म वि.सं. २०२० चैत २२ गते यस पृथ्वीलोकमा आएको हुँ । वैदिक परम्पराअनुसार ‘धर्मराज’ नामाकरण गरियो । माता–पिताले हरिको प्रसादका रूपमा स्वीकार गरेर हरिप्रसाद नामले बोलाउन थाल्नुभयो । यही नाम सांसारिक नाम भयो । साधनामा अघि बढ्दै जाँदा अनादि सत्ताले मलाई ‘मानसाग्नि’ नामबाट बोलायो । मानसाग्नि मेरो साधनाको नाम हो, अब यही नामबाट समाजले मलाई चिन्ने छ ।
प्रकृतिका कृतिहरूसँग बाल्यकालदेखि नै प्रेम थियो । समता र ममताले मानव, पशुपक्षी, वनस्पति आदि सबैप्रति परमप्रेम थियो । विद्यालय जीवन सुरु भएपछि ठूलो जमातमा पुगें । त्यो बेला सानो कक्षामा पनि, बढी उमेरका विद्यार्थी हुन्थे । रुख चढ्न सक्ने ठूला साथीहरूले रुखका टोड्काबाट चराका बच्चा झिकेर ल्याउँथे र पोलेर खान आगो बाल्दथे । मैले बचेराहरूको जीवन रक्षाका लागि किताब, कलम र लुगासमेत साथीहरूलाई दिएर चराका बच्चाहरू लिन्थेँ । घरमा ल्याएर हुर्काउने विचारले विभिन्न प्रयत्न गर्दथेँ । एक दिन त मसँग न त झोला, कपी, कलम, किताब आदि नै थियो न त कट्टुबाहेक कुनै लुगा नै, थियो त केवल उड्न नसक्ने ७ वटा चराका बच्चा कमलको पातमा । बाँसका झाङ र रुखमा बसेका चरा मार्न गुलेली बोकेर हिँड्नेहरूले दाउ हेरेर बसेका बेला अब मार्ने भए भन्ने लागेर उडाइदिँदा धेरै पटक थप्पड र कान गुट्याई खाएको छु ।
कोइलीले कुहु–कुहु गरेको मैले को हो ? को हो ? भनेको सुन्थें । म हो ! म हो ! भन्दै उफ्रिँदै चिच्याउँथे । एकाएक शब्दहरू रोकिन्थे र कानमा ध्वनि गुन्जन्थ्यो तैँले म हो ! म हो ! त भनिस् तर तँलाई थाह छ तँ को हो ? तब मेरा सबै बालकला रोकिन्थे र मौनमा प्रवेश गर्दथे ।
घरको नजिक विद्यालय थियो, विद्यालयको नजिक जंगल र ठूलो कमलपोखरी । कमलपोखरीको किनारामा बसेर कमलको फूलले सेताम्य भएको पोखरी र फूलले सुगन्धित भएको वातावरणले रमाउँथे । दुर्गन्धित हिलोमा जन्मिएर, पानीमा आफूलाई निर्मल र पवित्र गर्दै, पानीभन्दा एक हात माथि उठेर सुन्दर र सुगन्धित फूल दिएको कमललाई हेरेर घण्टौं बिताउँथे । दुर्गन्धित हिलोलाई सुगन्धित फूल बनाउने कमलको शिक्षा लिएर हात जोडी नमस्कार गरी घर फर्कन्थें । बाटोमा सोंच्थे यस्तो शिक्षा पढ्न पाए ! विद्यालयको शिक्षा निरस लाग्दथ्यो ।
मानिसले जताततै दिसा–पिसाब गरेको र उसैले पालेको बिरोलोले बारीमा खाल्टो खनेर आफ्नोदिसा पुरेको देखेर बिरालोलाई नमस्कार गर्दथेँ । आमा–बाबु र छोरा–छोरीबीचको झगडा, लोग्ने–स्वास्नी र दाजु–भाइ बीचको झगडा, वल्तिर–पल्तिरकाको झगडा र उसैले पालेको माहुरीको मेलमिलाप एवं आफ्नोकाममा निरन्तर लागेको देखेर माहुरीलाई नमस्कार गर्थेँ त कहिले रुखलाई, कहिले कुवालाई, कहिले घामलाई, कहिले वर्षालाई ... । यो नमस्कार गर्न कसले प्रेरणा दिन्थ्यो त्यतिबेला बल्ल अहिले थाहा पाएँ । चारैतर्फ जीवन्त शिक्षा देख्थेँ केवल विद्यालयमा बासी र मदौरो शिक्षा थियो ।
मांसाहारी परिवारमा जन्में तर तेह्र वर्षको उमेरदेखि मांसाहार छाडें । कुलपूजा र मन्दिरमा दिइने बलिहरूले अत्यन्त पीडा गराउँथ्यो जसले गर्दा कुलपूजा र त्यस्ता मन्दिरहरूमा जान छाडें । मेरो जीवको जीवनप्रतिको सम्मानलाई हजुरआमा, आमा र बुबाले स्वीकारेर शाकाहारी हुनुभयो । घर नजिक तानसेनको प्रभासमा शिवरात्रिको मेलामा पहिलो पटक हात्ती देखें । हात्तीले सूँडले पीपलका हाँगा भाँचेर चपाउँदै खाँदै गरेको देखें । मेरो मनमा झ्वाट्ट आयो, हात्ती यति ठूलो छ, मासु खान्छ कि खाँदैन होला, सोधिहालें । कसैले उत्तर दियो धत् हात्तीले पनि मासु खान्छ, घाँसमात्र खान्छ । मलाई थाहा भयो घाँसमात्र खाएर हात्ती त्यति ठूलो र बलियो हुँदो रहेछ । यही घटनाले मेरो जीवनको १४ वर्ष फलाहार र करिब २ वर्ष नरम घाँस एवं जडिबुटी खाएर अघि बढ्यो ।
पहिले यातायातको राम्रो सुविधा थिएन । भारतको गोरखपुर हुँदै मुक्तिनाथ जाने या यस्तै अन्य धार्मिक यात्रामा हिँड्ने भारतीय र नेपाली साधुहरू गाउँमा आउँथे । हाम्रै घरमा पनि बस्थे । उनीहरूले गरेको योग (आसन, प्राणायाम, ध्यान आदि) र अन्य जीवनशैलीले मलाई बराबर प्रश्न उठाइरहन्थ्यो । कैयौं योगीहरूको चमत्कारी आख्यान पनि सुन्दथेँ । बाल्यकालदेखि उठिरहने यस्तै विभिन्न प्रश्नको उत्तर खोज्न शिक्षामा फलामे ढोका भनिने एस.एल.सी. परीक्षाको तयारी गर्नुपर्ने बेलामा सुनको रत्नजडित ढोका खोज्न घरबाट निस्किएँ । भारतका विभिन्न आश्रम, मठ, मन्दिर, साधु–सन्तलाई भेटें, हृदय आनन्दित हुन सकेन । ऋषिकेश, स्वर्गाश्रम, बदरीनाथ, केदारनाथ र त्यसक्षेत्रका एकान्तस्थलहरूमा रहेर विभिन्न योगसाधनाको अभ्यास गरें । वनारसका गल्ली र भारतका अन्य धार्मिक महत्वका मुख्य केन्द्रहरूमा पुगें ज्ञान र साधनाको खोजमा । पुनः नेपालका हिमवत् खण्ड र मानस खण्डका जीवन्त साधनास्थलहरूले मलाई ताने । अनादि सत्ताको खोजमा बढिरहेको मेरो यात्रा नेपालको हिमाली क्षेत्रमा, उच्च पहाडी क्षेत्रमा पुगेर साधनारत भएपछि शान्त भयो । अनादि सत्ताको दिव्यप्रसाद मिल्यो मलाई ।
आज म जे छु अनादिसत्ताद्वारा प्राप्त स्वधर्मबोधको दिव्यप्रसाद र हजुरआमा–देवकुमारी एवं हजुरबुबा–ठाकुरप्रसाद, आमा–यानकुमारी र बुबा–यज्ञप्रसादको जीवन्त शिक्षाको रूप एवं स्वरूप हुँ ।
मैले साधनाबाट जे प्राप्त गरें त्यसलाई मानव, पशुपक्षी, वनस्पति आदि अनादि सत्ताका कृतिहरूलाई बाँड्न र अनादि सत्ताले मद्वारा गर्न चाहेको कामका लागि एक संस्थागत स्वरूप स्थापना भएको छ : मानसाग्नि मिसन । म आज शरीरका साथ छु, भोलि शरीरबाट बिदा भएपछि एक सार्वभौम सनातन शरीरको आवश्यकता पर्दछ, बहिर्जगत्मा । त्यो नै मानसाग्नि मिसन हो । मिसन अहम् र महत्वाकांक्षाको प्रकट रूप होइन यो त मेरो आन्तरिक ऐश्वर्यको झरना तल स्थिर गतिशील भएर प्रकट सार्वभौम सनातन जीवन्त एकाई हो । जो अनादि सत्ताको प्रसादका रूपमा मिलेको छ । मैले शिवभूमि एवं ऋषि–महर्षिहरूको साधनास्थल, योगको जन्म र विकास भएको परमपवित्र हिमवत् खण्ड र मानस खण्डको केन्द्र नेपालबाट वि.सं. २०३६ सालबाट उत्तरायणको पहिलो दिन मकर संक्रान्तिलाई नववर्ष शुभारम्भ मानी योग संवत्को शुभारम्भ गरें । यही दिनलाई विश्वयोग दिवसको दिव्य उत्सवका रूपमा पनि मनाउन सुरु गरें । नेपाल सरकारले यो माघ १ गतेलाई वि.सं. २०३६ सालदेखिको इतिहासलाई जीवन्त राख्दै राष्ट्रिय योग दिवसका रूपमा नेपालभर महाउत्सवका रूपमा प्रतिवर्ष मनाउने निर्णय गरेको छ । योगी बनौं, योग सिकाऔंको प्रार्थनाका साथ योग युग निर्माणको सङ्गल्प लिएर सुरु भएको यो विश्व अभियान आज योगको प्राचीन र आधुनिक इतिहासको सेतु बनेर रहेको छ । भोलिका इतिहासकारहरूले समयलाई मूल दुई खण्डमा बाँड्ने छन्– योगसंवत् पूर्व र योगसंवत् उत्तर । योगसंवत्को पञ्चाङ्क पनि निरन्तर प्रकाशित भइरहेको छ ।
मैले साधनाको जीवनमा जे प्राप्त गरें र जस्ता साधनापथहरू अनादि सत्तामा पुग्न सहयोगी छन् त्यो अमृतविद्या (ज्ञान–विज्ञान र साधना) सबैलाई बाँड्न मानसाग्नि मिसनको मूल अभियानका रूपमा स्वधर्म साधना अगाडि आएको छ । स्वधर्म Religion होइन Self Realization हो यो कुनै नयाँ धर्म स्थापनाको प्रयास होइन सम्पूर्ण धर्मको अन्तिम गन्तव्य हो । स्वधर्म केन्द्र मानववस्तीहरूमा स्थापना गरिने छ । यो केन्द्रले त्रियोगको दिव्यपथबाट हरेक मानवलाई धार्मिकता सिकाउने छ ।
शरीर ठूलो रहस्यको केन्द्र हो । यसलाई प्रेम र सम्मान गर्नुपर्दछ । शरीर मूल ढोका हो अनादि सत्तासम्म पुग्ने दिव्य पथको । शरीरलाई पापको घर मान्नेहरूले मानवलाई परधर्मी बनाए । शरीर त देवालय हो । योभन्दा परमपवित्र स्थल अर्को छैन । यसलाई दूषित हुनबाट बचायौं भने मात्र स्वधर्मको यात्रा आरम्भ हुन्छ । शरीर योगले साधनाको माध्यमबाट शरीरका सम्पूर्ण रहस्यहरूलाई चिनाउँदै स्थूल शरीरको स्वस्थताका साथ दिव्य शरीरको अनादि सत्ताको विराट् स्वरूपको दर्शन गराई संबुद्ध हुने महाविज्ञान सिकाउँछ । लोकभाषामा जसलाई कर्मयोग भनिन्छ त्यसैको बृहत् स्वरूपलाई यहाँ शरीरयोग भनिएको हो ।
विश्वब्रह्माण्ड र यसमा हुने दैनन्दिन गतिविधिहरू, मानव, पशुपक्षी, किट–पतङ्क, वनस्पति, पञ्चमहाभूत आदिको अन्तरसम्बन्धद्वारा विकसित परमपवित्र स्थल विश्व हो । शरीररूपी देवालयको सुन्दरतम् उद्यान । यही उद्यानबाट हामीले सत्यम्, शिवम्, सुन्दरम्को यात्रा गर्दछौं । विश्व हाम्रो विराट् शरीरको एक हिस्सा हो । यसलाई जति प्राकृतिक रूपमा राख्न सक्यो हाम्रो सर्वमङ्कल त्यसैमा निहित छ । शरीर योगबाट सुरु भएको स्वधर्मको यात्रा विश्वयोगमा आइपुग्दा यसले एक आकार लिन्छ, निराकारमा प्रवेशका लागि । विश्वयोगले साधनाको माध्यमबाट विश्वरूपलाई आफ्नोस्वरूपमा चिनाउँदै अनादि सत्ताको दर्शन गराई संबुद्ध हुने महाविज्ञान सिकाउँछ । लोकभाषामा जसलाई भक्तियोग भनेर बुझिन्छ त्यसैको बृहत् स्वरूपलाई यहाँ विश्वयोग भनिएको हो ।
जगदीश्वर, जगत्, जीव, जीवनको मूलस्रोत अनादि सत्ता । दृश्य सत्ताका सम्पूर्ण कुरा यसैबाट जन्मिए, यसैद्वारा सञ्चालित र विकसित छन् र मृत्यु या विघटनपछि यसैमा मिल्दछन् । विश्व ब्रह्माण्डका जे जति सिर्जना र रचना छन् त्यसमा अनादि सत्ताको पूर्ण उपस्थिति छ । अनादि सत्तालाई वेदान्तीहरूले ब्रह्म भने, सांख्यहरूले पुरुष भने साथै अन्यले चैतन्य, ज्ञातव्य, कैवल्य ज्योति, आत्मा, ताओ, अस्तित्व, सत्य, परम, विराट्, पूर्ण, स्वयम्भू, ज्योतिर्मय, शून्य आदिका साथै अरू अनेक नाम दिइयो । जसबाट सम्पूर्ण विराट् विश्वब्रह्माण्ड जन्मियो । ऊ अजन्मा, अनादि र सनातन छ । सबै उसैमा आश्रित छन् तर ऊ कसैमा आश्रित छैन । सबै उसैभित्र छन् र ऊ सबैभित्र छ । त्यो अनादि सत्ताको साधनाद्वारा दर्शन गराई संबुद्ध हुने महाविज्ञान अनादियोग हो । यही त्रियोग या भनौं त्रिक्–दर्शन नै स्वधर्म हो । लोकभाषामा जसलाई राजयोग भनिन्छ त्यसैको बृहत् स्वरूपलाई यहाँ अनादि योग भनिएको हो ।
मैले सेवालाई साधनाको मूल हिस्साको रूपमा मानेको छु । विविध क्षेत्रसँग सम्बन्धित सेवा कार्य गरिरहेको छु । जसका माध्यमबाट मानवलाई रूपान्तरण गरी स्वधर्ममा पुर्याउनु लक्ष्य हो । तपाईंले सोध्नुभयो योग र प्राकृतिक चिकित्साको सेवा । हिमवत् खण्ड र मानस खण्डको केन्द्रको जीवन्त कला, संस्कृति, धर्म, स्वास्थ्य, शिक्षा, विज्ञान आदिको मूल स्रोत योगीश्वोर, योगी र योग हो । हिमवत्खण्डको स्वास्थ्य विज्ञानको दर्शन स्व+स्थित = स्वास्थ्य अर्थात् स्वमा स्थित अवस्थाको नाम स्वास्थ्य । यसैले यहाँबाट विकसित योग, प्राकृतिक चिकित्सा, आयुर्वेद आदि दिव्य विज्ञान हुन् । यी ज्ञान–विज्ञानले त्रियोगसँग गहिरो सम्बन्ध राख्दछन् । त्यसैले मैले यिनको विकासका लागि काम गरिरहेको छु । प्राकृतिक स्वास्थ्य संस्था र सर्वोदय सेवाश्रम मेरो सोच, सङ्गल्प र सेवाको त्रिवेणीमा उभिएर योग, प्राकृतिक चिकित्सा, आयुर्वेद आदिको विकासमा धेरै ठूलो काम गरेका छन् । अन्य दर्जनौं संघ–संस्थाहरू पनि मेरो सोच, सङ्गल्प र सेवाको मूल प्रवाहमा जोडिएर अगाडि बढिरहेका छन् मानसाग्नि मिसनलाई मातृ संस्था मानेर ।
मैले नेपालका त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा प्राकृतिक चिकित्साको प्रथम शिक्षकका रूपमा सक्रिय सेवा पुर्याएँ र पुर्याइरहेको छु । नेपाल संस्कृत विश्वविद्यालयको योग एवं प्राकृतिक चिकित्सा विभागको प्रथम विभाग प्रमुख र विषय समितिको अध्यक्ष भएर यी विद्याको विश्वविद्यालयस्तरका पाठ्यक्रम निर्माण एवं सञ्चालन गराई नेपालमा प्रथम पटक औपचारिक शिक्षाको सुरुवात गराएँ ।
स्वास्थ्य मन्त्रालयबाट बनेको योग एवं प्राकृतिक चिकित्सा समितिको म अध्यक्ष पदमा रहेको बेला गरिएको विशेष पहलले प्राकृतिक चिकित्साले नेपालमा राष्ट्रिय चिकित्साका रूपमा मान्यता पायो । सो मान्यता पाएको दिन वि.सं. २०५९।०३।२० देखि प्रतिवर्ष असार २० गतेलाई “राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस” मनाउने संकल्प लिएर जनस्तरमा चेतना अभियान चलाइरहेको छु । परिषद् निर्माण एवं अन्य नीतिगत र कार्यगत कार्यमा अग्रपंक्तिमा रहेर सहयोग पुर्याएँ । योग एवं प्राकृतिक चिकित्साको संस्थागत विकासमा स्वास्थ्य, शिक्षा र अन्य मन्त्रालयसँग सम्बन्धित कार्यहरूमा मैले सेवाकार्य गरेको छु ।
योग एवं प्राकृतिक चिकित्सा केही वर्ष अगाडिसम्म परम्परागत गुरुकुल शिक्षामा आइरहेको थियो । विश्वविद्यालयका औपचारिक पाठ्यक्रमहरू थिएनन् । भारतमा विश्वविद्यालय पाठ्यक्रम सुरु भएपछि मैले नेपालका गाउँ–गाउँ घुमेर यो विषय पढ्न युवाहरूलाई प्रेरित गरें । मैले मेरो क्षमताले सकेसम्म तन, मन, धन सबै रूपमा सहयोग गरी पढ्न पठाएँ । जसले गर्दा अब नेपालमा पनि विश्वविद्यालय पाठ्यक्रमबाट पढेर आएका चिकित्सकहरूको संख्या प्रशस्त भइसकेको छ हरेक वर्ष बढिरहेको छ । आज उनीहरूले ठूला अस्पताल निर्माण र सञ्चालन गरी सेवा दिएको देख्दा आनन्दले मभित्र उत्सव चल्दछ ।
बाल्यकालदेखि नै एकान्त, मौन प्रकृतिप्रेम आदि स्वभाव थियो ममा । कला–साहित्य पहिलो पटक प्रकट भयो ममा चित्रकलाको रूपमा । गाउँको बाल्यकाल मसँग पाटी–खरी र पछि हात्तीछाप कपी र सामान्य सिसाकमल हुन्थ्यो । पाटी–खरीबाट सुरु भएको चित्रकला कपी– कलममा पुगेर अलि फस्टायो । अन्तरचेतनाका दृश्यहरूलाई चित्रमा उतार्थें । कपी चित्रहरूले भरिन्थे तर विद्यालयमा दिएको पाठ त्यहाँ नदेखेपछि शिक्षकहरूले आफ्नोकर्तव्य पूरा गर्नुहुन्थ्यो, प्रतिफल मेरो चित्रको विचित्र यात्रा रोकियो । कहिले कालिमाटीको आकार त कहिले काठका साकार बालकृतिहरूमा रमाउँथ्यो बाल्यकाल । विद्यालयका कोठाका चार पर्खालभित्र सीमित पाठ्यक्रमका असीमित बन्धनहरूबाट उडेर प्रकृतिको खुला विद्यालयमा अक्षर साक्षात्कार गर्न मन लाग्दथ्यो । यही क्रममा विस्तारै विद्यालयका पाठ ्यक्रमका पुस्तक कम र स्वतन्त्र पुस्तक एवं प्रकृतिको अध्ययन बढी हुन थाल्यो । क्रमशः देखनीलाई लेखनीमा उतार्न थालें ।
आजसम्म तीन दर्जनभन्दा बढी साना–ठूला पुस्तक–पुस्तिका प्रकाशित छन् र प्रकाशोन्मुखले पनि लाइन बनाएकै छन् । पत्र–पत्रिकामा सयौं लेख–रचना प्रकाशित छन् । कविता, लघुकथा, ललित निबन्ध, स्वास्थ्य, शिक्षा, विज्ञान, दर्शन आदि जुन क्षेत्रमा मेरो कलम चलोस् मेरो उद्देश्य ‘स्वधर्म’ को जीवन्त शिक्षा– साधनाको विस्तार गर्नु नै हो । मेरो लेखनी साधनाको देखनीको अभिव्यक्ति हो, कवि–लेखक या साहित्यकार बन्ने इच्छा वा होडबाजी होइन । कलमबाट निस्किएको लोक अक्षरदेखि अनादिबाट निस्किएको आलोक अक्षरसम्मको यात्रा हो मेरो वाङ्मयसेवा ।
योग एवं प्राकृतिक चिकित्सा, सेवा एवं साधना र समग्रमा भन्दा स्वधर्मको मेरो यात्रामा मैले जति मान–सम्मान, अभिनन्दन, पुरस्कार, पद–प्रतिष्ठा आदि पे्रम प्रसादका रूपमा प्राप्त गरें, त्यो सौभाग्य कमै मानिसले पाउँछन् । प्रकृति श्रीपुत्र, प्रकृति शिरोमणि, धर्मसेवाशिरोमणि, प्रकृतितीर्थ, सन्त, योगशिरोमणि, वैद्यराज, वैद्यशिरोमणि पीयूषपाणि, वैद्यरत्नम्, योग विभूति, महायोगी, प्रकृति हंस, महाप्राज्ञ आदिदेखि विद्यावारिधिसम्मका मानार्थ उपाधि–सम्मान एवं सयौं पुरस्कार– अभिनन्दन मैले प्राप्त गरेको छु तर यी सबै मान–सम्मानको नशामा म लठ्ठिएको छैन । मान–सम्मानमा टाँसिएर मात्तिएको छैन । यीभन्दा धेरै पर समत्व जीवन, दिव्य विचार र स्वधर्म चेतनामा आनन्दले उत्सव मनाइरहेको छु । मलाई मान–सम्मान, जय–विजयको प्रतिस्पर्धा, महत्वाकांक्षा र अहंकारले छुन सकेको छैन, यो मेरो साधनाको पहिलो उपलब्धि हो । मैले साधनाको जीवनमा जे अनुभूति गरें या सतत् गरिरहेको छु, त्यो शब्दमा बताउन कठिनमात्र होइन असम्भव नै छ । शब्दमा आउँदा सत्य मर्दछ र त्यसको सुन्दर चिहान मात्र बाँकी रहन्छ । त्यसैमा फूल चढाएर हामी आनन्दित हुन्छौं । साधनाका क्षेत्रमा धेरै मार्ग छन्, ग्रन्थ र गुरु छन् । तिनका साथ हामी अघि बढ्न त सक्दछौं तर गन्तव्यसम्म पुग्न सक्दैनौं । अन्तमा सबैलाई छाडेर एक्लै अगाडि बढ्नै पर्छ अनादि सत्ता बोधका लागि जहाँ संगी–साथी, गुरु–चेला, मान्यता–परम्परा आदिका साथ जान सकि; यी सबै राजपथ मानेका पथहरू अघि बढ्दै जाँदा साँघुरो हुँदै जान्छन् र गोरेटोमा टुङ्किन्छन् तब पथहीन दिव्ययात्रा सुरु हुन्छ जसले अनादि सत्तामा पुर्याउँछ ।
भौतिकवादी हुन् या अध्यात्मवादी साधनाविना सर्वोच्च शिखर छुन सक्दैनन् । पूर्वका ऋषि हुन् या पश्चिमका वैज्ञानिक, अध्यात्मिक साम्यवादका सनातन युगद्रष्टा हुन् या भौतिक साम्यवादका आचार्य, साधनाविना उनीहरूको विचार स्थापित भएको छैन । जब उनीहरूका अनुयायीहरूले साधना छाड्छन्, ती विचार पतनोन्मुख भएका छन् भने कति पतन पनि भए । समाजका हरेक क्षेत्रमा काम गर्ने व्यक्तिलाई ‘स्वधर्म’ साधना चाहिन्छ । एउटा राजनेता राम्रो राजनेता बन्न चाहन्छ भने, शिक्षक राम्रो शिक्षक बन्न चाहन्छ भने, किसान राम्रो किसान बन्न चाहन्छ भने या जो जहाँ छ त्यहाँबाट माथि उठ्न चाहन्छ भने उसलाई साधना चाहिन्छ । विराट् विकास क्रान्तिबाट हुँदैन, क्रान्तिको महाक्रान्ति उत्क्रान्ति चाहिन्छ । उत्क्रान्तिमा पुग्ने राजपथ नै साधना हो । समाजलाई सुमन्नत बनाउन चाहने हो भने हरेक मानववस्तीमा स्वधर्म साधना केन्द्र स्थापना र सञ्चालन गर्नुपर्दछ । आध्यात्मिक र आस्तिक मात्र होइन भौतिकवादी र नास्तिकवादी पनि अनादि सत्ताबाट विमुख हुन सक्दैन । भौतिकवाद या नास्तिकवादका अनुसार शरीर मरेपछि अस्तित्व सकियो फेरि उनीहरू किन सालिक निर्माण र फूल–अबिर चढाउँदै नयाँ पूजाको सुरुवात गर्दछन् । पूराना मन्दिर भत्काउँछन् र नयाँ मन्दिर स्थापना गर्दछन् । पूराना देवी–देवता हटाउँछन् र नयाँ देवी–देवता स्थापना गर्दछन् । यसैले मात्तिने, पात्तिने र आत्तिने नगरी सबै मानव– मित्रहरूले ‘स्वधर्म’ साधनाद्वारा आफूभित्रको परम सम्भावनालाई साक्षात्कार गर्न विनम्रतापूर्वक मंगल प्रार्थना गर्दछु ।
शरीरयोग, विश्वयोग र अनादियोगको त्रियोग त्रिवेणी ‘स्वधर्म’ साधना नै मेरो साधना र दर्शन हो । यसैको म साधक हुँ । मेरो जीवन नै मेरो सन्देश हो । अनादि सत्ताले मद्वारा स्वधर्म साधना हरेक मानवसम्म पुर्याउन खोजेको छ । म गुरु होइन, मित्रका रूपमा सर्वमङ्कल र सर्वोदयको यो स्वधर्म साधना बोकेर आएको छु । म अनादि सत्ताको प्रसाद लिएर आएको छु । यो मेरो होइन उसैको हो र उसैका लागि काम गरिरहेको छु । तपाईंले प्रश्न सोधिरहनु भएको छ– बोल्ने क्रममा म– मैले–मेरो जस्ता शब्द आएका छन् । त्यो मेरो बाध्यता हो लोकभाषाको ।
अनुभूति मौन प्रवचन हो, मौन स्वीकृति हो, मौनभित्रको महामौन हो । त्यसलाई शब्दमा ल्याउन सकि; ल्याउँदा मूल सनातन स्वरूप क्षत– विक्षत हुन्छ । भित्र निष्कम्प हुँदा पनि बाहिर प्रकम्पित जस्तो देखिन्छ । पुनः भन्दछु म–मेरो–मेरा जस्ता यस कुराकानीमा प्रयोग भएका शब्द मेरो अहङ्गार या अभिमान होइन । शब्दसँगको सहयात्राको विवशता हो ।
मेरो मिसन सबैको सहयोग र साधनाले नै आजसम्म अगाडि बढिरहेको छ । बाल्यकालदेखि आजसम्म गनेर बताउने घनिष्ठ मित्र कोही छैनन् तर सबै प्रियमित्र छन् । बाहिर सबैसँग जोडिएको छु गृहस्थजस्तै; भित्र उसैसँग जोडिएको छु सन्यासी जस्तै । म मध्यमा छु बाहिर मानव, पशुपक्षी, वनस्पति आदि दृश्यसत्तासँग जोडिएको छु, भित्र अनादि सत्तासँग । बाल्यकालदेखि नै बूढापाकासँग बढी मित्रता हुन्थ्यो । युवा अवस्थामा पनि समवयका मित्र भएनन् । युवामित्रहरू सुरा, सुन्दरी र सम्पत्तिमा रस लिन्थे । मलाई यी विषयमा रुचि थिएन । सायद म जन्मिँदै बूढो जन्मिएको थिएँ । आमाको पेटमै चौरासीको पूजा र उत्सव भइसकेको थियो । रथारोहण मातृ शरीरमा भइसकेको थियो ।
बाहिर हुल र कोलाहलमा हुन्छु र पनि भित्र निष्कम्प एक्लै आफूसँग आफ्नोअँगालोमा हुन्छु । शिवको अर्धनारीàरको अभिव्यक्ति जस्तै । जगत्मा नाचिरहेको छु शिवको नटराजजस्तै, मलाई बोध छ– यो नृत्य पनि उसैको, मञ्च पनि उसैको । जीवन र मृत्युको साक्षी बनेर कण्ठमा विषधारण गरेको छु शिवको नीलकण्ठजस्तै । मलाई बोध छ– विषले नै अमृतको ढोका खोल्दछ । यसैले शिवका विराट् अभिव्यक्तिहरूले मलाई बोलाउँछन् र आफ्नोकाखमा जगाउँछन् ।
कैयन् बेहोश बूढा–पाका, साधना विहिन साधु–सन्यासी, धर्म– संस्कृतिका ठेकेदार, जातिविशेषका पोषक यस्तै यस्तैले कहिलेकहिँ मन नपराएजस्तो अभिव्यक्ति र आकृति देखाउनुहुन्छ । छुवाछुत, कर्मकाण्ड, बलिप्रथा, जाँडरक्सी एवं गाँजा–भाङसँग जोडिएको संस्कृति, नारीशोषणका संस्कृति आदि थुप्रै विकृत मनःस्थितिले जन्माएका, धर्म–संस्कृतिका नाममा समाजमा स्थापना गरेका अधार्मिक र असांस्कृतिक जीवनशैलीको परिवर्तनको शंखघोष गर्दै हिँड्ने हुनाले कैयनले त खुलेरै विरोध पनि गर्नुहुन्छ तर मैले त केवल उहाँहरूको मङ्कलकामना गर्दछु । प्रकृति–पर्यावरण, धर्म–संस्कृति, ज्ञान–विज्ञान आदिलाई प्रदूषित बनाएर अन्धो स्वार्थमा बाँचेकाहरूले मलाई मन पराउँदैनन् । मेरो यात्रा उनीहरूको विश्वविनाशक व्यापारमा घातक देखिन्छ र आत्तिन्छन्, मात्तिन्छन्, तात्तिन्छन् ।
आज ठूलो जमात ‘स्वधर्म’ साधनाको महायज्ञमा सहकार्य गरिरहेको छ । त्यसले भोलि योग युगको अवश्य आगमन हुनेछ । चैतन्य मानवले विश्व भरिने छ । विश्वमा फेरि सत्–चित्–आनन्दको गङ्का बग्नेछ । सत्यम्– शिवम्–सुन्दरम्रूपी त्रिदेवको सर्वत्र पूजा–साधना हुनेछ । अनादि बोधद्वारा मन्त्रद्रष्टा ऋषिहरूले पुनः वेद देख्नेछन् । सम्पूर्ण परलोकहरू स्वलोकमा जम्मा भएर अमृत उत्सव मनाउनेछन् ।