
र सुविधामय जीवन आजको आवश्यकता हो । विज्ञानले बाहिरबाट
यात्रा सुरु गर्दछ, अध्यात्मले भित्रबाट यात्रा सुरु गर्दछ । यी दुई जहाँ
मिल्छन् र तेस्रो विधायक अवस्था उपलब्ध हुन्छ, त्यही दिव्यावस्था हो ।
आइन्स्टाइनले देखेको ऊर्जा र पदार्थको अद्वैत सम्बन्ध या भनौं ऊर्जाको
पदार्थसँग र पदार्थको ऊर्जासँगको परस्पर प्रेम र विस्तार भनेकै अध्यात्म
र विज्ञानको परस्पर प्रेम र विस्तार हो ।
अध्यात्म र विज्ञानलाई अज्ञानतावश परस्पर विरोधी मान्ने ठूलो जमात
हिजोका दिनमा पनि थियो र आज पनि छ । आ–आफ्ना भाषाका भिन्नता
हुन् । पूर्वका ऋषिले पनि अध्यात्म र विज्ञानको मेलबाट सर्वाङ्गीण
विकसित समाजको चैतन्यबोध र प्रयोग गरे । पश्चिमी वैज्ञानिकहरूले
पनि अध्यात्म र विज्ञानको मेलबाट सर्वाङ्गीण विकसित समाजको
परिकल्पना र प्रयोग गरे । यसो हुँदाहुँदै पनि समाजमा अध्यात्म र
विज्ञानबीचको अविश्वास र भेद बढ्दै गयो । धर्मको क्षेत्रका मानिसमा
शुद्ध आध्यात्मिकता र भौतिक विज्ञानका क्ष्ोत्रका मानिसमा शुद्ध
वैज्ञानिकताको अभावका कारण अछुत दृष्टि विकसित भयो । धर्मको
शोधबाट सत्य उपलब्ध गर्नुपर्ने र विज्ञानको शोधबाट महाविज्ञान उपलब्ध
गर्नुपर्ने दुवै आफ्नै दलदलमा झलमल देखेर रमाइरहे । अध्यात्मको
कला, संस्कृति र विज्ञान पूर्वमा जन्मियो र पश्चिमतर्फ बढ्दै गयो ।
आधुनिक विज्ञान पश्चिममा जन्मियो र पूर्वतर्फ बढ्दै गयो । पश्चिमी
देश त्यसमा पनि प्रमुखत: युरोपमा धर्माचार्य र वैज्ञानिकहरूबीच विवाद
बढ्यो । धर्माचार्य (पादरीहरू) ले विज्ञानका नवीन आविष्कारहरूलाई
धर्मविरुद्ध गतिविधि मानेर वैज्ञानिकहरूलाई यातना दिए । ग्यालिलियो
(१५६३–१६४२ इ.) जस्ता विराट प्रतिभाका धनी खगोलशास्त्री एवम्
गतिविज्ञान आदिका खोज–अन्वेषकलाई धर्माचार्यहरूले ठूलो यातना
दिए जो विश्व इतिहासमा कालो दिनका रूपमा छ ।
हाम्रो प्राचीन इतिहास साक्षी छ— अध्यात्म र भौतिक विज्ञानको मेलबाट
व्यक्ति, समाज र विश्व ब्रहृमाण्डबीचको सर्वाङ्गीण विकास गरेका थियौं
हामीले । कालखण्डमा हामीले अध्यात्मको महाविज्ञानलाई बाè छद्म
नाटकमा केन्द्रित गरी त्यसको निर्मल सत्यलाई छाडेर बाè आडम्बर र
ढोङलाई स्वीकार गर्यौं । प्राच्य वैज्ञानिक विकासलाई प्रवचन, शास्त्रार्थ
र “मेरो पुर्खाले घ्यु खाएका थिए, मेरो हात सुँघ” को उखानमा कैद
गर्यौं । साधना, सिद्धि र साक्षात्कारको जीवन्त पद्धतिलाई तहस–नहस
पार्यौं । अब अध्यात्म विज्ञान र भौतिक विज्ञानको सह–साधना जरुरी
छ । यसलाई स्थापित गर्न सबै क्षेत्रबाट प्रयत्न हुनु पर्दछ तबमात्र मानवको
सर्वाङ्गीण विकास सम्भव छ । यन्त्र र रसायनको अहङ्कारमा भौतिक
विज्ञानको विकासले आज मानव समाज सर्वनाशको संघारमा उभिएको
छ । यसका साथै बाè छद्म नाटक र ढोङको अहङ्कारमा अध्यात्म
विज्ञान सर्वनाशको संघारमा उभिएको छ । यी दुवै विज्ञान सत्व गुमाएर
सर्वस्वनासमा लागेका छन् । चैतन्य मानवले अब अगाडि आएर दुवै
विज्ञानको अहंकारबाट मुक्त र सत्वबाट युक्त मानव समाज निर्माणको
संकल्प र साधना गर्नु परेको छ ।
५४- तपको के महत्व छ ?
तपद्वारा मानिसले आफूभित्रको अनन्त सम्भावना र रहस्यलाई देख्न
र प्रकट गराउन सक्दछ । अन्य जीव–जन्तु, चरा–चुरुङ्गी आदिले
आफ्ना जन्मका साथ प्राप्त गुण विशेषलाई लिएर अघि बढ्छन् ।
आफ्ना प्रयत्नले त्यसलाई बढाउन या विशिष्टीकरण गर्न या आफ्नो
सम्भावना र रहस्यलाई खोज्न सक्दैनन् । मानिसले विभिन्न जीव–जन्तु,
चरा–चुरुङ्गीभित्र विकसित र मानिसमा नभएका गुणहरूलाई आफ्नो
तपद्वारा प्राप्त गर्न सक्दछ । मानिसले विशिष्ट ज्ञान–विज्ञान जीव–
जन्तु, चरा–चुरुङ्गी, कीट–पतङ्ग, वनस्पति आदिबाट सिकेको हो ।
यी विशिष्ट गुण मानिसले जन्मका साथ ल्याएको होइन । कैयौं जीव
पानीमा पौडिन या डुबेर बस्न सक्छन् । कैयौं पानीभित्र र पानीबाहिर
जमिनमा बस्न सक्दछन् । कैयौं आकाशमा उड्न र जमिनमा हिँड्न दुवै
सक्दछन् । मानिस संकल्प र निरन्तर अभ्यासद्वारा पौडिन त सक्यो तर
उड्न सकेन । तर, मानिसले विज्ञानको प्रयोगद्वारा जलयान, वायुयान
आदि बनाएर पानीमा लामो समय यात्रा गर्न, पानीमुनि बस्न सक्ने भयो ।
उड्न सक्ने भयो । यसैले मानिस आफ्नो संकल्प र निरन्तर अभ्यास या
भनौं तप या साधनाद्वारा दुवै विशिष्ट गुण प्राप्त गरेर धेरै अघि बढ्न
सक्यो । एउटा आफूभित्रको सम्भावना र रहस्यको खोज, दोस्रो अन्य
जीवभित्र रहेको विशिष्ट प्राकृतिक गुणको उपलब्धता । यसैले मानिसले
आफूलाई जीव जगतको शिखर बनायो । यो तपबाट मात्र सम्भव छ ।
आज तप पनि बाè आडम्बर, अहंकार र ढोङको चंगुलमा फसेको छ ।
सच्चा तपस्वीलाई घृणा र झुठा तपस्वीको पूजा चलिरहेको छ । बाè
रूप–रङ्गले सम्मान पाइरहेको छ र आन्तरिक रूप–रङ्गले अपमान ।
यसैले मानव सभ्यता विनाश यात्रातर्फ अघि बढिरहेको छ । अब जाग्नुपर्ने
बेला आएको छ । चैतन्यबोधद्वारा धर्ममा रहेका अधार्मिक परम्परा, भौतिक
विज्ञानमा रहेका अवैज्ञानिक स्वीकृति आदि जेका नाममा जे छैन केवल
त्यसको बेहोस स्वीकृति या ढोंगको ठगीवृत्ति छ त्यसलाई हटाएर मानव
गौरवलाई फेरि चैतन्यबोधको शिखरमा पुर्याउनु पर्दछ ।
तपको सत्पथबाट मानव सभ्यतालाई चरम उचाइ दिनु पर्दछ ।
केवल ऋषि, योगीहरू मात्र होइन आधुनिक वैज्ञानिक या अन्य शिखर
व्यक्तिहरू तपकै बलले त्यो उचाइ उपलब्ध गरेका हुन् । अध्यात्म र
विज्ञानको भेदलाई समाप्त गरी अभेद उपलब्धिद्वारा विश्वको सर्वनाश
हुनबाट बचाउन तप चाहिन्छ ।
५५- सनातन अहिंसा कसरी प्राप्त गर्न सकिन्छ ?
अहिंसा हाम्रो प्राकृतिक स्वभाव हो । हिंसा आफूलाई प्रशिक्षण दिएर
प्राप्त गरेको नकारात्मक गुण हो । हिंस्रक बन्न मानिसले धेरै मेहनत
गर्नुपर्यो । मानिस प्राकृतिक स्वभावमा हिंस्रक थिएन र हुन पनि
सक्दैन । हिंसाबाट प्राप्तहुने उपलब्धि केवल दु:ख हो । कुनै पनि मानिस
दु:खी हुन चाहन्न । त्यसैले हिंसा हाम्रो बेहोसीको दुर्घटना हो, जीवनको
प्राकृतिक प्रवाह होइन ।
अहिंसा एक छ, हिंसा अनन्त छ । सम्पूर्ण हिंसाको स्रोत एक छ,
त्यो हो म र तँको मूल । अहिंसा अनादि ज्ञानबाट प्राप्त हुन्छ, हिंसा
अनादि ज्ञानको अभावमा जन्मन्छ । आफ्नो बारेमा नजान्नु नै पहिलो
मुख्य हिंसा हो । सामाजिक मान्यता छ— अरूलाई सुख हुने काम
गर्नु अहिंसा हो, दु:ख हुने काम गर्नु हिंसा । तर, यथार्थमा अरूलाई
सुख दिनै सकिन्न । अरूले दिएको सुख होस् या दु:ख, नतिजा दुखै
हुन्छ । सुख मात्र होसपूर्वक आफूलाई दिन सकिन्छ । आफूलाई सुखी
बनाउन आफूलाई चिन्नु पर्दछ ।
जहाँ दुई उपस्थित हुन्छन्, त्यहाँ हिंसा हुन्छ नै । दोस्रो नरहेपछि मात्र
अहिंसा उपलब्ध हुन्छ । दोस्रो तब रहन्न जब हामीले आफूलाई जान्दछौं ।
तब अनादि सत्तालाई जान्दछौं, परमात्माको सृष्टि, स्थिति र संहारलाई
जान्दछौं । हरेक जीव, वनस्पति र व्यक्त–अव्यक्त सम्पूर्णमा जब उही
अनादि सत्तालाई देख्दछौं— जो आफूभित्र छ, तब आफूभित्र विराट
विश्व ब्रहृमाण्ड र विराट विश्व ब्रहृमाण्डभित्र आफू देखिन्छ । तब हिंसा
कसको गर्ने ? केका लागि ? यही दिव्य क्षणमा सनातन अहिंसा पैदा
हुन्छ । अहिंसा साधना पथको पहिलो र अन्तिम सत्य हो ।
५६- सत्यको बाटोमा कसरी हिँड्न सकिन्छ ?
सत्य पथहीन गन्तव्य हो । कुनै बाटो समातेर या अरूको हात समातेर
सत्यसम्म पुग्न सकिँदैन । कुनै पनि धर्म–सम्प्रदाय, मान्यता र परम्पराको
बाटोबाट सत्यसम्म पुग्न सकिन्न । सूचना र नक्साको बाटो समातेर
सत्यसम्म पुग्न सकिन्न । सत्य सनातन रूपमा असीमित र अप्रतिबन्धित
छ । सत्य जीवनको शिखर विन्दु हो । यसलाई व्यक्तिसम्म तानेर ल्याउन
सकिन्न । व्यक्ति नै उठेर सत्यसम्म पुग्नु पर्दछ । सत्यको भूमिसम्म जानु
छ भने एक्लै अघि बढ्नु पर्दछ । हुल लिएर सत्यसम्म जान सकिन्न ।
सत्य प्राप्तिका लागि सङ्घ–सङ्गठन बनाउने हो भने सत्य तत्क्षण
मर्दछ । यो एक धर्म–सम्प्रदाय या परम्परा बन्दछ । सत्य, धर्म–सम्प्रदाय,
आस्था–विश्वास, मान्यता–परम्परा आदिभन्दा धेरै माथिको अस्तित्व हो ।
सत्य सर्तका साथ उपलब्ध गर्न सम्भव छैन । सत्यलाई व्याख्या गर्न
सकिन्न । शास्त्र र शास्त्रार्थबाट सत्य उपलब्ध गर्न सकिन्न । सत्य मठ–
मन्दिर, चर्च, मस्जिद आदि स्थलको यात्रा, पूजा–अर्चना र प्रार्थनाले
प्राप्त गर्न सकिन्न । सत्य सम्पूर्ण बन्धनबाट मुक्त मानिसले देख्न, सुन्न,
सुँघ्न, स्वाद लिन र स्पर्श गर्न सक्दछ । सत्यको अनुभूति शब्दद्वारा
व्याख्या गर्न सकिँदैन । जसले सत्य अनुभूति गर्यो, ऊ अहोभावमा
नाच्न थाल्दछ । उसको जीवन उत्सवमय हुन्छ । अनुभूति शब्दमा
आउनेवित्तिकै परमसत्य समाप्त हुन्छ र आरोपित सत्य बाँकी रहन्छ ।
सत्य पथहीन र संघर्षहीन तीर्थयात्रा हो ।
५७- अचोरी (अस्तेय) कसरी उपलब्ध गर्न सकिन्छ ?
हिंसाको एक पाटो परिग्रह हो । ह्रिंस्रक नभई परिग्रही हुन सकिँदैन ।
जब परिग्रह विक्षिप्त हुन्छ तब चोरीको जन्म हुन्छ । चोरी र दान एक
सिक्काका दुई पाटा हुन् । अरूको राम्रो कुरा मेरो होस्, मेरो कल्याणका
लागि होस् भन्ने कामना चोरी हो भने मेरो राम्रो कुरा सबैका लागि
होस्, लोक कल्याणका लागि होस् भन्ने कामना दान । चोरीमा अरूको
चिज–वस्तु आफ्नो बनाउने प्रयास हुन्छ भने दानमा अरूलाई आफ्नो
बनाउने प्रयास हुन्छ । साधनाको जीवनमा चोरीको गहिरो अर्थ छ— जो
आफ्नो छैन त्यसलाई मेरो भन्नु नै चोरी हो । चोरीको भौतिक अर्थभन्दा
आध्यात्मिक अर्थ गहन छ । एक दिन समाज भौतिक सम्पन्नतामा पुग्यो
भने वस्तुको चोरी बन्द हुन सक्दछ । वस्तुको चोरी गरिबीको उपज हो ।
भित्र जे छ बाहिर त्यही हुन नसक्नु पनि चोरी हो । आफ्नो मौलिक
स्वभावमा नगएर अरूको व्यक्तित्व ओढेर जीवन चलाउनु पनि चोरी
हो । अध्यात्म भन्दछ— तिम्रो शरीर त तिम्रो होइन भने, तिम्रो घर कसरी
तिम्रो हुन सक्दछ ? तिम्रो शरीर तिम्रो भए यसलाई रोगी हुन दिने थियौ ?
ढल्न दिने थियौ ? अनादि सत्यसम्म नपुग्नु र ओढेको सत्यलाई म र मेरो
भन्नु सबैभन्दा ठूलो चोरी हो ।
एउटाको चोरी व्यवहारसम्म पुग्यो, अर्कोको चोरी मनसम्म । अचोरीको
अर्थ हो— सबै प्रकारका चोरीबाट मुक्त भई निर्मल बन्नु ।
५८- अपरिग्रहलाई लोकभाषामा कसरी बुझ्न सकिन्छ ?
अपरिग्रहलाई जान्न परिग्रहलाई जान्नु जरुरी छ । परिग्रहको अर्थ हो—
हरेक वस्तुको मालिक आफूलाई सम्झनु । परिग्रह हिंसाको नै एक
पाटो हो । केवल हिंस्रक व्यक्ति नै परिग्रही हुन्छ । परिग्रहको अर्थ हो
स्वामित्वको आकांक्षा । स्वामित्वको आकांक्षाले नै हिंसाको बीजारोपण
गर्दछ । मानिसको मन सधैं मालिक बन्न चाहन्छ । हामीले आफ्नो
मालिक आफै बन्ने कला, संस्कृति र विज्ञान भुल्यौं, त्यसैले बन्न
सक्दैनौं । त्यो अभाव पूर्ण गर्न जीवनभर अरूको मालिक बन्न दौडन्छौं ।
स्वधर्म साधनाले, योगले आफ्नो मालिक आफै बन्ने साधनापथ
देखाउँछ । जबसम्म हामी आफ्नो मालिक आफै बन्दैनौं तबसम्म
सम्पूर्ण विश्व ब्रहृमाण्डको मालिक भए पनि आनन्द आउन सक्दैनý
दु:ख सिवाय । आफूभित्र अवतरित आफ्नो मालिकलाई चिनेर अघि
बढ्नु विराट आनन्द र उत्सवको नगरीमा प्रवेश गर्नु हो भने अरूको
मालिक हुन चाहनु अन्तहीन दु:ख यात्रा हो ।
जब मानिस जान्दछ कि आफूभित्र अवतरित मालिकलाई चिनेर म
आफ्नो मालिक बन्न सकेको छैन, तब धन–सम्पत्ति, पद–प्रतिष्ठा,
घरबार, फर्निचर, उपकरण आदिले भित्रको खालीपन भर्न सुरु गर्दछ ।
तब पनि उसभित्रको खोक्रोपनले उसलाई अझ बढी तर्साउँछ तब ऊ
बेहोस संग्रहमा लाग्दछ । जति थप्दै जान्छ त्यति आफूभित्रको खोक्रोपन
बढ्दै जान्छ, ठूलो हुँदै जान्छ । ऊ आत्तिन्छ, मात्तिन्छ, तात्तिन्छ र बेहोस
संग्रहको दौडमा दौडिरहन्छ । अपरिग्रहको अर्थ बाहिरका कुरा छाड्नु
या कम प्रयोग गर्नु या संग्रह नगर्नु आदि होइन । अपरिग्रहको अर्थ त
भित्रको सनातन पूर्णतालाई प्राप्त गर्नु हो । भित्रको पूर्णता प्राप्त भएपछि
बाहिरी वस्तुको संग्रह आफै हट्दछ । भित्रको खालीपनले बाहिर संग्रह
गर्न बाध्य गराउँछ । भित्रको ऐश्वर्य प्राप्त भएपछि बाहिरको ऐश्वर्य
मूल्यहीन हुन्छ तब अपरिग्रह उपलब्ध हुन्छ ।
५९- ब्रह्मचर्यको गुणगान यति धेरै किन भएको हो ?
काम बाहिर बगिरहेको ऊर्जा, अकाम भित्र बगिरहेको ऊर्जा र ब्रहृमचर्य
दिव्य ऊर्जा । जब बाहिर बगिरहेको ऊर्जा भित्र बग्न थाल्दछ र आफ्नो
मूल घरतर्फ फर्कन्छ, त्यो दिव्य हुँदै जान्छ । यही दिव्यताको शिखर
ब्रहृमचर्य हो । जन्मका साथ हामीले ऊर्जाको मूल लिएर आउँछौं,
जवानीमा नदी बन्दछ । सजग भयौं भने वृद्धत्वमा समुद्र बन्दछ । अन्यथा
नदी बाटोमै हराउँछ आफ्नो नद–चैतन्य गुमाएर । धेरै मानिस जन्मका
साथ ऊर्जाको विराट सम्भावना लिएर आउँछन् र मृत्युमा सम्पूर्ण ऊर्जा
गुमाएर मर्दछन् । जसले मृत्युको समयमा अनन्त ऊर्जाका साथ फर्किन्छ,
ऊसले फेरि जन्मनु पर्दैन । काम मृत्युको खोज हो, अकाम जीवनको
खोज हो र ब्रहृमचर्य अमृतको खोज हो ।
काम ऊर्जा नास गर्ने विधि हो । कामका अनेक रूप छन् । जसको
सर्वाधिक सघन रूप यौनक्रिया हो । भोजनबाट ऊर्जाको पोषण हुन्छ,
व्यायामले ऊर्जा सक्रिय हुन्छ र विश्राममा ऊर्जाको संरक्षण हुन्छ ।
भोजन, व्यायाम र विश्रामबाट मानिस ऊर्जावान हुन सक्दछ । यो
मनोशरीर सन्तुलनको बाè स्वरूप हो ।
यौनक्रियामा नजानु या अविवाहित रहनु मात्र ब्रहृमचर्यको लक्षण होइन ।
यौनक्रियामा अकारण नष्ट हुने ऊर्जालाई रूपान्तरण गरी दिव्य ऊर्जामा
मिलन गराउने ज्ञान विज्ञान हो ब्रहृमचर्य । यथार्थमा ब्रहृमचर्य दिव्य
ऊर्जा विज्ञान हो । यसको सम्यक प्रयोगबाट मानिसले आफ्ना सम्पूर्ण
सम्भावनाका ढोका खोल्न सक्दछ र अन्तिम गन्तव्य अनादि सत्तासम्म
सजिलै पुग्न सक्दछ ।
६०- क्षमाको हाम्रो जीवनमा के महत्व छ ?
क्षमा सर्वशक्तिमानको श्रेष्ठ दिव्यशास्त्र हो । संसारमा कायरहरू मात्र
रगतको खोला बगाउँछन्, युद्ध गर्दछन् । डराएको मानिसले मात्र युद्ध
गर्दछ या चेतना हराएको मानिसले युद्ध गर्दछ । बहादुर मानिसले क्षमा
दिन्छ । प्रिय या अप्रिय व्यवहार गर्ने सम्पूर्ण प्राणीमा राग–द्वेष नहुनु क्षमा
हो । क्षमाभित्र अहिंसाको विराट स्वरूप हुन्छ । प्रिय र अप्रिय अवस्थामा
चित्तवृत्ति या मनोवृत्तिमा कुनै हलचल या उतार–चढाव आउँदैन । जहाँ
समत्व हुन्छ, त्यहीँ नै क्षमा उपलब्ध हुन्छ ।
क्षमावान् मानिस तीर्थस्वरूप हुन्छ । उसको नजिक जानेवित्तिकै
पवित्रता आउन थाल्दछ । क्षमावान मानिसलाई लोक दृष्टिमा र क्षणिक
दृष्६िमा सम्मान नभए पनि क्षमा साधनाले मानिसको यश, कीर्ति लोक
लोकान्तरसम्म पुग्दछ ।
६१- दयाको मानव जीवनमा के महत्व छ ?
श्रद्धापूर्वक अरूको दु:ख निवारणका लागि गरिने प्रयासको नाम “दया”
हो । मित्र या शत्रु, परिचित या अपरिचित, मानिस या पशु–पक्षी, घर–
परिवार या विश्व–परिवार सबैसँग समान व्यवहार गर्ने स्वभावको नाम
दया हो । मलाई जुन कुरा या अवस्थाले दु:खी बनाउँछ त्यसले अरूलाई
पनि बनाउँछ भन्ने सम्झी सर्वमंगलको भावनाले जिउनु दया हो ।
६२- प्राकृतिक भोजन भन्नाले के बुझिन्छ ?
प्राकृतिक भोजन भन्नाले सम्यक आहार हो । सम्यक अर्थात् आहारमा
संयम । न त अल्पाहार न त अति आहार । शरीरलाई पोषणै नपुग्ने गरी
भोजन घटाउनु या चाहिनेभन्दा बढी पोषण प्राप्त हुने गरी अत्यधिक
भोजन गर्नु, दिनचर्या र ऋतुचर्यालाई विचार नगरी भोजन गर्नु, देश,
काल एवं परिस्थितिलाई विचार नगरी भोजन गर्नु मानव गुण धर्मलाई
विचार नगरी भोजन गर्नु जस्ता कुराहरू प्रकृति सम्मत भोजनका
लक्षण होइनन् ।
मानिसको लागि सबैभन्दा मुख्य भोजन भनेको अन्न, कन्दमूल, फलफूल,
सलाद, हरियो तरकारी, सागपातहरू हुन् । यी र यस्तै बनस्पतीबाट
प्राप्त हुने भोजन नै मानिसको गुणधर्म अनुकूल प्राकृतिक भोजन हुन् ।
माछामासु, अण्डा एवं अन्य प्राणी जन्य खाद्य पदार्थ मानिसको गुणधर्म
अनुकूल छैनन् । जसले स्वस्थकर दीर्घजीवन दिन सक्दैनन् । साथै
आध्यात्मिक साधनाका लागि पनि यस्ता भोजनहरू बाधक छन् ।
६३- शौचको महत्व के छ ?
शारीरिक र मानसिक मललाई रेचन गरी निर्मल बन्ने यौगिक प्रक्रियालाई
शौच भनिन्छ । काम, क्रोध, लोभ, मोह, ईष्र्या, द्वेष आदिले मलीन भएको
मन र विजातीय पदार्थको संकलनले मलीन भएको शरीरलाई मलरहित
निर्मल बनाउने पद्धति शौच हो । शारीरिक र मानसिक शुद्धीकरणविना
मानव रूपान्तरण सम्भव नै छैन ।
शरीर र मनलाई मलरहित बनाउन मुख्य दुई चरणका कार्यहरू
गर्नुपर्दछ । पहिलो— संकलित मललाई होसपूर्वक निकालेर निर्मल
बन्नु । दोस्रो— फेरि मल संकलन हुने आदत या जीवन शैलीबाट मुक्त
रहनु । यी दुवै कार्य एकसाथ भएनन् भने पूर्ण निर्मलता आउन सक्दैन ।
पूर्ण निर्मलताविना सत्यको दर्शन हुन सक्दैन ।
पूर्ण निर्मलताका लागि आहार व्यवस्थापन, व्यायाम व्यवस्थापन,
मनोव्यवस्थापन र मनोपरामर्श, मनोरेचन, स्वधर्म साधना एवं अन्य
योग, प्राकृतिक चिकित्सा, आयुर्वेद आदिबाट उपचार, जीवनशैली
परिवर्तन एवं रूपान्तरण आदि जरुरी हुन्छ ।
निर्मल शरीर र मनमा मात्र बाè वातावरण र आन्तरिक वातावरणबीच
सन्तुलन हुन सक्दछ ।
६४- सन्तोषलाई परम सुख मानिएको छ, किन ?
श्रम, सीप, समय, सदाचार र साधनाको पञ्चपूजाद्वारा हरेक कार्यलाई
होसपूर्वक पूर्णतामा गर्ने र जे नतिजा आउँछ त्यसलाई पूर्ण स्वीकार गर्ने
जीवनशैलीलाई सन्तोष भनिन्छ । यो अवस्थामा दु:ख प्रवेश गर्नै सक्दैन ।
कैयनले सन्तोषलाई अल्छी जीवनका रूपमा बुझ्छन् । यो अक्षम्य गल्ती
हो । सन्तोष त भन्छ— कुनै कस बाँकी नराखी पूर्णतामा काम गर, तिम्रा
सम्पूर्ण सम्भावना र क्षमतालाई उपयोग गर । त्यसपछि सो कार्यको जे
नतिजा आउला त्यसलाई किस्तामा स्वीकार नगरी पूर्णतामै स्वीकार
गर । प्राप्त नतिजामा पश्चाताप नगर ।
मानिस भूतले लखेटेर र भविष्यले तानेर वर्तमानमा टुक्रिँदो रहेछ । हिजोका
गल्तीहरू र भोलिका सपनाहरू गन्दैमा आजको दिव्य क्षणलाई गुमाउँदो
रहेछ । यसैले ऊ असन्तोषी हुन्छ । आज जे रोप्यो भोलि त्यही फल्दछ ।
तीन–चार वर्षपछि आफ्नो बगैंचामा फलेको स्याउ खाने मन छ भने आज
नै बगैंचामा स्याउ रोप्नु पर्दछ । सुन्तला र मौसम रोपेर स्याउ खाने कल्पना
गर्नु र स्याउ फलेन भनेर दु:खी हुनु दुवै हास्यास्पद कुरा हुन् । बेहोसीमा
गरेका यिनै कामले पछि मानिस असन्तोषको खाडलमा फस्दछ ।
सन्तोषका पैतालाद्वारा हामी शान्ति र सृजनाको यात्रा गर्न सक्दछौं ।
असन्तोषीहरू कहिल्यै सिर्जनशील बन्न सक्दैनन् । असन्तोषीहरूले
शान्ति र सिर्जनाको दिव्य शक्तिलाई चिन्नै सक्दैनन् । उनीहरूले हिमाल,
पहाड, झरना, नदी, फूल, पूर्णचन्द्र कहीं पनि सुन्दरता देख्न सक्दैनन् ।
दोष मात्र देख्दछन् । खोट मात्र देख्दछन् । उनीहरूको जीवन परमात्माको
“शोकेस” बन्न सक्दैन, केवल समाजको “कन्टेनर” बन्दछ ।
६५- तप या साधनाको जीवनमा के महत्व छ ?
तपको गलत व्याख्या निरन्तर भइरहेको छ । सुखका सबै आकांक्षाहरूले
दु:खमा पुर्याएको देखेपछि होसहीन चतुर व्यक्तिहरूले दु:खको यात्रा
गर्यो भने पक्का सुखसम्म पुग्न सकिन्छ होला भन्ने सोचे । तब
उनीहरूले आफ्नो आत्मपीडनको बाटो रोजे । समाजले जसले सबैभन्दा
बढी आफ्नो हिंसा गर्न सक्दछ उसलाई सबैभन्दा ठूलो तपस्वी मान्यो र
सम्मान गर्यो । यही सम्मानले उसले आफ्नो शरीर र मनमाथि थप क्रूर
हिंसा गर्न थाल्यो । हिंसाबाट उठेको तपले कहिल्यै अहिंसामा पुर्याउन
सक्दैन । इतिहास साक्षी छ कठोर तपस्याबाट वरदान पाएका तपस्वीहरूले
आफ्नो उपलब्धिलाई हिंसामा लगाएको । ती तपस्वीलाई हामीले असुर
भन्यौं किनकि उनीहरूको तपस्यामा सुर थिएन, आत्मपीडन थियो ।
अहिंसाको आत्मा चैतन्य चित्तवृत्ति हो । तप शरीर हो । शरीर पवित्र
देवालय हो । विराट अस्तित्व शरीरभित्र रहेको हुन्छ । शरीरका विभिन्न
तह र तत्व छन् । शरीर ढलेपछि यी सबै आफ्नो मूलमा फर्किन्छन् ।
यसैले शरीर महत्वपूर्ण छ । तप आत्मपीडनको बाटोतर्फ बढ्यो भने
शरीरले विश्राम लिन्छ र सबै सम्भावना ढल्दछन् । तपको नाममा
आफूमाथि हिंसा गर्नेहरूले अरूलाई अझ बढी हिंसा गर्दछन् ।
तपको मूल सूत्र लड्नु होइन । जीवनलाई विधायक रूपमा स्वीकार्नु हो ।
तपले भित्रका केन्द्रहरूको परिचय दिन्छ । तब तपस्वी होसपूर्वक आफ्नो
सनातन ऊर्जालाई एक केन्द्रबाट अर्को केन्द्रमा उध्र्वगमन गर्दै अस्तित्वको
शिखर अनादि सत्तामा पुर्याउँछ । मानिसभित्र सनातन अग्नि छ । तपस्वी
यो अग्निलाई अनादि अग्निसम्म पुर्याउँछ । अग्निको स्वभाव उध्र्वगमन
हो । तर, भोगी अग्निलाई अधोगमनतर्फ धकेल्दछ । प्रकृतिको विरोधमा
जान्छ । तपस्वी विरोधमा जान्न, स्वीकारमा जान्छ । तप अहिंस्रक भयो भने
ध्यानमा रूपान्तरित हुन्छ । तपस्या अहिंसाको प्रयोग हो । हिंसाको बाटोबाट
अहिंसामा जान सकिन्न । तपस्यालाई हिंस्रक हुन दिनु हुँदैन ।
६६- स्वाध्याय भनेको केको अध्ययन हो ?
‘स्व’को अर्थ स्वयं र अध्यायको अर्थ लयबद्ध शिक्षण हुन्छ । तसर्थ
स्वाध्यायको अर्थ आफूभित्रको रहस्य र विराट सम्भावनाको लयबद्ध
शिक्षण हुन आउँछ । आन्तरिक जगतको अध्ययन जति गहिरो हुँदै जान्छ
त्यसको प्रकाशले बाहिरी जगतका सम्पूर्ण रहस्य र सम्भावनालाई
पनि प्रकट गराउन थाल्दछ । संसारमा प्राप्त सबै ग्रन्थहरूभन्दा सनातन
सार्वभौम र विराट ग्रन्थ आफूभित्रै छ ।
बाहिर प्राप्त सत्साहित्य या ग्रन्थहरूको अध्ययन, मनन राम्रो कुरा
हो । तर, ती ग्रन्थमा लेखिएका कुरा बन्धन बन्नु हुँदैन । अध्ययन,
मननको बीचबाट सत्यदर्शन हुनु पर्दछ । ग्रन्थ, ग्रन्थि बनेर जीवनलाई
बाँध्नु हुँदैन । बाहिरबाट विस्तार हुने ज्ञान–विज्ञानमा हजारौं बन्धन
छन् । एकबाट फुस्किएर अर्कोमा जेलिने या बाँधिने सम्भावना हुन्छ ।
अल्झिने–बल्झिने धेरै सम्भावनाहरू छन् । जालमाथि जाल जेलिएको
छ । सिद्ध भइसकेँ भन्नेले पनि गिद्द दृष्टि नछोडेको हुन सक्दछ ।
भित्रबाट बाहिर विस्तार हुने ज्ञान निर्जाल छ, पवित्र छ । यसमा कहीं
अल्झिने, बल्झिने डर छैन । भित्रको ग्रन्थ सत्यम् शिवम् सुन्दरम्को
बीचबाट अलिखित अनादि अक्षर ग्रन्थका रूपमा प्रकट छ । यसभित्र
सम्पूर्ण ग्रन्थहरू प्रवेश गर्दछन् र निस्कन्छन् । यिनैका केही अंशहरू
लोकाचारका लागि ऋषिमहर्षिहरूले समाजलाई प्रदान गर्नुभयो ।
योगीहरू, साधकहरू भित्रबाट बाहिर यात्रा सुरु गर्दछन् भने पण्डितहरू
बाहिरबाट भित्र यात्रा गर्ने जमर्को गर्दछन् । त्यसैले पण्डितहरू
शास्त्रार्थको चक्रव्युहमा फस्दछन् र हार–जीतको हिसाब गरेर बस्दछन् ।
६७- ईश्वरप्रणिधान भनेको के हो ?
सबै कर्मलाई अनादि सत्ता या परमात्मामा चढाएर निष्काम कर्म
गर्नुलाई ईश्वरप्रणिधान भनिन्छ । ईश्वरप्रणिधानले कर्मफलबाट
(भाग्यलाई भनिएको होइन) प्राप्त हुने लाभ–हानि, जय–पराजय,
उच–निच सबै परमात्मामा चढाएर निर्मल ढंगले बाँच्न सिकाउँछ ।
कुनै काम गर्दा लाभ भएमा मैले गरेको भनेर अहंकारले गर्जने र
हानि भएमा दैवले ठग्यो भनी दोष थोपरी हीनताबोधको सिकार बन्ने
निरीह, बेहोस मानव मनलाई ईश्वरप्रणिधानको सूत्रद्वारा निर्मल बनाई
अनादि सत्तातर्फ अघि बढ्नु पर्दछ ।
सबै कार्यको फलको अपेक्षा र उपेक्षा दुवैलाई छाडेर समर्पणमा जिउनु
ईश्वरप्रणिधानको मूल साधना हो । योग दर्शनमा ईश्वरको प्रतिपादन
एक यस्तो तत्वको रूपमा भएको छ, जसलाई ध्येय बनाएर मानव
छिटोभन्दा छिटो अनादि सत्तामा मिल्न सक्दछ र स्वयं अनादि बन्न
सक्दछ । ईश्वरको वाचक प्रणवलाई मानिएको छ । प्रणव ध्वनि श्रेष्ठ
अनादि ध्वनि ॐ का साथ अनहदमा उत्सवमय विश्रम हुन सक्दछ ।
यही नै मानव जीवनको दिव्य उपलब्धि हो ।
६८- विजयी कसलाई भनिन्छ ?
क्रोधीलाई अक्रोधको बलले, कुभलो गर्नेलाई सुभलोको बलले,
लोभीलाई दानको बलले, असतीलाई सत्यको बलले, अहंकारीलाई
विनयशीलताको बलले जित्नेलाई नै विजयी भनिन्छ । वीरहरूको वीर
महावीर भनिन्छ यस्तालाई ।
सहनशीलता, क्षमाशीलता, प्रेमशीलता, करुणाशीलता र प्रार्थनाशीलता
नामक पञ्चशक्ति संसारको सबैभन्दा ठूलो सैन्य शक्ति हो जसका
अगाडि विश्व विजयी चक्रवर्तीहरू घुँडा टेक्छन् । यी पञ्चशक्ति ती
दिव्य अस्त्र हुन् जसले जीवितलाई लागेर जीवनहरण गर्दैनन्, मृतलाई
लाग्यो भने पनि जीवन प्रदान गर्दछन् । आफूलाई अमंगल गर्नेहरूको
लागि पनि सर्वमंगलको कामना गर्ने व्यक्तिलाई कहिल्यै कसैले दु:ख
दिन सक्दैन । जन्म र मृत्युले पनि प्रणाम गरेर फर्किन्छन् ।
६९- स्वर्ग र नरकबारे स्पष्ट गरिदिनुस् ।
काम वासनाभन्दा ठूलो अर्को पहिरो छैन । क्रोधभन्दा ठूलो अर्को डढेलो
छैन । लोभभन्दा ठूलो अर्को आँधी–बेहरी छैन । मोहभन्दा ठूलो अर्को जाल
छैन । ईष्र्याभन्दा ठूलो अर्को अन्धकार छैन । द्वेषभन्दा ठूलो अर्को प्रलय
छैन । अत: यी सबै आपत–विपतभन्दा ठूलो अर्को नरक छैन । यी मलका
वैतरणी नदीबाट पारि पुगेर निर्मल बन, निर्मलता भन्दा अर्को स्वर्ग छैन ।
तिम्रो मन मौन छ, मुख नि:शब्द छ र कर्म बोलिरहेको छ भने तिमी
स्वर्गमा छौ । तिम्रो कर्म मौन छ, मुख शब्दसागर बनेको छ र मन
बोलिरहेको छ भने तिमी नर्कमा छौ । स्वर्ग र नर्कको प्राप्ति तिमीमै
निर्भर छ तिम्रा लागि ।
७०- परमात्मा कसरी प्राप्त गर्न सकिन्छ ?
परमात्मा अर्थात् अनादि सत्तालाई प्राप्त गर्न अत्यन्त सजिलो छ ।
त्यसैले अत्यन्त कम मानिसले प्राप्त गर्दछन् । किनकि आज परमात्मा
प्राप्तिको बाटोलाई भत्काएर कठिन बनाइँदैछ । असीमित इच्छाहरू पूरा
गर्दै साथमा पूर्ण या सत्यलाई पनि प्राप्त गर्दछु भनेर अघि बढ्नेहरू
हजार ौंपटक जन्म लिए पनि गन्तव्यसम्म पुग्न सक्दैनन् । अपूर्णताको
पीडाले छटपटाई रहन्छन् । असीमित इच्छाहरूलाई सहर्ष विदा गर्दै अघि
बढेर आफ्नो रूपान्तरणको साधनामा लाग्नेहरू छोटो समयमै सरल
मार्गद्वारा गन्तव्यमा पुगेर पूर्णताको दिव्यानुभूति गर्दछन् ।
यस ब्राहृमाण्डमा सम्पूर्ण कण–कणमा परमात्माको उपस्थिति छ ।
मानव, पशु–पक्षी, किट–पतंग, वनस्पति सबैभित्र परमात्माको उत्सव
देख्न सक्ने ज्ञान नै विराट विद्या हो । यही विद्याले सम्पूर्ण रहस्यको ढोका
खोल्दछ । जगत, जीव र जीवनमा निरन्तर भइरहेको परिवर्तनभित्र रहेको
अपरिवर्तनीय अनादि सत्तालाई परमात्मा भनिन्छ ।
परमात्मा प्राप्तिका लागि बाटाहरूका नाममा वाद–विवाद गरेर
अलमलमा झलमल नदेख । फूलको सुन्दरता र सुगन्धमा परमात्मालाई
देख । कर्मयोगीको निष्काम कर्ममा परमात्मालाई देख । प्रेम, शान्ति र
करुणामा परमात्मालाई देख । तब परमात्मा खोज्न कहीं जानु पर्दैन ।
परमात्माले निरन्तर खोजिरहेको र आफू भागिरहेको देख्नेछौ । तब फर्केर
उसको काखमा रमाउनेछौ ।
परमात्मालाई यस्तो प्रेम गर जस्तो डुब्न लागेकाले जीवनलाई गर्दछ ।
आमाले आफ्नो सन्तानलाई गर्दछिन् । किनकि परमात्मा प्रेमद्वारा देख्न
र अनुभूति गर्न सकिन्छ ।
परमात्मा सदा मेरो साथ छý उसैले मेरो श्वास चलाउँछý उही मेरो
माध्यमबाट बोल्दछý जबसम्म ऊ मेरो साथ रहन्छ तबसम्म म जगतका
साथ रहन्छुý यही चेतना भक्ति हो । यो विना कोही भक्त बन्न सक्दैन ।
जबसम्म तिमी सर्वमंगल र सर्वकल्याणका साथ निष्काम कर्मयोग
गर्दछौ तबसम्म सम्पूर्ण ब्रहृमाण्डीय शक्तिहरू र परमात्माको आशीष
तिम्रो सहयोगमा उपस्थित हुन्छन् ।
तिम्रो शरीर परमात्माको मन्दिर हो । यसैले यसलाई तिमी नितान्त
आफ्नो शरीरमात्र नमान । यसका हरेक घटनामा परमात्मा साथ
छ । तिमी हिँड्दा तिम्रो साथमा परमात्मा हिँडिरहेछ । तिम्रो श्वास–
प्रश्वासमा परमात्मा भित्र बाहिर गरिरहेको छ । तिमी भोजन लिइरहेका
छौ त तिम्रो रूपमा परमात्माले भोजन लिइरहेको छ । तिमी निद्रामा
पुग्छौ त सम्झ परमात्मा निदाइरहेछ । तब तिम्रा हरेक काम भक्तिपूर्ण
हुनेछन् । तिमी र परमात्माको भेद समाप्त हुनेछ । परमात्मा तिमीमा
र तिमी परमात्मामा एकाकार हुनेछौ । त्यही दिव्य अवस्था नै मानव
जीवनको सर्वोच्च प्राप्ति हो ।
७१- वास्तविक सुख के हो ?
अरूको सुख छिनेर प्राप्त भएको सुखले तिमीलाई कहिल्यै सुखी
बनाउन सक्दैन । अरूलाई सुखी बनाउन गरेका हरेक दु:खहरू तिम्रा
लागि सुख र आनन्द बनेर बर्सिनेछन् । स्वयं सुखी र आनन्दित हुन
चाहनेहरूले पहिलो काम आफ्ना वरिपरिका मानव, जीव–जन्तु,
वनस्पति र समग्रमा भन्दा जगत, जीव र जीवनलाई नै सुखी र आनन्दित
बनाउनेतर्फ लाग्नु पर्दछ ।
आध्यात्मिक व्यक्तिले आफू दु:ख र पीडामा हुँदा पनि अरूलाई सुखी
र पीडामुक्त देख्न चाहन्छ । आफ्नो दु:ख र पीडा भुलेर अरू दु:खी र
पीडितहरूलाई दु:ख र पीडामुक्त गर्न तल्लीन रहन्छ । भौतिक व्यक्तिले
आफू दु:ख र पीडामा हुँदा अरूलाई सुखी र पीडामुक्त देख्न सक्दैन ।
आफ्नो दु:ख र पीडालाई सम्झी–सम्झी अरूलाई दु:खित र पीडित
बनाउनमा तल्लीन रहन्छ ।
चैतन्य बोध भएको व्यक्तिले सम्पूर्ण अस्तित्वलाई एउटै देख्छ । अर्कोलाई
सुखी बनाउन गरेका कार्यले पनि आफूलाई सुख उपलब्ध भएको अनुभूति
गर्छ । चैतन्य बोध नभएमा मान्छेले संसारमा आफूलाई एकल अस्तित्वका
रूपमा देख्छ । जसले गर्दा आफू दु:खी हुँदा आफूमात्र दु:खी भएको
अनुभूति गर्छ । अरू सुखी हुँदा तिनको सुखमा आफ्नो सुख देख्दैन ।
७२- भजन र भोजनको के सम्बन्ध छ ?
भजन मनको भोजन हो । भोजन शरीरको भजन हो । भोजन मुखबाट
भित्र पसेपछि शरीरका कोष–कोष नाच्न थाल्नु पर्दछ । उनीहरू भित्र
उत्सव सुरु हुनु पर्दछ । भजन मनभित्र पसेपछि मनका कोष–कोष नाच्न
थाल्नु पर्दछ । उनीहरू भित्र उत्सव सुरु हुनु पर्दछ ।
तामसी उठ्न सक्दैन । राजसी बस्न सक्दैन । सात्विक आवश्यकता
अनुसार उठ्न, बस्न, चल्न, स्थिर हुन सक्दछ । तामसी, राजसी या
सात्विक भोजनले पनि मानव वृत्ति एवं प्रवृत्तिमा यस्तै प्रभाव पार्दछ ।
अमिलो, पिरो, नुनिलो, गुलियो, चिल्लो, मसला आदिलाई जोडेर
स्वादिष्ट मानी खाइने भोजनको लालच र लतलाई होसपूर्वक छाडिदिनाले
त्यसपछि जे खाइन्छ त्यसको दिव्य स्वाद अनुभूति हुन थाल्दछ । जब
दिव्य स्वाद अनुभूति हुन्छ तब हरेक भोजन दिव्य हुन्छ । भोजन खानु
पनि पूजा, उत्सव या साधना बन्दछ, लत होइन ।
७३- परदोष दर्शनले साधनामा के असर पार्दछ ?
जगदीश्वर, जगत, जीव र जीवन परम पवित्र अँगालोमा बाँधिएका
छन् । हरेकभित्र त्यही अनादि सत्ताले काम गरिरहेको छ । त्यसैले
कसैलाई दु:ख पुर्याउने काम तिमीले गर्दछौ भने त्यो दु:ख तिमीले
पनि भोग्नुपर्ने छ । तिमीले अरूलाई हानेका हरेक ढुंगा तिमीमै आएर
ठोकिन्छन् । तिमीलाई होस नभएर थाहा नहुन सक्दछ । तर, तिम्रा हरेक
अप्रेमका कृत्यले तिम्रो ह्दयलाई मार्दछ । आज मानिसको ठूलो जमात
अरूको दुर्गुण हेर्दै हिँड्न र त्यसको निन्दा गर्दै हिँड्नमा व्यस्त छ ।
जब हामी परदोष दर्शन या भनौं अरूको दुर्गुण हेर्न र निन्दा गर्नमा
आफ्नो अमूल्य समय बिताउँछौं त्यतिबेला हाम्रो चेतना दुर्गुणहरूको
फोहोरले ढाकिन्छ । हाम्रो ह्दय कुडापात्र बन्दछ । दोष गर्नेभन्दा निन्दा
गर्ने निन्दकहरू बढी बिग्रन्छन् । दोषीहरूमा त एकमा एक दोष रहला,
बढीमा २–३ रहला तर सबैको दुर्गुण हेर्दै र निन्दा गर्दै हिँड्नेहरूमा सयौं
दुर्गुण थाहै नपाई प्रवेश गर्दछ । हामी परमात्माको शोकेस बन्नुपर्नेमा
समाजको कन्टेनर बन्दछौं । अत: कसैको दुर्गुण हेरेर परनिन्दामा यो
अमृत क्षणलाई नष्ट नगर । हेर्ने नै हो भने सत्गुण हेर, निर्गुण हेर र आफ्नो
ह्दयलाई पवित्र बनाऊ ।
७४- धर्मको वास्तविक स्वरूप के हो ?
धर्म बाहिरबाट आरोपित हुनु हुँदैनý भित्रबाट अंकुरित हुनु पर्दछ । बाहिरबाट
आरोपित धर्मले घृणा जन्माउँछ, भित्रबाट अंकुरित धर्मले प्रेम ।
धर्म स्वयंको साधनाद्वारा स्वयंलाई चिन्ने महाविज्ञान हो । जुन दिन
स्वयंलाइ म को हो ? भनेर चिन्न सकिन्छ, त्यही दिन परमात्मालाई
चिन्न सकिन्छ ।
धर्मबाट धर्म निकाल्दा धर्म नै बाँकी रहन्छ र धर्ममा धर्म थप्दा पनि
धर्म नै रहन्छ । धर्म पूर्ण छ । सत्यलाई धर्म भनिएको हो । धर्मलाई सत्य
भनिएको हो । पूर्णत्व प्राप्तिको एकमात्र बाटो धार्मिक बाटो हो । धर्म
कुनै मत—मतान्तर होइन । सत्यको शोधको प्रक्रिया हो । धार्मिकता
सत्यानुभूतिबाट प्राप्त प्रसाद हो । समग्रमा भन्दा आफ्नो मूल उद्गममा
पुग्ने र स्थिर हुने कर्म हो धर्म ।
७५- सत्पथ ठूलो कि पुरूषार्थ ?
मूर्ख सधैं नराम्रो काममा आनन्द खोज्दछ । उसलाई के थाहा तेल पाउन
बालुवा पेलेर हुँदैन, तैलीय बीजहरू नै पेल्नु पर्दछ । पानी मथेर घ्यु
निस्कन्न, दूध–दही नै मथ्नु पर्दछ । जति नै पुरुषार्थी भए पनि नराम्रो
बाटो हिँडेर राम्रो गन्तव्यसम्म पुग्न सकिन्न ।
आगोको फिलिङ्गोले एकैपटक डढेलो लगाउँदैन । जब लाग्दछ तब सबै
खरानी हुन्छ । त्यस्तै सत्पथमा नहिँड्ने अर्थात् सर्वमंगलका लागि काम नगर्ने,
नराम्रो बाटो र अहितकारी काम गर्नेले जति ठूलो पुरुषार्थ गरे पनि हित हुँदैन ।
तत्काल केही अनिष्ट नदेखिए पनि क्रमश: अनिष्ट हुँदै जान्छ र एक दिन
यस्तो अनिष्ट हुन्छ, ऊ डढेर खरानी बन्दछ । सत्पथ र पुरुषार्थ मिल्यो भने
दिव्य कार्य हुन्छ तर एक्लो पुरुषार्थको केही अर्थ छैन । पुरुषार्थविना पनि
सत्पथमा अडिग रहने हो भने ढिलै सही, दिव्य कार्य हुन्छ ।
होस नभएका मूर्खले आफूले गरेका सबै नराम्रा कामहरूलाई प्रशंसा
गरिरहन्छन् । जब त्यस्ता कामको फल भोग्नु पर्दछ तब मैले यो काम
नगरुँ भनेको थिएँ, अरूका करबलले गरें भनी मुक्त हुन खोज्दछन् ।
गलत बाटोमा हिँडेर पुरुषार्थ गर्नेलाई आनन्द र मुक्ति मिल्दैन ।
आफूलाई हेर, हिजोका दिनमा भन्दा आज बढी आनन्द र उत्सवमा छौ
त तिमी सत्पथमा छौ । दु:खी, निराश या दिक्दार छौ त असत्पथतर्फ
बढिरहेका छौ । आजको मान्छेका लागि मैले देखेको सत्पथ शारीरिक
रूपमा गृहस्थ र मानसिक रूपमा सन्यासको योगद्वारा विस्तार गरिएको
दिव्य पथ हो जसले जगतको रोटी पनि जानेको होस् र अनादि सत्ताको
चोटी (शिखर) पनि जानेको होस् ।
७६- बन्धन के हो ?
गलफन्दी, हतकडी र नेलको बन्धन बलियो बन्धन होइन । सन्तान र
सम्पत्तिको बन्धन धेरै बलियो बन्धन हो । यसमा संसारका बलवानहरू
पनि निर्बल हुन्छन् ।
निदाएको गाउँलाई बाढीले बगाए झैं सन्तान र सम्पत्तिको नसामा
लठ्ठिएको मानिसलाई मृत्युले बगाएर लैजान्छ । आफ्नो मात्र भलो
सोचेर गरेका सम्पूर्ण काम आफैलाई बाँध्ने बलिया बन्धनहरू हुन् ।
सबैको भलो सोचेर सर्वोदयको भावनाले गरेका हरेक काम बन्धन
मुक्तिको साँचो हो जसले बन्धनको ताला खोल्दछ ।
७७- पवित्र जीवनको सुरूवात कसरी गर्ने ?
साक्षी बनेर आफूलाई हेर्ने कला एवं विज्ञानलाई क्षण–प्रतिक्षण उपयोग
गर्ने । आफ्ना असल र खराब बिचार तरंगहरूलाई हेरेर पत्ता लगाउनु
पर्दछ कि वास्तवमा म को हुँ ? के बन्ने इच्छा राखेको छु ? के बनिरहेको
छु ? अधिकांश व्यक्ति यिनै प्रश्नको उत्तरविना छट्पटाउँछन् र अपवित्र
जीवनमा प्रवेश गर्दछन् ।
मानिसले आफ्ना गल्तीलाई ध्यान दिँदैन र अरूका गल्तीलाई बडो
सावधानीका साथ खोजिरहन्छ र दुश्मनी गर्दछ । हामीले आफ्ना दोष खोजेर
क्षण–क्षण हटाइरहनु पर्दछ र अरूले हामीप्रति गरेका दुर्भावना एवं दुव्र्यवहार
हरूलाई क्षमा गर्दै सबैको कल्याणको लागि करुणाभावले प्रार्थना गर्नु पर्दछ ।
हरेक दिन सुत्नुअघि आफूले दिनभर गरेका काम र सोचेका विचारहरूको
निरीक्षण गर्नु । तिमी के बन्न चाहन्थ्यौ ? के बनिरहेका छौ ? के तिमी
आफ्नो जीवनशैलीबाट आनन्दित छौ ? यदि छौ त यो जीवनशैलीलाई
जीवन बनाऊ, छैनौ त तत्काल बदल्न सुरु गर, भोलि नभन ।
७८- कस्ता रूपहरूबाट सावधान हुनु पर्दछ ?
साधना र साक्षात्कार नभएको ग्रन्थको ग्रन्थिमा जिउँदै आएको साधुरूपले
सोच्दछ कि मेरो आश्रम ठूलो होस् म मठाधीश हुँ, मेरा चेला र भक्त धेरै
हुन्, मेरो आश्रम धनी होस्, मलाई सबैले पूजा गरुन्, सबैका घरमा मेरो
फोटोमा आरती होस् । यस्ता तृष्णा र अहंकारमा रमाएको व्यक्ति ऊ स्वयं
र समाजका लागि कलंक हो ।
घरबार छाडेर आश्रममा बसेको साधुरूपी या योगीरूपी व्यक्तिले
बहुराष्ट्रिय कम्पनी चलाउने र नुनदेखि सुनसम्म बेच्नमा आफैले मोडेल
बन्ने हो भने हाम्रो विराट सनातन ज्ञान–विज्ञानको के रक्षा र विकास
होला ? व्यापारबाट अपार धन जुटाउन व्यस्त, वातानुकुलित आलिसान
दरबारमा विश्वमा उपलब्ध सुख–सुविधामा मदमस्त भएर रहने साधु–
सन्यासीहरूले या शिवका नाममा चुरोट, गाँजा, भाङमा लठ्ठिने, तन्त्रका
नाममा माछा, मासु, सुरा, सुन्दरीमा मस्त साधु–सन्यासी या देवीका
नाममा बली चढाउन, मान्छे–मान्छेलाई छुवाछुतको नाममा भड्काउन
मस्त साधु–सन्यासीले हाम्रा सानातन र विराट धर्म संस्कृतिलाई जति
कलंकित बनाएका छन्, त्यसको एक प्रतिशत पनि अन्य धर्मका
मानिसले हामीलाई कलंकित बनाएका छैनन् । यो मानव इतिहासको
प्राचीन र कालजयी यथार्थलाई धुमिल हुनबाट बचाउनु पर्दछ ।
७९- सच्चा मित्र को हो ?
आफ्नो दोष देखाइदिनेलाई गाडेको रत्न रत्नादिको ठूलो घैटो
देखाइदिनेलाई जस्तो मित्र मान्नु पर्दछ । दोष देखाइदिनेले हामीलाई
निर्दोष बन्ने साधना सिकाउँछन् । निर्मल चित्तले दोष देखाइदिने मान्छे
गुरु समान आदरणीय हुन्छन् तर मलीन चित्तले दोष देखाइदिने मान्छे
शत्रु समान हुन्छन् । दोष दिनेसँग रिसायौं भने हामी चुक्दछौ, दोष दिँदैमा
केही हुँदैन । दोष लिनुहुन्न र दोषी बन्नु हुन्न ।
निन्दा र प्रशंसाले विचलन आएन र समभाव बनिरèो भने हामीभित्र
भएका दोषहरू तत्काल बाहिर निस्कन्छन् र बाहिरबाट भित्र पस्न चाहने
दोषहरू बाहिरबाटै फर्कन्छन् । यस्तो निर्दोष अवस्थामा परमात्माको
आशीष वर्षन्छ । परदोष दर्शनभन्दा ठूलो चित्तमल अर्को छैन र स्वदोष
दर्शनभन्दा ठूलो चित्त–निर्मलता अर्को छैन । दोष देखाइदिनेले चित्त
निर्मलतामा सहयोग पुर्याउँछन् ।
८०- पण्डित कस्ता मानिसलाई भनिन्छ ?
ग्रन्थ पढ्न–पढाउन र प्रवचन गर्न जान्दैमा या कर्मकाण्ड, पूजापाठ
जान्दैमा कोही पण्डित हुँदैन । जो लाभ–हानि, जय–पराजय, सम्मान–
अपमानबाट माथि उठेको छ र जो अहिंसा, सत्य, अचोरी, अपरिग्रह,
ब्रहृमचर्य जस्ता सार्वभौम महाव्रतको व्रती (साधक) छ, त्यसैलाई पण्डित
उपाधि शोभायमान हुन्छ । प्रेम, शान्ति र करुणाको त्रिवेणी स्नान गर्ने
मानिस सच्चा पण्डित हो ।
दिन सूर्यले प्रकाशित हुन्छ । रात चन्द्रमाले प्रकाशित हुन्छ । वीर क्षमाले
प्रकाशित हुन्छ । ज्ञानी विनयले प्रकाशित हुन्छ । सन्त सदाचारले
प्रकाशित हुन्छ भने पण्डित समदर्शिताले प्रकाशित हुन्छ ।
आज पण्डित उपाधि कलंकित भएको छ । पण्डितबाट पण्डामा
रूपान्तरित यो उपाधि मठ–मन्दिर, तीर्थ आदि धार्मिक आस्था
केन्द्रहरूको विराट महत्वलाई नष्ट गर्ने लुटेराहरूको पर्यायवाची शब्द
बनेको छ । जो वैदिक, सनातन र हिन्दू आदि शब्दबाट विश्वलाई अनादि
कालदेखि ज्ञान–विज्ञानको शंखघोष गरेको कालजयी सत्यलाई माया
गर्ने विश्व मानव समुदायले सोच्नु र बदल्नु पर्दछ ।
८१- शोभनीय मृत्यु कसरी उपलब्ध गर्न सकिन्छ ?
शरीरका गतिविधिलाई हेरेर यो निरन्तर नाश भइरहेको छ, साथै यसभित्र
कहिल्यै नाश नहुने अनादि सत्ता छ भन्ने जसले होसपूर्वक जान्दछ त्यस्ता
व्यक्तिलाई मृत्युले पनि प्रणाम गर्दछ । त्यतिबेला मृत्यु शोभनीय हुन्छ ।
पारिजातले आफ्ना सुन्दर र सुगन्धित फूलहरू ओइलाउनुभन्दा पहिले र
टिप्न आउनुभन्दा पहिले नै दिएर आनन्दित हुन्छ । त्यस्तै मानिसले पनि
आफ्ना सुकर्महरू रोग र मृत्युले लैजानुभन्दा पहिले या भनौं मृत्युले
शरीर माग्नुभन्दा पहिले दिएर आनन्दित बन्नु पर्दछ । यति बेला मृत्यु
पनि शोभनीय हुन्छ ।
शरीर एक दिन अवश्य ढल्नेछ । तिमी आफ्नो शवयात्रा आफ्नो
आँखाबाट नहटाऊ । आफ्नो मृत्यु र मृत्युपश्चात्का दृश्यहरूलाई हेर
जसरी मलामी बनेर आफ्ना परिवारका सदस्य एवं इष्टमित्रहरूको
अन्तिम विदाइलाई हेरिरहेका थियौ । हरेक प्रियजनको मृत्यु तिम्रो
अमरत्वका लागि सु–समाचार हो । हरेक क्षण प्रयत्नशील होऊ,
आफूभित्र र आफूबाहिरका हरेक घटनालाई होसपूर्वक जान । यो
जान्न सक्यौ भने बल्ल तिम्रो भेट तिमीसँग हुनेछ । जुन दिन तिम्रो
भेट तिमीसँग हुन्छ, त्यही दिन तिमी तिम्रो अस्तित्वको अँगालोमा
हुनेछौ । नभुल तिम्रो शरीर मृत्युको अँगालोमा बाँधिएर हाँसिरहेको
छ । कुनै पनि बेला ढल्न सक्दछ । शरीर रहेन भने तिमी कर्मयोगमा
उत्रने कुनै साधन रहने छैन । शरीर सर्वश्रेष्ठ जैविक चैतन्य यन्त्र हो ।
यसैको सहायताबाट दिव्य यात्रा हुन सक्दछ । मृत्युको साक्षी दर्शन
नै जीवनको अंकुर हो । मृत्युको भयबाट नभाग । यही जीवन हो ।
यसैबाट अंकुर वटवृक्ष बन्दछ ।
८२- चैतन्य जीवनकला भनेको के हो ?
चैतन्य जीवनकला या चैतन्य जीवनशैली मेरो दृष्टिमा बाè जगत र
अन्तर्जगतबीच साक्षी बनेर होसपूर्वक दिव्य जगतमा अवतरण गर्न
सक्ने मानवको सत्पथ हो । यस्तो मानवले संसारका सम्पूर्ण सूचनालाई
होसपूर्वक उपयोग गर्दछ तर सूचनाको सञ्जालमा जेलिएर आफ्नो
सनातन दृष्टि र सिर्जनशीलतालाई नष्ट गर्दैन । आफूभित्रको मललाई
साधनाद्वारा बाहिर निकालेर निर्मल बनी प्रांजल–पथमा अघि बढ्छ ।
बाè जगत र अन्तर्जगतको रहस्य र सम्भावनालाई इन्द्रियहरूद्वारा
अनुभूति गर्दछ तर त्यसैमा टाँसिने र नासिने या भाग्ने गर्दैन । समत्वमा
रहेर अघि बढ्छ । यस्तो जीवन आनन्द र उत्सवमय हुन्छ ।
८३- उत्सवमय जीवनशैली कसरी जिउन सकिन्छ ?
दु:खसँग नआत्तिऊ । सुखसँग नमात्तिऊ । दु:ख पनि तिम्रो गन्तव्य
होइन, सुख पनि तिम्रो गन्तव्य होइन । दु:ख पनि तिम्रो हार होइन,
सुख पनि तिम्रो जित होइन । यी दुवैको स्वप्न संसार सधैं तिम्रो साथ
रहँदैन । तेस्रो विधायक अवस्था छ जो सदा साथ रहन्छ । बेहोसीका
कारण दु:ख आउँदा तिमी आत्तिन्छौ र यो नआए हुने थियो भन्ने
चाहन्छौ । फेरि सुख आउँछ त मात्तिन्छौ र यो कहिल्यै नछुटोस् भन्ने
चाहन्छौ । तर, यी दुवै घटनाले तिम्रो चैतन्य बोधको परीक्षा लिएर
जान्छन् । तिम्रो बेहोसीले तिमीलाई दु:खबाहेक केही दिँदैन । तर
तिमी होसमा आयौ, दुवै घटनाबाट मुक्त भई तेस्रो विधायक अवस्था
उपलब्ध गर्यौ भने सम्पूर्ण दु:ख–सुख विदा हुन्छन् र जीवन आनन्द
र उत्सवमा नाच्न थाल्दछ । यही विराट उत्सव मानव जीवनको इच्छा,
ज्ञान, क्रिया र उपलब्धि हो ।
८४- प्रकृति, विकृति र संस्कृतिलाई कसरी बुझ्ने ?
यो त्रिकोणलाई म एउटा उदाहरणबाट बताउँछु । भोक लागेमा खानु
प्रकृति हो । भोक नलाग्दा पनि स्वादमा लठ्ठिएर आवश्यकताभन्दा बढी
खानु विकृति हो । भोक लागेमा पनि अरू भोका छन् भने उनीहरूलाई
ख्वाएर पुगे खानु नपुगे सन्तोष मानी भोकै बस्नु संस्कृति हो । यही महान
संस्कृतिले हिमवत् खण्ड आज पनि धर्मको शिखरमा छ ।
सुखदु:खमा समत्व बोधका साथ बाँच्नु प्रकृति हो । दु:खमा आत्तिनु र
सुखमा मात्तिनु विकृति हो । आफू र संसारका सम्पूर्णलाई एक साथ
सुखी बनाउने सत्कार्य गर्नु संस्कृति हो ।
८५- श्रेष्ठताको परिचय के हो ?
सानो–ठुलो, धनी–गरिब, सपांग–अपांग आदि सबैप्रति भेदभावविना
समता र ममताका साथ प्रेमभाव राख । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री या
अन्य राज्य सञ्चालक राज्य सञ्चालनमा जति महत्वपूर्ण छन्, एउटा
कुचीकार पनि सफाइ र स्वच्छता बनाइराख्न त्यति नै महत्वपूर्ण छ ।
पढाउने काममा शिक्षकको, मोटर चलाउने काममा ड्राइभरको, खेतीमा
किसानको आ–आफ्नो कार्यक्षेत्रमा सबैको त्यति नै महत्व छ । सम्मान,
पद–प्रतिष्ठा, भूषण, आभूषण, धन–सम्पति आदिलाई होइन उसको इच्छा,
ज्ञान र क्रियाको त्रिवेणीबाट अघि बढेको श्रमशील जीवनलाई गर्नु पर्दछ ।
आफ्नो काम सानो होस् या ठूलो जसले पूजाभाव या अहोभावका साथ
उत्सवमय रूपमा गर्दछ भने त्यही उसको श्रेष्ठताको परिचय हो ।
अभावलाई मात्र देखेर काम गर्ने कामदार निम्न कोटीका हुन् किनकि
उनीहरूले सधैं कामलाई भन्दा अभावलाई देख्दछन् र कामलाई
बिगार्दछन् । स्वाभावले काम गर्ने कामदार श्रेष्ठ कोटीका कामदार हुन्
किनकि उनीहरूले सधैं काम र कामको पूर्णताबाट प्राप्त आनन्द मात्र
देख्दछन् । कामलाई निरन्तर राम्रोभन्दा राम्रो बनाउँदै लैजान्छन् । यही
कर्मयोग हो । यही श्रेष्ठता हो ।
८६- सेवा, समाज सेवा र समाजसेवीका बारे के विचार छ ?
भौतिक या आध्यात्मिक कुनै लाभ प्राप्तिको चाहनाबिना गरिएको
पवित्र सेवा परमात्माको सबैभन्दा ठूलो पूजा हो । सेवाले कसैलाई
दैनिक लाइनमा उभिएर एक गिलास दूध थाप्ने संस्कार सिकाउनु हुँदैनý
गाई पाल्ने ज्ञान–विज्ञान सिकाउनु पर्दछ । दाल–भातको लाइनमा दैनिक
उभिने होइनý जमिन र अन्न उत्पादनको ज्ञान–विज्ञान सिकाउनु पर्दछ ।
शारीरिक या मानसिक असक्त, वृद्ध–वृद्धा, बाल–बच्चा, अरूको
निष्काम सेवामा समर्पित आदिलाई विशेष व्यवस्था पनि गर्नु पर्दछ ।
समाजसेवी, जात–जाति, रूप–रङ्ग, धर्म–सम्प्रदाय, रीतिरिवाज,
राजकाज आदिले जन्माएको वर्ग विभाजनबाट माथि उठेको हुनुपर्दछ ।
समाज ब्राहृमण, क्षेत्री, वैश्य, शूद्र या हिन्दू, मुस्लिम, ईसाई या काला,
गोरा या समाजवादी, प्रजातन्त्रवादी, साम्यवादी आदिको एकल हुँदैन ।
समाज त सबैको सामूहिक मेलबाट बनेको हुन्छ । त्यति मात्र होइन,
एउटा पूर्ण समाज बन्नको निम्ति मान्छेहरूको हुल जम्मा भएर मात्र
पुग्दैन, त्यहाँ पशु–पक्षी, बन–जंगल, जल–वायु, आकास–अग्नि, पृथ्वी
आदि सबैको सन्तुलित मेल हुनुपर्दछ । समाजसेवीले मानिसको क्षणिक
हितको निम्ति पशु–पक्षी, वन–वनस्पति, पञ्च महाभूत आदिलाई
प्रतिकूल असर पार्ने कुनै काम गर्नु हुँदैन । मेरो कुनै कामले प्रकृतिका
कृतिहरूमा प्रतिकूल असर पार्दछ भने म समाजसेवी भइनँ किनकि
प्रकृतिका कृतिहरूको विघटन र विनासले समाजको समूल विनास
गर्दछ । समाजसेवीले प्रकृतिका कृतिहरूलाई पनि मानिसलाई जस्तै
सेवा गर्नु पर्दछ । यही विराट चेतनाबाट सेवा गर्नु नै समाज सेवा हो । नत्र
जाति विशेषका लागि, सम्प्रदाय विशेषका लागि, क्षेत्र विशेषका लागि
गरिने सेवा डुङ्गाको एक कुनामा बसेर मेरो कुनामा त प्वाल परेको छैन
पल्लो कुनाको प्वालले त त्यतैका मात्र डुब्छन् म डुब्दिनँ भनेर मख्ख पर्ने
बुद्धू जस्तै हो । समग्र प्रकृतिका कृतिहरूको अनुकूल विकास या मानव,
प्रकृति र परमात्माको मेलबाट उठेको विकास या सेवा मात्र कालजयी
हुन्छ । समाजसेवीको वास्तविक परिचय र यथार्थ योग्यता त्यही हो ।
स्वयम् वर्ग सङ्घर्षको जालमा नपरोस् र समाजलाई पनि नपारोस् ।
हरेक व्यक्तिभित्रको विराट सम्भावना र रहस्यलाई प्रकट गराउने कार्यमा
सहयोगी बनोस् । मानिसलाई नयाँ दासतामा नफसाओस् ।
८७- जगतलाई जान्ने सरल मार्ग के हो ?
जगतका सम्पूर्ण कुरा चिन्नुभन्दा श्रेष्ठ छ आफूले आफैलाई चिन्नु ।
यो सरल पनि छ, सकारात्मक पनि । जगतका विविध कुरा चिन्ने
विचार केवल समय नष्ट गर्ने उपाय हो । जसले आफूलाई चिन्दछ,
उसले सम्पूर्ण जगतलाई चिन्दछ । जसले आफूलाई चिन्दैन, उसले
कसैलाई चिन्दैन ।
तिमी जस्तो छौ, दुनियाँ पनि त्यस्तै छ । आफूलाई नचिनेसम्म दुनियाँ
चिन्ने प्रयास अर्थहीन छ । पहिले आफ्नो स्वरूपलाई जानेपछि दुनियाँको
स्वरूप जान्न सजिलो हुन्छ । अन्यथा मूल स्वरूप जान्न असम्भव छ ।
किनकि विराट अनादि सत्ताको तिमी एक महत्वपूर्ण भाग हौ । शरीरको
कोषको जानकारी भएपछि तन्तु, प्रणाली हुँदै सम्पूर्ण शरीरको जानकारी
भएजस्तै आफूलाई जानेपछि जगतलाई सजिलै जान्न सकिन्छ ।
आफूलाई नजानी जगत जान्न खोज्दा समय र शक्ति व्यर्थमा नष्ट हुन्छ ।
८८- गुरु कसरी चिन्ने ?
गुरु तिमीलाई अनन्त आकासको उडान दिने हुनु पर्दछ, पिँजडा होइन
जहाँ तिमी कैद होऊ । पिँजडा सुनको हीरा–मोती एवं अन्य रत्नजडित
नै किन नहोस् त्यो पिँजडा नै हो । सद्गुरुले तिमीलाई पिँजडा मुक्त
गर्दछन् । पिँजडाभित्र रहँदा कुँजिएका खुट्टा र पखेटालाई सबल र
मनलाई निर्मल बनाउँछन् । सीमित स्वप्न महल भत्काई असीमको
यात्रामा निम्त्याउँछन् । आफूले मानेका या जानेका शब्द जालमा जेलेर
रोक्न चाहन्नन् । तिम्रो विराट सम्भावना तिमीले नै खोज्ने कला, संस्कृति
र विज्ञान सिकाउँछन् ।
गुरु, योगी या सन्त हामीकहाँ प्रयोग हुने परम सम्मानित शब्दहरूको
पहिलो लक्षण भनेकै सम्प्रदाय, जात–जाति, रूप–रंग, राज्य–राजनीति,
धनी–गरिब, लिंग–लिंगायन आदि भेद र भित्ताहरूबाट माथि उठी
सर्वमंगलको लागि सीमा मुक्त असीमको यात्रामा हिँडेको हुनु पर्दछ ।
विराट अनादि अस्तित्वभित्र उनीहरू र उनीहरूभित्र विराट अनादि
अस्तित्व हुनु पर्दछ । तर, आज यी सम्मानित शब्दहरू महत्वाकांक्षा,
प्रतिस्पर्धा र अहंकारको त्रिवेणीमा हुंकार गरी सीमाका लडाइँमा
फसेका छन् ।
कसैलाई उपदेश दिन नलाग । तिम्रा हरेक काम तिम्रो वरिपरि
आउनेहरूका लागि उपदेश बनोस् । गुरुको यही श्रेष्ठ र सार्थक उपदेश
हो । मानव रूपमा मात्र होइन, परमात्मा, मानव, पशु–पक्षी, किट–पतंग,
वनस्पति, हिमाल–पहाड, झरना–नदी आदि सम्पूर्णले शिक्षाको धारा
अनवरत प्रदान गरिरहेका छन् । जसले आफूलाई शिष्य स्वीकारेको छ,
उसका अगाडि अनादि सत्ताले हरेक सिर्जनाभित्रबाट शिक्षाको व्यक्त–
अव्यक्त चैतन्यधारा गुरुवाणी बनाएर बगाइरहेको छ । गुरु र शिष्यको
कुनै वर्गीय परिचय हुँदैन ।
८९- विचारले हामीलाई के प्रभाव पार्दछ ?
विचारलाई सत्योन्मुख, शिवोन्मुख, सौन्दर्योन्मुख गराउन संकल्प, ज्ञान,
साहस, साधना र श्रमशीलता हुनु पर्दछ । विचार शक्ति अनादि सत्ताको
पहिलो सिंढी हो । विचारमै सबै निर्भर गर्दछ । विचार शुद्ध भयो भने
त्यसले जीवनलाई सूक्ष्मबाटै रूपान्तरण गर्दै लैजान्छ । रूपान्तरणको
शिखरमा मानिसको विराट अस्तित्व प्रकट हुन्छ ।
कुनै विचार भित्र प्रवेश गरेपछि उत्तेजना पैदा हुन्छ भने त्यो अशुद्ध
विचार हो । मौन उत्सवबीच शान्ति उपलब्ध हुन्छ भने त्यो शुद्ध विचार
हो । जुन विचार भित्र प्रवेश गरेपछि आनन्दको नवचैतन्य उपलब्ध हुन्छ,
त्यो शुद्ध विचार हो । जुन विचार भित्र प्रवेश गरेपछि चिन्ता–तनाव,
लोभ–लालच, हीनता–हिंसा, चोरी–चाकरी आदितर्फ यात्रा बढ्छ भने
त्यो अशुद्ध विचार हो । विचार शुद्धीकरणका लागि पहिलो र अन्तिम
साधना हो— आफूभित्र प्रवेश गर्ने हरेक विचारप्रति साक्षी बनेर सजग
चौकीदारी गर्नु ।
जसले आनन्द प्राप्त गर्न चाहन्छ उसले दुई दिनहरूका बीचमा मात्र
एक रात छ भन्ने देख्नु पर्दछ । जसले पीडा प्राप्त गर्न चाहन्छ उसले
दुई रातहरूका बीचमा मात्र एक दिन छ भन्ने देख्नु पर्दछ । यो पृथ्वी
र विराट अन्तरिक्षमा आउने हरेक सुख–दु:ख, स्वास्थ्य–रोग, सिर्जना–
विनाश सबैको कारण यहाँ रहेका जीवहरूको विचारमा निर्भर गर्दछ ।
त्यसैले विचार शुद्धीकरण केवल मानसिका लागि मात्र होइन विराट
सन्तुलनका लागि पनि अति नै आवश्यक र आधारभूत कुरा हो ।
९०- भोगलाई योग बनाउन सकिँदैन ?
सकिन्छ । योगी, सन्तहरू सबैभन्दा ठूला भोगी हुन् । तुच्छलाई त्यागे र
विराटलाई भोगे । यस संसारमा आएर पाउन सकिने श्रेष्ठतम अवस्थालाई
भोगे । उनीहरूले महाभोगको अमृत पिए तर तिमीले भोगका नाममा विष
पिइरहेका छौ । तिमी सुनको थाल बोकेर बाटो किनारामा एक रोटीको
प्रतीक्षामा सूर्योदयदेखि सूर्यास्तसम्म बसेका छौ । आफ्नो सम्भावनाका
ढोकाहरू खोल र सत्यलाई कैदमुक्त गर । तिमी नै सृष्टिका नायक हौ ।
तिमीभित्र अनादि सत्ताले आफ्ना सबै सिर्जनाहरूलाई भरिदिएको छ
र त्यसलाई जान्न चाहेमा जान्न सक्ने चैतन्यबोध पनि । जाग, भोगलाई
महाभोग र महायोग बनाउन ।
सम्पूर्ण सुख भोग तर यो क्षमता विकास भएपछि सुख सागरबाट
एकाएक दु:ख सागरमा खस्दा पनि निधारमा चिन्ता–तनावको रेखा
नबनून् । हिजो र आजमा कुनै अन्तर नहोस् । समत्व भाव बनिरहोस् ।
९१- पतनको मूल कारण के हो ?
चुरोट–तमाखु, गाँजा–भाङ एवं अन्य धुम्रपान र सूर्तीजन्य पदार्थको
सेवन । जाँड–रक्सी एवं अन्य अल्कोहलजन्य पदार्थको सेवन । कुनै
पनि प्रकारका लागुऔषधी एवं खानेकुराको सेवन । माछा–मासु–अण्डा
आदि मांसाहारको सेवन । समग्रमा भन्दा शरीर, मन र चेतनालाई क्षति
पुर्याउने यस्ता लत मानव पतनका मूल कारण हुन् । संसारमा सम्पूर्ण
दैवी आपदा, युद्ध एवं अन्य महाविनाशले भन्दा हजारौं गुणा बढी क्षति
मानव विकासको इतिहासमा सूर्तीजन्य पदार्थ, अल्कोहलजन्य पदार्थ,
मांसाहारजन्य पदार्थ एवं अन्य लागुपदार्थले गरेका छन् । आध्यात्मिक
विकास या भौतिक विकास या दुवैको सम्यक मेलबाट हुने दिव्य
विकासलाई पतन गराउने मूल कारण उपरोक्त वस्तुको सेवन हो ।
एकातर्फ भोकमरीले मानिस मरिरहेका छन् अर्कोतर्फ जाँड–रक्सी
बनाउन, मांसाहारका लागि पशु पाल्न विश्वको कुल उत्पादनको
आधाभन्दा बढी अन्न खर्च भइरहेको छ । अन्न उब्जाउनुपर्ने खेत–बारीमा
सूर्ती भरिएका छन् । योभन्दा ठूलो बेहोसी र विडम्बना के हो मानव
जातिको ? फेरि चुरोट–तमाखु, जाँड–रक्सी, लागुपदार्थ र मांसाहार गर्ने
व्यक्ति न आफूप्रति प्रेमपूर्ण हुन्छ, न घर–परिवारप्रति, न समाजप्रति नै ।
ती व्यक्ति पूर्ण अंग भएर पनि अपांग हुन् । यस्ता मानिसले कुनै श्रेष्ठ
सिर्जनात्मक र रचनात्मक कार्य गर्न सक्दैनन् ।
कुनै पनि देशले चुरोट–तमाखु, जाँड–रक्सी र अन्य लागुपदार्थ आफ्नो
देशमा उत्पादन गर्ने या अन्य देशबाट आफ्नो देशमा भियभयाउने गर्दछन्
भने त्यो देश आध्यात्मिक र भौतिक रूपबाट पतन भएर जान्छ ।
९२- मौनको हाम्रो जीवनमा के महत्व छ ?
मौन सर्वोत्तम तीर्थयात्रा र दिव्य गन्तव्य हो जहाँबाट सनातन सत्य देख्न
सकिन्छ । बातचित यो युगको सबैभन्दा ठूलो रोग हो । बिहानदेखि
साँझसम्म मात्र होइन सुतेको बेलामा पनि निद्रामा मानिस बरबराउँछý
अरूसँग बातचित गर्ने मौका नपाए आफैसँग बातचितमा मस्त हुन्छ ।
कम बोल्नुको अर्थ या मौन रहनुको अर्थ बोल्दै नबोल्नु मात्र पनि होइन ।
हरेक शब्द होसपूर्वक बोल्नु होý जति सक्यो कम शब्दको प्रयोग गर्नु ।
कर्मबाटै बोल्ने, मुखबाट होइन । तिमी सुन्न चाहँदैनौ केवल बोल्न
चाहन्छौ । धेरै बोल्ने, कुरा नबुझी बोल्ने, सुन्ने कला नभएका व्यक्तिले
सधैं र सबैभन्दा अक्षम्य गल्ती गर्दछन् ।
जो धेरै बोल्दछ, धेरै व्यस्त रहन्छ, धेरै खाना खान्छ, धेरै जागा बस्दछ या
धेरै सुत्दछ, नशाको लतमा छ, उसले सधैं गल्ती गर्दछ । उसले कहिल्यै
सिर्जनशील कार्य गर्न सक्दैन ।
९३- प्रेमको हाम्रो जीवनमा के महत्व छ ?
अनादि सत्ताको कुनैपनि सिर्जना अप्रेमबाट भएको थिएन र छैन । प्रेमबाट
नै मानव, पशु–पक्षी, वनस्पति, अन्तरिक्ष (सौर्य एवं तारामण्डल) आदि
बने । जे देख्दछौ, जे सुन्दछौ, जे सुँघ्दछौ, जे स्वाद लिन्छौ, जे स्पर्श
गर्दछौ र यी पाँच दिव्यज्ञान द्वारबाट भित्र पसी आन्तरिक हलचल पैदा
गर्दछौ, त्यही हलचलको साक्षी बनेर समत्वबोधद्वारा सनातन दृष्टि,
सनातन संगीत, सनातन गन्ध, सनातन स्वाद र सनातन स्पर्शको विराट
लोकमा पुग्दछौ । प्रेमको प्रसादका रूपमा यिनीहरूलाई भोग गर्दै अनादि
उत्सवमा हुन्छौ । ठूलोले सानोलाई तान्नुलाई हामी गुरुत्वाकर्षण भन्दछौं ।
यो ठूलोले सानोलाई तान्नु र सानो ठूलोतिर तानिनु भनेको सहज प्रेम हो ।
सनातन प्रेमद्वारा सृष्टि, स्थिति र संहारको मिलन भएको छ, अनादि
आलिंगनमा ।
प्रेम धार्मिक जीवनको कमलको फूल हो । कमलको फूल धार्मिक
जीवनको मात्र होइन सृष्टि, स्थिति र संहारको आलिंगनमा उत्सव
मनाउने फूल हो । हामी भोजनको अभावमा उपवास, मौन र ध्यानको
प्रसादद्वारा महिनौं सरल–सहज र सम्यक रूपमा शरीर, मन र चैतन्यलाई
बचाउन सक्दछौं । अनादि सत्ताको प्रेमको अभावमा एक मिनेटमै मृत्यु
उपलब्ध हुनेछ ।
तिम्रो प्रेम कुनै व्यक्ति या वस्तुसँगको बेहोस सम्बन्ध हो । यो सम्बन्ध
दुई भिखारीको मिलन हो । प्रेम दिन नचाहने या नदिने तर प्रेम माग्न
चुहुने कटौरा बोकेर बस्ने । अरूले प्रेम दिएन भनेर चिन्तित बनी रातभर
ननिदाउने । सन्तको प्रेम सम्बन्ध होइन, चित्तको दिव्य अवस्था हो ।
योगी, सन्त प्रेम दिन बाध्य छन् । उनीहरूभित्र प्रेमको मूल फुटेको छ ।
उनीहरूसँग विश्वका सम्पूर्ण परमात्माका कृतिहरूमा प्रेम बाँड्नेबाहेक
अरू काम छैन । उनीहरूको प्रेममा भिखारी होइन दानवीर छिपेको छ ।
प्रेम नमाग, प्रेम देऊ । तिमीले अरूबाट प्रेम माग्छौ भने अरूले पनि
तिमीबाट प्रेम मागिरहेका हुन्छन् । दुवै भिखारी, दुवैले केवल माग्दछन्,
पाउँदैनन् र लड्छन् । प्रेम नमाग, प्रेम बाँड । जति बाँड्यो त्यति प्राप्त हुँदै
जान्छ, जति माग्यो त्यति लुटिँदै जान्छ ।
९४- राजनीति कस्तो हुनु पर्दछ ?
कुनै पनि देश राजनीतिबाट निर्देशित हुन्छ । राजनीति आज कुरूप भएको
छ । यसले आफ्नो धर्म, मर्म र कर्म छाडेको छ । राज भनेको श्रेष्ठ र नीति
भनेको चारित्रिक नियम हो । श्रेष्ठ चारित्रिक नियमको सिर्जनात्मक र
रचनात्मक प्रयोगका लागि चरित्र बल भएको नेता चाहिन्छ । योगको
श्रेष्ठलाई राजयोग भनेझैं नीतिको श्रेष्ठलाई राजनीति भनिन्छ ।
अधिकार माग्नेवाला कहिल्यै स्वतन्त्र हुन सक्दैन । जसबाट अधिकार
मिल्दछ त्यसैको परतन्त्रता शुरु हुन्छ । स्वतन्त्रता जस्तो देखिने परतन्त्रता
दिएर हजारौं वर्षदेखि चतुर राजनीतिकर्मीहरूले मानिसको विराट
सम्भावनालाई कालकोठरीमा थुनेका छन् । हजारौं वर्षदेखि भिन्न–भिन्न
रूपमा पुनरावृत्ति गर्दै मानव सम्भावनाको स्वरूप ढाकिदिएका छन् ।
त्यसैले सयौं वर्षमा एक दुई मात्र स्वतन्त्र भएका छन् बुद्ध, महावीर,
कबिर, नानक, मीरा आदि ।
राजनीतिमा मतदान हुन्छ । मतदान अपभ्रंस हो । मतिदान ठिक शब्द
हो । मतिदान केवल मति ठिक भएकाले मात्र गर्न सक्दछ । मति ठिक
पार्ने प्रविधि एकमात्र छ : त्यो हो योग । प्रत्येक राजनीतिकर्मीहरूलाई
योगको प्रशिक्षण जरुरी छ ।
९५- दिव्यदृष्टि भनेको के हो ?
जे छ त्यसलाई त्यसैको सुन्दरतामा देख्नु दिव्यदृष्टि हो । त्यसैको
सुन्दरतामा नदेखी आफूले सोचेजस्तो देख्न खोज्नु हीनदृष्टि हो । जब
मानिस आफ्नो परिभाषा र सूचनाको आँखाबाट संसारको कुनै पनि
कुरालाई हेर्दछ तब ऊ सदा असत्यको वकालत गर्दछ । सत्यबाट लाखौं
कोश टाढा फ्याँकिन्छ ।
मानिसको तन–मन–वतनको घोर अन्धकारमा चेतना छोपिएको छ ।
ज्ञानको ज्योति जगाऊ जसको प्रकाशले स्वयंले स्वयंलाई देख्न सक ।
संसारलाई जान्नु त्यति नै जटिल र व्यर्थ छ जति स्वयंलाई जान्नु
सरल र सार्थक । आत्म–दीप बाल जसले प्रकाशको विराट ज्ञान
हुनेछ अन्यथा सूर्यको प्रकाशमा पनि सत्य देख्नेछैनौ । साक्षी दर्शनबाट
बेहोसी नष्ट हुन्छ । बेहोसी हटेर होस आएपछि चेतनाको अनुभूति
हुन्छ । यो अनुभूतिले जुन सनातन आनन्द आउँछ त्यसैको नाम स्वर्ग
हो । आनन्दमा साक्षी भएर मनाएको उत्सव मुक्ति हो । यही मुक्तिमा
अनादि सत्ता उपलब्ध हुन्छ ।
अन्धकारको डरले भाग्दा तिमी प्रकाशबाट वञ्चित हुनेछौ । इच्छा,
ज्ञान र क्रियाका साथ साक्षी बनेर अन्धकार र प्रकाश दुवैको विराट
सौन्दर्यलाई हेर । तुलना नगर । अन्धकार र प्रकाश दुवै आ–आफ्ना
ठाउँमा अतुलनीय छन् । अन्धकार र प्रकाशको विराट सौन्दर्यको जुन
दिन बोध हुनेछ, त्यो दिन सूर्य–चन्द्र–तारामण्डल मात्र होइन अनादि
सत्ताका हरेक सिर्जनाबाट सनातन प्रकाश फैलिइरहेको अनुभूति हुनेछ ।
त्यही सनातन दृष्टिको नाम नै दिव्यदृष्टि हो ।
९६- आत्म विकासको सूत्र के हो ?
आत्माको विकास होइन । आत्माको अनुभूति या आत्मबोध हो । आत्माको
हामीले विकास या विनास केही गर्न सक्दैनौं, केवल आत्माको विराट
अस्तित्व बोध गर्न सक्दछौं ।
मानव, पशु–पक्षी, वन–वनस्पति, हिमाल–नदी–समुद्र, अन्तरिक्ष–
तारामण्डल अनादि सत्ताका सम्पूर्ण सिर्जनासँग बन्धुत्वको भावना
र ाख । सम्पूर्ण कृतिसँग सहजीवनको विस्तार गर । सूक्ष्म र विराटबीचको
मिलनविन्दु देख । तब आत्मालाई देख्न सक्नेछौ ।
अमनको सरल सूत्र– साक्षी भाव हो । तिमीले जुन काम गर्दछौ या तिमी
भएर जुन घटनाहरू यात्रा गर्दछन् त्यसलाई कथा नबनाऊ, केवल साक्षी
बनेर हेर । तिमीले होसपूर्वक जान, घटना घटिरहेका छन् तर त्यससँग
हातेमालो गरेर नहिँड, कुरा नगर तब आत्मबोध हुनेछ ।
९७- मानव सम्भावनाको शिखर के हो ?
म तिमी बुद्ध बनेको देख्न चाहन्छु, बुद्धिष्ट बनेको होइन । ईसा बनेको
देख्न चाहन्छु, ईसाई बनेको होइन । महावीर बनेको देख्न चाहन्छु, जैन
बनेको होइन । नानकदेव बनेको देख्न चाहन्छु, सिख बनेको होइन ।
तिमीभित्र त्यो सम्भावना छ । त्यही तिम्रो सम्भावनाको शिखर हो
जहाँबाट तिमी अनादि सत्तासँग सिधा जोडिन सक्दछौ । बीचमा कुनै
माध्यम जरुरी छैन ।
प्रत्येक मानिसभित्र सम्भावना बराबर छ तर वास्तविकता बराबर छैन
किनकि सबैले आफ्नो सम्भावनालाई वास्तविकतामा बदल्न प्रयत्न
गर्दैनन् । मन्दिर, चर्च, मस्जिद, गुम्बा, गुरुद्वार आदिमा अध्यात्म कैद
भयो । पण्डित, फादर, मुल्ला, लामा त्यसका पहरेदार भए । जसका
इसारामा ती आध्यात्मिक केन्द्र चल्नुपर्ने भयो । अध्यात्मका इसारामा ती
नचल्ने भए । जसले अध्यात्मको सनातन शिक्षा नासिँदैछ ।
घर–घरमा प्रेम कैद भयो । स्त्री–पुरुष त्यसका पहरेदार भए । जसका
इसारामा प्रेम चल्नुपर्ने भयो, प्रेमका इसारामा ती नचल्ने भए । जसले
प्रेमको सनातन शिक्षा नासिँदैछ । केवल प्रेमका नाममा यौनपिपासा या
भनौं शरीर वासना मात्र बाँकी रèो ।
विद्यालय, महाविद्यालय र विश्वविद्यालयका उपाधिमा ज्ञान–विज्ञान
कैद भयो । विद्यालय प्रशासन, शिक्षक, शिक्षा मन्त्रालय त्यसका पहरेदार
भए जसका इसारामा ज्ञान–विज्ञान चल्नुपर्ने भयो । जसले गर्दा मानव
सम्भावना प्रकट हुन सकेन। हाम्रो परम्पराका सार्वभौम, सर्वाङ्गीण
शिक्षाकेन्द्र गुरुकुलका साथ सम्भावनालाई प्रकट गराउने दिव्य शिक्षा
योग पनि नासिँदै गयो । हामीले आफ्ना पैतालाले आफ्नो सम्भावनाको
विराट लोकलाई कुल्चियौं ।
९८- साधनाका लागि स्थान बदल्नु जरूरी छ ?
आफूलाई बदल्नु पर्दछ । स्थान या अवस्था बदलेर केही हुन्न ।
उच्चकोटीको साधनाका लागि प्रकृतिसँगको सह–जीवन जरुरी छ ।
त्यसैले प्राचीन योगीहरू हिमाल, नदी, गुफा, जंगलमा साधनारत रहेको
पाइन्छ । तर, आम मानिसले आनन्दको जीवन जिउन साधनाका लागि
यस्तो सोच्नु जरुरी छैन । परिवारका साथ बस या जंगलमा एक्लै बस,
हिमालमा बस या शहरमा केही फरक पर्दैन । नेपाली लोक कहावत
पनि छ— नेपाल गए कपालसँगै, बर्मा गए कर्मसँगै । साधनाका
लागि सबैभन्दा श्रेष्ठ स्थल आफूभित्र बस्नु हो । तिमी आफूभित्र
जति गहिराइतर्फ बढ्दै जान्छौ, बाहिर त्यति नै उचाइ बढ्दै जान्छ ।
बाहिरी उचाइ बढोस् भन्ने चाहना छ भने भित्रको गहिराइलाई बढाउँदै
लैजानु पर्दछ । गहिराइ र उचाइ जब सीमामुक्त विस्तारमा जान्छ तब
ज्योर्तिलिङ्ग उपस्थित हुन्छ ।
साधनामा तपको ठूलो महत्व छ । तपस्या दिव्य जीवन पद्धति हो ।
तपद्वारा शुद्धीकरण र शून्यता पैदा गर्न सकिन्छ । शरीरका माध्यमबाट
भोगको विस्तार या शरीरका माध्यमबाट दु:खको विस्तार दुवै महारोग
हो । तपको नाममा शरीर र मनलाई दु:ख दिनु पनि महारोग नै हो ।
तपद्वारा शरीर र मनलाई निर्मल बनाउन सकियो भने साधनाका लागि
अत्यन्त महत्वपूर्ण हुन्छ ।
संसारमा साधनाद्वारा दिव्यस्थिति उपलब्ध गर्न सकिन्छ । यो स्थिति
उपलब्ध गर्न यात्रालाई जति कठिन भए पनि उत्सवमय बनाउनु पर्दछ ।
विकटतामा पनि निकटताको परम आनन्द हुनु पर्दछ । तिमीभित्र दुई
विशालताको मिलन छ— कर्ता र द्रष्टाको । साधनामा प्रवेश गर्दा
तिमीलाई होस हुनु पर्दछ— म कर्ता होइन द्रष्टा मात्र हुँ ।
सत्पुरुषद्वारा जीवन रूपान्तरणको कला सिक्ने कल्पनामा नभड्किऊ ।
यदि तिमीभित्र सिक्ने धीरता, होस र कला छ भने सारा जगत सत्पुरुषले
भरिएको छ । आँखालाई बन्द गर र साना–साना घटनालाई देख्ने
कोसिस गर । कानलाई बन्द गर र सनातन ध्वनिलाई सुन्ने कोसिस
गर । तब अनादि सत्ताका हरेक कृति सद्पुरुष बनेर अगाडि आउनेछन् ।
नत्र तिमीले मानेका सद्पुरुषको साथ जीवनभर रहेर पनि आफ्नो
सद्पुरुषलाई नचिनी दु:खी मर्न सक्छौ ।
९९- सोच र दु:खको जीवनमा के सम्बन्ध छ ?
सोच हाम्रो जीवनको चौराहा हो जहाँबाट हामी गन्तव्यका लागि
छुट्टिन्छौं । तिमी अरूका कारणले मलाई दु:ख भयो भनेर सोच्दछौ
भने यो सोच तिम्रो बेहोसीको उपज हो । मेरा कारणले अरू कसैलाई
दु:ख त भएको छैन भनेर सोच्दछौ भने यो सोच तिम्रो होसको उपज
हो । होसको राजपथबाट नै तिमीभित्रको सम्पूर्ण सम्भावनासम्म पुग्न
सक्दछौ । राम्रा कुरा बिर्सिएर नराम्रा कुरा मात्र सम्झने, धनसम्पत्तिलाई
सबथोक मान्ने, घर–परिवार, इष्टमित्र र समाजलाई म नभई हुँदैन
भन्ने घमण्ड र अहंकार बोक्ने, सानो काम–कुरो बिग्रँदा पनि अबदेखि
त्यो मानिस मलाई चाहिँदैन भन्ने सम्झने, सधैं तनाव र निराशामा
रहने, अरूको भावना र अधिकारको ख्याल नराख्ने, जे कुरामा पनि
जान्ने–सुन्ने बन्ने तर भईपरी आउँदा कुनै काम गर्न नसक्ने मानिस
कहिल्यै सुखी हुन सक्दैन ।
मानिस आफ्नो दु:खबाट त्यति दु:खी छैन जति अरू सुखी भएको देखेर
दु:खी छ । यो सबै सोचको उपज हो । जुन व्यक्तिको ह्दयमा काँडा छैन
त्यो व्यक्तिलाई संसारका कुनै काँडाले घोच्दैन । हिंसा छैन त कुनै पनि
हिंस्रक जीव उसका नजिक आउँदा त्यसका सबै हिंसात्मक वृत्ति समाप्त
भएर जान्छन् । हाम्रो सोच जस्तो हुन्छ संसारका सम्पूर्ण संरचनाले हामीसँग
त्यस्तै व्यवहार गर्दछन् । जसको ह्दयबाट मस्तिष्कमा प्रेमको झरना
झर्दछ, त सारा जगतले उसलाई प्रेम दिन्छन् । शान्तिले शान्ति दिन्छ । यो
शाश्वत सनातन नियम हो, जो चमत्कारिक जस्तो देखिन्छ । घृणा दिएमा
घृणा सयौं गुणा भएर दिनेमै फर्किन्छ । क्रोध दिएमा क्रोध सयौं गुणा भएर
दिनेमै फर्किन्छ । यी सबै शुभ–अशुभ सोचले नै जन्माउँछ ।
शुभ सोच पैदा गर्न प्रकृतिसँगको सहजीवन र सानिध्य महत्वपूर्ण हुन्छ ।
हिमाल–नदी–झरना, वन–जंगल, आकास–चन्द्र–सूर्य–तारापुञ्जका
साथै जीव–जन्तु, चरा–चुरुंगी आदि प्रकृतिका कृतिहरूलाई देख्दा मात्र
पनि चित्त निर्मल हुन्छ । प्रेम, शान्ति र करुणा उपलब्ध हुन्छ । निर्मल
सोचबाटै सत्यसम्म पुग्न सकिन्छ ।
निर्मल सोचले संसारमा सुखी जीवन प्राप्त हुन्छ भने अन्तसमा अनादि
सत्ताको उपलब्धता । तिमी बाटोमा जाँदा कसैले गाली गर्यो र तिमीलाई
रिस उठ्यो या कसैले प्रशंसा गर्यो र तिमीलाई प्रसन्नता आयो भने यी
दुवै मलीन चित्तको भाव हो । किनकि यी दुवै अवस्था अरू कसैले
तिमीमा पैदा गरेको हो । तिमी बाटोमा जाँदा कसैले गाली गर्यो या
प्रशंसा गर्यो र तिम्रो अवस्था गाली या प्रशंसा सुन्नुअघि जस्तो थियो
त्यस्तै रèो भने त्यो दिव्य अवस्था हो । जहाँ दु:खले प्रवेश गर्नै सक्दैन,
केवल आनन्दको उत्सव चलिरहन्छ । बाहिरबाट आरोपित प्रभाव नहुनु नै
परम निर्मलताको अवस्था हो । परमशुद्धताको अवस्था हो । जो तिम्रो छ,
त्यो सत्यम्–शिवम्–सुन्दरम्को त्रिवेणी तीर्थ हो । जो बाहिरबाट आउँछ
र भित्रको लयमा प्रलय सिर्जना गर्दछ त्यो अशुद्ध सोच–संकल्पको
उपज हो । आँधीबेहरी हो । भुमरी हो ।
१००- संसार विनाशको मूल के हो ?
अहंकार, महत्वाकांक्षा र प्रतिस्पर्धाको अन्धकार बाटो मानव सम्भावना
र सभ्यताको विनाश चोकमा गएर मिल्दछ । यही तीन संसार विनासको
मूल हो जो मानवभित्र महाविषको रूपमा रहेको छ । संसारको विकास–
विस्तार सदाचारको बाटोमा हिँडेका महामानवहरूबाट भएको छ । शील
र शिष्टाचार सदाचारका दुई पखेटा हुन् । अन्तर् जगतको विनम्रता
जसलाई हामी शील भन्दछौं र बहिर् जगतको विनम्रता जसलाई हामी
शिष्टाचार भन्दछौं । जससँग दुवै पखेटा छन् ऊ अनन्तको उडानमा जान
सक्ने सदाचारी सन्त हो । बाè सौन्दर्य र आभूषणले केवल आँखालाई
क्षणिक सन्तुष्टि दिन्छ तर शील र शिष्टाचारले प्रत्येक कोष–कोषलाई
सन्तुष्टि दिन्छ ।
सारा दुनिया नाश भए होस् तर म बाँच्नु पर्दछ । मेरै हातबाट सारा दुनिया
नष्ट गर्नुपरे गरौंला तर म नष्ट हुने छैन । मभन्दा जान्ने–सुन्ने र बलशाली
कोही छैन आदि सोच्ने विध्वंसक सोच–विचारको नाम नै अहंकार हो ।
अहंकारी मानिसभित्र प्रेम, शान्ति र करुणा खोज्नु बालुवा पेलेर तेल
निकाल्न खोज्नु जस्तै हो ।
सुनको थाल भएर के गर्ने त्यसमा भोजन छैन भने । भोजन छ भने पातमै
होस् या हातमै, महत्वपूर्ण हुन्छ । मूल कुरा भोजन हो, थाल–कचौरा
होइन । त्यसरी नै मानव हीरा–मोती, सुन–चाँदी, भूषण–आभूषणले
सजिएको होस्, महल–मोटर, पद–प्रतिष्ठाले सिँगारिएको होस् अहंकार,
महत्वाकांक्षा र प्रतिस्पर्धाको दलदलमा फसेको छ भने त्योभन्दा कुरूप,
निर्धन र अशान्त मानिस संसारमा अर्को पाइन्न । यस्ता भोजनविनाका
सुनका थालहरूले नै संसारलाई विनाशमा धकेलिरहेका छन् । मानिस
धन–सम्पत्ति, मान–सम्मान, पद–प्रतिष्ठा, आसे–पासेको झुण्डका
कारण विराट या विशाल हुँदैन । मानिसको विशालता त प्रेम, शान्ति र
करुणाको त्रिवेणीबाट उपलब्ध हुन्छ ।
योगी, सन्तहरूले संसारलाई विनाश हुनबाट बचाएका छन् । योगित्व,
सन्तत्व अहंकार, महत्वाकांक्षा र प्रतिस्पर्धाको विसर्जनबाट पैदा भयो
भने उसलाई कुनै उपाधि चाहिन्न । योगित्व अहंकार मुक्तिको अवस्था
हो, अहंकार तृप्तिको होइन । अहंकारबाट परिपोषित योगीले आफ्नो
गुणगान र अरूको अपमान गर्दैमा जीवन समाप्त गर्दछ । यस्ता दुई योगी,
सन्त या स्वामी एक ठाउँमा बस्न सक्दैनन् । अहंकार, महत्वाकांक्षा र
प्रतिस्पर्धा विसर्जनबाट योगित्व उपलब्ध भए हजार योगी एकै स्थानमा
मौन प्रवचन गरेर बस्न सक्दछन् । संसार विनाशबाट यस्तै योगी–
सन्तहरूले बचाउँछन् ।
१०१- आनन्द प्राप्त गर्न के गर्नु पर्दछ ?
आनन्द तिम्रो प्राकृतिक अवस्था हो र दु:ख–पीडा अप्राकृतिक । आनन्द
प्राप्तिका लागि तिमीले कुनै प्रयास गर्नु पर्दैन, केवल प्रत्येक गतिविधि
एवं घटनाको होसपूर्वक साक्षी बने पुग्दछ । दु:ख–पीडा कमाउन
जीवनभर मेहनत गर्नु पर्दछ ।
शरीर, मन, चेतनाको त्रिवेणीमा आनन्द र उत्सवमय दिव्य जीवन तिमीले
सदैव इच्छा गरेका छौ । यो इच्छाको पूर्णता तब हुन्छ जब तिमी आफ्नो
कोष–कोषदेखि ब्रहृमाण्डको कण–कणसम्म अनादि सत्ता (परमात्मा)
को विस्तार देख्नेछौ ।
जीवनलाई अनादि सत्ता (परमात्मा) बाट मिलेको उपहार सम्झेर
सुख–दु:खमा समत्व बोधका साथ आनन्दले नाच्ने मानिसका साथ
पशु–पक्षी, रुख–विरुवा, हिमाल–पहाड, नदीनाला, ग्रह–तारा साथै
कृति–प्रकृतिका सम्पूर्ण संरचनाहरू नाच्न थाल्दछन् । यहाँसम्म कि
स्वयं परमात्मा पनि उसका साथ नाच्न थाल्दछ । यही त आनन्द प्राप्तिको
कला, संस्कृति र विज्ञान हो ।
मानिसले आफूलाई नचिनेसम्म संसारलाई चिनेर आनन्दित हुन सक्दैन ।
जब आफ्नो यथार्थ परिचय हुन्छ तब ऊ आनन्दित हुन सक्दछ । रूप–रंग,
जाति–पाति, संघ–सम्प्रदाय, लिंग–लिंगायन आदिका विवेकहीन
बन्धनहरूबाट मुक्ति लिएर मानव–महामानव र चैतन्यमानवको यात्रामा
अघि बढेर मात्र आनन्द उपलब्ध हुन सक्दछ ।
अर्काको आँखा फोर्नुभन्दा पहिले एकपटक आफ्नो आँखा चिम्लेर यस
जगतलाई हेर्ने मानिस आनन्दित हुन्छ । जीव, जीवन, जगत र जगदीश
(अनादि सत्ता) को सत्यानुभूति अरूको ह्दयबाट गर्न सकिन्न । यो
सत्य अरूको आँखाबाट देख्न सकिन्न न त अरूको खुट्टाबाट यात्रा
नै गर्न सकिन्छ । आफ्नो प्रकाश आफै बनी सत्यको यात्रामा हिँड्ने
मानिस आनन्दित हुन्छ । शरीर पारिको दिव्य नगर, शरीर वारिको
महानगर र यी दुवैलाई जोड्ने विराट पुल शरीरको रहस्य जान्ने मानिस
परमानन्दमा हुन्छ ।
शरीरद्वारा सञ्चालित बल, मनद्वारा सञ्चालित बुद्धि र यी दुवैको साझा
मित्र धन अन्तिम बेलामा केही काम लाग्दैनन् । मानिस यी तिनै कुरामा
मस्त भएर पनि निरीह बन्दछ । यसैले बल, बुद्धि र धनको सम्यक
प्रयोग गर्दै चैतन्य यात्रामा अघि बढ्ने मानिस मात्र आनन्दित हुन्छ ।
जहाँबाट सबै कुरा जन्मिन्छन्, जहाँ सबै कुरा विकसित हुन्छन्, जहाँ
अन्तमा सबै विलय हुन्छन् । अर्थात् सृष्टि, स्थिति र संहारको केन्द्र
अनादि सत्तालाई उपलब्ध गर्ने मानिस सनातन आनन्दमा रहन्छ ।
१०२- पूर्ण के छ ?
अनादि सत्ता नै एकमात्र पूर्ण छ । मानिस, जीव–जन्तु, चरा–चुरुङ्गी,
कीरा–फट्याङ्ग्रा, अणु–जीवाणु, वन–वनस्पति र हरेक कण–कणमा
अनादि सत्ताको उपस्थिति छ । मानिसको आजको जीवनशैलीले
यसलाई न त देख्न सक्दछ, न त चिन्न सक्दछ न त त्यसतर्फ पाइला
बढाउन नै । सम्पूर्ण जीव, जीवन र जगतका कृतिमा अनादि सत्ताको
उपस्थिति देख्नु र ती सबै अनादि सत्ताद्वारा मार्गदर्शित भएर चलिरहेको
छ भन्ने जान्नु नै अमृत विद्या हो ।
म को हुँ ? भन्ने प्रश्नको लहरबाट जुन दिन म अनादि सत्ता हुँ भन्ने
विराट ज्ञान देखिन्छ तब मानिसले पूर्णताको शिखर छुन्छ । आफ्नो
प्रकाश आफै बनी जुन दिन तिमी आफ्नो मूल उद्गममा पुग्नेछौ, त्यस
दिन मानिसलाई जत्तिकै प्रेम पशुपक्षीलाई पनि गर्नेछौ । जनावरलाई
जत्तिकै प्रेम रुखविरुवालाई पनि । बोटवृक्षलाई जत्तिकै प्रेम ढुंगामाटोलाई
पनि । यति मात्र होइन यी सबैलाई जत्तिकै स्वयम् आफूलाई पनि र
पञ्चमहाभूतलाई पनि प्रेम गर्नेछौ । पूर्णतामा भेद छैन । तिमीलाई थाहा
हुनेछ त्यो अनादि शिखरको जहाँबाट सबै नदीले जन्म, विकास र विश्राम
पाएका छन् । तब गंगा, जमुना र सरस्वतीको लडाइ समाप्त हुनेछ ।
१०३- के हामी दिव्य क्षणबाट गुज्रिरहेका हुन्छौं ?
साधकहरू साधनाको शिखरमा जुन दिव्यावस्थाको अनुभव गर्दछन्
र त्यसमा स्थिर हुन्छन् जीवनका सबै भोक–तिर्खा–निद्रा मेटाएर ।
त्यस्तो दिव्य क्षण हरेक व्यक्तिमा चौबीस घण्टामा कैयौं पटक क्षण–
क्षणिकाको रूपमा आइरहेको हुन्छ तर बेहोसीमा चलिरहेको मानिसले
यो थाहा पाउन सक्दैन । चारैतर्फको बेहोस व्यवस्थाले त्यो विराट क्षण
पनि हराउँछ । ती क्षण–क्षणिकालाई एक पटक मात्र पनि होसपूर्वक
देख्न सक्यौ भने तिमीले चाहे जति रोक्न सक्दछौ, साधनाको
माध्यमबाट । हरेकमाथि बर्सिरहेको अमृत वर्षाको यो दिव्य बोधका
लागि भित्र–बाहिर हरेक क्षण घटिरहेका गतिविधिहरूमा होसपूर्ण हुनु
आवश्यक छ । यही क्षण–क्षणको होस यात्रा नै अनादि सत्तासम्म
पुर्याउने राजपथ हो ।
१०४- सुख–दु:खमा मनको के सम्बन्ध छ ?
मानवका हरेक काममा मनको प्रत्यक्ष प्रभाव रहन्छ । मनको पछि–पछि
लागेर शरीर र त्यसका इन्द्रियहरू चल्दछन् । मन मलीन हुँदा या निर्मल
हुँदा मानवका सम्पूर्ण सोच, संकल्प, कार्य र त्यसबाट प्राप्त हुने नतिजा
प्रभावित हुन्छन् । निर्मल मनका पछि प्रेम, करुणा, शान्ति र समग्रमा
भन्दा अक्षर आनन्दको उत्सव आउँछ भने मलले भरिएको मनका पछि
हिंसा, परिग्रह, असत्य, अशान्ति र समग्रमा भन्दा अन्तहीन दु:ख आउँछ ।
शरीर चलिरहे स्वस्थ हुन्छ भने मन नचले स्वस्थ हुन्छ । मनमा जति मल
बढ्दै जान्छ त्यति त्यो प्रतिस्पर्धी, महत्वाकांक्षी र अहंकारी हुन्छ । बाè
र आन्तरिक प्रकृति र कृतिलाई हस्तक्षेप गर्न थाल्दछ । समग्रमा भन्दा
निर्मल मनबाट मलीन मनतर्फ लाग्दछ । तब उसका साथ अन्तहीन दु:ख
मात्र बाँकी रहन्छ । निर्मल मनले गरेका हरेक संकल्प, प्रार्थना र कार्यले
सुख बाहेक केही जन्माउँदैन ।
अरूले मलाई दु:ख दिन्छन् त्यसैले त मैले सुख पाइनँ भनेर निरन्तर
मनमा सोच–विचार गर्ने मानव कहिल्यै सुखी हुन सक्दैन । मैले म
स्वयम्लाई र अरू कसैलाई पनि दु:ख दिनु हुँदैन भनेर निरन्तर सोच–
विचार गर्ने मानव सदा सुखी हुन्छ । दिव्य आनन्द र उत्सवमा हुन्छ ।
पालोको पैंचो, उसले मलाई दु:ख दियो भने मैले उसलाई झनै ठूलो दु:ख
दिन्छु भन्ने सोच्ने मन कहिल्यै सुखी हुँदैन । हुनै सक्दैन । यस्तो बदलाको
भाव या वैरभाव बोकेको मलीन मनद्वारा सञ्चालित मानव संसारको
सबैभन्दा दु:खी मानव हो । मेरो उपस्थिति या मेरा कारणले कसैलाई
दु:ख भयो कि भनी जान्ने र सबैलाई सुखी देख्न कार्य गर्ने मानवलाई
कसैले दु:ख दिन सक्दैन । ऊ सदा सुखी हुन्छ किनकि उसका साथ
सनातन सुख बसेको हुन्छ ।
पुण्यवान अर्थात् सबैलाई हित हुने असल काम गर्ने व्यक्ति जहाँ
जस्तो परिस्थितिमा रहे पनि सुखी हुन्छ । आनन्द र उत्सवमा हुन्छ ।
पुण्यहीन अर्थात् आफूलाई मात्र हित हुने अरूलाई अहित हुने खराब
काम गर्ने व्यक्ति जहाँ जस्तो परिस्थितिमा रहे पनि दु:खी हुन्छ । पीडा
र अन्धकारमा हुन्छ ।
इन्द्रियहरूको गीतलाई गीता मानेर त्यसैको पूजा र साधनामा मदमस्त
मन बोकेको मानवलाई मध्यरातको गाढा निद्रामा अचानक आएको ठूलो
पैरोले बगाएर पुरेझैं मृत्युले बगाएर पुर्दछ ।
१०५- सुन्दरताको हाम्रो जीवनमा के महत्व छ ?
सत्यम्–शिवम्–सुन्दरम् अर्थात् सत्य नै शिव हो, शिव नै सुन्दर हो । यही
विराट सुन्दरताको दिव्य परिभाषा हो । हाड–छालासँग मात्र जोडिएको
सुन्दरता आकासको चट्याङ जस्तो हो । जो टाढा देख्दा अत्यन्त सुन्दर
र मनमोहक हुन्छ, नजिक जोडिँदा विनाशक । आन्तरिक सुन्दरता घोर
अन्धकारबीचको निष्कम्प दीप समान हो जो जति नजिक आयो त्यति
धेरै दीपहरूलाई प्रज्वलित गर्दछ ।
यौवन अवस्था शरीर योग, विश्व योग हुँदै अनादि योगतर्फ अगाडि बढ्न
सकेन भने सुन्दर शरीरमा मौलाएको कुरूप यौवनले कुरूप वृद्धत्वलाई
जन्माउँछ । यौवनावस्थाबाटै चैतन्यबोध हुनु पर्दछ– आफू र विश्वलाई
कल्याण नहुने अमंगलकारी कार्य गर्न अत्यन्त सजिलो हुन्छ तर आफू र
विश्वलाई कल्याण कार्य गर्न अत्यन्त कठिन । सुन्दर देखिने कुरूपतामा
मानिस अत्यन्त छिटो लालयित भई प्रवेश गर्दछ ।
१०६- ब्राह्मणको परिचय के हो ?
जन्मका साथ कोही पनि ब्राहृमण हुँदैन । जो सत्पथ र आध्यात्मिक
साधनामा छ, त्यो मात्र ब्राहृमण हुन्छ । त्रिकाल स्नान गर्दैमा, पूजा–पाठ
गर्दैमा र ग्रन्थ कण्ठस्थ गर्दैमा कोही पनि आध्यात्मिक हुँदैन । अध्यात्मको
पहिलो सिँढी भनेको निर्मल शरीर र मन हो । सबैले ब्राहृमण भने पनि
चुर ोट–तमाखु एवं सुर्तीजन्य पदार्थ, जाँड–रक्सी एवं अल्कोहलजन्य
पदार्थ, माछा–मासु एवं मांसहारजन्य पदार्थ र गाँजा–भाङ एवं लागुपदार्थ
सेवन गर्नेहरूलाई योगी एवं सन्तहरूले ब्राहृमण मान्दैनन् ।
जसको उपस्थितिमा चर–अचर कसैलाई पीडा हुँदैन र सबै आनन्दित
हुन्छन्, त्यही व्यक्ति ब्राहृमण हो । आहारमा मात्राको ज्ञान राख्नु अर्थात्
शरीर र मनको गुण–धर्म अनुकूल आहार गर्नु, एकान्त बास बस्नु, प्रकृति र
परमात्माको नजिक रहनु, शरीर र मनको निर्मलीकरण या शुद्धीका लागि
योग साधना गर्नु, अरूको दोष खोज्ने एवं परनिन्दामा रमाउने बानी छाड्नु,
आफ्नो कल्याणका लागि सोच्दा या काम गर्दा त्यसले सर्वकल्याण गर्छ
कि गर्दैन भनेर सोच्नु र सर्वकल्याणमा आफ्नो कल्याण देख्नु । यही
दिव्य साधनाले ब्रहृमज्ञानको बाटो देखाउँछ । ब्रहृमज्ञानविना ब्राहृमण बन्न
सकिन्न । साधनाद्वारा आफूलाई मलरहित निर्मल बनाएपछि मात्र अरूलाई
उपदेश दिनु पर्दछ । नत्र हरेक उपदेश विष समान घातक हुन्छन् ।
ब्राहृमण अपरिग्रही हुनु पर्दछ । अपरिग्रहीलाई संसारको कुनै घटनाले
दु:ख दिन सक्दैन । अपरिग्रहको अर्थ वस्तुको संग्रह नगर्नु मात्र होइन
पाप–पुण्यको पनि संग्रह नगर्नु हो । पाप–पुण्यको संग्रहबाट मुक्त भएपछि
सदाचार उपलब्ध हुन्छ ।
१०७- पाप भनेको के हो ? यसबाट कसरी बच्ने ?
पापको अर्थ स्वयं र संसारलाई पीडा दिनु हो । पुण्यको अर्थ स्वयं र
संसारलाई आनन्द दिनु हो । पाप कर्मलाई खर्च गर्नु र पुन: नकमाउनु
एवं पुण्य कर्मलाई सञ्चय गर्नु र निरन्तर कमाइरहनु संसारको सबैभन्दा
श्रेष्ठ धनी मानिस हुने कला हो ।
फलामबाट निस्केको खियाले फलामलाई नै नष्ट गर्दछ । त्यस्तै
सदाचारविहीन स्वयं र संसारलाई पीडा दिने व्यक्तिका कर्मले उसलाई
नै नष्ट गर्दछ । स्वयं र संसारलाई आनन्द दिने शरीर योग र विश्व
योगतर्फ एक–एक पाइला सदाचारले पूर्ण बनायौ भने तिम्रो यात्रा दिव्य
हुनेछ र तिमीले अनादि योग उपलब्ध गर्नेछौ । शरीर, मन, वचन, कर्म
आदिले कसैलाई दु:खी नबनाऊ । सधैं यो सम्झ, मेरो उपस्थितिले
कसैलाई दु:ख भएको त छैन ? यस प्रकार सोच्ने र कर्म गर्ने गरेमा पुण्य
बढ्दै जान्छ, पाप घट्दै जान्छ ।
विराट आनन्दलाई कुल्चेर क्षणिक आनन्दलाई अँगालो मार्ने मानिस पापी
हो । आन्तरिक सुखलाई चिन्न नखोज्ने र बाè क्षणिक सुखको लालचामा
बेहोस नाचिरहने मानिस पापी हो । राम्रो सोच–विचारले राम्रो कर्मलाई
जन्म दिन्छ र राम्रो कर्मले सत्य साक्षात्कारको मूल ढोका खोल्दछ । सत्यको
साक्षात्कारले सम्पूर्ण पाप नाश भएर जान्छन् । अक्षय आनन्दको अगाडि
क्षणिक इन्द्रिय सुख महत्वहीन हुन्छ । त्यसैले योगीहरू, पुण्यशीलहरू
अतुलनीय सनातन आनन्दका लागि सम्पूर्ण कुरा छाडेर साधनामा
लाग्दछन् । अतुलनीय सम्पदा प्राप्तिका लागि सामान्य सम्पत्ति छाड्नु
वैराग्य हो । विराट भोगका लागि इन्द्रिय भोग छाड्नु वैराग्य हो । वैराग्यको
लक्ष्य पाप मुक्ति मात्र होइन । तर वैराग्यले पापमुक्त गर्दै अगाडि बढ्छ ।
तिमीलाई पापी बन्न अर्थात् खराब बन्न अरू कोही कारण हुन्न, तिमी
आफैको खराब सोच–विचारसँग हिँडेको तिम्रो मनले खराब कर्ममा
लठ्याउँछ र तिमीलाई पापको दल–दलमा धकेलिदिन्छ । राम्रो सोच–
विचारद्वारा राम्रो बानी–व्यवहार बनाऊ जो तिम्रो सबैभन्दा ठूलो हितैषी
मित्र हो । जसले संकटमा पनि तिम्रो साथ छाड्दैन । सोच, संकल्प र
सत्कर्मलाई यति बलियो बनाऊ कि कुनै पनि विपरीत परिस्थितिले
टाउको उठाउन नपाओस् तब पाप कर्म चुप–चाप भाग्नेछ । तिमी शब्द
जालबाट भ्रमित नबन । साधना नभएका साधु, पाण्डित्य नभएका
पण्डित, आचार नभएका आचार्य, स्वलाई नचिनेका स्वामीहरूबाट हाम्रो
हिमवत् खण्डबाट समुद्रसम्म फैलिएको विराट र जीवन्त ज्ञान–विज्ञान,
धर्म–संस्कृति लोपोन्मुख हुँदै गइरहेको छ ।
जीवनभर कुकर्मको मलले निर्मल चेतनालाई ढाकेर बुढेसकालमा
पूजा–पाठ र हरे–राम जपनाले पाप नष्ट हुँदैन । वर्षभर लोभानी–पापानी
गरेर धन कमायो र फुर्सद मिलाएर एउटा सप्ताह गराउँदैमा या भण्डारा
लगाउँदैमा पाप मेटिन्न । उखु बारीमा उम्रेका सबै विरुवा गुलिया हुँदैनन्,
अमिला र तिता पनि हुन्छन् । उखु नै पनि सबै बराबर गुलिया हुँदैनन् ।
त्यस्तै कुकर्म र सुकर्मको फल पनि अलग–अलग मिल्दछ र अलग–
अलग नै भोग्नु पर्दछ । पाप–पुण्यको जोड घटाउ हुँदैन । पापलाई पापकै
रूपमा भोग्नु पर्दछ, पुण्यलाई पुण्यकै रूपमा भोग्नु पर्दछ ।
अज्ञानता या बेहोसीमा कुनै कुकर्म भयो र जतिबेला होस आयो त्यो
क्षणबाटै सुकर्ममा लागियो भने क्षमा हुन सक्दछ । पुण्यको राग र पापको
द्वेष नभई समत्वबोध या साक्षीभावबाट जीवन चलेको छ भने तिमी
पाप–पुण्य दुवैबाट मुक्त भई अनादि सत्ता उपलब्ध गर्नेछौ ।
१०८- साधनाको प्रथम सिँढी कुन हो ?
जसले कुनै फलको आशाविना निरन्तर कर्म गरिरहन्छ उसले अतुलनीय
फल प्राप्त गर्दछ । फलको आशा राखेर कर्म गर्ने व्यक्तिले निष्फल
जीवन प्राप्त गर्दछ । साधकले, योगीले परमात्मालाई आफूभित्र खोज्दछ ।
भोगीले परमात्मालाई आफूबाहिर खोज्दछ । त्यसैले योगी जहाँ पनि
जान्छ आफूभित्रको परमात्माका साथ आनन्द उत्सवमा हुन्छ । भोगीले
आफूबाहिर परमात्मा खोज्दै हिँड्छ र भेट्न नसकी छट्पटाई–छट्पटाई
जीवन बिताउँछ ।
दु:खमा आत्तिने र सुखमा मात्तिने गरेनौ भने यही प्रमाण हो कि तिमी
परमात्मालाई प्रेम गर्दछौ । यदि आजबाट परमात्मा र परमात्माको
सृष्टिलाई ह्दयदेखि प्रेम गर्न सुरु गर्यौ भने हिजोसम्म अज्ञानमा गरेका
सबै कर्म दोष मेटिनेछ ।
अहंकारले मानिसलाई अन्धो बनाउँछ जसले गर्दा उसले जन्मजात
प्राप्त दिव्यदृष्टिलाई पनि गुमाउँछ । विनम्रता त्यो दिव्य पथ हो जहाँबाट
जीवन स्रोतसम्म पुग्न सकिन्छ । जब तिमी सर्वमंगल र सर्वकल्याणको
भावनाका साथ काम गर्दछौ त सारा ब्रहृमाण्डीय शक्तिहरू तिमीलाई
सहायता गर्न आउँछन् । तिमी आफूभित्र र बाहिर रहेको अक्षय प्रकृतिबाट
भाग्यौ भने विनाश हुनेछौ, एकाकार भयौ भने अमर हुनेछौ ।
अरूभित्रको खराबी या नराम्रो कुरा मात्र देख्ने मानिस स्वयं खराबीको
उर्वर भूमि हुन्छ । खराबी या नराम्रो कुराको साथ लागी आफूभित्र
खराबीको खेती गर्दछ । अत: सबैका राम्रा कुरा देख, असल कुरा देख ।
संसारको सबैभन्दा खराब मान्छेभित्र पनि केही असल कुरा अवश्य
हुन्छन् । त्यही असललाई देख । साधनाको मुख्य रहस्य स्वनिरीक्षण र
विराट साक्षात्कार हो । शरीर र मनमा जम्मा भएको अन्धकारलाई अन्तर्
निरीक्षणद्वारा होसपूर्वक जानी विराट प्रकाशलाई उपलब्ध गर्नु पर्दछ ।
परगन्धको वासनामा ह्दय दिनानुदिन ओइलाउँदै जान्छ, स्वगन्धको
वासनामा ह्दय दिनानुदिन फक्रिँदै जान्छ । अन्तस्करण परमपवित्र हुँदै
जान्छ । सबै इत्र (अत्तर) हरूमा श्रेष्ठ र दिव्य इत्र चरइत्र (चरित्र) हो ।
चरित्र भनेको नै शील हो । शील भनेको नै स्वभाव हो । यसैले हामीकहाँ
“शील–स्वभाव” शब्द सँगै आएका छन् । शील–स्वभाव (चरित्रवान)
मा स्थित गतिशील व्यक्तिलाई अनादि अस्तित्वले पनि पूजा गर्दछ ।
जति उच्च कोटीको सुगन्धित फूल या अत्तर होस् या श्रीखण्ड र अन्य
सुगन्धित वस्तु हुन् हावा नपुगेका ठाउँमा जान सक्दैनन् तर सत्पथमा
हिँडेको व्यक्तिको सुगन्ध हावाविना पनि सर्वत्र फैलिन्छ ।
पुण्यकार्य थोपा–थोपा थप्दै भए पनि बढाउँदै जानु पर्दछ । पाप कार्य
थोपा–थोपा घटाउँदै भए पनि कम गर्दै जानु पर्दछ । कर्महीन भई सय
वर्ष जिउनुभन्दा कर्मयोगी भई एकै घण्टा जिउनु श्रेष्ठ छ । सृष्टि, स्थिति
र संहारको साक्षात्कार नभएर सय वर्ष जिउनुभन्दा सृष्टि, स्थिति र
संहारको साक्षात्कार गरेर मिनेटभर मात्र जिउनु पनि श्रेष्ठ छ ।
शरीर र मन निर्मल भएका मानिसमा सम्बोधि कोष–कोषबाट अनन्त
चैतन्यधारा बनेर बग्दछ । लडाइँमा लाखौंलाई जित्नुभन्दा केवल आफैले
आफैलाई जित्न सक्ने मानिस महान योद्धा हो । संग्राम जित हो । यस्ता
महान योद्धालाई कुनै पनि बाè आक्रमणले जित्न सक्दैन । साधनाको
प्रथम सिँढी नै मलविहीन निर्मल जीवन हो ।
१०९- दु:ख जीवनको नियति हो ?
निद नआएकालाई रात लामो लाग्दछ । हिँड्ने मन नभएकालाई १००
हात पनि टाढा लाग्दछ । जिउन नजान्नेलाई जीवन केल दु:ख लाग्दछ ।
आफ्ना दोष या गल्ती देख्न र सुधार गर्न सक्ने मानिस नै सुखी
हुन्छ । नत्र संसारका सम्पूर्ण वैभवले पनि एक क्षणका लागि सुख दिन
सक्दैनन् । अर्काको दोष या गल्ती खोज्दा आफ्नो दोष बढ्दै जान्छ ।
आफ्नो दोष या गल्ती खोज्दा आफ्नो र अर्काको दोष पनि घट्छ र
जीवन सुखी हुन्छ ।
पुण्य कर्मफल प्राप्त नहुँदासम्म उपलब्धिविहीन लाग्दछ । कर्मफल प्राप्त
भएपछि मात्र त्यसको दिव्य आनन्द अनुभव हुन्छ । पापकर्म कर्मफल
प्राप्त नहुँदासम्म उपलब्धिमूलक लाग्दछ । कर्मफल प्राप्त भएपछि
त्यसको अन्तहीन दु:ख–पीडाले छाड्दैन ।
दलदले भासमा भासिएर या गडेर नासिने या दिव्यतामा उठेर सत्पथमा
बढ्ने आफ्ना लागि आफै निर्णय लिनु पर्दछ र त्यही अनुसारको कर्म
गर्नु पर्दछ । धर्मलाई अँगालो मारेकाहरूले खण्डित रूपमा कुनै कुरालाई
पनि देख्दैनन् । हरेक सानो खण्डभित्र पनि उही अखण्ड अनादिलाई
देख्दछन् । यो विराट दृष्टिमा दु:ख कहाँ आउन सक्दछ र ? प्रेमी र
अप्रेमी दुवैदेखि टाढा बस र दुवैलाई निष्काम प्रेम गर । प्रेमीलाई नदेख्दा
र अप्रेमीलाई देख्दा दु:ख प्राप्त हुन्छ । तर दुवैलाई निष्काम प्रेम गर्दा
आनन्द आउँछ । परदेशबाट धन–सम्पत्ति कमाएर स्वदेश फर्कंदा
एअरपोर्टमा घर–परिवार र मित्र मण्डलीले फूल–माला लिएर स्वागत
गर्दछन् । सोचेका छौ – यो लोकबाट परलोकमा जाँदा पनि आफ्नो
कमाई लिएरै जाने हो । तर कमाइको रूप–स्वरूप फरक हुन्छ । के त्यहाँ
फूल–मालाले स्वागत होला तिम्रो ? विचार गर र सत्कर्म गर । दु:ख
जीवनको नियति होइन । दु:ख नाशका लागि विराटको बोध हुनुपर्दछ ।
त्यो तब सम्भव छ जब तिमीभित्रका भेदका भित्ताहरू भत्कनेछन् ।
आरोपित ज्ञानमुक्त स्वज्ञान जो अन्तरको प्राकृतिक संगीत हो । त्यसलाई
जसले सुन्दछ उसले अनादि सत्ताद्वारा विराट विद्या प्राप्त गर्दछ जो दु:ख
सदाका लागि हटाउने अमृत विद्या हो । इहलोक र परलोक, लाभ–हानि,
जय–पराजय, सुख–दु:ख, जीव–जीवेश्वरमा कुनै भेद छैन । त्यही विद्या
त अमृत विद्या या विराट विद्या हो जो अनादि सत्ता परमात्माले निरन्तर
हामीलाई दिइरहेको छ ।
मानव भोग, जगत भोग र स्वर्ग भोग आदि सबै प्रकारका भोगमा
नटाँसिएर या नभागेर साक्षी बनेको व्यक्ति नै संसारको सबैभन्दा सुखी
व्यक्ति हो । अनादि सत्तालाई जान्नु र एकाकार हुनु नै विराट विद्या हो ।
अनादि सत्तालाई शब्दमा बाँधेर ग्रन्थमा उतार्न र आधुनिक प्रयोगशालामा
कसी लगाएर हेर्न मिल्दैन । यो त साधनाको प्रयोगशालाभित्र एक्ला–
एक्लै अनुभूति गर्न सकिन्छ ।
११०- प्रार्थनाको के महत्व छ ?
प्रार्थना सबैभन्दा ठूलो यज्ञ हो, पूजा हो जो सरल र शक्तिशाली छ ।
हरेक व्यक्तिले आ–आफ्नो घरमा बसेर निश्चित समयमा सर्वमंगल,
सर्वकल्याण र सर्वोदयका लागि आफ्नो माध्यमबाट अनादि सत्ताको
सनातन ऊर्जा प्रसारण गर्नु । यो चैतन्य यज्ञले जगत, जीव र जीवनलाई
रूपान्तरण गर्दछ । प्रार्थना नै युग परिवर्तनको बीज हो । प्रेम र करुणाका
साथ गरिएको सरल प्रार्थना पनि दिव्य मन्त्रभन्दा शक्तिशाली हुन्छ । प्रेम
र करुणाका साथै आस्था, श्रद्धा र विश्वासविना दिव्य मन्त्रद्वारा गरिएको
प्रार्थना पनि केवल अरण्य रोदन मात्र हुन्छ ।
आफ्नो र विश्व कल्याणको पवित्र सोचद्वारा कुनै पनि बेला, कुनै
पनि स्थान र कुनै पनि भाषामा प्रार्थना गर्न सकिन्छ । ह्दयको भाषामा
मातृभाषा मिल्यो भने दिव्य भाषा बन्दछ । योभन्दा परम पवित्र र
देवभाषा अर्को हुनै सक्दैन ।
१११- सज्जन र दुर्जनमा के फरक छ ?
दुर्जन एक पटक फुट्यो भने कहिल्यै जोडिन सक्दैन माटोको गाग्रो
जस्तै । सज्जन हजार पटक फुटे पनि जोडिन सक्दछ तामाको गाग्री
जस्तै । तामालाई अग्निमा राखेर तताएपछि पग्लिन्छ र शुद्ध बन्दछ ।
तापको रापबाट निर्मल बन्दछ । माटोको गाग्रो अग्निमा राखेर जति तताए
पनि पग्लँदैन । तापको रापबाट झन् कडा र हीन बन्दछ ।
११२- चिकित्सकको धर्म के हो ?
चिकित्सा व्यवसाय होइन । एक मानिसलाई स्वस्थ बनाउनु एक
मेसिनलाई ठिक गर्नु जस्तो होइन । मेसिनलाई त त्यसको बनावट
अनुसारको प्राविधिक ज्ञान भए पुग्दछ । मानिस त यस्तो जैविक संरचना
हो जसलाई प्रेम चाहिन्छ । मेसिनसँग जस्तै व्यवहार गरेर तिमी मानिसलाई
उपचार गर्न सक्दैनौ । यदि कुनै चिकित्सकले इञ्जिनियर या मिस्त्रीको
रूपमा चिकित्सा गर्न थाल्यो भने यो चिकित्सा विद्याकै दुर्भाग्य हो ।
जसको जीवनप्रति प्रेम र सद्भाव साथै जीवन स्रोतप्रति श्रद्धा छैन, जीवनी
शक्तिको जीवन्तता थाहा छैन, ऊ चिकित्सक हुनै सक्दैन ।
नयाँ जीवको सिर्जना कसैले गर्न सक्दैन । हर एक व्यक्ति एक अनौठो
जैविक रचना हो । जसको स्थान अरूले लिन सक्दैनन् । चिकित्सकको
रोगी र उसको जीवनप्रति श्रद्धाभाव हुनु पर्दछ । उसलाई उपचार गर्न
आफूलाई माध्यम मानी अनादि सत्ता या परमात्माद्वारा उपचार भइरहेको
मान्नु पर्दछ । अहंकारको हुंकार नभएर दिव्य ऊर्जाको माध्यम बन्न सक्नु
पर्दछ । रोगीको चिकित्सा पूजा जस्तै पवित्र र मंगल भावनाबाट हुनु पर्दछ ।
मानिसले आज आफ्नो दिव्य ऊर्जाको सहायताले स्वयम्को उपचार
स्वयम्ले गर्ने कला, संस्कृति र विज्ञान भुल्यो, त्यसैले चिकित्सक सहयोगी
हुनु परेको हो । योगको शिक्षा–साधनाविना कोही पनि पूर्ण चिकित्सक
हुन सक्दैन । हाम्रो प्राचीन परम्परामा सन्त र वैद्य अलग–अलग हुँदैनथे ।
एकै व्यक्ति हुन्थे । योगले भित्रबाट उपचार गर्दै बाहिर आउँछ । औषधीले
केवल बाहिर मात्र उपचार गर्दछ । यसको पहुँच भित्र हुन सक्दैन ।
पूर्वका चिकित्सकहरू रोगसँग लड्ने पद्धति विकास गर्ने काममा
लागेनन् । उनीहरूको काम रोग र रोगको लक्षण मेटाउनु थिएन, यो
क्षणिक भए पनि दीर्घकालीन रूपमा सम्भव छैन । उनीहरूको लक्ष्य
रोगको कारण खोज्नु र त्यसबाट मुक्त भएर बाँच्ने कला सिकाउनु
थियो । चिकित्सकको काम केवल जीवनशैली परिवर्तनद्वारा उसको
शारीरिक र मानसिक शुद्धीकरण गर्नु एवं जीवनी शक्तिलाई विकसित
गर्ने कला सिकाउनु थियो ।
पश्चिमी चिकित्सा र चिकित्सकले मानिसलाई एक यन्त्रको रूपमा हेरेको
छ । यसैले यन्त्रकार जहाँ सफल छन् त्यहाँसम्म पश्चिमी चिकित्सा पनि
सफल छ । मानिस यन्त्र होइन एक जैविक इकाई हो । मानिसलाई कमजोर
र रोगी अंगको मात्र उपचार चाहिएको छैन । कमजोर र रोगी अंग मात्र
त्यसको संकेत हो कि सम्पूर्ण शरीर र मन समस्याबाट गुज्रिरहेको छ ।
कमजोर अंग विशेषले रोगको रूपमा यसलाई दर्शाइरहेको छ । पश्चिमी
चिकित्सा र चिकित्सकले मानिसलाई प्रकृति (अन्तर र बाè) को कृतिका
रूपमा नहेरी भिन्न इकाईको रूपमा हेरेको छ, त्यो भूलमध्येको सबैभन्दा
ठूलो भूल हो । मानिस प्रकृति र परमात्माको कृति हो । उसको स्वास्थ्य र
दीर्घजीवन प्रकृति र परमात्मासँगको सहजीवनमा अडेको छ ।
११३- मन र शरीरलाई कसरी चिन्ने ?
मन इन्द्रिय समूहको केन्द्र हो । इन्द्रिय समूह शरीरका चैतन्य नाडीसँग
सञ्जाल बनाएर बसेका छन् । चैतन्य नाडी कोषहरूसँग सञ्जाल
बनाएर बसेका छन् । कोषहरू अणुहरूसँग सञ्जाल बनाएर बसेका
छन् । अणुहरू परमाणुहरूसँग सञ्जाल बनाएर बसेका छन् । परमाणुहरू
सूक्ष्माणुहरूसँग सञ्जाल बनाएर बसेका छन् । सूक्ष्माणुहरू विराट
चेतनासँग सञ्जाल बनाएर बसेका छन् । विराट चेतना अनादि सत्तासँग
सञ्जाल बनाएर बसेको छ । त्यसैले मन विचलित भयो भने या अस्थिर
चञ्चल भयो भने त्यसको नकारात्मक प्रभावका कारण सर्वाङ्गीण र
सार्वभौम विकास–विस्तार रोकिन्छ । मानिसभित्रका सम्पूर्ण सम्भावना
नष्ट हुन्छन् । यसैले स्वच्छन्द दौडिएको चञ्चल मन या दमनले
डामिएको रोगी मनबाट मुक्त अमनको स्थिति पैदा हुनु पर्दछ । जसले
मानिसको सम्पूर्ण सम्भावनालाई उपलब्ध गर्न सकिन्छ ।
हाम्रो शरीर मनभन्दा धेरै प्राचीन हो । शरीरसँग करोडौं वर्षको स्मृति,
होस र अनुभव छ । जसलाई हामी बडी विज्डम या बायोलोजिकल
विज्डम पनि भन्न सक्दछौं । यदि हामीले शरीरको सनातन प्राकृतिक
कार्यमा हस्तक्षेप नगर्ने हो भने यसले आफ्नो शरीर संरचनाभित्र आउने
विघटनलाई या संकटावस्थालाई सजिलै समाधान गर्न सक्दछ । आफ्नो
स्वास्थ्यको रक्षा स्वयं गर्न सक्ने अद्भूत क्षमता छ शरीरसँग । शरीर
वातावरणीय असन्तुलन, अवसरवादी किटाणुहरूको आक्रमण र अन्य
कारणले भन्दा हाम्रो अज्ञानतापूर्ण हस्तक्षेपले छिटो जीर्ण र रोगी हुन्छ ।
शरीर पापको घर होइन । यसलाई गाली गर्नु, दमन या यातना दिनु
अज्ञानता हो, मूर्खता हो । यो त तिमी जस्तो छौ त्यस्तै बन्दछ । तिमी
काम–वासनामा छौ त यसले काम–वासनामा साथ दिन्छ । साधनामा
छौ त साधनामा साथ दिन्छ । शरीर स्वयं ज्ञानवान भएर पनि हस्तक्षेप
गर्दैन । यो त शरीर धारणा गर्नेको निर्देशनमा चल्दछ । त्यसैले परिवर्तन
शरीरमा भन्दा पहिले स्वयम्मा हुनु पर्दछ । स्वयम्ममा हुने परिवर्तनले
शरीरसहित चेतनालाई शुद्धीकरण गर्छ ।
११४- धर्म र विज्ञान एकसाथ चल्न सक्दछन् ?
चल्न सक्दछन् होइन चल्नु पर्दछ । धर्मले विराट चेतनामा रहेको शक्ति
या ऊर्जालाई खोज्दछ । विज्ञानले पदार्थमा रहेको शक्ति या ऊर्जालाई
खोज्दछ । विज्ञानले सुविधा दिन्छ, धर्मले शान्ति र आनन्द दिन्छ । धर्म
र विज्ञान एक अर्काका परिपूरक हुन् अलग होइनन् । जुन युगमा केवल
विज्ञानको विकास हुन्छ त्यहाँ सुविधा बढ्छ तर शान्ति र आनन्द बढ्दैन,
बरु घट्दै जान्छ । जुन युगमा केवल धर्मको विकास हुन्छ त्यहाँ शान्ति र
आनन्द त बढ्छ तर त्यहाँका मानिस असुविधाले ग्रस्त हुन्छन् ।
धर्म र विज्ञान होसपूर्वक साथ–साथ चले भने संसार सुन्दर, शान्त,
विशाल हुन्छ । धर्म केन्द्र र विज्ञान परिधि हुनु पर्दछ । धर्म र विज्ञानको
सत्पथमा धर्म अघि र विज्ञान त्यसको पछि साथ–साथ चल्नु पर्दछ । धर्म
र विज्ञानको सम्यक मेलबाट संसार वैभवशाली बन्दछ । धर्मविनाको
विज्ञान मानव सभ्यता मात्र होइन सम्पूर्ण जगत, जीव र जीवनको
विनाशको कारण बन्दछ । यहाँ धर्म भनेको विविध नामधारी धर्म
होइन, आध्यात्मिक जीवन पद्धति हो । धर्म भनेको रिलिजन होइन,
रियलाइजेसन हो । धर्म सम्प्रदाय र भेदको परिभाषा होइन रूप–अरूप र
स्वरूपभित्रको अनादि सत्ता हो ।
शिक्षा, विज्ञान, राजनीति, सम्प्रदाय (संगठनात्मक धर्म आदि असफल
छन् पृथ्वीमा शान्ति ल्याउन किनकि धर्मको मर्म र कर्म मरेको छ । धर्म
आनन्दको जीवन जिउने कला भएन, बरु भेद, हत्या, आतङ्क आदिको
पर्यायवाची बन्दै गयो । धर्मले आध्यात्मिक जीवन कला सिकाउनुभन्दा
भेदको पर्खाल लगाएर हिंसाको नाच नाच्न सिकायो । यतिबेलै मानिसले
अक्षम्य गल्ती गर्यो । जंगली युगमा भन्दा अहिले हामी विकसित, सभ्य,
शिक्षित आदि परिभाषामा उन्नत जस्ता देखिएका छौं तर त्यसबेला भन्दा
अहिले बर्बर र हिंस्रक हुँदै गइरहेका छौं । आफ्नै जातिका दुश्मन बनेर
उभिएका छौं । काम, क्रोध, लोभ, मोह, ईष्र्या, द्वेष, अहंकार आदि हाम्रो
सभ्यता र संस्कृति बन्दै गइरहेको छ जसले हिंसाको विश्व संस्कृति
निर्माण गरिरहेको छ । जो विश्व विनाशको सूत्रपात हो ।
११५- अनादि सत्तालाई कसरी बुझ्ने ?
अनादि सत्तालाई बुझ्न विद्या र राजविद्याको ज्ञान हुनु पर्दछ । विद्याको
अर्थ भाषामा बाँधिएको ज्ञान होइन । भाषामा बाँधिएको ज्ञानलाई लोक
प्रचलनमा शिक्षा भनिन्छ । विद्या सत्पथ हो जसले सत्यको नजिक
पुर्याउँछ । सत्पथमा सिद्धिमा रमाएर त्यसैलाई पूर्णता मानेर बसेको
साधकलाई लोक भाषामा सिद्धबाबा भनिन्छ । अविद्या र विद्या दुवैबाट
मुक्त भएर अघि बढेपछि राजविद्या उपलब्ध हुन्छ । यही उपलब्ध राज
विद्या नै सत्य हो । अनादि सत्ता हो । अक्षर–अविनाशी हो ।
अनादि सत्ताले सूर्यलाई ताप र प्रकाश दिन्छ । सूर्यले हामीलाई ताप
र प्रकाश दिन्छ । अनादि सत्ताले हावालाई प्राण तत्व दिन्छ, हावाले
हामीलाई प्राण तत्व दिन्छ । अनादि सत्ताले पृथ्वीलाई पोषक तत्व दिन्छ,
पृथ्वीले वनस्पतिका माध्यमबाट हामीलाई पोषक तत्व दिन्छ । अनादि
सत्ताले जललाई निर्मलता दिन्छ जलले हामीलाई निर्मल बनाउँछ ।
यसरी अनादि सत्ताले हाम्रो संरक्षण गरिरहेको छ ।
प्रार्थना, समत्व र निष्काम सेवाद्वारा यात्रा आरम्भ गरेर अनादि सत्ता
उपलब्ध गर्न सकिन्छ । श्रद्धाका साथ जसलाई प्रार्थना, समत्व र
निष्काम सेवा गरिन्छ सो उपलब्ध हुन्छ । अनादि सत्ताले त्रिगुणात्मक
प्रकृतिको रचना गरेको छ र त्रिगुणात्मक प्रकृतिले ब्रहृमाण्ड र ब्रहृमाण्ड
निवासीहरू रचेको छ । त्यसैले मानिसले पनि त्रिगुणात्मक प्रकृतिको
चक्रबाट मुक्त भएर मात्र अनादि सत्तालाई उपलब्ध गर्न सक्दछ । सबैमा
अनादि सत्ता छ र अनादि सत्तामा सबै छन् ।
११६- अनादि सत्ताको विश्वरूप के हो ?
अनादि सत्ता सम्पूर्ण सृजनाभित्र बीजरूपमा रहेको छ । बाè नेत्र अर्थात्
बौद्धिक दृष्टिद्वारा यसलाई देख्न सकिन्न यसर्थ दिव्यदृष्टि जरुरी हुन्छ ।
दिव्यदृष्टि साक्षी साधनाद्वारा बोध प्राप्त गरेपछि प्रकट हुन्छ । जसले यो
बोध प्राप्त गर्दछ उसले सबैभित्र बीज रूपमा रहेको अनादि सत्तालाई
देख्दछ । यही परम ऐश्वर्ययुक्त दिव्य स्वरूप नै विश्वरूप हो । जसले
यो विश्वरूप देख्न सक्दछ उसले जीव, वनस्पति, तत्व–तत्वांश सबैलाई
पूजा गर्दछ । मठ–मन्दिरमा सीमित हुन्न ।
सम्पूर्ण जगत र जीवन नै उसका लागि महामन्दिर हुन्छ । अनेक रूप–रंग
र प्रकारादिमा विभक्त सम्पूर्ण जगत अनादि सत्ताको दिव्य शरीरभित्र
देखिन्छ । अनादि सत्ताको दिव्य शरीरभित्र स्वयं आफू आफ्ना परिजन,
जीव–जन्तु, चरा–चुरुङ्गी, वनस्पति र आफूले मानेको धर्म शिखर
देवता आदि विश्व बन्धुत्वको भावनाका साथ रहेको दिव्य दृष्टिबाट
देखेपछि के तिमी कसैलाई दु:ख दिन सकौला या हिंसा गर्न सकौला ?
अनादि सत्ताको अनन्त रूपवाला आदि, मध्य र अन्तरहित सर्वव्यापक
रूप नै विश्वरूप हो ।
ध्यानद्वारा साक्षीभाव उपलब्ध गरेपछि शाश्वत, सनातन, अव्यक्त,
अविनाशी, सत्वरूप अनादि सत्तालाई देख्न सकिन्छ । विश्वमा सर्वत्र
व्याप्त, कुनै प्रतिमा नभएको अप्रतिम सत्ता नै अनादि सत्ता हो ।
११७- सबैभन्दा राम्रो लोक साधना के हो ?
स्वयं आनन्दमा जिउनु र आफ्नो वरिपरिका सबैलाई आनन्दमा जिउन
दिनु या जिउन सहयोग गर्नु सबैभन्दा राम्रो लोक साधना हो । म भिन्न हुँ,
विशिष्ट हुँ भन्ने सोच अहंकार हो । त्यसैले अहंकार लड्नमा रमाउँछ ।
सबैभित्र म छु र मभित्र सबै छन् भन्ने विराट भावनाले अहंकार विदा
हुन्छ । अहंकार विदा भएपछि अपार आनन्द अनुभूति हुन्छ ।
श्रम, सीप, समय, सदाचार र साधनाको पाञ्चायन पूजाबाट हरेक
मानिसमा दिव्यता प्रकट हुन्छ । श्रमलाई पूजा, सीपलाई विद्या मानेर श्रम
र सीपको मिलन गराउने । समयको अमूल्य विराटतालाई बुझेर अघि
बढ्ने र सदाचारको जीवन जिउने । हरेक सत्कर्मलाई साधना बनाउने ।
यही त लोक साधना हो ।
मानिस, जीव–जन्तु, चरा–चुरुङ्गी, वनस्पति तत्व–तत्वांशको
विराट अन्तरसम्बन्धलाई चैतन्यबोधद्वारा जान्ने र सबैको सर्वमंगल
एवम् सर्वोदय हुने कार्य गर्ने मानिसले मात्र अनादि सत्तालाई साक्षात्कार
गर्न सक्दछ ।
११८- घरलाई देवालय बनाउन प्रथम कार्य के गर्नु पर्दछ ?
घरलाई देवालय बनाउन प्रथम काम सासु–बुहारीबीच आमा–छोरीको
जस्तै सुमधुर सम्बन्ध हुनु पर्दछ । म बुहारी हुँदा कति दु:ख पाएकी थिएँ
भन्ने सम्झेर विक्षिप्त भई बुहारीलाई दु:ख दिन रुचाउने सासुहरूले
घरलाई नर्क बनाएका छन् । बुहारीलाई कसरी सुख हुन्छ, उसले के
चाहन्छे भनेर सोच्ने सासुहरूको जीवन आनन्दले भरिएको हुन्छ ।
जन्मघर छाडेर कर्मघरमा आएका बुहारीहरूलाई सत्कर्मद्वारा आनन्दित
जीवन जिउने कला सिकाउनु पर्दछ । ज्वाइँ घर आउँदा कति ध्यान
दिन्छौ, खाने, सुत्ने सबै कुरामा । ज्वाइँ तिम्रो रगतको नाता भएको
आफ्नो सन्तान होइन । छोरीसँग विवाह गरेर आएको हो । बुहारीलाई
किन ध्यान दिन्नौ, खोट मात्रै खोज्दछौ । ऊ पनि त छोरासँग विवाह गरेर
आएकी हो, ज्वाइँ जस्तै ।
दाइजो प्राप्त गरेर सुखी हुन चाहने लोभी–पापीको कहिल्यै उद्धार हुँदैन ।
त्यो घर र त्यसमा बस्नेहरूको समूल नाश हुन्छ । बालविवाह, बहुविवाह,
अनमेल विवाह गर्नेहरूको घर झै–झगडाले कुरूप हुन्छ, जहाँ हिंसा,
अशान्ति र असत्यले जरा गाडेर बस्दछ ।
श्रीमान्ले श्रीमतीलाई या श्रीमतीले श्रीमान्लाई दबाउने या शासन गर्ने
सोच । कमाईको असमानताले पैदा भएको अप्रेम । एक श्रीमती या एक
श्रीमान्बीचको पवित्र यौन जीवन छाड्नु र छाडा हुनु । एक आपसमा
खुलेर भन्न नसक्ने काममा लागिरहने । आमा–बाबा र छोरा–छोरीबीच
उत्सवमय सम्बन्ध नहुनु । यस्तो घरलाई त घर पनि भन्न सकिन्न भने
देवालय कसरी बन्दछ र । अत: घरलाई देवालय बनाउन घरमा राम्रो
अन्तर् सम्बन्ध हुनुपर्दछ ।
११९- छुत–अछुतको अधार्मिक शोषणबाट कसरी मुक्ति मिल्ला ?
ध्यानद्वारा । योगद्वारा । अन्य कुनै बाटो हुँदैन । छुत, अछुत, दलित,
जात–जाति विभिन्न नाममा खुलेका संघ–संस्थाले विभेदको मिठो
विष बाँडिरहेका छन् । विश्वभर शोषणको नयाँ परम्परा सुरु भएको
छ । शोषण परम्पराका जालभित्र फेरि मानिस जेलिँदैछ । जालमुक्त पूर्ण
मानव उपलब्ध गर्ने दिशामा वर्ग संघर्षका लागि खुलेका संस्था बाधक
छन् । ती संस्थाले अर्को ठूलो जाल र जेलमा कैद गर्दैछन् । मन्दिरमा
पस्न पाउनु, उचो भनिने जातको थर लेख्नु, उचो भनिने जातसँग विवाह
गर्नु, धर्म परिवर्तन गर्नु । यी सबै कार्य बेहोसीका उपज हुन् । उचो भनिने
जातिले निचो भनिने जातिसँग विवाह गर्यो भने उत्सव मनाउँछौं, राज्यले
पुरस्कार दिन्छ । यी सबै बेहोसीका खेल हुन्, नेताका जाल–झेल हुन् ।
चैतन्यबोधले विराट मानव बन्ने सम्भावनालाई विनाश गर्ने प्रयोजन हो ।
उठ ¤ मानव बन र मानवोचित कार्यमा लाग । शूद्रबाट ब्राहृमण बन्नुभन्दा
चैतन्य मानव बन्नु श्रेष्ठतम उपलब्धि हो । हिन्दूहरूले शोषण गरे भनेर
मुसलमान या ईसाई बनौला तर त्यहाँ पनि मानिस जेलिने छ र विराट
मानव बन्न सक्ने छैन । संबुद्ध मानव । जहाँ केवल मानव र मानवबाट
उठेर चैतन्य मानव र चैतन्य मानवबाट उठेर विराट मानव बन्ने स्वतन्त्रता
छैन । त्यस्तो मात लागेको जमातमा कसले अनादि अस्तित्व परमात्मा
उपलब्ध गर्न सक्छ ? जातीय विभेद पैदा गरेका संस्थाहरूबाट मुक्त
भएर मात्र त्यस्तो शोषणबाट मुक्त हुन सकिन्छ ।
१२०- कस्ता मानिसलाई आदर्श बनाउनु पर्दछ ?
ती करोडौं मानिसतर्फ नहेर जसले प्रकाशका बीचमा अन्धकारलाई रोजेका
छन् र त्यसैलाई समातेर त्यसैलाई गाली गरिरहेका छन् । ती इतिहासका
थोरै मानिसलाई हेर जसले घोर अन्धकारबीच पनि अन्धकारलाई गाली
नगरी प्रकाशलाई रोजेका छन् । सानो प्रकाशको झिल्को पाउँदा पनि
आनन्द र अहोभावमा नाच्दै दिव्य प्रकाशको भूमितर्फ बढिरहेका छन् ।
राम्रो दिन देख्न चाहन्छौं भने, धैर्यका साथ नराम्रो दिनलाई पनि साक्षी
बनेर स्वीकार गर । आत्तिएर अस्वीकृतिमा हात नउठाऊ । सुख–दु:ख
आउँछ जान्छ, आनन्द मात्र स्थिर छ । अन्धकार र प्रकाशको नृत्यमा
जगत, जीव र जीवनको सौन्दर्य खुलेको छ । साधनाद्वारा आत्मदीप
जलाउनेहरूले मात्र सनातन प्रकाश उपलब्ध गर्दछन् र अन्धकार सदाका
लागि विदा हुन्छ । मानिसको योग्यता एवं गौरव शिखरको यात्रामा
नचिप्लनुमा होइन । जतिपटक चिप्लिएर लड्दै–पड्दै तल खोंचमा खसे
पनि प्रत्येक पटक पहिलेभन्दा बढी उत्साह, ऊर्जा र संकल्पका साथ
पुन: उठ्नु र चढ्नुमा छ । निराशा स्वयंको सबैभन्दा ठूलो अपमान हो र
आशा स्वयंको सबैभन्दा ठूलो सम्मान ।
तिमीसँग वर्तमानमा जे छ, त्यसको पूर्ण उपयोग गरेर आनन्द उपलब्ध
गर । जे छैन त्यसको कल्पना र पीडामा नछट्पटाऊ, यही सुखी जीवनको
सूत्र हो । समयलाई पूजा गर्ने यिनै कुरा त आदर्श मानिसका लक्षण हुन् ।
१२१- भोजन र हाम्रो जीवनको के महत्व छ ?
देशद्रोहीभन्दा देहद्रोही घातक हुन्छ । देशद्रोही त एक दिन सत्मार्गमा
आउला देहद्रोही कहिल्यै आउँदैन । दुई इन्चको जिब्रोको निम्ति ६ फिटको
शरीरको हेक्का नराख्नुजस्तो मूर्खता के हुन सक्दछ । शरीरमात्र होइन
जिब्रोसँग मन, बुद्धि र चैतन्यबोध पनि जोडिएको हुन्छ । बाहिरी स्वादमा
स्वादलोलुप भएर जिब्रो पड्काउँदा शरीर, मन र चेतना सड्किएको
होस हुनुपर्दछ । तेरो–मेरो भनेर दुई–चार हात जमिनका लागि लडिरहने
मानिसलाई सारा जगतको कुनै वास्ता छैन । आफ्नो घर सफा–सुग्घर
र चिटिक्क राख्न जान्नेहरू, त्यहीँभित्र जम्मा भएको फोहोर झ्याल र
छतबाट अन्धाधुन्ध फ्याँक्छन् । यो जगत नबचे घर र त्यो घरमा बस्ने
मानिस कसरी बच्ला । होसको अभावमा मानिस थकित छ ।
शरीरको गुणधर्म विरुद्ध खान–पान, मनको गुणधर्मविरुद्ध सोच विचार
र अनादि सत्ताको गुणधर्मविरुद्ध साधना नै त रोग, शोक र पीडाको
मूल कारण हो । यी तीन कुरालाई ध्यान नदिएर चिकित्सकको हुल,
अस्पतालका कलोनीहरू, औषधी कारखानाका औद्योगिक क्षेत्र र
पैसाको बलमा स्वास्थ्य, सुन्दरता र आनन्द खरिद–बिक्री गर्ने सोच
सपनामा पनि पूरा हुँदैन ।
स्वस्थ रहनका लागि कम खाऊ, चैतन्यबोधका लागि कम बोल,
जीवनलाई आनन्दमय र उत्सवमय बनाउन कम खर्च गर । यो त्रिसूत्रलाई
बुझ्नु पर्दछ । सय काम छाडेर खाना खाऊ, हजार काम छाडेर व्यायाम
गर, लाख काम छाडेर सुत, करोड काम छाडेर आन्तरिक र बाè
शुद्धीकरण साथै आफ्नो रूपान्तरण गर, अरब काम छाडेर ध्यान र
साक्षीको अभ्यास गर, सबै काम छाडेर भए पनि अनादि सत्तालाई चिन ।
यही त स्वधर्म हो ।
भोक र भोजनको सम्बन्ध, भोजन र शरीरको सम्बन्ध, शरीर र मनको
सम्बन्ध, शरीर एवम् मन र चैतन्यको सम्बन्ध, चैतन्यबोध र अनादि
सत्ता (सत्य) को सम्बन्ध सनातन सम्बन्ध हो । अर्थात् भोजनको सम्बन्ध
अनादि सत्तासम्म छ । यस्तो भोजनलाई कसरी प्राकृतिक, पवित्र र परम
बनाउने हरेकले सोच्नु पर्दछ ।
भोजन र जिब्रोको सम्बन्ध क्षणिक भ्रम मात्र हो । भोजन र पोषण दैनिक
जीवन सञ्चालनका लागि मात्र होइन, भोजनको विराट लोकलाई चिन
र खानका लागि जिउने सोच बदल ।
१२२- संसारमा असफल व्यक्ति को हो ?
संसारको सबैभन्दा असफल व्यक्ति त्यो हो जसले आफ्नो उत्साह र
संकल्प गुमायो । संसारमा प्राप्त हुन सक्ने सम्पूर्ण कुरा एकैपटक गुम्यो भने
नडराऊ । यदि उत्साह र संकल्प गुमेको छैन भने त्यो परिस्थितिबाट तिमी
सजिलै उठ्नेछौ र गुमेभन्दा सयौं गुणा बढी प्राप्त गर्न सक्नेछौ । सफल हुन
चाहने व्यक्ति नम्र मात्र होइन विनम्र हुन सक्नु पर्दछ । विनम्रताले सजिएको
मानिसको अगाडि कडा ढुंगा पनि पग्लिएर बग्न थाल्दछ । विनम्रता र
सरलता मानिसको मुख्य गहना हो, जसमा सजिएर ऊ सुन्दर हुन्छ ।
असफलताबाट उठेको सफलता दिगो हुन्छ । सफलताबाट उठेको
सफलता असफलतातर्फ अगाडि बढ्छ । सफल बन्ने सपनामा रमाएको
मन निर्मल हुन सक्दैन । प्रतिस्पर्धा, महत्वाकांक्षा र अहंकारतर्फ बढ्दै
जान्छ र क्षणिक सफलता मलिन मनमा विलिन हुन्छ । यदि सफल
हुनुभन्दा असल हुन कोसिस गरियो भने मन र कार्य निर्मल हुन्छ । असल
कर्मको जगमा बनेको सफलताको महल ठूलो भूकम्पले पनि ढल्दैन ।
चाल्नोमा एकधारा पानी खन्याउँदा, हजारौं धारा भएर चुहिन्छ । त्यस्तै
मलिन मनमा एक विचार खन्याउँदा हजारौं मलिन धारा चुहिन्छन् र
चारैतर्फ मल भरिन्छ । सोलीमा जलधारीले हजारौं धारा पानी खन्याउँदा
पनि एक धारा भएर प्रवाहित हुन्छ । त्यस्तै निर्मल मनमा हजारौं विचार
खन्याउँदा एक निर्मल धारा भएर प्रवाहित हुन्छ जसको निरन्तर प्रवाहले
चैतन्य जाग्दछ ।
सफलताले सुविधा दिन्छ, असलताले आनन्द दिन्छ । जे बाहिरबाट
मिल्दछ, त्यसले सुविधा दिन्छ, आनन्द दिन सक्दैन । जे भित्रबाट मिल्दछ
त्यसले आनन्द दिन्छ, सुविधा दिन सक्दैन । भित्र र बाहिरबाट बगेका
धारालाई एक स्थानमा योग गर्न सके चेतना उत्क्रान्ति हुन्छ जो मानवको
सबैभन्दा ठूलो आवश्यकता हो । बेइमानीद्वारा एकपटक सफल हुनुभन्दा
इमान्दारिताका साथ लाखौंपटक असफल हुनु श्रेयस्कर हुन्छ ।
१२३- विश्व बन्धुत्वको समाज निर्माण गर्न के गर्नुपर्ला ?
योगका विविध साधनाहरू र त्यसमा पनि विशेष ध्यानको अभ्यासले
विश्वको विविधताबीचको एकतालाई चिनाउँछ । विविधताबीचको
एकतालाई चिनेपछि विश्व बन्धुत्वको समाज निर्माण हुन सक्दछ ।
नेपालको जीवन्त कला, संस्कृति र धर्मको धरोहर मित लगाउने लोक
चलन विश्व बन्धुत्वको समाज निर्माण गर्न महत्वपूर्ण छ । मित लगाऊ,
मित भेट्दा मान–सम्मान गर, मितका पछाडि प्रशंसा गर, आवश्यकता
पर्दा सहायता गर, सुधार्नु परे विनम्रतासाथ आफ्ना कुरा राख, मितको
परिवारलाई आफ्नै परिवार सम्झ । विश्व बन्धुत्वको समाज निर्माणको
यो बीजलाई चिन ।
१२४- मानिसको विकास कहिलेबाट सुरू हुन्छ ?
हरेक व्यक्तिको विकास त्यही दिनबाट सुरु हुन्छ जुन दिनबाट उसले
आफ्ना गल्तीहरू देख्न थाल्दछ । मानिस जब अरूसँग सोध्दछ, अक्सर
गलत उत्तर पाउँछ र पथभ्रष्ट हुन्छ । एकान्त, मौन र शान्त भएर स्वयं
आफूसँग सोधेर मात्र काम गर्ने मानिस सजिलै आफ्नो गन्तव्यसम्म
पुग्दछ ।
अशान्त अवस्थामा शारीरिक र मानसिक तहमा शिथिल बन अर्थात्
शिथिलीकरण एवम् योग निद्रामा जाऊ । शान्त अवस्थामा गतिशील
बन । कुनै पनि कार्य शान्त अवस्थामा गर । अशान्त अवस्थामा केही
नगर । अशान्तिलाई साक्षी बनेर हेर । कथा–व्यथा नबनाऊ तब विराट
विकास सुरु हुन्छ । शान्तिले चैतन्य बोधको ढोका खोल्दछý होसपूर्वक
हरेक पाइला अघि बढाउन सिकाउँछ ।
१२५- शान्ति के हो ?
शान्ति मानिसको प्रकृति, कृति र संस्कृति हो । यसलाई उपलब्ध गर्नु,
रक्षा गर्नु र विस्तार गर्नु सबैभन्दा ठूलो धर्म, कर्म र मर्म हो ।
१२६- आध्यात्मिक र भौतिक मानिसको के अन्तर छ ?
दु:खलाई भुल्न चाहनेहरू भौतिक हुन् र दु:खलाई होसपूर्वक
जानेर सदाका लागि मुक्त हुन चाहनेहरू आध्यात्मिक हुन् । यसैले
भौतिकवादीहरूले नशामा लठ्ठिएर या अन्य सहारामा दु:ख भुल्ने
प्रयास गर्दछन् र नशा उत्रिएपछि पुन: दु:खको सागरमा खस्दछन् ।
आध्यात्मिकहरूले होसपूर्वक योग साधनाद्वारा दु:खबाट मुक्त हुने चेष्टा
गर्दछन् र चैतन्यबोध गरी सदाका लागि दु:खबाट जाग्दछन् । जागेर मुक्त
हुन्छन् । मुक्त भएपछि विराट आनन्द उपलब्ध हुन्छ ।
जब तिमी निष्पाप हाँस्दछौ, तिमीले परमात्मालाई पूजा गरिरहेका हुन्छौ ।
कुनै रोइरहेकालाई हँसाउँछौ त परमात्माले तिमीलाई पूजा गरिरहेको
हुन्छ । यही त दु:खबाट सुख र सुखबाट आनन्दमा पुग्ने सिँढी हो ।
जब हामी प्रत्येक दिनलाई एक आयुका रूपमा पूर्ण जीवन जिउन सक्दछौं
तब जन्म–मृत्यु–पुनर्जन्म र जीवनका हरेक रहस्यहरूलाई स्वयं देख्न
सक्दछौं । यही त आध्यात्मिक जीवनको मूल सूत्र हो । भौतिक मानिसले
सात पुस्ताको चिन्ता गर्छ र तबसम्मका लागि धनदौलत जम्मा गर्न चाहन्छ ।
यसक्रममा ऊ एक मिनेट पनि चिन्तारहित जीवन जिउन सक्दैन ।
आध्यात्मिक अर्थात् सज्जन सदाचारी मानिस सबैलाई आनन्द बाँडेर,
हँसाएर जीवन जिउँछ । भौतिक अर्थात् दुर्जन भ्रष्टाचारी मानिस सबैको
आनन्द खोसेर रुवाएर जीवन जिउँछ । यस दुनियाबाट आध्यात्मिक
मानिस विदा हुँदा सबै रुन्छन् । भौतिक मानिस विदा हुँदा कसैलाई
चासो हुँदैन ।
१२७- सेवाको मूल स्वरूप के हो ?
तिमीले अरूलाई के के सेवा गरें भन्ने बिर्स । केवल निष्काम भावले
सेवा गर । अरूले मलाई सेवा वा सहयोग गरेनन् भन्ने पनि बिर्स । सेवा
मानिसको प्राकृतिक जीवनशैली हो । यसलाई व्यापार जस्तो नाफा–
घाटामा हिसाब राखेर नहेर ।
केबल पैसा मात्र नकमाऊ । पैसाका साथ पुण्य पनि कमाऊ । यस्तो
सत्कर्म गर शरीरको मृत्युपछि पनि तिमी बाँचिराख । शरीरको मृत्युपछि
पनि सत्यलोक र समाजमा बाँचिरहनु त मोक्ष हो । सत्कर्म गर्ने मानिस
मरेपछि पनि समाजमा अमर रहन्छ ।
तिमीले गरेका सुकर्मको फल तिमीलाई मात्र मिल्यो भनेर खुशी नबन ।
सम्पूर्ण जीव जगतलाई साझा रूपमा मिल्यो भने नाच्दै आनन्द उत्सव
मनाऊ । तिम्रो सेवा र साधना विराट भयो ।
अल्पदान अर्थात् थोरै दिनु पनि महादान नै हो । यदि त्यो दानभित्र प्रेम,
करुणा, सेवा, एकात्मबोध, निष्काम कर्मयोग आदिले परिपुष्ट छ भने ।
धेरै दिएर मात्र हुँदैन, थोरै पनि सही पात्र र स्थानमा दिन सकियो भने
त्यो महादान हुन्छ । सानो अत्यन्तै सानो बीज पनि सम्भावनाले भरिएको
छ भने विशाल बटवृक्ष बन्दछ । त्यसले फूल, फल, प्राणवायु, प्राणरक्षक
औषधी, छहारी आदि दिएर मानिसमात्र होइन चरा–चुरुङ्गी, जीव–
जन्तुलाई पनि गास–बास दिन्छ । साथै जीव र धर्तीको आयु लम्ब्याउँछ ।
यही त सेवाको मूल स्वरूप हो ।
१२८- घर कसरी विद्यापीठ बन्दछ ?
पुस्तक नभएको घर टाउको नभएको मानिस जस्तै विद्रुप हुन्छ । आमा
नभएको घर ह्दय नभएको मानिस जस्तै हिंस्रक हुन्छ । जुन घरमा
आमा र घरेलु पुस्तकालय छ, त्यो घर केवल घर होइन विद्यापीठ हो ।
सत्मार्गतर्फ बढाउने पुस्तक सबैभन्दा ठूलो अमृत कलश हो । असत्
मार्गमा बढाउने पुस्तक विष घडा । असत् मार्गमा बढाउने पुस्तक लेख्ने
लेखकहरूले जीवित हुँदा त मानवताको हत्या गरे गरे, मरेपछि आउने
पिढीको पनि गर्भमै हत्या गरिरहेका हुन्छन् । यीभन्दा ठूला शत्रु कोही
हुँदैनन् ।
श्रीमती बन्नु बडो सरल छ तर आमा बन्न धेरै ठूलो तपस्या चाहिन्छ ।
बच्चा जन्माउँदैमा कोही आमा हुँदैन । यसैले त आमाको महिमा गाएर
आजसम्मको सभ्यता थाकेको छैन । आमाको काख सम्पूर्ण नदीहरूको
महासंगम हो । योभन्दा पवित्र अर्को तीर्थ छैन । यो नै मन्दिर, मस्जिद,
गिर्जाघर, काशी, कावा र जेरुसेलम हो । यहाँ बसेर सत्यको साक्षात्कार
हुन सक्दछ ।
१२९- हेर्नु पनि एक कला हो र ?
हेर्नु पनि एक कला हो । कला मात्र होइन, संस्कृति र विज्ञान पनि
हो । वेद मन्त्रद्रष्टा ऋषिहरूले देखेका हुन्, लेखेका होइनन् । सनातन
सत्यलाई देख्न सक्ने सन्त ऋषि थिए ।
सम्भवत: तिमीले कुनै रुख देखेका छैनौ । यसो भन्दा तिम्रो अहंकारलाई
ठेस लाग्न सक्छ । तिमीले जब एउटा रुख देख्न थाल्दछौं तब सम्पूर्ण
वनस्पति र त्यसमा पनि तिमीले देखेको रुख बारे आर्जित ज्ञान बीचमा
आउँछ । यो ज्ञानले रुखको सत्यसम्म पुग्न या रुखको यथार्थ देख्न
दिँदैन । बरु बाधक बन्दछ । एक थोपा पानीलाई जस्तो छ त्यस्तै हेर्न
सकियो भने नदी र समुद्र मात्र होइन हिमाल र समस्त जलस्रोतका
बारेमा जान्न सकिन्छ । त्यस्तै एउटा रुखलाई चिन्नु–जान्नु भनेको विराट
वनस्पति जगत र त्यसभित्र रहेको अनादि सत्तालाई जान्नु हो, देख्नु हो ।
मानिस रारा तालमा हुँदा फेवातालको गफ गर्नमा व्यस्त हुन्छ र रारा तालै
देख्दैन । फेवा तालमा हुँदा बेगनास तालको कुरा गर्दछ र फेवा तालै
देख्दैन । यही बेहोसीमा त मानिसको जीवन यात्रा चलिरहेको छ ।
तिमी त्यस दिन सम्पूर्ण मानव बन्दछौ जुन दिनदेखि जीव र जगतको
सर्वोदय र सर्वमंगलका लागि आफ्नो सम्पूर्ण श्रम, सीप र समय समर्पण
गर्दछौ र निष्कम्प आफ्नो संकल्पमा अघि बढ्छौ ।
कसैले खुट्टा तान्न थाले पनि, कसैले काँधमा बोक्न थाले पनि म
आत्तिने र मात्तिने गर्दिन । साक्षी बनेर निष्काम कर्म योगमा बढिरहन्छु ।
शरीरमा मृत्यु उपलब्ध नहुँदासम्म चैतन्यबोधले देखेको सत्पथमा हिँडेर
सत्कार्य गर्दछु । नतिजा राम्रो आयो भने सबै आलोचकहरूलाई जवाफ
त्यही हुनेछ । नतिजा नराम्रो आयो भने मैले जति सफाइ दिए पनि केही
अर्थ छैन । सत्मार्गमा अघि बढेको मानिसलाई दु:ख दिन सकिन्छ तर
थकाउन, हराउन र फर्काउन सकिन्न । पूर्ण मानिस निर्माणका लागि
परमात्मा, समाज एवं परिवारको योगदान र ऊ स्वयम्को निष्कम्प
साधना चाहिन्छ ।
मैले सरल र सुस्तरी तिमीलाई बताइरहेको छु । तिमी आज हिँडेको
बाटो सत्पथतर्फ जाँदैन । यसोभन्दा तिमीलाई चोट पुग्दछ र मलाई
खोट लगाउँछौ । त्यसैले यति मात्र भन्दछु, अरू बाटाहरू पनि छन् । ती
बाटाहरू पनि हिँड्न सकिन्छ । जीवनको सत्यसम्म पुग्न सकिन्छ । तिमी
हिँडेको बाटोमा सम्पूर्ण प्राप्तिको भ्रममा सम्पूर्ण लुटिई निरीह हुने बाहेक
केही देखिन्न । यस्तो यात्रा आरम्भमा थाहा हुने छैन र थाहा पाएपछि
फर्किन अत्यन्त कठिन हुनेछ ।
म स्वर्गको सन्देश दिन र मृत्युपछि स्वर्ग प्राप्त हुने प्रवचन सुनाउन
आएको होइन । मेरो चाहना यही विश्वलाई कसरी स्वर्ग बनाउन सकिन्छ
भन्ने कला, संस्कृति र विज्ञानको चर्चा गर्नु हो ।
१३०- आनन्दित जीवनका बाधाहरू के हुन् ?
कामवासना, यश, धनप्रतिको आसक्ति आनन्दित जीवनका बाधा हुन् ।
यिनका साथ आनन्द उपलब्ध हुने भ्रम सबैमा छ । यो भ्रमबाट मानिस
ढिलोचाँडो मुक्त हुनेछ । सत्यम्, शिवम्, सुन्दरम् आनन्दित जीवनका बाटा
हुन् । यिनका साथ विराट आनन्द उपलब्ध हुन सक्दछ । पहिलो तीन प्राप्त
र संग्रह गर्ने सोच मात्र पनि बहिर्मुखी र अधोमुखी यात्रापथ हुन् । दोस्रो तीन
प्राप्त गर्ने सोच मात्र पनि अन्तर्मुखी र उध्र्वमुखी यात्रापथ हुन् ।
सुख र दु:ख दुवैबाट अप्रभावित भई माथि उठेपछि आनन्द उपलब्ध हुन्छ ।
सम्पत्ति मालिक बनेर काँधमा चढेको छ । त्यसैले सम्पत्ति अमर भयो,
बोक्ने भरिया भारीमा थिचिएर मरिरहेछ । मान–सम्मानको लोभ, आनन्दित
र आध्यात्मिक जीवनको अन्तिम र मुख्य कमजोरी हो । सन्यासमा आनन्द
छ तर मैले चर्चा गर्न खोजेको आजको जस्तो लोक सन्यास होइन, म
सन्यासी मनको कुरा गरिरहेको छु । सबै छाड्नु पर्दछ भनेर सन्यासबाट
डराउनु पर्दैन । सन्यासमा त केवल सुख–दु:खलाई छाड्ने हो ।
मसँग धन धेरै छ, मसँग ज्ञान धेरै छ, मसँग त्याग धेरै छ, मसँग चेला धेरै
छन्, मसँग पद–प्रतिष्ठा ठूलो छ । म–म–म यो भोगमा होस् कि योगमा,
त्यागमा होस् कि लोभमा सबै अहंकार हुन् । यसले आनन्दको विराट
लोक अनादि सत्ताबाट धेरै टाढा हुत्याइदिन्छ । स्वयम्लाई पनि क्षत–
विक्षत बनाइदिन्छ । सिर्फ अहंकारको आवरणमा क्षत–विक्षत भएको
थाहा हुँदैन । अहंकारी मानिस कहिल्यै आनन्दित हुन सक्दैन ।
१३१- हात मिलाउनु या अंगालो मार्नु कुन ठिक हो ?
कसैसँग भेट्दा हात नमिलाऊ । दुवै हात जोडेर झुक । यो स्वास्थ्य,
सुन्दरता र विनम्र साक्षात्कारको दृष्टिले महत्वपूर्ण छ । हात मिलाउँदा या
अंगालो मार्दा विभिन्न सरुवा रोगहरू एक अर्कामा सर्न पनि सक्दछन् ।
हात मिलाउने र अंगालो मार्ने कार्य औपचारिक बढी हुन्छ भने नमस्कार
गर्दा आदर र प्रेम हुन्छ ।
१३२- चिन्ता–तनावले साधनामा पनि प्रभाव पार्दछ ?
अवश्य पार्दछ । चिन्ता–तनावले केवल शरीर एवं मन कमजोर, शिथिल
र रोगी हुने होइन, जीवनी शक्तिलाई नै ह्रास गरिदिन्छ । एक घण्टा
चिन्ता–तनावमा रहँदा जति बाè र आन्तरिक ऊर्जा खर्च हुन्छ त्यति
ऊर्जाले एक दिन कडा श्रम र एक हप्ता योग साधना गर्न पुग्दछ । मनको
विद्रोहले सनातन दिव्य ऊर्जालाई आफूतिर आकर्षित गर्ने, भण्डार गर्ने र
उपयोग गर्ने प्राकृतिक क्षमतालाई नष्ट गरिदिन्छ ।
चेतना र पदार्थको योग, आत्मा र परमात्माको योग, शरीर र मनको योग,
धन र ध्यानको योग, संसार र सन्यासको योग नै त स्वधर्म हो । जो
योगीहरूका लागि पनि दुर्लभ छ । चिन्ता–तनावले साधनामा प्रवेश गर्नै
दिन्न भने स्वधर्ममा मानिस कसरी स्थिर हुन सक्दछ र ?
मैत्री, करुणा र आनन्दको त्रिरत्न माला पहिरिएर बस, यही मानव
जीवनको अमूल्य आभूषण हो । यसमा सजिँदा को राम्रो देखिन्न र ?
तर यसका लागि चिन्ता–तनावमुक्त यात्रा चाहिन्छ । जब तिमी चिन्ता–
तनावका कारण कुनै काम गर्नमा इच्छुक हुन्नौ तब संसारका सबै थकान
तिम्रा साथ लाग्दछन् । जब कुनै कामलाई परमात्माको पूजा सम्झेर
उत्सवमय मनका साथ गर्दछौ तब संसारको सम्पूर्ण शक्ति तिम्रा साथ
लाग्दछन् । यति मात्र होइन । स्वयं परमात्मा पनि तिम्रो सहयोगमा
जुटिरहेको पाउनेछौ ।
चिन्ता–तनाव, डर या भयले मानिस तत्काल रोगी, बूढो र अल्पायु हुन्छ ।
१३३- कसरी निर्मल हुन सकिन्छ ?
तिम्रो घर–आँगनमा कसैले फोहोर फ्याँक्यो भने तिमी ऊसँग लड्न
जान्छौ । गाली गर्छौ । तिम्रो मन–मस्तिष्कमा फोहोर फ्याँक्यो भने
तिमी लड्दैनौ बरु नजिक नजिक जान्छौ । कसैले घर–आँगनमा फोहोर
फ्याँक्यो भने यहाँसम्म कि तिमीले कानुनी उपचार पनि खोज्दछौ । तर
जीवनमा कुनै महत्व नराख्ने कुरा कसैले भन्यो भने उत्सुकता हुन्छ ।
दिक्क लाग्दैन । मन–मस्तिष्कमा फोहोर फ्याँक्यो भने मित्र सम्झेर
विशेष भोजको निम्तो दिन्छौ । यो सिर्फ यस कारण भएको हो कि
हामीलाई थाहा छैन मन–मस्तिष्कमा पनि फोहोर फ्याँक्न सकिन्छ ।
यस्तो भइरहेको छ ।
जुन बोटमा फल हुँदैन, त्यस बोटलाई कसैले ढुंगा हान्दैन । जुन मानिसमा
विशालता र दिव्यता छैन त्यसलाई कसैले आलोचना गर्दैन । आलोचना
योगीहरूका लागि निर्मल बन्ने प्राकृतिक मार्ग हो । सदाचारको कसी
हो । जस्तोसुकै आलोचना र दु:ख आए पनि सत्य प्राप्तिको सत्पथबाट
विचलित नभई अघि बढिरहनु र आलोचकहरूको पनि सर्वमंगलका
लागि प्रार्थना गरिरहनु निर्मलता प्राप्त गर्ने राजमार्ग हो ।
हामीलाई जे चाहिन्छ त्यो प्रकृतिको मूल अनादि सत्तामा छ । हामी
प्रकृतिका कृति हौं, परमात्माका संस्कृति हौं र अनादि सत्ताको विज्ञान हौं ।
दिव्य जीवनको कला, संस्कृति र विज्ञान प्रकृतिको सहज–जीवनबाट
सुरु हुन्छ । हामी प्रकृतिको मूलमा निर्मल थियौं, क्रमश: प्रकृतिबाट
टाढिदै जाँदा मलले भरिएर मलीन भयौं । यदि बच्चालाई प्रकृतिको
सानिध्यमा हुर्किन दिने हो भने उसलाई सङ्गीतको यन्त्रसँग प्रशिक्षण
दिन जरुरी हुँदैन, ऊ स्वयम् सङ्गीतयन्त्र भएको थाहा पाउँछ । उसका
हरेक कोषबाट सनातन राग पैदा हुन्छ । यही राग या सङ्गीतलाई अनुभूति
गरेर ऋषिहरूले सङ्गीत–गीत अर्थात् शास्त्रीय सङ्गीत, राग एवम् मन्त्र,
बीजमन्त्र आदि निर्माण गरेका हुन् । त्यसैले त यी ध्वनिहरू हामीलाई प्रिय
छन् । निर्मल मनले मात्र हामीभित्रको शून्यता, अनहद ध्वनि, स्वाद, गन्ध,
दृश्य, स्पर्श र समग्रमा भन्दा सत्य उपलब्ध गर्न सकिन्छ ।
१३४- साधनाका लागि शुभ–मुहूर्त जरूरी छ ?
सत्य उपलब्ध गर्ने तीव्र प्यास नै शुभ मुहूर्त हो । अनादि सत्ता प्राप्तिको
प्यास नै शुभ–मुहूर्त हो । बाँकी तिथि सबै अतिथि हुन् । सर्व मंगल, सर्व
कल्याण र सर्वोदयको पवित्र प्रार्थनाबाट सुरु हुने साधनाले आनन्द र
उत्सवमय जीवन दिन्छ । सत्कर्मका लागि कुनै पनि क्षण शुभ–मुहूर्त हो ।
जुन कुराको तिमी सतत् स्मरण गरिरहन्छौ यदि त्यो ह्दयको मूलबाट
बाहिर निस्कियो भने विराट लोक हुँदै अनादि सत्तातर्फ बढ्दै जानेछ ।
जसले तिम्रो चारैतर्फ त्यही घटनाहरू घट्नेछन् ।
शुभ–मुहूर्त र अशुभ–मुहूर्तको चक्करमा घुमेर सत्कर्मबाट नभाग । जाग,
सत्कर्म या पुण्य कर्मका लागि हरेक मुहूर्त शुभ छन् । अँध्यारोलाई गाली
गर्नमा समय खेर नफाल । बत्ती बाल । अँध्यारो तिमीभित्रको प्रकाशको
विस्तारका लागि आएको हो । अँध्यारो जति गहिरो र गहन हुन्छ, प्रकाश
त्यति नै छिटो प्रकट हुन्छ । अन्धकारले त प्रकाश बोकेर आएको हुन्छ
भने सत्कर्म त स्वयं प्रकाश हो । साधना पुण्य कर्म हो जसले प्रकाशको
सत्तालाई नै आफूभित्र बोकेको हुन्छ ।
ध्यानदेखि साक्षीसम्मको साधनाद्वारा सत्यसम्म पुग्न सकिन्छ ।
आसतिmहरू पछाडि छुट्दै–छुट्दै सत्यको विराट लोक प्राप्त हुनु नै
वास्तविक मुक्ति हो ।
१३५- स्त्री र पुरूषको अन्तरसम्बन्ध के हो ?
पुरुष सधैं सम्मान चाहन्छ । स्त्री सधैं प्रेम चाहन्छे । एकले अर्काको चाहना
बुझ्दैनन् र मेलमिलाप हुँदैन । विवाह शिव ऊर्जा र शक्ति ऊर्जाको
मिलन हो, दिव्य आलिंगन हो । इडा र पिङ्गलाको दिव्य आलिंगनबाट
तन्त्र चैतन्यको सनातन सुषुम्ना प्रवाहित हुनुपर्ने । तर विवाह अहिले
झगडा गर्ने लाइसेन्स बनेको छ । अरूसँग झगडा गरे मुद्दा मामिला
चल्दछ तर विवाहको प्रमाण–पत्र लिएपछि “लोग्ने–स्वास्नीको झगडा
परालको आगो” बनेर सकिन्छ । शुभ–विवाहका भव्य कार्यक्रमहरूले
पनि विवाहलाई शुभ बनाउन सकेका छैनन् । चैतन्यबोधद्वारा स्त्री–
पुरुषको सनातन महामिलनलाई नबुझेसम्म, अधिकार, कानुनी हक
फजुलका कुरा हुन् र टाँठा–बाठाको चतुर व्यापार ।
स्त्रीहरू दूरदृष्टि युक्त र विवेकशील हुन्छन् । स्त्रीहरूमा प्रेम, शान्ति,
करुणाको सागर हुन्छ यदि उनीहरूमा शंका, ईष्र्या र अभिमानको डढेलो
लागेन भने । पुरुषको तुलनामा स्त्री शक्तिशाली हुन्छन् यदि उनीहरूमा
असुरक्षित छु भन्ने भय छैन भने । स्त्रीको करुणा अन्तरजगतको सर्वोत्तम
विकास हो । करुणाको बलमा स्त्रीले विश्व जित्न सक्छन् ।
स्त्री होस् या पुरुष हरेक मानिसका तीन रूप हुन्छन् : एक — अरूले
जस्तो देख्दछ । दुई — आफूले आफूलाई जस्तो देख्दछ । तीन —
वास्तवमा ऊ जस्तो छ । यही तीन रूपका लडाइँले स्त्री–पुरुषको
सनातन सम्बन्ध बिगारेको छ । यी तीन रूप एक ठाउँमा मिले भने
जीवनको सत्य उपलब्ध हुन्छ र जीवनयात्रा युद्धमुक्त हुन्छ ।
अहंलाई मान–सम्मान दिए पग्लन्छ । चेतनालाई सत्य दिए पग्लन्छ ।
यहाँ पग्लनुको अर्थ कठोरताबाट सरलतातर्फ बग्नु हो । यो कुरालाई
बुझेर स्त्री–पुरुषको अन्तरसम्बन्धलाई राम्रो बनाउने बोध हुनु पर्दछ ।
१३६- आध्यात्मिक साधनाका केही सरल सूत्र छन् कि ?
आध्यात्मिक साधना भनेकै सरलता हो, जहाँ सरलता छ त्यहाँबाट
सनातन धर्मको गंगा बग्दछ । जटिलताले त युद्ध, हिंसा र अहंकारको
प्यास बोकेका सम्प्रदाय जन्मन्छन् ।
ध्यानबाट साक्षीको यात्रा नै सरलतम आध्यात्मिक साधनाको सूत्र हो ।
चैतन्य बोधबाहेक केही बाँकी नरहनु, त्यही त श्रेष्ठ छ । एक्लोपन, केवल
एक्लोपन । केवलबाट कैवल्य । प्रकाशलाई होसपूर्वक जानेर स्वयम्
प्रकाश हुनु नै सर्वोत्कृष्ट कला हो । दोस्रो रहँदासम्म भोग बाँकी रहन्छ ।
द्वैत समाप्त भएर केवल एकत्व बाँकी रहेपछि परमात्माले फूल वर्षाउँछ ।
नबुझी मानिदिने बानी छाड, सत्यलाई देख र जान । जानेर मान, मानेर
जान्न गाह्रो छ, असम्भव नै छ । सबै मार्ग देख र आफ्नो क्षमता अनुसार
आफ्नो मार्ग रोज । पैदल हिँड्दा अनुभव धेरै हुन्छ तर यात्रामा समय
बढी लाग्दछ । रेलमा अनुभव कम हुन्छ तर यात्रा छिटो हुन्छ । प्लेनमा
अनुभव नै हुँदैन तर यात्रा अत्यन्त छिटो हुन्छ । साधनामा अनुभव र
अनुभूतिको ठूलो महत्व छ ।
साधनाको अर्थ बहिरमुखी ऊर्जालाई अन्तरमुखी ऊर्जामा रूपान्तरण
गर्नु हो । त्यागको अभिमान धन–सम्पत्ति, पद–प्रतिष्ठा, मान–सम्मानको
अभिमानभन्दा खतरनाक छ । त्यागको अभिमानलाई त्यागेपछि मानिस
सुन्दर हुन्छ । संसारमा धेरै सुन्दर कुरा छन् तर आजसम्म विनम्रता र
सदाचार जस्तो अर्को कुनै सुन्दर कुरा छैन ।
महत्वाकांक्षा, प्रतिस्पर्धा, अहंकार, परदोषदर्शन र हिंसाबाट जो मुक्त भयो
उसलाई मुक्ति स्वयम् स्वागत गर्न आउँछ । परमात्माले फूल वर्षाउँछ ।
लोकसँग चल्नुभन्दा आफूसँग चल्नु श्रेष्ठ हुन्छ । आफूसँग चल्नेहरूको
पछि एक दिन लोकलहर लर्को लगाएर आउँछ । आध्यात्मिक साधनाको
अर्थ स्वधर्मको मार्गबाट स्वयम्लाई चिन्नु र सत्यको खोजमा स्वयम्लाई
साथी बनाएर अगाडि बढ्नु नै हो ।
१३७- धर्मको पवित्र रूप के हो ?
धर्म सनातन सत्यलाई जान्ने ज्ञान–विज्ञान हो । धर्मले अनेकता भित्रको
एकता सिकाउँछ । धर्मले मानिसबीच मात्र नभई मानिस, जीव–जन्तु,
चरा–चुरुङ्गी, वनस्पति, पञ्चतत्व सबैबीचको एकता र विश्व
बन्धुत्व सिकाउँछ । सबैभित्र भएको अमर अनादि सत्ताको विराट लोक
चिनाउँछ ।
धर्म व्यक्ति–व्यक्तिको अलग कुरा होइन । धर्म घर, मोटर, सम्पत्ति,
आभूषण जस्तो एकल या सानो झुण्डको सम्पत्ति जस्तो भागबण्डा गर्ने
कुरा होइन । धर्म त सार्वभौम, सनातन, सहअस्तित्वको केन्द्र हो । त्यसैले
कुनै झुण्डले आफ्नो स्वार्थको परिभाषामा चलाएका सम्प्रदायहरूलाई
धर्म नमान । धर्म जीवन पद्धति हो । शरीर सत्ता, विश्व सत्ता र अनादि
सत्ताको अन्तरसम्बन्धलाई जान्ने र त्यसमा साक्षी जीवन जिउने ज्ञान–
विज्ञान हो धर्म । यसैले धर्मको अगाडि या पछाडि नाम, रूप, विशेषण
जोड्नु जरुरी छैन । धर्म फैलाऊ, सम्प्रदाय होइन । निर्मल, पवित्र कर्म
नै धर्म हो ।
होस, समझ, चैतन्य नै त धर्म शिक्षा हुन् । धर्मले सिकाउँछ कुनै पनि
कुरालाई होसपूर्वक जान्न । होसपूर्वक जानेको कुरालाई सत्मार्गमा छ
भने त्यसमा जिउनु श्रेष्ठ हो । होसपूर्वक जिउँदा आनन्द आउँछ भने
त्यसको पूर्णतामा स्थिर हुनु श्रेष्ठतम हो ।
शरीर, मन, चेतना सबै रूपमा प्राकृतिक जीवनशैलीको नाम नै धर्म हो ।
आफ्नो मूल उद्गम, विकास र विलयको जीवन स्रोतलाई चिनाउने
ज्ञान–विज्ञान नै धर्म हो । आन्तरिक र बाè सत्यसँग सम्यक यात्रा गर्न
धर्मले सिकाउनु पर्दछ, तब त्यो धर्म जीवन्त हुन्छ । भविष्यको धर्म
पुरानो परम्परमा रहने छैन । भविष्यमा मानिस पूजापाठ, कर्मकाण्डबाट
मुक्त भएर ध्यान साधनामार्फत आफ्नो रूपान्तरणलाई खोज्नेछ । सत्य
दर्शनलाई खोज्नेछ । सत्य दर्शनको विज्ञान बन्नेछ धर्म । योग र त्यसमा
पनि ध्यान केन्द्रित हुनेछ धर्म । धर्म लोक वर्गीकरणमा दुई प्रकारको छ ।
चैतन्यबोधद्वारा एकान्तमा उपलब्ध धर्म र भीडले बेहोसी र हल्लाखोरमा
मानेको धर्म । भीडले मानेको धर्म – सम्प्रदायले सत्य अर्थात् अनादि
सत्तासम्म पुर्याउन सक्दैन । स्वधर्म व्यक्तिगत हुन्छ । धार्मिक सम्प्रदाय
पुरातत्वबेत्ता एवम् अन्वेषकको समूह जस्तै हो । जसले हिजो र भोलिको
बीच पुल निर्माण गर्दछ । यसैले नयाँ धर्म–सम्प्रदाय बनाउनु मेरो यात्राको
लक्ष्य र गन्तव्य होइन । सबै धर्म–सम्प्रदाय, रूप–रंग, जाति–पाति र
भूगोलका घेराले टुक्र्याउन र जेल्न नसक्ने धार्मिक जीवनशैली स्वधर्म
हो । स्वधर्मद्वारा आनन्द र उत्सवको जीवन जिउने कला एवम् विज्ञान
सिकाउने कार्यलाई पूजा मानेको छु ।
धर्म प्रवर्तकहरूको निधन भएपछि उनीहरूको मत र सिद्धान्तको
पछि लाग्नेहरूले क्रमश: त्यसलाई आफ्नो अनुकूल बदल्दै जान्छन्ý
कालखण्डमा सम्पूर्ण रूप नै बदलिन्छ । प्रवर्तकहरूको अनुहारमा कालो
पोत्ने गरी ।
सत्य सबै धर्म–सम्प्रदायको मूलमा छ । ती सबैको उद्गम स्थान अनादि
सत्ताको समस्वरता हो । यसैले मैले न त कुनै धर्म–सम्प्रदायको समर्थन
गर्ने छु न त विरोध नै । साक्षी बनेर स्वधर्मको यात्रामा अगाडि बढ्ने
छु । म हरेक व्यक्तिलाई साम्प्रदायिक मतभेदबाट टाढा मौलिक सत्यमा
देख्न चाहन्छु । चोक, चउर, जंगल जताततै ध्यानमा मग्न मानिस देख्न
चाहन्छु । मेरो दृष्टिमा धर्मको पवित्र रूप यही हो ।
१३८- बुद्धिजीवी मानिसको बुद्धिले संसार सुन्दर हुन्छ ?
मानिस तीन प्रकारका हुन्छन्— बुद्धु, बुद्धि र बुद्ध । बुद्धु जसको सम्बन्ध
शरीर र सम्पत्तिमा मात्र केन्द्रित छ । शरीरका पनि अत्यन्त बाहिरी सत्तामा
र सम्पत्तिको पनि बाहिरी सत्तामा जसले केवल “खाउ–पिउ–मोज गर”
मात्र जानेको छ । बुद्धि जसको सम्बन्ध मनको सक्रिय अवस्थासँग छ ।
सत्य जान्नुभन्दा आफूले सत्य मानेको कुरालाई तर्क–वितर्क र लडेर
भए पनि स्थापित गर्नमा व्यस्त छ । धर्मको जीवन जिउने मूल कलालाई
छाडेर शास्त्रार्थ र शस्त्रबाट धर्म स्थापित गर्नमा रमाइरहेछ । संसारको
विकास गरें भन्ने अहंकारमा संसारको समग्र विनास गरिरहेछ । बुद्धि
र मन मिलेर ब्रहृमाण्डको इतिहासमा आज सबैभन्दा डरलाग्दो विनास
भइरहेछ । बुद्ध जसको सम्बन्ध सत्यसँग छ । यहाँ बुद्धको अर्थ सिद्धार्थ
गौतम होइन या बुद्ध धर्मको आदि आचार्य भनेको होइन । बुद्धको अर्थ
ध्यानबाट साक्षी हुँदै अनादि सत्ता या सत्यको अस्तित्वबोध गरेको
मानिस हो । आज लोक प्रचारभन्दा टाढा रहेर लोक कल्याणका लागि
साधनारत बुद्धहरूले यो संसारलाई बचाइरहेका छन् ।
बुद्धिजीवीप्रति मेरो चासो छैन । बुद्धिजीवीको अर्थ हो – बुद्धिलाई
जीविकोपार्जनको माध्यम मात्र जान्ने । बु्द्धि बेचेर जिउने । श्रम बेचेर
जिउने श्रमजीवी, बुद्धि बेचेर जिउने बुद्धिजीवी । बुद्धिमानप्रति पनि मेरो
चासो छैन । बुद्धिमानको अर्थ हो — बुद्धिलाई मान–सम्मानको माध्यम
मात्र जान्ने । म त बुद्धि जानी, बुद्धिलाई जान्नेलाई ह्दयमा लगाउँछु । बुद्धि
जानीको अर्थ हो — बुद्धिको गति, प्रगति र गतिशून्यताको स्वरूपलाई
होसपूर्वक जान्ने । आवश्यकता अनुसार चैतन्य बोधद्वारा उपयोग गर्ने ।
१३९- श्रम पनि साधना हो र ?
कर्मयोग भनेकै श्रम, सीप र सदाचारको मिलन हो । यो परमपवित्र
साधना हो । निर्मल मनले गरेका हरेक श्रम परमात्माको महायज्ञ हो ।
श्रम र सीपमा सदाचार जोडियो भने निष्काम कर्मयोग हुन्छ । जसले
मान–सम्मान, आर्थिक लाभ र लोभबिना श्रम गर्दछ उसले संसारको
सबैभन्दा ठूलो सम्पत्ति पाउँछ ।
आफूले सक्ने काम सबैभन्दा पहिले आफैले गर्नु पर्दछ । आफूले नसक्ने
या नभ्याउने कामको लागि मात्र अर्को व्यक्तिको सहयोग लिनु पर्दछ ।
श्रम परमात्माको परम पवित्र पूजा हो । श्रम, शील र सदाचार योगीको
प्रथम लक्षण हो । श्रमदेखि भाग्ने, हरक्षण माग्ने धार्मिक व्यक्ति होइनन् ।
संसारमा परमात्माले यति विशाल वैभव दिएको छ, त्यो नदेखेर एक
माना अन्नका लागि घण्टौं भिख माग्न डुल्नु धर्मविरुद्ध कार्य हो ।
भिखका लागि मन्दिर–मस्जिदका ढोकामा लाइन लागेर घण्टौं प्रतीक्षामा
बस्नुभन्दा त्यही मन्दिर–मस्जिदको एक कुनामा घण्टौं ध्यानमा बसे
परमात्मा स्वयं सम्पत्ति दिन होइन बर्साउन आउँछ । तिमीले सम्पत्तिको
लोभमा हरेक दिनको पहिलो पवित्र क्षण गुमाउनु पर्ने छैन ।
श्रमलाई बेइज्जत सम्झने मानिस मूर्खमध्येको महामूर्ख हो । बाè वा
आन्तरिक दुवै सम्पत्ति कमाउन उत्तिकै श्रम गर्नु पर्दछ । जसले आन्तरिक
र बाè ऐश्वर्यलाई जान्यो, दुवै ऐश्वर्यबाट नभागेर नटाँसिएर साक्षी भई
उपयोग गर्यो, त्यसैलाई त ईश्वर भनिन्छ ।
भाग्यमा आश्रित हुन छाडेर श्रम, सीप र सदाचारको कर्मयोगी बाटोमा
बढ्नु पर्दछ । भाग्य त्यो तरबार हो जसले आकाशमा उडेका चराको दुई
पखेटा लगन र पराक्रमलाई काटिदिन्छ ।
१४०- निद्रा पनि साधनाका लागि जरूरी छ ?
अवश्य छ । जो गहिरो निद्राद्वारा थकानमुक्त हुन्छ ऊ सजिलै साधनामा
अगाडि बढ्न सक्दछ । राति सुत्न निद्राकारक गोली र बिहान उठ्न
घडीको घण्टी बोली चाहिने मानिस भव–वैभवबीचको भिखारी हो ।
आनन्दको सागरमा वैतरणी जीवन जिएको मानिस हो । राति ९–१०
बजे निद्राले तानेर लैजाने र बिहान ४–५ बजे विदाइ गर्ने मानिस स्वस्थ
र दीर्घजीवी मात्र होइन साधनामा पनि अघि बढ्छ ।
निद्राका लागि औषधीका गोली या रक्सी, चुरोट आदि चाहिने मानिस
साधनामा अघि बढ्न सक्दैन । तर, साधनाका सरल विधिमा अघि बढ्दै
र यी कुरालाई घटाउँदै जाने हो भने फेरि साधनामा सहजै प्रगति गर्न
सकिन्छ । गहिरो निंद सबैभन्दा ठूलो उपहार हो ।
१४१- खराब मानिस कसरी साधनामा आउन सक्दछ ?
जसरी बुद्धसँग अंगुलीमाल आयो । खराब चिन्तन र कर्मसँग टाढा होऊ ।
खराब मानिससँग होइन । मानिस कहिल्यै खराब हुँदैन केवल उसको
चिन्तन र चिन्तनबाट प्रभावित कर्म खराब हुन्छ । दु:खमा सुखको
भ्रान्ति नै महाभ्रान्ति हो । यसैमा रमाएर मानिस खराब हुन्छ । आलस्यले
नकारात्मक विचारलाई जन्माउँछ । नकारात्मक विचारले नकारात्मक
कार्यक्षेत्रमा प्रेरित र प्रेषित गर्दछ । तब मानिस पथभ्रष्ट भई पतन हुन्छ ।
तिमी सत्याग्रही बन र सबैलाई सत्मार्गमा आउन विनम्रतासाथ आग्रह
गर । सत्मार्गमा आउन गरिएको आग्रह नै त सत्याग्रह हो । सत्याग्रह
मानवको प्रकृति, कृति र संस्कृति हो । उपवास मानिसको मूल प्रकृति
अर्थात स्वभाव हो, उपवासलाई समय अनुकूल उपयोग गर्नु कृति हो र
त्यसको निरन्तरता संस्कृति हो । उप भनेको नजिक बास भनेको बस्नु ।
कसको नजिक आफ्नै नजिक ।
१४२- ध्वनि र ध्यानका बारेमा चर्चा गरौं कि ?
ठिक छ । यो अत्यन्त महत्वपूर्ण विषय हो । ध्वनिलाई माध्यम बनाएर
ध्यान, ध्यानलाई माध्यम बनाएर साक्षी र साक्षीलाई माध्यम बनाएर
सत्यसम्म पुग्न सकिन्छ । ध्वनि शरीर, स्नायु संस्थान, इन्द्रियहरू
र मनमा गुञ्जाएमान बनाएर महाध्वनि उपलब्ध गर्न सकिन्छ । ॐ
आनन्ददायक र शुद्धतम ध्वनि हो । यो सुन्दरतम, सार्वभौम, सनातन
एवम् तिमीभित्रको सङ्गीतसँग लयबद्ध हुने गुणयुक्त छ ।
१४३- बाहिरको ध्वनिले भित्र कसरी काम गर्दछ ?
मानव शरीर एउटा वाद्य यन्त्र जस्तै छ । यो एक सांगीतिक लयबद्धतामा
चल्दछ । कोष, तन्तु, प्रणाली सबैमा विशिष्ट ध्वनिको अनादि अस्तित्व
छ । त्यसैले ॐ या यस्तै यौगिक ध्वनि या शास्त्रीय सङ्गीतले सबैलाई
आनन्द दिन्छ । चिन्ता, तनाव या दु:ख, पीडा या रोग, शोकका बेला
भित्रको सङ्गीतको लयबद्धता पनि बिग्रन्छ । यस्तो बेलामा पनि ॐ
यौगिक ध्वनि या शास्त्रीय सङ्गीतले भित्रको सङ्गीतमा लयबद्धता
बनाउँदै लैजान्छ जसले स्वास्थ्य, सुन्दरता र आनन्द बढ्न थाल्छ ।
कारण बाहिरी नादले भित्री अनहदमा प्रतिध्वनित गर्दछ र आनन्द
उपलब्ध हुन्छ । तर हल्लाखोर र अन्य अप्रिय कर्कश आवाजले पीडा
दिन्छ । नाद त यो पनि हो तर यसको प्रकृति भित्री अनहदसँग मिल्दैन,
त्यसैले भित्रको लयबद्धतालाई अरू बिगारिदिन्छ र झर्को लाग्ने एवम्
दु:खद हुन्छ ।
१४४- ॐ को उच्चारण कसरी गर्नु सही हो ?
ॐ आरम्भमा चर्को लयका साथ उच्चारण गर्नु पर्दछ किनकि भित्री
ध्वनिलाई जगाउन आरम्भमा शक्तिशाली धक्का दिनु पर्दछ । जगाउनुको
अर्थ बेहोस सुतेको होइन भित्री ध्वनि पनि चैतन्य विश्राममा हुन्छ । जब
ॐ को ध्वनिभित्र गहिराइतर्फ बढ्दै जान्छ, बाहिर आवाज मधुर गर्दै
जानु पर्दछ । एक दिन त्यस्तो अवस्था आउँछ – मुख बन्द छ, शब्द
निर्माण भएको छैन तर भित्रको गहिराइबाट ॐ को ध्वनि अनवरत
आइरहेको छ । ध्वनि जति सूक्ष्म, कम्पित र गुञ्जनद्वारा गुञ्जायमान
भयो त्यति बढी भित्र सघन र सूक्ष्म बोधयुक्त हुन्छ । लयबद्ध ध्वनिले
ध्यानमा लैजान्छ भने लयहीन ध्वनिले हिंसामा । चर्को ध्वनि विध्वंशक
र विनाशक हुन्छ ।
१४५- ध्वनि र होसको के सम्बन्ध छ ?
कुनै पनि ध्वनि मन्त्रको होस् या यन्त्रको लगातार दोहोर्याउँदै जाने
हो भने त्यसले दुई घटना घटाउँछन् । यदि होसपूर्वक र सूक्ष्म छ भने
भित्र गहन शान्ति र आनन्द पैदा हुन्छ । होस छैन र स्थुल छ भने निद्रा ।
यान्त्रिक रूपले दोहोर्याइरहने हो भने त्यो घटनाले थकान पैदा गर्दछ र
थकानले बेहोस निद्रा पैदा गर्दछ । ध्वनिमा बेहोसी मिल्यो भने विनास र
ध्वनिमा होस मिल्यो भने सृजना हुन्छ ।
ॐ या अन्य यौगिक ध्वनिलाई लामो र सूक्ष्म बनाउँदै जानु पर्दछ ।
ध्वनिप्रति होसपूर्ण र सजग हुँदै जानु पर्दछ । होसपूर्ण र सजग हुन
ध्वनि सूक्ष्म हुँदै जानु पर्दछ । बाहिरबाट आरोपित ध्वनि सूक्ष्म हुँदै जाँदा
सजगता एवं होस बढ्दै जान्छ । एक विन्दु या क्षण यस्तो आउँछ, बाहिरी
ध्वनि बन्द हुन्छ । भित्री ध्वनि महाध्वनि या सनातन ध्वनिमा प्रवेश
हुन्छ । तब परम होस् या चैतन्य शिखर प्राप्त हुन्छ । जब ध्वनि आफ्नो
उद्गमको निम्नतम गहिराइमा पुग्दछ त्यति बेला होस या चैतन्यबोध
उच्चतम शिखरमा पुग्दछ । यस अवस्थामा ध्वनि महाध्वनिमा मिल्दछ ।
चेतना चैतन्यमा पुग्दछ । त्यही नै सत्य हो, अनादि हो ।
१४६- ध्वनि सुन्ने सही ढंग बताइदिनुहोस् न ?
बाहिरको स्थुल ध्वनि कानले सुन्छ तर आन्तरिक ध्वनि अनुभूति हुन्छ ।
कानले केवल ध्वनिको केही अंशलाई शब्द रूपमा मस्तिष्कमा पठाउँछ ।
ध्वनिको स्थुल रूप कानबाट भित्र पस्दछ । ध्वनिको सूक्ष्म रूप भित्रबाट
बाहिर बग्दछ । यसैले ध्वनिको केन्द्र कान होइन । बाहिरी कानलाई बन्द
गरेपछि भित्रको गहिराइबाट सूक्ष्म ध्वनि सुन्दछौं । ध्वनिसँग सम्बन्धित
ध्यान र साक्षीलाई बढाउँदै गएपछि थाहा हुन्छ कि ध्वनिको केन्द्र मस्तिष्क
पनि होइन रहेछ । पहिले त लाग्दछ कान केन्द्र होला, फेरि लाग्दछ मस्तिष्क
केन्द्र होला । मस्तिष्कले त हरेक कुरा शब्द र परिभाषामा सुन्दछ । शब्दका
लागि त मस्तिष्क नै केन्द्र हो । ध्वनिको केन्द्र नाभि हो । जब ध्वनिका
बारेमा विचार गर्दछौं, तर्क–वितर्क गर्दछौं । तब शब्द संसार सक्रिय हुन्छ
जसले मस्तिष्कलाई केन्द्र मान्दछ । ध्वनिको बारेमा कुनै शब्द निर्माण
नगरी नि:शब्द साक्षी अनुभूति गर्दछौं तब नाभि केन्द्र भएको थाहा हुन्छ ।
जापानमा लोक कहावत छ । मान्छेले टाउकोले होइन, पेटले सोच्दछ ।
कुनै प्राचीन समयमा जापानमा ध्वनिमाथि निकै काम भएको थियो ।
नेपालमा पनि बूढा–बूढी मानिसहरू भन्दछन्, पेटमा कुरा खेलाउनु राम्रो
होइन या पेटमा कपट रहेछ आदि । यो लोक परम्परामा बाँचेको ध्वनि
विज्ञानको भाषा हो ।
१४७- सजगताका लागि निर्विचार जरूरी छ ?
ध्वनि सुरु हुनुभन्दा पहिले सजग भएर प्रतीक्षा गर्नु पर्दछý ध्वनिको पूर्ण
प्यास र होसका साथ । कुनै विचार मनमा पैदा नगरी । राम्रो या नराम्रो ।
विचारले बेहोसी निद्रा पैदा गर्दछ । निर्विचारको स्थितिमा मात्र होसपूर्ण
या सजग हुन सम्भव छ । जब मन निर्विचार हुन्छ तब घण्ट या सिङ्गिङ
बाउल बजाएर ध्वनिका साथ अन्तर् जगतमा बढ्न सकिन्छ । ध्वनि सुरु
भयो, शिखरमा पुग्यो र विस्तारै सूक्ष्म हुँदै मूल उद्गम गहिराइमा विलिन
भयो । यो ध्वनिका साथ यात्रा शुभ छ । त्यसैले पूर्वीय सभ्यतामा शंख–
घण्टको ठूलो महिमा छ । घण्टी, घण्ट, घण्टाका रूप स्वरूपले प्राचीन
समयमा मठ–मन्दिर ध्वनि विज्ञानको केन्द्र भएको संकेत दिन्छन् ।
ध्वनिको आदि र अन्त जब साक्षी भएर देख्न सकिन्छ तब सत्य स्वरूप
महाध्वनि देख्न सकिन्छ ।
१४८- सन्तहरू किन विरोधाभास बोल्दछन् ?
सन्त अर्थात् सत्यमा जिउने । सन्तले कहिल्यै एउटै कुरा दोहोर्याइ
रहन्न किनकि ऊ ग्रन्थ कण्ठ पारेर बसेको ग्रन्थिक व्यक्ति होइन । ऊ
त वर्तमानमा जे देख्दछ त्यही बोल्दछ । त्यसैले गहिराइमा नबुझ्दासम्म
सन्त वचन कहिलेकाहीँ विरोधाभाषी पनि लाग्दछ ।
जससँग बस्दा शान्ति प्राप्त हुन्छ त्यही सन्त हो । सन्तले सद्विचारको
तरंग फैलाउँछ । जसले सत्मार्गलाई प्रकाशित गर्दछ । सन्तले विराट विद्या
दिन्छन् — चैतन्यबोधबाट जे बोलिन्छ, त्यो शास्त्र हो । चैतन्यबोधले स्पर्श
गरेको भूमि तीर्थ हो । चैतन्यबोधद्वारा सत्मार्गमा अघि बढ्नु धर्म हो ।
सन्त कुनै धर्म–सम्प्रदायको हुँदैन र सबैको हुन्छ । त्यसैले दुवै अतिवादी
सोचलाई छाडेर मध्यमार्गबाट अगाडि बढ्छ । मध्यमार्ग अर्थात् तेस्रो
विधायक मार्ग जो कल्याणकारक छ । किनकि यो सत्यसम्म पुग्दछ ।
अर्कालाई सानो देख्ने आँखा केवल मूर्खमा हुन्छ । सन्तले त सानोभन्दा
सानो र ठूलोभन्दा ठूलो हरेक भित्र उही अनादि सत्तालाई देख्दछ । जो
सूक्ष्माति सूक्ष्मदेखि विराटसम्म समान फैलिएको छ ।
१४९- विद्या र शिक्षामा के फरक छ ?
विद्या आन्तरिक सत्ताको अध्ययन हो, शिक्षा बाè सत्ताको अध्ययन
हो । शिक्षाले सम्बन्धित विषयको सूचना दिन्छ । ध्यानमा विद्यावारिधि
गर्नेहरू या पढाउने प्राध्यापकहरूले ध्यानको विश्व इतिहास र वर्तमान
बनाउन सक्छन् तर यस्तो ज्ञानले मात्र ध्यान उपलब्ध हुन्न । धर्मशास्त्रका
प्राध्यापकहरू या आचार्यहरू धार्मिक देखिन्छन् र ? शैक्षिक अध्ययन–
अध्यापनले सूचना दिन्छ । नक्सा दिन्छ । यात्रानुभव दिँदैन । विद्या ज्ञान–
विज्ञानको अभ्यासबाट सुरु हुन्छ । त्यसैले यसको अभ्यासले दृश्यदेखि
अदृश्यसम्मलाई देख्न सक्ने विराट दृष्टि दिन्छ ।
शिक्षाले अहंकारलाई विस्तार गर्छ । विद्याले विनयशीलतालाई विस्तार
गर्दछ । शिक्षाले सफल हुन सिकाउँछ । विद्याले असल हुन सिकाउँछ ।
शिक्षाले रचनात्मक कार्य सिकाउँछ । विद्याले सृजनात्मक कार्य
सिकाउँछ । शिक्षाले सूचनाका आधारमा संसारलाई हेर्दछ । विद्याले
सत्यका आधारमा संसारलाई हेर्दछ । शिक्षाको आधार ग्रन्थ हो । विद्याको
आधार निग्र्रन्थ हुनु हो । शिक्षा प्रारम्भ हो । विद्या गन्तव्य । त्यसैले भनियो
विद्या ददाति विनयम् अर्थात विद्याले विनम्रता दिन्छ ।
१५०- मानिसको सबैभन्दा ठूलो भूल के हो ?
अनित्यका लागि नित्य लडिरहनु र नित्यका लागि अनित्य छाड्न नसक्नु
मानवको सबैभन्दा ठूलो भूल हो । विरोध, शंका र स्वीकृति लोक
प्रचलन हो भने इच्छा, ज्ञान र क्रिया एकल साधनाका मूल सूत्र हुन् ।
हुलका साथ भूल हुन्छ, एकल यात्रामार्फत सत्यसम्म पुग्न सकिन्छ ।
१५१- द्रष्टा र साक्षी एउटै हो ?
होइन । द्रष्टा र दृश्य एक अर्कोमा विलय हुन्छन् या भनौं द्रष्टा र दृश्य
एक भएपछि साक्षी उपलब्ध हुन्छ । द्रष्टा चेतना हो भने दृश्य पदार्थ ।
द्रष्टा र दृश्यको अद्वैत अवस्था साक्षी हो ।
द्रष्टा मन साधनाद्वारा प्राप्त गर्न सकिन्छ । यो एक प्रकारको एकाग्रताकै
अभ्यास हो । साक्षी सहज उपलब्ध हुन्छ । द्रष्टा मनले वैज्ञानिक बन्न
सकिन्छ भने साक्षी मनले सन्त बन्न सकिन्छ । द्रष्टा मन गहनतातर्फ
बढ्यो भने अहंकारको विस्तार हुन्छ । त्यसैले वैज्ञानिकहरूले सूक्ष्म
अवलोकन गर्दा पनि या भनौं कुशल द्रष्टा भएर पनि अनादि सत्तालाई
देख्न सक्दैनन् । त्यसैले परमात्माको अस्तित्वलाई इन्कार गर्दछन् ।
सन्त द्रष्टा र दृश्यको भेदबाट उठ्छन् । द्वैतबाट अद्वैतमा उठ्छन् तब साक्षी
उपलब्ध हुन्छ । साक्षी परम पवित्र र दिव्य अक्षर हो । लोकप्रचलनमा
साक्षी शब्दको अर्थ संकुचित भएको छ ।
१५२- ध्यान कति बेला गर्नु पर्दछ ?
यो सबैले सोध्ने प्रश्न हो । कैयन मानिस भन्छन् : २० या ३० वर्ष
अघिदेखि नियमित एक घण्टा ध्यान गर्दछु । त्यसो भए दिनमा २३
घण्टा के गर्दछन् त ? कुनै मानिसले २० वर्षबाट नियमित एक घण्टा
ड्राइभिङ इन्स्टिच्युट जान्छु र गाडी चलाउन सिक्छु भन्छ भने तिमीलाई
के लाग्दछ ? ध्यानको विधि–विज्ञान अनुसार साधना (अभ्यास) गरेपछि
जब ध्यान उपलब्ध हुन्छ, तब विधिमुक्त २४ सै घण्टा जीवन ध्यानमय
हुनु पर्दछ । ध्यानलाई अर्को एउटा बन्धन या एक घण्टे आदत बनाउनु
हुँदैन । विधि–विज्ञान ध्यान होइन ध्यानसम्म पुग्ने यान्त्रिक व्यवस्था हो ।
विधि–विज्ञानका साथ हामी केही अगाडिसम्मको यात्रा गर्न सक्छौं तर
गन्तव्यमा पुग्न सक्दैनौं । विधि–विज्ञानले एक पटक तिमीलाई अकम्पित
अन्तसको बोध भएपछि तिमी विविध लोक कर्मका साथ पनि आफ्नो
स्वबोधको होस बनाइराख्न सक्दछौ । पहिले विधि–विज्ञानबाट अभ्यास
गर्नुपर्दछ जब अकम्पित अन्तसको बोध हुन्छ तब विधि छाडेर बोधमा
रहनु पर्दछ । समुन्द्रको किनारामा छालहरू दौडिरहेका हुन्छन्, मध्यमा
समुन्द्र शान्त लयबद्ध लहरमा हुन्छ, केन्द्रमा पूर्ण स्थिर । यही समुन्द्र
जस्तै हो आध्यात्मिक जीवन । बाहिर महल र शहर छ, भित्र गुफा र
जंगल । यसैले घर छाडेर जंगल जानै पर्छ भन्ने छैन, बोध महत्वपूर्ण कुरा
हो । महल र गुफाको बोध । शहर र जंगलको बोध । ध्यान कर्मयोगबाट
भाग्ने कला होइन । कर्मयोगका साथ जाग्ने कला हो ।
१५३- ध्यानको मुख्य विधि कुन हो ?
म योग या ध्यानको व्यापारी भएको भए ठोकुवा गरेर भन्ने थिएँ — मैले
जुन सिकाउँछु त्यही मुख्य अरू सबै वेकार । तर ध्यानको कुनै पनि विधि
मुख्य या सामान्य भन्ने छैन । मुख्य त तिमीभित्रको प्यास हो, होस हो,
समझ हो । संसारमा करिब १५० जति ध्यान विधि प्रयोगमा देखिन्छन् ।
विज्ञान भैरवतन्त्रमा शिव–शक्ति संवादका रूपमा ११२ धारणाका विधि
एकै ठाउँमा पाइन्छन् । धारणा प्रबल भयो भने ध्यान उपलब्ध हुन्छ ।
ध्यान प्रबल भयो भने समाधि उपलब्ध हुन्छ । ११२ धारणाका मार्ग
११२ स्वभावका मानिसहरूका लागि प्रतिपादित थिए । ११२ प्रकारका
मनहरूका लागि ११२ प्रकारका प्रशिक्षण । सबैको विधि फरक तर
केन्द्रमा एकता साक्षी भाव । धारणा, ध्यान, साक्षी साधनाद्वारा मुक्ति ।
सरल शब्दमा भन्ने हो भने होसपूर्वक गरिने हरेक कार्य ध्यानको भूमिका
हो । ध्यान हो । हिँड्नु, बोल्नु, काम गर्नु सबै ध्यान हुन सक्दछ त्यसमा
होसलाई जोडिदिने हो भने । चराको चिरबिरदेखि नदीको लयबद्ध
सुसाहटसम्म, मायाका बोलीदेखि दुव्र्यवहारका गालीसम्म, दु:खको
आँसुदेखि सुखको हाँसोसम्म सबै–सबै ध्यान बन्न सक्दछन् । बोधबाट
बुद्धत्वको यात्रामा ।
शरीर र यसका गतिविधिप्रति होस । मन र यसका गतिविधिप्रति होस ।
होसको यात्रामा शरीर र मनको उवड–खावड र जोखिम बाटोबाट यात्रा
अघि बढेपछि, हरेक जोखिममा होसलाई बचाएपछि, शरीर र मनको
कोलाहलबाट पारि पुगेपछि निष्कम्प अन्तस उपलब्ध हुन्छ । तब उत्सव,
आनन्द र शान्ति उपलब्ध हुन्छ ।
१५४- ध्यान के पागलपनबाट मुक्ति हो ?
सबै पागलहरू आफूलाई पागल मान्दैनन् । चोरलाई पनि चोर भनेको
मन पर्दैन र पनि चोरिरहन्छ । रक्सीले मातेको मानिसलाई जँड्याहा
भनेको मन पर्दैन र पनि जाँड–रक्सी पिइरहन्छ । मानिस विचित्रको
प्राणी हो । आफूलाई मन नपर्ने कुरा पनि छाड्न सक्दैन ।
एक सानो प्रयोग गर । एकान्तमा कहीँ बस कागज र कलम लिएर । आफ्नो
मनमा जे विचार आएको छ लेख्न सुरु गर । अरूलाई देखाउने होइन
त्यसकारण लय मिलाउने या राम्रो–नराम्रो परिभाषा नगर । मनमा जस्ता
विचार छन् हुबहु त्यस्तै लेख । एक घण्टा लेखेपछि पढ । तिमीलाई लाग्ने
छ — “म जस्तो पागल कोही रहेनछ ।” बेतुकी कुरामा जीवनको स्वर्णिम
दिन बितेको छ । तिमीले लेखेका कुरा कसैले देख्यो भने पागलको डायरी
भन्ने छ । हरेक दिन १५ मिनेट विचारहरूलाई लेख र साक्षी बनेर विचार
हरूलाई हेर । पागलपनबाट मुक्ति मिल्दछ । ध्यान सज्जन भनिनेहरूभित्र
छिपेको पागलपनको गतिलो उपचार हो । सज्जन भनिनेहरूभित्र जति
विशाल पागलपन छिपेको छ त्यसको दश प्रतिशत मात्र पागल भनिनेहरू
भित्र पागलपन पाइन्छ । यसो भन्दा कटु लाग्ला । तर यो कटु सत्य हो ।
१५५- ध्यान र एकान्तको के सम्बन्ध छ ?
निकट सम्बन्ध छ । ध्यानको प्रारम्भिक अभ्यासका लागि एकान्त, मौन र
प्रकृतिको सानिध्य आवश्यक हुन्छ । यसले ध्यान यात्रालाई लडियाबाट
रकेटमा पुर्याउँछ । छोटो १२ दिन, मध्यम २७ दिन, लामो ५४ दिन
र अति लामो १०८ दिन यो अभ्यासका साथ रहने हो भने अत्यन्त
महत्वपूर्ण हुन्छ । यसका लागि उच्च पहाडी क्षेत्र राम्रो हुन्छ । नेपालमा
सबैभन्दा राम्रो उच्च पहाडी क्षेत्रमा भएका चौंरी गोठ र भेडीगोठ हुन् ।
त्यहाँ दूध पिउन पाइन्छ, गाई चराउन पाइन्छ, प्रकृतिको समस्वरतामा
डुब्न पाइन्छ, मौन र एकान्तलाई बाधा पुर्याउने कुनै कुरा हुँदैन । पहाडी
फूल र जंगल, चराचुरुङ्गी र जीव–जन्तु, हिमाल र नदी ध्यानद्वारा
साक्षी लोकमा प्रवेशका लागि सहयोगी हुन्छन् । गोठमा बस्न असुविधा
मान्नेहरू उच्च पहाड या हिमाली क्षेत्रका एकल एकान्त होटलहरूमा
पनि बस्न सक्छन् । दिनभर प्रकृतिका साथ रातमा होटलमा निवास ।
१५६- उत्सवमय जीवनको अभ्यास ध्यानको आधार हो ?
अवश्य हो । भूत र भविष्यबाट मुक्त वर्तमानमा उत्सवमय जीवन जिउने
मानिस परम आध्यात्मिक मानिस हो । प्रचण्ड गर्मीलाई पनि उत्सव
बनाऊ, कठ्याङ्ग्रिने जाडोलाई पनि उत्सव बनाऊ, घोर अन्धकार
औंसीको रातलाई पनि उत्सव बनाऊ, झलमल्ल पूर्णिमाको रातलाई
पनि उत्सव बनाऊ त ध्यानको विधि–विज्ञानबिना नै ध्यान उपलब्ध
हुन्छ । सबै क्षण उत्सवमय छन्, ती क्षणको प्राकृतिक सौन्दर्यमा हेर्दा ।
तिम्रा कथा–व्यथाहरूले हरेक उत्सवमय क्षणमा खोट देख्छन्, चोट
देख्छन् । हरेक घटनालाई उसकै प्राकृतिक स्वरूपमा हेर्ने हो भने संसार
विराट उत्सव स्थल हो । साना–साना कुरामा खुशी हुन सक्ने मानिसभित्र
आनन्द उपलब्ध हुन्छ । आनन्दका साथ उत्सव र उत्सवका साथ होस
र होसका साथ ध्यान र ध्यानका साथ साक्षी र साक्षीका साथ सत्य
उपलब्ध हुन्छ ।
१५७- ध्यानका लागि कस्तो भोजन राम्रो हो ?
शरीरका लागि चाहिने सम्पूर्ण पोषण पुग्न सक्ने, सात्विक र शरीर
एवं मनमा नशा पैदा नगर्ने, वनस्पतिबाट प्राप्त हुने, अहिंसाबाट प्राप्त
भोजन ध्यानका लागि श्रेष्ठ भोजन हो । वनस्पति र माटोलाई रासायनिक
मल, कीटनाशक औषधी, हर्मोन आदिले उसको मौलिक स्वरूपलाई
क्षत–विक्षत् गर्नु पनि हिंसा हो । अत: हिंसाबाट प्राप्त अन्न, फलफूल,
सागपातले पनि ध्यानमा हानि पुर्याउँछ । मानिस, जीव–जन्तु, चरा–
चुरुङ्गी मात्र होइन वनस्पति, पञ्चतत्व (आकाश, माटो, पानी, हावा,
घाम) लाई पनि तिनको स्वरूप बिग्रने कार्य गर्नु हिंसा हो ।
एउटा सानो झार र विशाल बटवृक्ष, एउटा सानो पुतली र विशाल हात्ती
सबै विश्व ब्राहृमणमा त्यत्तिकै महत्वपूर्ण छन् । संवेदनाशून्य नबन ।
संवेदनशील भएर हिंसामुक्त जीवन जिउने प्रयास गर तब हरेक कुरा
ध्यानका आधार हुन सक्दछन् ।
एक छाक मात्र खानु या दिनमा चारपटक खानु दुवै अतिवाद हो ।
हाम्रो शरीर दुईपटक भोजन गर्ने प्रकृतिमा बनेको छ । ध्यानका लागि
बिहान–साँझ अल्पाहार र दिनमा रसाहार उत्तम हो । एकपटक खाने
व्रत या परम्परा भएकाहरूले तीनपटकको एकैपटक खान्छन् । यस्तो
भोजन ध्यानका लागि घातक छ । कैयन आध्यात्मिक भनिने मानिसहरू
जीवनभर दूधमात्र पिउने या चियामात्र पिउने जस्ता व्रत गर्दछन् । नुन
नखाने या मिश्रीको काढामात्र खाने जस्तो बानी या व्रत सम्यक भोजन
होइन । युक्तिपूर्वक गरिएको आहार होइन । यस्ता आहारले शरीर र
मनलाई निर्मल हुन दिँदैन । प्रतिफल ध्यान–साधनामा सहयोगी हुन्न ।
अहंकार पुष्टि मात्र गर्दछ ।
१५८- चिकित्सामा ध्यानको के महत्व छ ?
अध्यात्मको साधकका साथै चिकित्सक पनि हुनाले ३२ वर्षयता मैले
दैनिक बिरामी जाँच एवं उपचार गरेको छु । सामान्य रुघा–खोकीदेखि
घातक एड्स, क्यान्सरसम्म । जहाँ सम्पूर्ण औषधी उपचार असफल
हुन्छन् त्यहाँ ध्यान सफल भएको छ । अन्य चिकित्सा पद्धतिहरूले
बाहिरबाट उपचार गर्दै भित्र जान्छन् भने ध्यानले भित्रबाट उपचार
गर्दै बाहिर आउँछ । औषधी उपचार सतहको उपचार हो भने ध्यान
अन्तरको उपचार हो । ध्यानले जीवनी शक्तिलाई जीवन स्रोतसँग जोडेर
शक्तिशाली बनाउँछ । साथै शरीर र मनमा भएका मलहरूलाई हटाएर
निर्मल बनाउँछ ।
१५९- शरीरमा मुख्य कति केन्द्र छन् ?
शरीरमा मुख्य तीन केन्द्र छन् — मस्तिष्क (बुद्धि केन्द्र, ह्दय (चित्त
केन्द्र र नाभि (अस्तित्व केन्द्र । साधकहरू यही त्रिवेणी स्नानद्वारा
पवित्र र मुक्त हुन्छन् । शरीरको ऊर्जा केन्द्रमा संयम गर्नाले सम्पूर्ण ऊर्जा
त्यहाँ प्रवाहित हुन्छ । त्यससँग सम्बन्धित केन्द्र जागृत हुन्छ । केन्द्र जागृत
भएपछि त्यससँग सम्बन्धित सम्पूर्ण प्रतिभा र सम्भावना प्रकट हुन्छ ।
भुतेश्वर, भूत र भूताणुको अन्तरसम्बन्धको सतचक्र उपलब्ध हुन्छ ।
१६०- चित्त कसरी प्रसन्न हुन्छ ?
आनन्दमा नाचेको मानिससँग मित्रता । दु:ख र पीडामा बाँचेको
मानिसलाई करुणा । पुण्य मार्गमा अगाडि बढेका मानिसबाट प्रसन्नता ।
पाप मार्गमा अगाडि बढेका मानिसको उद्धारको इच्छा । यी संकल्प र
कार्यले चित्त प्रसन्न हुन्छ ।
१६१- अवसरको फाइदा कसरी लिन सकिन्छ ?
अरूलाई नराम्रो गर्ने अवसर त मिनेट–मिनेटमा आइरहन्छ तर राम्रो गर्ने
अवसर कहिलेकाहीँ मात्र आउँछ । त्यसैले कहिलेकाहीँ मात्र आउने राम्रो
गर्ने सुअवसरलाई कहिल्यै छाड्नु हुँदैन । मिनेट–मिनेटमा आउने नराम्रो
गर्ने कुअवसरलाई समात्नुको के अर्थ, यसलाई समात्नु हुँदैन ।
कुनै मानिसमा एउटा नराम्रो आदत प्रवेश गर्यो भने त्यसले नराम्रो
या खराब आदतहरूको लस्कर लिएर आउँछ । अत: मेरा सबै आदत
राम्रा छन्, यही एउटा त खराब आदत हो नि भनेर छाड्नु हुन्न । नराम्रो
आदतलाई फेरि नउम्रने गरी जरैदेखि खनेर फ्याँक्नु पर्दछ । यसका
बीजहरूलाई पनि नष्ट गर्नु पर्दछ । यो महान अवसरबाट चुक्नु हुँदैन ।
१६२- महामानव कसरी बन्ने ?
तिम्रो अहंकार, महत्वाकांक्षा र प्रतिस्पर्धाले जुन दिन तिमीलाई छाडेर
जान्छ या तिमीले साधनाद्वारा छाड्छौ, त्यो दिन तिमी महामानव हुनेछौ ।
तिमी देवतुल्य नै हुनेछौ । परमात्माको तिमीले पूजा गर्नु पर्दैन । स्वयं
परमात्माले तिम्रो पूजा गर्नेछ ।
मानिसको आवश्यकता पूर्ण गर्न कुनै कठिनाइ छैन तर अन्तहीन इच्छा
कहिल्यै पूर्ण हुँदैन । इच्छाको अन्त छैन । त्यसैले यसले सदा दु:खको
भुमरी दिन्छ । हाम्रा इच्छा जति कम हुन्छन् त्यति नै विराट आनन्द र उत्सव
वर्षिन्छ र हामी अनादि सत्ताका साथ स्थिर यात्रा गर्दछौं । इच्छामा जिउने
मानिस संसारको सबैभन्दा गरिब मानिस हो । ऊ विश्वको धनाढ्य भएर
पनि निरीह भिखारी हुन्छ । रत्न–रत्नादिको चमकमा पनि मलिन हुन्छ ।
सुवर्णका बीचमा कान्तिहीन हुन्छ । अहंकार, महत्वाकांक्षा र प्रतिस्पर्धालाई
नछाडी सत्पथ, सत्कर्म र सदाचारको यात्रा सुरु हुनै सक्दैन ।
१६३- मानव विनासको मूल के हो ?
ईष्र्या मानव विनाशको मूल हो । खियाले फलामलाई नाश गरेजस्तै
ईष्र्याले मानिसको नाश हुन्छ । हजारौं मानिसको हिंस्रक हुलमा पनि
बाँच्न सकिएला तर मनमा ईष्र्या पैदा भएको छ भने एक क्षण पनि
शान्त भएर बाँच्न सकिन्न । ईष्र्याले भरिएर जो सदैव अरूको निन्दा र
छिद्रान्वेषणमा व्यस्त हुन्छ त्यस्ता मानिसदेखि कोसौं टाढा बस्नु पर्दछ ।
परनिन्दा गर्ने, परनिन्दा सुनेर बस्ने या परनिन्दामा सहयोगी बन्ने सबै
निच मनोवृत्ति भएका मलले मलिन मानिस हुन् । परनिन्दा गर्नमा या
सुन्नमा रमाउनु घातक मानसिक रोग हो ।
गाली गर्नु मूर्खता हो । गालीको उत्तर फर्काउनु महामूर्खता । सज्जनहरू
त गालीको उत्तर मौनद्वारा दिन्छन् । गाली गर्नेलाई पनि सेवाद्वारा
सत्मार्गमा आमन्त्रण गर्दछन् । सबैको उन्नतिमा आफ्नो उन्नति
देख्ने मानिस नै सच्चा मानिस हो । अरूलाई निन्दा गर्ने, ईष्र्या गर्ने
र देश, काल, परिस्थिति नबुझी आफ्नै बेसुरमा उपदेश दिने काम त
मूर्खले गर्दछन् । सज्जन त आफ्नो भित्र अंकुर हुन लागेको ईष्र्या,
परनिन्दालाई छाडेर निर्मल भई अघि बढ्दछन् ।
तर्क–वितर्क र परदोष दर्शनमा रमाउने मन सबैभन्दा ठूलो आत्मघाती
हत्यारा हो जसले स्वयम्लाई मार्दछ र अरूलाई पनि बाँच्न दिँदैन ।
अरूको अवगुणको व्याख्यान दिनमा मज्जा मान्नेहरूले आफ्नो कुरूप
अनुहार र चरित्र देखाइरहेका हुन्छन् ।
१६४- समाजमा लुटेराबाट कसरी बाँच्ने ?
तिमी बाहिरका लुटेराबाट लुटिने केही डर नमान । बाè ऐश्वर्य लुटिनु केही
होइन । पुन: कमाउन सकिन्छ । तिमीभित्र सधैं एउटा होस हुनुपर्दछ—
मभित्रको लुटेराबाट लुटिन्छु कि भन्ने । आन्तरिक ऐश्वर्य लुटियो त तिम्रो
सर्वश्व लुटिने छ । मैले देखेको स्वधर्मको दर्शन साधना नै हरेक व्यक्तिलाई
आफूभित्रको लुटेराबाट बाँच्न सिकाउने सत् साधना हो ।
बुढ्यौली एवम् रोग आउनुभन्दा पहिले र इन्द्रियहरू साथै शरीर शिथिल
र शक्तिहीन हुनुभन्दा पहिले योग साधनाद्वारा योगी जीवन जिउने मानिस
उज्यालो शिखरमा आनन्द र उत्सवको मस्तीमा हुन्छ । बुढ्यौली, रोग र
इन्द्रिय एवम् शरीर शक्तिहीन भएपछि योग साधना सुरु गर्ने मानिस दायाँ
गालामा मुस्कान र बायाँ गालामा आँसु लिएर बसेको हुन्छ ।
समाजको राजपथमा तिमी यसरी हिँड कि तिमीलाई देख्ने हरेकको
मनमा दीप बलोस् र समाजमा दीपावली होस् । आजको काम या विचार
भोलिको दु:खको कारण नबनोस् । जीवित हुँदा तिमीले गरेको सत्कर्मले
आत्मा शान्ति मिलोस् । मरेपछि तिम्रो आत्माको शान्तिका लागि अरूले
भगवानसँग प्रार्थना गर्न नपरोस् ।
१६५- मानवता विरूद्धको मुख्य षड्यन्त्र के हो ?
मानवलाई हिन्दू, बौद्ध, मुस्लिम, इसाई या जात–पात, छुत–अछुत या
कालो, गोरो या स्त्री–पुरुष–तेस्रो लिङ्गी आदि नामरूपका भेदमा
बाँड्नु र लडाउनु मानवता विरुद्ध गरिएको षड्यन्त्र हो । मानवता मात्र
होइन परमात्माप्रति गरिएको दुव्र्यवहार हो ।
धर्म–धार्मिकताको बीज तिमीभित्रै छ । तिम्रो सम्पूर्ण सम्भावनाको
वटवृक्ष बोकेर । ऋषिमुनि, सन्त, योगी, सिद्धहरूको संभावना तिमीभित्रै
छ । तिमी त्यो चैतन्यबोधको शिखर हुन सक्दछौं । कुनै लोभ–लालच
बिना निरन्तर स्वधर्म साधनाबाट ।
१६६- सर्वश्रेष्ठ कार्य के हो ?
अरूलाई राम्रो गर्नु श्रेष्ठ कार्य हो तर आफूमा भएको नराम्रो खोजेर
हटाउनु सर्वश्रेष्ठ कार्य हो । राम्रो कुरालाई फैलाउनाले नराम्रो आफै
समाप्त हुन्छ । सर्वमंगल र सर्वोदयको जीवनशैली प्रचार गर्नु श्रेष्ठ कार्य
हो तर सर्वमंगल र सर्वोदयको जीवन जिउनु सर्वश्रेष्ठ कार्य हो ।
आफ्नो दोष खोजेर निकाल्नु श्रेष्ठ कार्य हो र चैतन्य मानव बन्ने पहिलो
सिँढी हो । दोष देख्ने इच्छा छ भने, परदोष दर्शन नगरी आफ्नै दोष
दर्शनबाट सुरु गर्नु र त्यसैमा अन्त गर्नु सर्वश्रेष्ठ कार्य हो । तब हेर जीवन
कति आनन्दले भरिएको हुन्छ ।
प्रथम हुने दौड नै हिंसाको मूल कारण हो । यो बाटो छाडेर अहिंसा, करुणा
र प्रेमको बाटो अघि बढ्नु श्रेष्ठ कार्य हो । जसलाई अहिंसा, करुणा र
प्रेमको भाषा आउँदैन, उसलाई पचासौं भाषा आएर केही काम छैन ।
जसको जीवनमा सत्मार्ग, समत्व र सदाचार छैन, उसले आत्महत्या गर्नु
पर्दैन । शरीर जीवित भएर पनि मृत्यु बाँचिरहेको हुन्छ । अहिंसा, करुणा
र प्रेमको त्रिवेणी बन्न सक्नु सर्वश्रेष्ठ कार्य हो ।
१६७- आमालाई सन्तान कतिबेला कुरूप लाग्दछ ?
जाँड–रक्सी, चुरोट–तमाखु जस्ता लागु पदार्थमा लठ्ठिएको अनुहार
उसकै आमालाई पनि कुरूप लाग्दछ । सदाचार छाडेर भ्रष्टाचारमा
लागेको, अहिंसा छाडेर हिंसामा लागेको, त्यागलाई छाडेर भोगमा लागेको,
सेवालाई छाडेर मेवामा लागेको, पुण्यलाई छाडेर पापमा लागेको, वृद्ध
र बालकको हितकारी कार्यमा नलागेर जवान र जवानीको पछि मात्र
दौडेको व्यक्ति आफ्नै प्रिय सन्तान भए पनि आमालाई कुरूप लाग्दछ ।
१६८- कस्तो देशले उन्नति गर्न सक्दैन ?
जुन देशमा अहिंसालाई सम्मान छैन, शुद्ध जीविकाकोपार्जन सम्भव
छैन, बन्धुत्वमा प्रेम छैन, सत्पथको शिक्षा छैन, त्यो देशले उन्नति
गर्न सक्दैन । जुन देशमा श्रमशील नागरिक छैनन् र सदाचारी नेता
छैनन्, त्यो देशको पतन हुन्छ । जुन व्यक्ति, समाज र देशमा चरित्र
निर्माणका योजना छैनन्, त्यो देश अन्य जति ठूला योजना भए पनि
तासको घर जस्तै ढल्दछ । सत्यको साक्षात्कारका लागि सत्पथ प्रदान
नगर्ने धर्म–संस्कृति परम्परा या लोकाचार, समाज या देशलाई तत्काल
छाडेर अगाडि बढ्नु पर्दछ ।
१६९- गरिब को हो ?
गरिब त्यो होइन जो निर्धनताले भोको–नाङ्गो छ । गरिब त्यो हो जो
अरूको सम्पन्नता देखेर पीडामा जलिरहेछ । भरपेट खाएर भोको र
बहुमूल्य कपडामा नाङ्गो छ ।
सत्य संसारको सबैभन्दा ठूलो सम्पत्ति हो । व्यक्ति वा वस्तुलाई त्यसको
यथार्थ रूपमा जान्नु सत्य हो । जो उपलब्ध गरेपछि कमाउन केही बाँकी
रहन्न । संसारको सम्पूर्ण ऐश्वर्य, धन–सम्पत्ति, हीरा–मोती, रत्न–रत्नादि
तुच्छ लाग्दछ । संसार चिनेर र संसार किनेर धनी हुँ भन्ने मानिस सबैभन्दा
गरिब हो । म को हुँ ? भनेर आफूलाई सोध्दै–खोज्दै गरेर आफूलाई
चिनेर आनन्दमा नाच्ने मानिस संसारको सबैभन्दा धनी मानिस हो ।
१७०- पाप कर्म के हो ?
जुन काम गरिरहँदा र गरेपछि, यो काम ठिक होइन मलाई फाइदा भए
पनि अरूलाई हानि हुन्छ, यस्तो सोच मनमा आउँछ भने सम्झ तिमी पाप
कर्ममा लागि रहेका छौ । तिमीलाई विश्वकै ऐश्वर्य मिलोस् तर तिम्रो
कामले कतै कसैलाई हानि पुग्छ त त्यही पाप कर्म हो ।
अहंकाररूपी पिता र आशक्तिरूपी माताबाट एक शरीर दुई टाउका
भएको सन्तान जन्मिन्छ । एउटा टाउकाको नाम राग र अर्कोको नाम
द्वेष । यिनका सन्तानहरू हिंसा, अशान्ति, लोभ, परपीडन, असत्य आदि
मिलेर संसारमा पाप कर्मलाई बढाइरहेका छन् ।
१७१- सनातन आनन्द कसरी प्राप्त गर्न सकिन्छ ?
दु:ख र सुख दुवैबाट मुक्त साक्षीबाट प्राप्त सदाचारको जीवनमा सनातन
आनन्दको बोध हुन्छ । राग, द्वेष र मोहबाट सञ्चालित हरेक कार्यले दु:ख
पैदा हुन्छ र अराग, अद्वेष र अमोहबाट सञ्चालित हरेक कार्यले सुख पैदा
हुन्छ । यी दुवै अवस्थामा साक्षी बनेपछि सनातन आनन्द प्राप्त हुन्छ ।
१७२- सत्यको यात्रामा सबैभन्दा ठूलो समस्या के हो ?
यो धर्तीमा करिब तीन–चार सयभन्दा बढी सम्प्रदाय या पन्थ विकास
भइसकेका छन् र अरू हुँदैछन् । सबैले सत्यका प्रति, धर्मका प्रति आ–
आफ्ना धारणा बनाएका छन् । सबैले आफ्ना मार्गबाट मात्र आनन्दसम्म
पुग्न सकिन्छ अरूको मार्गबाट सम्भव छैन भनेर बेहोसहरूलाई जेल्ने
मायाजाल निर्माण गरेका छन् । सत्पथका कथित प्रतिनिधिहरूका व्यक्तिगत
या समूहगत दाबा, अनावश्यक वाद–विवाद, स्वीकृति र विरोधले चेतना,
चित्त र चैतन्यलाई बाँधेर सीमित गरेको छ जसले असीम सत्यतर्फ आँखा
उठाउन सम्भव नै देखिँदैन । निष्पक्ष नभएसम्म सत्यको पक्षमा हुनै
सकिन्न । आस्तिकता र नास्तिकता दुवैबाट माथि उठेर सत्य उपलब्ध
हुन सक्दछ । सत्य कुनै पनि मार्गबाट पुग्न सकिन्न । सम्प्रदायहरूका
मिठा प्रवचनले र मन लोभ्याउने कुराले सत्यसम्म पुग्न सकिन्न ।
१७३- तपाईं साधु–सन्तको आलोचना गर्नुहुन्छ भन्छन्, के हो ?
मैले साधु–सन्तको विरोध गर्छु भन्दा आश्चर्यमा परें । म त यो विश्व
साधु–सन्तले भरियोस् भन्ने चाहन्छु । हो साधु–सन्तको नाममा असाधुको
आतंक भने दु:खद कुरा हो । सरल, सम्यक र सदाचारको जीवन साधु–
सन्तको आभूषण हो । योग्यता हो । साधु–सन्तलाई पद–प्रतिष्ठाको लडाइँ
सुन्दर देखिन्न । मंडलेश्वर, महामंडलेश्वर, जगतगुरु, १०८, १००८ आदि
पदवीका लडाइँ, सम्प्रदायका लडाइँ, अग्लो र होंचो आसनका लडाइँ,
चमर र झल्लरी छाताका लडाइँ, धन–सम्पत्तिका लडाइँ शोभा दिँदैन।
व्यापारीको रूपमा व्यापार दर्शनीय हुन्छ तर साधु–सन्तको रूपमा व्यापार
कुरूप हुन्छ । साधनाबाट साधु–सन्त हुन सकिन्छ तर आयोजन गरेर बन्न
सकिन्न । सिंगारिएर बाè रूप बन्ला तर भित्री रूप साधनाबिना सिंगार्न
सकिन्न । भित्री रूप सहज स्वीकृतिमा उपलब्ध गर्न सकिन्छ । त्यसैले म
साधु–सन्तको आलोचक होइन, साधुको नाममा असाधुहरूले फैलाएको
आध्यात्मिक आतंकबाट दु:खी अवश्य हुँ ।