प्राञ्जल पथ



लालपुर्जाले भनिरहेछ
उर्वर जमिनलाई
‘तिमीलाई अमूल्य बनाउने म हुँ ’ ।


समुद्रमा डुब्दै चिच्च्याइरहेछ ऊ–
‘सावधान पानी !
बुझिनस् तैँले
मेरो योग्यता र विशालता
म पौडीमा विद्यावारिधि’ ।


उसले कलात्मक मन्दिर बनायो
प्राणहीन ढुङ्गाबाट,
प्राणवान् मूर्ति निकाल्यो
मूर्तिभित्र प्रवेश गर्‍यो
र उसलाई बाहिर निकालिदियो ।


भित्रका स्त्री—पुरुष
आलिङ्गनमा
अद्र्धनारीश्वर भएका बेला
मैलै चरम चेतनामा
लगनको तिथि भुलेँ ।


ऊ ठूलो संन्यासी हो
नपत्याए सोध–
झल्लरी छाता, चमर र गाडीलाई ।


अजम्मरी ठेकेदारको
हृदय पहिले नै बन्द थियो
आज मुटु पनि बन्द भएछ ।


तुलसीमठमा सुतेको उसले
सेफको साँचो
मुट्ठीमा कसेको छ
कसैले लैजाला भनेर ।


ऊ टाउकाको मुकुट
ऐनामा हेरेर दङ्ग छ
खुट्टाको नेल नदेखेर ।


चौराहा कुरिरहेछ
सुनको थाल बोकेर
भीखको लागि भिखारी ।

१०
अन्नको रक्सी पिएर
मातेको ऊ
भुकमरीले थलिएकाको
पेटमा लात हानेर भन्दै छ–
यसले धेरै पिएछ ।

११
अजिङ्गरले मुख बाएझैँ
महाविनाश गरेर
नामी भयो
सुनामी ।

१२
आफूलाई चिनेर नाचिरहेछ
महाउत्सवमा
नटराजका साथ ।

१३
सडकका किनारमा
निर्लज्ज दिसा बसेको मान्छे
बिरालोले दिसा पुरेको देखेर
रिसाइरहेछ ।

१४
प्रवचन सुन्दै
सुगा हाँसिरहेछ
प्रवचकको उचाइ
आफूभन्दा माथि नउठेको देखेर ।

१५
उसले सूर्यको ताप पिएर
तिर्खा मेटेको देखेर
पानी श्रद्धाले झुक्यो ।

१६
राक्षसका सन्ततिले
मन्दिरलाई वधशाला बनाएर
पुर्खाको धर्म निर्वाह गरिरहेछन् ।

१७
मौनको प्रवचन सुनेर
शब्दहरू
निःशब्द भागे ।

१८
हिमाल र समुद्रको
प्रेमपथ नदी
बर्सातको रङ्गमञ्चमा
उत्सव मनाइरहेछ ।

१९
मानिसको हत्या भयो
किस्ताबन्दीमा
कहिले हतियार बदलियो
कहिले हत्यारा बदलियो ।

२०
धूम्रपान विरुद्धको विश्वसम्मेलन
घोषणापत्रमा हस्ताक्षर गरेर
ऊ झट्पट् बाहिर निस्कियो
चुरोटको पसल खोज्न ।

२१
उसलाई खरानीको के दुःख
आफ्नै हातले
आफ्नै घर जलाएको छ उसले ।

२२
मुसाहरू सोचिरहेछन्
घरको कुन पाखोतिर जाऊँ
आमाको गर्भ चिर्ने भाइहरूले
मलाई के वाकी राख्लान् !

२३
चार–धाम टाढा छ
नजिक चार भोकाहरूको
खाली पेटको पूजा गरौँ ।

२४
घरमा आगो लागेपछि
इनार खन्न थालेको छ
पानी ढिलो निस्किएकोमा
आगो र पानीलाई गाली गरेको छ ।

२५
दुःखमा परेकाको आँसु पुछ्यो
आज थाहा पायो
उसका ओठहरूमा
परमात्मा हाँसिरहेका छन् ।

२६
देश टुक्रिँदा तिमीलाई दुख्छ
घर टुक्रिँदा किन दुख्दैन
घर–घर मिलेर त देश बनेको छ ।

२७
पल–पल आफूलाई बचाएको
पीपल एक पलमा काटेर
पलभरको खर्च जुटाई
उसले मानवलाई नै
कलङ्कित गरेको छ ।

२८
आफैँभित्र हल्लाखोर लिएर
ऊ शान्ति र मौन खोज्न
विश्वभ्रमणमा निस्किएको छ ।

२९
झ्यालढोका बन्द गर्दैमा
सूर्य निभ्दैन
केवल
अन्धकार घरमा प्रवेश गर्दछ ।

३०
मस्तिष्कमा पासो लगाएर
आफ्नै हृदयमा मरेको छ ऊ
चैतन्यको वटवृक्षबाट
सुकेको पातझैँ झरेको छ ।

३१
खानबाट निकालेर
दान गर्‍यो
त्यसैले त दिव्य छ
उसको खानदान ।

३२
जीवनभर कमायो
कात्रोमा लपेटेर लग्यो
मलामीले जलाउँदा पनि जलेन
उसको सत्कर्म ।

३३
ज्ञान अगणित छ
गणितको कारागारमा कैद
आज त्यसैको निदालमा
पासो लगाएर मरेछ ।

३४
मृत्यु सुत्दैन
सुत्नेहरूलाई लैजान
जाग्नेहरू उसका मित्र हुन्
मित्रको केवल शरीर लैजान्छ ।

३५
उसले आज जान्यो–
छातीमा भाला रोप्नेभन्दा
पीठमा सियो घोप्ने
खतरनाक हुन्छ ।

३६
सबै कार बेकार लागे
विश्वप्रसिद्ध कारको खोज
पूर्णताले आनन्द बर्सियो
मिल्यो दिव्य कार परोपकार ।

३७
असफलताको महानगरमा
पीडाले छटपटाएको छ
ईर्ष्याको मूल ढोकाबाट पसेर ।

३८
मान्छे जोडिन्छ कि प्रेमले
कोही डराइरहेछ
भेद–भेदको चक्रव्यूहमा
मान्छे हराइरहेछ ।

३९
भित्रको हीरा बेचेर
पैसा कमायो
पुग्यो जौहरीकहाँ हीरा किन्न
किनेको हिराको चमकमा
अन्धकार बर्सिरहेछ ।

४०
फलामे पिँजडामा
आत्तिएको ऊ
सुनको पिँजडामा
मात्तिएको छ ।

४१
उसले रूख काट्यो
बन्चरो फ्याँकेर
छाती समात्यो ।

४२
पल्लो गाउँमा
कोही झुन्डियो भन्ने सुनेर
यहाँ ऊ
डोरी खोजिरहेछ ।

४३
वर्ष दिनको स्वतन्त्रता
देवीहरू दङ्ग परेर नाचेका छन्
सुनका हतकडी र नेल लगाएर ।

४४
ऊ दुःखी छ
पाँच वर्षअघि रोपेको
सुन्तलाको बोटमा
आज स्याउ नफलेर ।

४५
ऊ मौन छ
आकाश खस्छ भनेर
सुरक्षाका लागि
छाता ओड्नेहरूको
सम्मान–उत्सवमा ।

४६
धनसम्पत्तिको
मूल्यहीनताको कथा सुनाएर
कथाले लट्ठ भीडले छाडेको
धनसम्पत्ति पोको पारेर
ऊ सुइँकुच्चा ठोक्यो ।

४७
उसका टाउका भरिका टुटुल्का
निहुरिन नजानेर
जुरुक्क उठेका हुन् ।

४८
उसले ढोका खोल्दा देख्यो
न्याय–कानुनको डोरीले
अदालतको निदालमा
पासो लगाएर मरेछ ।

४९
कमलले भनिरहेछ
तिमीले पनि हिलोबाट
सुगन्ध र सुन्दरता
उपलब्ध गर्न सक्दछौ ।

५०
आफूँभित्रको ठूलो नदेखेर
ठूलोको छहारी खोज्दै हिँड्दा
ओस लागेर मरेछ ।

५१
आफ्नै कोर्राले
आफ्नै पीठ पिटेर
आफैसँग डराई
ऊ भागिरहेछ ।

५२
चराले काफल पाकेको
वल्लोपल्लो गाउँमा
हल्ला फिँजायो
उसले आफ्ना बच्चालाई पनि भनेन ।

५३
मानिसको कुरा गर्दा
मुटु मेरो दुख्छ
निको पार्ने घमन्डमा
धामी आई फुक्छ ।

५४
डलरले छोडेपछि
सेवाशिखर त्यो संस्थाको
सोफामा लुकेका
उडुसहरू पनि भागेछन् ।

५५
उपवासविना उपनाम जोड्यो
ज्ञानी थियो
आज महाज्ञानी भएछ ।

५६
आफ्नै पिँढीमा
हुक्कारी हालिरहन्छ
डराउँदैन कसैसँग
साँढेहरूको महासॉढे
पिढीसाँढे ।

५७
भित्रको कुरूपता
ढाक्न नसकेर
विश्वसम्मेलन भइरहेछ
शौन्दर्य–विशेषज्ञहरूको ।

५८
फूलले सोधिरहेछ मान्छेलाई
तिमी कहिले फुल्दछौ ?
म त हरेक वर्ष फुल्दछु ।

५९
वर्षौ अस्पताल धाएपछि
बाटोको भित्तामा लेखेको देख्यो
निरोग एवं बल
जल–फल–चल ।

६०
नीदले छाडेर गएपछि
रातको आयु लम्मियो
उसको आयु घट्यो ।

६१
पानी मौन छ
डुब्दै जाँदा पनि
पौडने कोसिस नगरेको
मान्छेको हुल देखेर ।

६२
उसको कानमा गुन्जियो
अगि बढ, अगि बढ, बढीरहू
तिमी रोकियौ भने
मलामी बढ्नेछन् ।

६३
थाकेर सुस्केरा काढेको छ ऊ
एक घर बनाउँदा,
तिमी थाक्दैनौ
हजारौं घर जलाउँदा ।

६४
छहारीमा मुस्कुराएको ऊ
थकाइ मेटिएपछि
जरा काटेर हिँड्यो
पशुहरू प्रार्थना गरिरहेछन्
मान्छेको सर्वमङ्गलका लागि ।

६५
मान्छे दौडिरहेछ
अन्धकार टाउकोमा बोकेर
प्रकाश खोज्न
आफूभित्रको प्रकाश नदेखेर ।

६६
विभेदका झारहरू उखेलेर
समताको बीज रोप्यो
उसको अनुहारमा
विराट् सौन्दर्य फुलेको छ ।

६७
मणि रमणी हो
पाएर नमात्तिऔँ
नपाएर नआत्तिऔँ
घुम्दै आउँछ
घुम्दै जान्छ ।

६८
असाध्य रोग भनेर
चिकित्साविज्ञानले घुँडा टेक्यो
ऊ चैतन्यबोधले उठ्यो
विनम्रताले झुकेर
वासनालाई बिदा गर्‍यो ।

६९
दया गयो
जीवन हारी हारी
ऊ मांसाहारी ।

७०
ऊ जीवनभर हार्‍यो
थाकेर घुँडा टेक्यो
सदाचार दिव्यास्त्र प्रकट भयो
विश्वविजयको उत्सव चलिरहेछ ।

७१
पेट भर्नु नै जीवन भए
सडकका कुकुरहरू
सबैभन्दा बढी
जीवन्त छन् ।

७२
“त्यागको लागि सङ्ग्रह”
यो घर्मसूत्र सुनेर
उसले सङ्ग्रह सुरु गर्‍यो
सङ्ग्रहले
त्यागलाई पनि सङ्ग्रह गर्‍यो ।

७३
कलात्मक पानसको पूजा
तेल फ्यॉकेर गरिँदैछ
अन्धकारको उत्सवमा ।

७४
पारि पुगेर पुल भत्कायो
झल्यॉस्स फर्किने मिति सम्झेर
टाउको ठोकिरहेछ ।

७५
खोक्रो पेट बोकेर
प्रतीक्षा गरिरहेछ दानपात्र
भरी पेटको ।

७६
प्रवचन गरेर नथाक्ने ऊ
मौन प्रवेशपछि थाहा पायो
दिव्य प्रवचनको महाउत्सव ।

७७
आँखा बन्द गरेर हेरेपछि
उसले थाहा पायो देख्नुको आनन्द ।

७८
संसार चिनेर झोक्राएको
आज आफूलाई चिनेर
अन्तरउत्सवमा
नाचिरहेछ नटराजका साथ ।

७९
मञ्चासीन उसले
विनाघामपानी
झल्लरी छाता ओडेर
गरिबी प्रदर्शन गरिरहेछ ।

८०
जिन्दगीभर घुनजस्तै पिसिएर
उसले सुन कमायो
सुन हाँसिरहेछ उसलाई देखेर ।

८१
फलामको खियाले
फलामलाई,
नामेट खाइदियो ।

८२
मानिस मारेर
कतै जेल र फाँसी
कतै भिक्टोरिया क्रस र हाँसी
अचेतन उत्सवमा ।

८३
मैले सप्ताह लगाएँ
निम्तो गर्न पाइनँ
बाढीले बगेको गाउँमा ।

८४
ऊ हाँसेको थियो
आफ्ना दुःखका बीचमा
आज रोएको छ
अरूको सुखमा ।

८५
सदाचारको रकेट चढेर
शोभनीय मृत्युयात्रामा
सद्गति गरिरहेछ ।

८६
ऊ आनन्दले नाचेको छ
अनित्य जीवनमा
नित्यलाई भेटेर ।

८७
मृत्युसँग मीत लगाएर
ऊ अमर भयो ।

८८
सुख खोज्दा थाकेको ऊ
सूत्र आज मिल्यो
प्रियबोल नत्र नबोल ।

८९
इच्छा, ज्ञान र क्रियाको
त्रिबाटोबाट
सिद्धिको नगरीमा पुग्यो
सदाचारले नगर घुम्दै
आज दिव्य दरबारमा छ ।

९०
गँजडी– भङ्गीहरू
शिवको मन्दिर पछाडि लुकेर
शिवलाई भत्काइरहेछन् ।

९१
आनन्द खोज्न
विश्वभ्रमण गर्‍यो
नभेटेर आनन्द
थाकेर लम्पसार निदायो
उठ्दा थाहा पायो
आनन्द त आफैँभित्र रहेछ ।

९२
सनातन धर्मको
प्राण चुसेर
जातीय विभेदक ऊ
डकारिरहेछ ।

९३
हिमवत्खण्डको जीवन्त
धर्म, कर्म र मर्म बचाउन
ऊ मेटाउँदै छ
छुवा–छुतको महारोग ।

९४
मान्छेले
आफू , प्रकृति र परमात्मा
कुरूप गराउन लागेको देखेर
लाजले शिर निहुराएका छन्
घर पालुवा पशुहरूले ।

९५
प्लास्टिकका फूलले
झकिझकाउ स्वप्नबगैँचामा
मानिस रमाएको देखेर
गुलाफले विवाह गरेन ।

९६
ऊ धरतीको डसनामा
आकाशको सिरक ओढेर
मस्त निदाएको देखेर
जाडो सुइँकुच्चा ठोक्यो ।

९७
अमूल्य मानिस
मूल्यमा बिकिरहेछ
चैतन्यलाई धितो राखेर
घर खरिद गरिरहेछ ।

९८
आफ्नो मस्तिष्कमा
मनको पासो लगाएर
हृदयमा मर्नेहरू देखेर
ऊ जागेको छ ।

९९
आफूभित्रको हूलमा
बाटो भुलेर
रन्थनिएको उसले
एकान्तमा पुगेर
मूलघरको बाटो भेट्टायो ।

१००
कण्ठस्थ गीता सुनाएर
जयजयकारमा दङ्ग ऊ
आज कृष्ण गुमाएर
पीडामा छटपटाएको छ ।

१०१
ऊ थलिएको थियो
छुवाछुतको महारोगले
प्रेमले अँगालो मारेर
अमर भयो ।

१०२
ऊ रुन सक्दछ
त्यसैले त
कसैले रुवाउन सक्दैन ।

१०३
ऊ हार–जितमा भुल्दैन
त्यसैले त
गन्तव्य टाढा छैन ।

१०४
सडकनिर्माणको बोर्डमा
रोकी हेरी जानुहोस्
साधनासूत्र देखेर
ऊ समाधीस्थ भयो ।

१०५
घोर अन्धकारमा
एक जूनकिरी देख्दा
उत्सव मनाउनेलाई
सूर्यले अभिनन्दन गरिरहेछ ।

१०६
रूखले मानिसलाई
पूजा गरिरहेछ–
फल, फूल, अन्नादिले
कृतघ्नता मानिसको
हातमा आरा र बन्चरो छ ।

१०७
चाला बिगारेर
माला गनिरहेछ
चुँडेको माला लगाई
धर्म मानिरहेछ ।

१०८
महाकुम्भमा
बेहोसीको कुम्भ फुट्यो
होसको गङ्गास्नान
परमात्मा हृदयमा ओर्लियो ।