जडिबूटी चिकित्सा


अदुवा

नेपाली नाम : अदुवा, सुठो (प्रशोधित/सुकाएको)
संस्कृत नाम : आर्दकम् , श्रृङ्गबेरम् , आर्द्रशाक, आर्दृका, कटुभद्र
अंग्रेजी नाम : Zinger
वैज्ञानिक नाम : Zingiber officinale (Willd/Roscoe)(जिन्जिवर अफिसनाली)
वानस्पतिक परिवार : Zingiberaceae (जिन्जिबरेसी)
अन्य भाषाका नाम : अढव (गुरुङ्ग), सिमर (चेपाङ्ग), किङ्ग्रा (तामाङ्ग) , पालु (नेवारी), छेवोक (मगर), पाहाराम (राई), अदरख (हिन्दी), आदु (गुजराती), आलें (मराठी), आदा (बंगाली), अदरख (पञ्जावी), जजबील रतब (फारसी)

परिचय :
सुगन्धित, स्वादिष्ट र स्वस्थकर मसलाका साथै औषधिका रुपमा प्राचीनकालदेखि प्रयोग हुँदै आएको अदुवा सर्वपरिचित छ । अदुवा जमिन मुनि कन्दको रुपमा फैलिन्छ । कन्दबाट करिब १ मिटरसम्म अग्लो बोट हुन्छ । पात १५ देखि ४५ से.मि. लामो र ५ देखि १० से.मि. चौडा टुप्पा भएको हुन्छ । फूल हल्का हरियो प्याजी रङ्गको ३० देखि ४० से.मि. लामो मजुराको रुपमा फुल्दछ । कन्द बाङ्गो टिङ्गो हेर्दा अत्यन्त आकर्षक, सुगन्धित र हल्का पहेँलो रङ्गको हुन्छ । नेपालका नशे र बोसे गरी दुई प्रकारका अदुवा पाइन्छ ।

प्रयोग अङ्ग :
कन्द (जमिनमुनिको गानो)

औषधीय प्रयोग :
रुघा–खाकी, पिनास, चिसोको आघात, दम जस्ता कफ प्रधान रोगका साथै अपच, अजीर्ण, अरुचि, अम्लपित, बायुगोला, पेटको सूल, कब्ज आदि पेटका विविध रोगमा फाइदा गर्दछ ।

नोट : उष्ण प्रकुति भएका मानिस, ग्रीष्म ऋतु र शरद ऋतु साथै कुष्ठ, रक्ताल्पता, मूत्रकृच्छ, रक्तपिन, ज्वरो, दाह आदिमा अदुवाको हानिकारक प्रभाव देखाउँछ ।

मात्रा :
स्वरस (ताजा झोल) ५ देखि १० मि.लि.
चूर्ण (सुकेको धूलो) २ देखि ३ ग्राम (दिनमा २ देखि ३ पटक)

तयारी औषधि :
त्रिकटु, सौभाग्य शुण्ठी, आद्र्रकखण्ड

खेती :
अदुवा कन्द (जरा) बाट फैलाइन्छ । २५–३० ग्राम जतिका कम्तिमा २–३ मुना भएका टुक्रा लाइनै रोप्नु पर्दछ । एक हेक्टर जग्गामा रोप्न, १०००–१३०० किलो अदुवा चाहिन्छ । यो मल धेरै चाहिने बिरुवा हो । राम्रो बाली लिनका लागि प्रतिहेक्टर करिब १७–२० टन कम्पोष्ट मल वा सुख्खा गोबरमल राख्नु पर्दछ । रोपेपछि रुखका पात वा स्यालाले जमिन ढाकिदिनु अर्थात् छापो हाल्नु राम्रो हुन्छ । यसले ओशिलो बनाई उम्रिन मद्दत गर्दछ भने मलको काम पनि गर्दछ । एकदेखि अर्को बोटको दुरी २०–२२ से.मि. हुनुपर्दछ ।

रस : कटु
गुण : तीक्ष्ण, गुरु, रुक्ष
वीर्य : उष्ण
विपाक : कटु
दोषकर्म : कफवातशामक

अमला

नेपाली नाम : अमला
संस्कृत नाम : अमलाको, पञ्चरस, शिवा, धातकी, अमृत, वयस्था, अमृतफला, श्रीफल
अंग्रेजी नाम : Gooseberry/Emblica myrobalans
वैज्ञानिक नाम : Phyllanthus emblica L. (फाइल्यान्थस इम्ब्लिका)
वानस्पतिक परिवार : Euphorbiaceae (यूफर्वियसी)
अन्य भाषाका नाम : क्यू/टोगी (गुरुङ्ग), अम्बले/हरिम्मल(तामाङ्ग), एबन्ला(थारु), कोरोससी (खालिङ्ग) , आम्बो(नेवारी), ग्वारवेथ(मगर), मेरल(सतार), आग्रा(लिम्बु), जुर्से(राई), क्यू रु रा(तिब्बती), आ“वला (हिन्दी), आँवला (गुजराती) , आम्लझम् (फारसी) अम्लम् (अरबी) ।

परिचय :
अमला हिउँदमा पात झर्ने १४ देखि १६ मिटरसम्म अग्लो हुने मझौला खाले पतझड रुख हो । पात १ देखि १.५ से.मि. लामो र ०.२ देखि ०.३ से.मि. चौडा लामो डाँठमा दुवैतर्फ पंक्तिबद्ध रहेका हुन्छन् । फूल वैशाखदेखि असारसम्म फुल्दछ । फल माघ–फागुनसम्ममा पुष्ट भएर पाक्दछ । फल काँचोमा हरियो र पाकेपछि हल्का पहेँलो रङ्गको अमिलो स्वादको हुन्छ । एउटा फलमा ६–७ वटा बीउ हुन्छन् ।

प्रयोग अङ्ग :
फल (औषधि निर्माणमा)

औषधीय प्रयोग :
स्वस्थकर दीर्घजीवनका लागि अमला श्रेष्ठ फलमात्र नभई वृद्धत्वनाशक रसायन नै हो । यो भिटामिन ‘सी’ को सर्वोत्तम स्रोत हो । अम्लपित्त, रक्तपित्त, कमलपित्तजस्ता रोगमा चमत्कारिक काम गर्दछ । पाचन, अवशोषण र मल निष्कासनजस्ता पेटका मुख्य कार्यलाई प्राकृतिक रुपमा नियमितता दिन्छ । अपच–अजीर्णबाट भएको पखालामा अमलाको फलको सर्वत दिनाले तत्काल फाइदा पुर्‍याउँछ । अमलाको नियमित प्रयोगले आँखाको ज्योति बढ्छ , वीर्य गाढा र गतिशील हुन्छ , आयु बढ्छ ।
२० ग्राम सुकेको अमला र २० ग्राम गुड ३०० ग्राम पानीमा पकाउने । १०० ग्राम बाँकी भएपछि मिचेर छानी पिउने । यसले जोर्नी दुख्ने, सुनिन्ने एवं विविध प्रकारका बाथ रोगमा फाइदा पुर्‍याउँछ । यो औषधि खाँदा नून छाडिदिनु पर्दछ । अमलाको २०–२५ मि.लि. ताजा रसमा अलैंचीको चूर्ण (धूलो) छर्केर पिउनाले पिसाब पोल्ने रोगमा फाइदा गर्दछ ।

मात्रा :
स्वरस (फलको ताजा रस) १५–२० मि.लि.
सुकेको फलको धूलो ४–६ ग्राम
ताजा अमला (प्रतिदिन) २–३ दाना

तयारी औषधि :
धात्री रसायन, धात्री लौह, आमलकी चूर्ण , च्यवनप्राश, आमलको रसायन, आमलक घृत, महातिक्त घृत, बृहद्धात्री घृत ।

खेती :
बीउको लागि ६ केस्रा भएको पुष्ट फल कार्तिकदेखि सङ्कलन गरिन्छ। बीउ नर्सरीमा जमाएर वा हाँगाहरुलाई कलमी बनाएर बिरुवा तैयार गरी वर्षायाममा ८–१० हातको फरकमा लगाइन्छ । एक किलोमा ३४०००–८८००० बीउहरु हुन्छन् , बीउको उम्रने क्षमता ८–१२ महिनासम्म रहन्छ। फागुन–चैत्र महिनामा बीउ व्याड (नर्सरी) मा जमाउनु पर्दछ । बीउ रोप्नु अघि २०–२२ घण्टा पानीमा भिजाएर रोप्दा राम्रो उम्रिन्छ। हाँगाको कलमी माघ–फागुनमा राखिन्छ ।

रस : अम्ल, मधुर, कषाय, तिक्त, कटु
गुण : गुरु, रुक्ष, शीत
वीर्य : शीत
विपाक : मधुर
दोषकर्म : त्रिदोषशामक

अलैंची

नेपाली नाम : अलैंची
संस्कृत नाम : एला, स्थूलैला, कान्ता, दिव्यगन्धा, इन्द्राणी
अंग्रेजी नाम : Elaichi/Greater cardamom/Nepali cardmom
वैज्ञानिक नाम : Amomum subulatum Roxb. (एमोमम सुबुल्याटम)
वानस्पतिक परिवार : Zingiberaceae (जिन्जीबरेसी)
अन्य भाषाका नाम : स्यु–स्यामे ला (तिब्बती) , इला (नेवारी), बडी इलायची (हिन्दी), थोरवेला/वैलदोडे (मराठी), मोटी एलची (गुजराती), हलेकलां (फारसी), कामलेकिवार (अरबी)

परिचय :
अलैंची १.५ देखि २ मिटरसम्म अग्लो हुने झाडिदार बहुवर्षीय वनस्पति हो । विश्वमा यसका १६ प्रजातिहरु पाइन्छ। एउटा झाङ्गमा २० देखि ६०–७० वटासम्म हाँगा नभएका ३ देखि ५ वटासम्म पात भएका लाक्राहरु हुन्छन् । फूल फिक्का पहेँला ५ देखि ७ से.मि. लामो गुच्छामा ढकमक्क फुलेको हुन्छ । प्रत्येक फूलमा १० देखि १५ वटासम्म फल लाग्दछ । फल तीनकोठे हुन्छन् । जसमा साना, काला र सुगन्धित बीउहरु हुन्छन् । जात र हावापानी अनुसार फुल चैत्र–वैशाखमा फुल्दछ भने फल साउन–भदौमा फल्दछ ।

प्रयोग अङ्ग :
फल (जसलाई अलैंची भनिन्छ)

औषधीय प्रयोग :
मुखरोग, वमन (उल्टी), तीर्खा, रुघा–खोकी, फोक्सोको क्षयरोगमा फाइदा पुर्‍याउँछ । अरुचि, अपच, अजीर्णका साथै पेट दुखेकोमा फाइदा पुर्‍याउँछ । यो रक्तपित्तनाशक, वमन निवारक, पत्थरिलाई हटाउने, वातनाशक र अग्निदीपक गुणयुक्त छ ।
यसको बीज र खरबुजाको बीज मिलाएर दैनिक खानाको मृगौलाको पत्थरिलाई घुलाएर निकाल्दछ ।
यसको बीजको काँढा पकाएर कुल्ला गर्नाले गिंजा र दाँतको रोग नाश हुनुकासाथै सम्पूर्ण मुखरोगमा फाइदा पुग्दछ । सौंफ र यसको बीज मिलाएर खानाले पाचनशक्ति बलवान हुन्छ । मिश्री र यसको बीज मिलाएर खानाले अमाशयमा शितलता पैदा हुन्छ । स्नायूशूलमा पनि यो प्रभावकारी औषधि मानिएको छ । यसमा निद्राकारक र मनलाई प्रसन्न गर्ने गुण पनि भएकाले मानसिक स्वास्थ्य समस्यामा पनि लाभदायक छ ।

मात्रा :
बीजको चूर्ण २–४ ग्राम
लेप आवश्यकता अनुसार

तयारी औषधि :
लवणभास्कर चूर्ण, रक्तलवङ्गादि चूर्ण, ज्येष्ठलवङ्गादि चूर्ण

खेती :
अलैंची खेती गर्ने दुई तरिका छन् एक बीउद्धारा र अर्को पुरानो झाङ्ग फोरेर । निरोगी पुरानो झाङ्गमने अलैंचीलाई पूरा पाक्न दिई झुप्पासँगै काट्ने र २–३ दिन गुम्स्याउने । ठूला र पुष्ट फलहरुलाई छानेर बीउ निकाल्ने र सफा गर्ने । सफा बीउलाई छहारीमा सुकाउने र सुकेपछि खरानी वा गालेको धूलोमा मलेर सुख्खा भाँडामा राख्ने । १५ दिनभित्र बीउ रोप्नु पर्दछ । झाङ्ग फोरेर बिरुवा सार्ने हो भने असारदेखि मध्य साउनसम्म सार्नु पर्दछ । यसको खेतीलाई छहारी राम्रो हुन्छ ।

रस : कटु , तिक्त
गुण : लघु , रुक्ष
वीर्य : उष्ण
विपाक : कटु
दोषकर्म : कफवातशामक

असुरो

नेपाली नाम : असुरो
संस्कृत नाम : वासक, अटरुपक
अंग्रेजी नाम : Malabur nut
वैज्ञानिक नाम : Justicia adhatoda L. (जस्टिसिया एधाटोडा)
वानस्पतिक परिवार : Acanthaceae (एकान्थेसी)
अन्य भाषाका नाम : आसुरी (गुरुङ्ग), भसक (तामाङ्ग), असुर/रुस (थारु), असुरो (दराई), आलेहमा (नेवारी), वासिङ्ग (राउटे), रिवा (सुनुवार), वा–साका (तिब्बती), अडूसा (मराठी), वसाका (बंगाली), अडूसा (गुजराती) ।

परिचय :
असुरो कडा गन्धयुक्त १ देखि ३.५ मिटरसम्म अग्लो हुने झाडीदार वनस्पति हो । पात २० से.मि. सम्म लामा विपरीत भेट्नो भएका हुन्छन् । स–साना रातो थोप्ला भएका सेता फूल फुल्दछन् । फूल पुसदेखि चैत्रसम्म फुल्दछ भने फल फागुनदेखि जेठसम्म फल्दछ ।

प्रयोग अङ्ग :
फूल र पात

औषधीय प्रयोग :
रुघा, खोकी, दम, ब्रोङ्काइटिस, फोक्सोका विविध रोग एवं असक्षमतामा लाभ पुर्‍याउँछ । रक्तपित्त (नाक, मुखबाट रगत आउने) रोगमा लाभ पुर्‍याउँछ । जोर्नी दुख्ने, सुनिन्ने एवं अन्य वाथरोग र विविध ज्वरोमा लाभ पुर्‍याउँछ । असुरोको पातको रस ३ चम्चा, मह २ चम्चा र अदुवाको रस आधा चम्चा मिलाएर पिउन दिनाले या ताजा पातको (पञ्चाङ्ग भएमा अझ राम्रो) काँढामा मरिच ३ ग्राम, पिपला ३ ग्राम मसिनो चूर्णका रुपमा मिलाई पिउनाले पुरानो खाकी, दम र क्षयरोगमा अत्यन्त फाइदा गर्दछ । यो श्रेष्ठ कफनिस्सारक वनस्पति हो । यसको पातको ताजा रस ४ चम्चा १ गिलास पानीमा घोलेर पिउनाले रगतमासीमा फाइदा पुर्‍याउँछ । फोक्सो र मुटुको उत्तम पोषक मानिने यो असुरो एक्लैले कफ वृद्धिले देखिने अनेक रोग एवं अस्वस्थतालाई समूल नष्ट गर्न सक्दछ ।

मात्रा :
स्वरस (ताजा झोल) १५–२० मि.लि.
क्वाथ (काँढा) २०–५० मि.लि.

तयारी औषधि :
जेष्ठबासादि चूर्ण, वासावलेह, वासापानक, वासासव, वासकारिष्ट, वासाक्वाथ, वासा अर्क ।

खेती :
असुरो वर्षैभरि रोप्न सकिन्छ । बीउ र जरैसँग उखेलेका एकल बोटहरुबाट सार्न सकिन्छ । ८–१० से.मि. लामा कडा र मध्यम खाले डाँठको काटेका टुक्रालाई वैशाखदेखि असार महिनासम्म व्याड (नर्सरी) मा प्लाष्टिकका थैलामा उमारेर या सोझै जमिनमा रोप्न पनि सकिन्छ । यस्ता टुक्रामा एक डेढ महिनामा जरा उम्रिन्छ । नेपालमा यसको व्यावसायिक खेती त भएकै छैन । भएका बोट पनि औषधि बजारसम्म पुर्‍याउँन सकिएको छैन । पशुले नखाने हुनाले बार–बन्देजमा प्रयोग गरिन्छ भने खेतको धान व्याडमा पनि प्रयोग गरिन्छ ।

रस : तिक्त, कषाय
गुण : लघु, रुक्ष
वीर्य : शीत
विपाक : कटु
दोषकर्म : कफपित्तशामक

कुरिलो

नेपाली नाम : कुरिलो
संस्कृत नाम : शतमूली, शतावरी, अतिरसा
अंग्रेजी नाम : Asparagus
वैज्ञानिक नाम : Asparagus racemosus willd. (एथारागस रेसीमोसस)
वानस्पतिक परिवार : Liliaceae (लिलिएसी)
अन्य भाषाका नाम : पुजुतोरो (गुरुङ्ग), गैदुङ्ग (चेपाङ्ग), कोबी (तामाङ्ग), शतावर (थारु), कुरिल (नेवारी), वोङ्गुालिम (राई), ताकोलक्रिम (लेप्चा), कोपी (शेर्पा), च्याव्रा (सुनुवार) ।

परिचय :
कुरिलो काँडादार, थुप्रै हाँगा–बिङ्गा र मसिना पातले झाडीदार देखिने सदावहार वनस्पति हो । जराहरु औंलाजस्तै झुप्पामा रहेका हुन्छन् । करिब ५ देखि १५ से.मि. लामा र ०.५ देखि २.५ से.मि. मोटा, दुवै छेउ मसिनो र बीचमा मोटो, बाहिरी बोक्राको रङ्ग फुस्रो पहेँलो र भित्री रङ्ग सेतो हुन्छ । फूल जेठ–असारमा फुल्दछ र फल असोज–कार्तिकमा फल्दछ ।

प्रयोग अङ्ग :
जरा या कन्दमूल (औषधि) र कलिला टुसा (तरकारी)

औषधीय प्रयोग :
मोटोपन र बल बढाउने गुणयुक्त यो वनस्पति सर्वाङ्ग पुष्टिका लागि श्रेष्ठ मानिन्छ । सुत्केरी आमाको स्तनमा दूधको कमी भएमा यसको प्रयोगले दूधको अत्यधिक वुद्धि हुन्छ साथै सामान्य दूधभन्दा प्रयोग अवधिको दूधले बच्चाको सर्वाङ्ग पुष्टि र छिटो विकास हुन्छ । अम्लपित्त एवं पेटका घाउ (अल्सर) मा यसको जराको चूर्ण दूधसँग दिनाले फाइदा गर्दछ । श्रेत एवं रक्तप्रदर, अनियमित मासिक धर्म, पीडादायक मासिक धर्म आदि स्त्रीरोगमा यसको जराको चूर्ण दूधमा पकाएर खानाले फाइदा गर्दछ । शुक्राणुको कमी, शुक्रदौर्बल्य, नपुंसकता आदि पुरुष रोगमा यसको जराको चूर्ण दूधमा पकाई नियमित खानाले फाइदा गर्दछ । यसको युक्तियसक्त सेवनले वृद्धले पनि सन्तान जन्माउन सक्छ भन्ने छ । पोषक औषधिमा यसको स्थान सर्वश्रेष्ठ छ । यसलाई अर्बुद (क्यान्सर) रोग प्रतिरोधक पनि मानिन्छ ।

मात्रा :
जरा सुकाएर बनाएको धूलो ४–६ ग्राम
क्वाथ (काँढा) ५०–१०० मि.लि.
स्वरस (जराको ताजा रस) १५–२० मि.लि.

तयारी औषधि :
नारायण तेल, शतावरी घृत, शतावरी चूर्ण

खेती :
बीउ र जराबाट यसलाई रोप्ने र बढाउने गर्न सकिन्छ । जङ्गली रुपमा यसै पनि जताततै पाइन्छ भने खेती पनि गर्न सकिन्छ । बीउ ठाउँ अनुसार कार्तिकदेखि माघसम्म सङ्कलन गर्न सकिन्छ । बीउलाई पानीमा भिजाएर फागुनमा रोप्नु पर्दछ । व्याडमा यसरी उमारेका बिरुवालाई २ हप्ताको फरक गरी सार्नु पर्दछ । चैत्र–वैशाखमा जराहरुलाई गोबरमा ढडयाएर पनि बिरुवा उत्पादन गर्न सकिन्छ ।

रस : मधुर , तिक्त
गुण : गुरु , स्निग्ध
वीर्य : शीत
विपाक : मधुर
दोषकर्म : वातपित्तशामक

गुर्जो

नेपाली नाम : गुर्जो/चिनिलहरा
संस्कृत नाम : गुडूची, अमृतवल्ली, अमृता, सोमवल्ली, चक्रलक्षणा कुण्डली
अंग्रेजी नाम : Gulancha tinospora
वैज्ञानिक नाम : Tinospora sinensis-lour-merr. (टिनोस्पोरा साइनेन्सिस)
वानस्पतिक परिवार : Menislpermaceae (मेनिस्पर्मेसी)
अन्य भाषाका नाम : गालेय (नेवारी), गुरुङ्ग (मुसहर), गिलोय (हिन्दी), गुलच (बंगाली), गुडवेल (मराठी), गलो (गुजराती), तिप्पतिरगा (तेलगू), गिलाई (फारसी), गलोई (अरबी) ।

परिचय :
गुर्जो चिल्लो लहरो हुने पतझड बहुवर्षीय वनस्पति हो । लहरोको बाहिर खैरो या खरानी रङ्गको पालतो झिल्लो हुन्छ, त्यसभित्र हरियो हुन्छ । पात मुटुको आकारको हेर्दा पानको पात जस्तै देखिने हुन्छ । पात झर्न थालेपछि वैशाखदेखि भदौसम्म पहेँलो या हल्का हरियो रङ्गको फूलहरु फुल्दछन् । फल जाडो महिनामा केराउको दाना आकारका राता फल्दछन् । यो अरु कुनै बोटको सहारामा फैलन्छ । नीमको बोटमा फैलिएको गुर्जोको लहरा सर्वोत्तम औषधीय गुणयुक्त मानिन्छ ।

प्रयोग अङ्ग :
काण्ड या डाँठ (लहरा)

औषधीय प्रयोग :
रक्ताल्पतामा रगत बढाउन मद्दत गर्दछ । वातरक्त, अम्लपित्त, ज्वरो आदिमा फाइदा पुर्‍याउँछ । मधुमेह, रोगमा फाइदा पुर्‍याउँछ । छालाका रोगहरु, पिसाबका रोगहरु, श्वास–प्रश्वास प्रणालीका रोगहरु, विविध कारणका कमजोरीहरुमा अत्यन्त फाइदा पुर्‍याउँछ । आयुर्वेदको दृष्टिमा यसले घ्यूका साथ बाथ जन्य रोगमा, शक्करका साथ पित्त जन्य रोगमा, महको साथ कफ जन्य रोगमा र सुठोका साथ आमवातमा चमत्कारिक फाइदा पुर्‍याउँछ । गुर्जोमा शामक गुण छ , जसले गर्दा प्रत्येक कुपित भएका दोषलाई समानतामा ल्याउँछ । जुन दोषको प्रकोप छ त्यसलाई शान्त गर्दछ र जसको कमी छ त्यसलाई प्रदीप्त गर्दछ । घटेका र बढेका दोष (त्रिदोष) लाई समान स्थितिमा ल्याएर निरोग बनाउन सक्ने गुण भएको एकमात्र वनस्पति गुर्जो हो । सम्पूर्ण आयुर्वेद विज्ञानमा यो नै एकमात्र त्यस्तो वनस्पति हो जो कुनै पनि प्रकुतिका मानिसको कुनै पनि रोगमा दिँदा सन्तुलन कायम गरी सम्पूर्ण स्वास्थ्य प्रदान गर्दछ । गुणलाई हेरेर यसको एक मुख्य नाम अमृत राखिएको छ ।

मात्रा :
चूर्ण (सुकेको लहराको धूलो) ४–६ ग्राम
स्वरस (ताजा लहराको रस) ५–१५ मि.लि.
सत्व (लहरामा पाइने सारतत्व) १–३ ग्राम
क्वाथ (पकाएर बनाएको काँढा) ५०–१०० मि.लि.

तयारी औषधि :
गुडूची सत्व, अमृतारिष्ट, संशमनी वटी, निम्बादी चूर्ण, अमृता मादक ।

खेती :
बीउबाट व्याड राखेर बिरुवा उत्पादन गर्न सकिन्छ तर योभन्दा सरल २–३ फिटका टुक्रा बनाई ७ दिनपछि रुखको फेदमा रोपी दिनु राम्रो हुन्छ । बीउ असोज–मंसिरसम्म सङ्कलन गरी फागुन–चैत्रमा व्याडमा उमारी वर्षायाममा सार्नुपर्दछ । यो लहरे वनस्पति भएको हुनाले रुख या थाक्रो (झेक्रो) को सहारामा लगाउनु पर्दछ । आयुर्वेदका दृष्टिमा रुखको प्रकृति अनुसार लहराको गुणमा पनि परिवर्तन आउँछ ।

रस : तिक्त, कषाय
गुण : गुरु , स्निग्ध
वीर्य : उष्ण
विपाक : मधुर
दोषकर्म : त्रिदोषशामक

घीउकुमारी

नेपाली नाम : घीउकुमारी
संस्कृत नाम : घृतकुमारी, दीर्घपत्रिका, बहुपत्री, स्थूलदला, रसायनी
अंग्रेजी नाम : Indian aloe/Barbados aloe
वैज्ञानिक नाम : Aloe Vera (L..) Burm f. (एलोइ भेरा)
वानस्पतिक परिवार : Liliaceae (लिलिएसि)
अन्य भाषाका नाम : छिगु (गुरुङ्ग), कुनुह (नेवारी), घीउकुमारी (थारु), मिथिकसिडा (लिम्बु), मीप्लेउटामोन (लेप्चा), घी ग्वार या ग्वारपाठा (हिन्दी), कोमारी या घृत कोमारी (बंगाली), कुँवार (गुजराती), दरख्तेसिन्न (फारसी), मुसब्बर (अरबी), घीकुआर (उर्दू) ।

परिचय :
घीउकुमारी २५ देखि ७० से.मि. सम्म अग्लो हुने चिप्लो सेतो गुदी भरिएका बाक्ला र किनारामा काँडादार पात भएको बहुवर्षीय वनस्पति हो । यसको फेदबाटै धेरै पात निस्केका हुन्छन् । बोट काण्ड विहिन भए पनि कार्तिकदेखि माघसम्ममा फूल फुल्ने अस्थायी काण्ड निस्कन्छ र यसैमा सुन्तला या पहेँलो रङ्गको सुन्दर फुल फुल्दछ ।

प्रयोग अङ्ग :
पात भित्रको गुदी (मुसब्बर या कुमारीसार)

औषधीय प्रयोग :
कलेजोको विविध रोगमा, पेटका विविध रोगमा, छालामा विविध रोगमा, आगो या अन्य कुराले पोलेमा यसले चामत्कारिक लाभ पुर्‍याउँछ । छालाको सुन्दरता बढाई कान्तिमान बनाउन यो महत्वपूर्ण गुणयुक्त भएकाले आजभोलि सौन्दर्य प्रशाधनमा यसको प्रयोग तीव्र रुपमा बढेको छ । स्वस्थकर दीर्घजीवनका लागि पनि यो महत्वपूर्ण मानिन्छ । यसको नियमित प्रयोगले शरीरमा सङ्कलित बिजातीय पदार्थ (मल या विष) बाहिर निस्की शरीर निर्मल हुन्छ । स्वास्थ्य, सुन्दरता र बलमा वृद्धि हुन्छ । कलेजो र फियोका रोग, रक्ताल्पता, कमलपित्त, प्रमेह, क्षयरोग, पेटरोग, स्त्रीरोग आदिमा यो श्रेष्ठ गुणदायक वनस्पति हो । घीउकुमारीको गुदि र नीमको बोटमा फैलिएको गुर्जो दुवैलाई दैनिक कल्पका रुपमा कम्तीमा ३ वर्ष खानाले पुनर्यौवन प्राप्त हुन्छ । स्वस्थकर दीर्घजीवन प्राप्त हुन्छ । ठूलो आन्द्राको शिथिलतामा यो अत्यन्तै फाइदाजनक छ ।

मात्रा :
गुदी (पातको बीचमा रहेको गुदी) १०–३० ग्राम
कुमारीसार १–२ ग्राम
लेप (शरीरको बाहिरी भागमा) आवश्यकता अनुसार

तयारी औषधि :
रज :प्रवर्तिनी वटी, कुमारी आसव, कुमारी पाक ।

खेती :
घीउकुमारी जरा या गानोबाट छुटयाई रोपिन्छ । यसै पनि पुरानो बोटका फेदमा जरा या गानो (जमिन मुनिको काण्ड) बाट थुप्रै बिरुवाहरु निस्कन्छन् । यसैलाई सार्न सकिन्छ । उम्रने क्षमता भएको जरा या गानो (जमिनमुनिको काण्ड) लाई काटेर व्याडमा बिरुवा पैदा गर्न सकिन्छ । बिरुवा रोपने जमिन पानी नजम्ने सुख्खा हुनुपर्दछ तर सिँचाइ भने गर्नु पर्दछ । बिरुवा वैशाख–जेठमा रोप्नु पर्दछ । नेपालमा यसको व्यावसायिक खेती कहिँ छैन, फूलबारीमा सुन्दरता बढाउन यो रोपिन्छ ।

रस : तिक्त
गुण : गुरु , स्निग्ध, पिच्छिल
वीर्य : शीत
विपाक : कटु
दोषकर्म : कफपित्तशामक

घोडताप्रे

नेपाली नाम : घोडताप्रे/टोप्रे
संस्कृत नाम : ब्राहाी, वयस्था, सोमवल्लरी महौषधि, सरस्वती, सोमवल्ली
अंग्रेजी नाम : Indian Pennywort/Water Pennywort
वैज्ञानिक नाम : Centella asiatica (L.) urb. (सेन्टेला एशियाटिका)
वानस्पतिक परिवार : Umbelliferae (अम्बेलिफेरी)
अन्य भाषाका नाम : जासुण्डो (गुरुङ्ग), भुउन झार (चेपाङ्ग), तिलिकोस्यो (तामाङ्ग), ब्राहाी (थारु), डोकानी (दनुवार), खोल्छा घाँय् (नेवारी), घोरताप (मुसहर), युकलमवसुम (राई), फिरुमुक (लेप्चा), चिमिले (शेर्पा), ढल्का/चातुमाना (सतार) । ब्राहाी या सफेद चमनी (हिन्दी), ब्राहाीसाक (बंगाली), विद्याब्राहाी (गुजराती) ।

परिचय :
घोडताप्रे वर्षैभर हरियो रहने आँख्लाबाट जरा हाल्दै भूइँमा मसिनो गरी फैलँदै जाने झार प्रजातिको वनस्पति हो । पात ५ देखि ८ से.मि. व्यास भएको किनारामा दौंतिदार र गोलाकार हुन्छ । फूल घण्टी आकारको गुच्छामा फुन्दछ । जेठदेखि असोजसम्म फिका रातो रङ्गको सानो फूल फूल्दछ र साथसाथै फल पनि फल्दछ ।

प्रयोग अङ्ग :
पात या पुरै बिरुवा (पञ्चाङ्ग)

औषधीय प्रयोग :
निद्रा लगाउन, स्मृति बढाउन, मस्तिष्कको कार्यक्षमतालाई बढाउन र मानसिक रोगको उपचारमा यो श्रेष्ठ वनस्पति हो । उच्चरक्तचाप र हृदयरोगमा फाइदा पुर्‍याउँछ । रगत सफा गर्न, घाउ छिटो निको पार्न र छालाका रोगमा फाइदा पुर्‍याउँछ । शीघ्रपतन, स्वप्नदोष एवं अन्य पुरुषरोगमा फाइदा पुर्‍याउँछ । नशासम्बन्धी रोग, यूरिक एसिड बढेर भएका स्वास्थ्य समस्यामा फाइदा पुर्‍याउँछ । पिसाब पोल्ने एवं मृगौलाको पत्थरीमा फाइदा पुर्‍याउँछ । घोडताप्रेको ताजा रस ४ चम्चा, गाईको ध्यू पगालेको १ चम्चा र मालकाँगुनी अर्थात् ज्योतिष्मती (Celastrus Panicalta) को तेल १० थोपा मिलाएर कल्पका रुपमा दैनिक ३ वर्ष खानाले स्मृतिशक्ति अत्यन्त बढेर जान्छ । यस्तो कल्प गर्ने मानिस श्रुतधर र दीर्घायु हुन्छ ।

मात्रा :
स्वरस (ताजा रस) १५–२० मि.लि.
चूर्ण (छायाँमा सुकाएको) ४–६ ग्राम
सर्वत (ताजा बोटलाई पिसेर) १०–१५ पात या बोट
लेप (शरीरको बाहिरी भागमा) आवश्यकता अनुसार

तयारी औषधि :
सारस्वतारिष्ट, सारस्वत चूर्ण, ब्राह्मी घृत, ब्राह्मी तेल, ब्राह्मी वटी, ब्राह्मी चूर्ण, ब्राह्मी रसायन ।

खेती :
यसका बिरुवा प्राकृतिक रुपमै जताततै पाउन सकिन्छ । यसैलाई रोपेर खेतीका रुपमा फैलाउन सकिन्छ । जताततै पाइने हुनाले व्यावसायिक खेती गरेको पाइन्न । चिस्यान बढी मन पराउने हुनाले आवश्यक चिस्यान पाएमा छोटो समयमा मैँ झाङ्गिएर आउँछ । प्राकृतिक रुपमा पाइने बिरुवाहरुमा टर्पेन्सका साथै अन्य रासायनिक तत्व फरक–फरक पाइन्छ, बढी पाइने जातिलाई छानेर खेती गरे औषधि बजारमा राम्रै मूल्य पाउन सकिन्छ ।

रस : तिक्त
गुण : लघु
वीर्य : शीत
विपाक : मधुर
दोषकर्म : कफपित्तशामक

टिमुर

नेपाली नाम : टिमुर/बोकेटिमुर
संस्कृत नाम : तुम्बरु, तेजोवती, तेजस्विनी
अंग्रेजी नाम : Toothache tree
वैज्ञानिक नाम : Zunthoxylum armatum DC (ज्यान्थोजाइलम अरमाटम)
वानस्पतिक परिवार : Rutaceae (रुटेसी)
अन्य भाषाका नाम : प्रुमो (गुरुङ्ग), प्रुमो (तामाङ्ग), टिमुर (थारु), टेमू (नेवारी), खचकन राई), वारेक्पा (लिम्बु), यर्मा (शेर्पा), छुवा चिआवो (चिनियाँ), तुम्बरु (हिन्दी) ।

परिचय :
टिमुर ६ मिटरसम्म अग्लो हुने काँडादार, पतझड र सानो रुख या झाडी वर्गको वनस्पति हो । फागुन–चैत्रमा फूल फुल्दछ र वैशाखदेखि असोजसम्ममा फल फल्दछ । फल र पात खाँदा पर्पराउने स्वादको हुन्छ । पात पलाउने हरेक आँख्लाबाट फूलका लागि छुट्टै हाँगा निस्किएको हुन्छ । फूल हरियोमा केही पहेँला स–साना हुन्छन् ।

प्रयोग अङ्ग :
फल (टिमुर)

औषधीय प्रयोग :
दाँतका विविध रोगका साथै मुख गन्हाउने र अन्य मुख रोगमा फाइदा पुर्‍याउँछ । वायुगोला, अपच, अजीर्ण, अरुचि र पेट दुखेकोमा फाइदा पुर्‍याउँछ । हैंजाको प्रारम्भिक अवस्थामा चमत्कारिक फाइदा पुर्‍याउँछ । टिमुर, ज्वानो, अदुवा, बेसार, लहसुन, जिम्मु, नून मिलाई पानीमा पकाएर काँढा या सुपको रुपमा पिउनाले अरुचि, अपच, अजीर्ण, वायुगोलाजस्ता पेट रोगका साथै रुघा, खोकी एवं अन्य कफरोग र चिसोको आघातमा चमत्कारिक फाइदा पुर्‍याउँछ ।

मात्रा :
 चूर्ण (सुकेको फलको धूलो) १–२ ग्राम

तयारी औषधि :
तुम्बर्वादि चूर्ण

ती :
यसको फल सङ्कलन गर्ने सबैभन्दा राम्रो समय कार्तिक–मंसिर हो । नर्सरीमा फागुन–चैत्र महिनामा बिरुवा उमारी जेठ–असारमा रोपिन्छ । यसलाई बीउबाट बिरुवा बनाई रोप्नुभन्दा कलमीबाट रोप्नु राम्रो हुन्छ । बीउको उम्रने क्षमता ज्यादै कम १०–१५ प्रतिशतमात्र हुन्छ । माघ–फागुनमा कलमी गरेर (व्याड या थैलामा) रोप्ने र ४–५ महिनापछि जमिनमा सार्ने ।

रस : कटु , तिक्त
गुण : लघु , रुक्ष, तीक्ष्ण
वीर्य : उष्ण
विपाक : कटु
दोषकर्म : कफवातशामक, पित्तवर्धक

तुलसी

नेपाली नाम : तुलसी
संस्कृत नाम : तुलसी, वैष्णवी, वृन्दा, सुगन्ध, अमृता, पत्रपुष्पा, पवित्रा, पावनी, वल्लभा
अंग्रेजी नाम : Holy basil/Sacred basil
वैज्ञानिक नाम : Ocimum tenuiflorum L. (ओसीमम टेनुइफ्लोरम)
वानस्पतिक परिवार : Labiatae (ल्यावियटी)
अन्य भाषाका नाम : तुलसी (गुरुङ्ग), तुलसी (तामाङ्ग), तुलसी (थारु), तुलसी (नेवारी), टोमपानामा (राई), अछाफुन (लिम्बु) , तुलसी (हिन्दी), तुलसी या कुरल (बंगला), तुलस (गुजराती), तुलसा (मराठी) ।

परिचय :
तुलसी स–साना हाँगा हुने वर्षभर रहने झार प्रजातिको वनस्पति हो । तुलसीका केही प्रजाति ३ वर्षसम्म पनि जिवित रहन्छन् । यो औषधीय गुणयुक्तमात्र नभई आध्यात्मिक दृष्टिले पनि महत्वपूर्ण मानी हरेक घरमा मठ–मन्दिर बनाई रोपिन्छ । प्रमुख रुपमा यसका दुई जात पाइन्छन् । हरियो र हल्का सेतोपन भएको (श्रीतुलसी) र कालो (कृष्ण तुलसी) भनेर चिनिन्छ । औषधि निर्माणका लागि कृष्ण तुलसी श्रेष्ठ मानिन्छ ।

प्रयोग अङ्ग :
पात, जरा र पूरै वनस्पति (पञ्चाङ्ग)

औषधीय प्रयोग :
रुघा , पिनास, खोकी र दम रोगमा फाइदा पुर्‍याउँछ । रगतमा रहेको चिनिको मात्रा घटाई मधुमेहमा फाइदा पुर्‍याउँछ भने उच्च उक्तचापलाई पनि घटाउँछ । चिसोको आघात र ज्वरोमा फाइदा पुर्‍याउँछ । हृदयरोगमा फाइदा पुर्‍याउँनुका साथै हृदयको उत्तम पोषकका रुपमा काम गर्दछ । चिसोका कारण भएको बाथ रोगमा तुलसीको पत्रको ताजा रसमा मरिच चूर्ण मिलाएर पिलाएर फाइदा गर्दछ । यसको पातको ताजा रस (स्वरस) द्धारा सिद्ध गरेको तेल कानमा राख्नाले कर्णशूल र कर्णपाकमा फाइदा गर्दछ । यो तेल रुघा–पिनास भएका बेला नाकमा दुवै प्वालमा २–२ थोपा चुहाउने साथै जलनेती पनि गर्नाले अत्यन्त फाइदा गर्दछ । खोकीमा तुलसी–पत्रको ताजा रसमा मह मिलाएर पिउन दिनाले फाइदा गर्दछ । तुलसीको प्रमुख गुण आयुर्वेदको दृष्टिमा : कफ निस्सारक, उत्तेजक, दीपन, स्वेदजनन, प्रशामक, हदयबल्य, वातानुलोमक र कृमिघ्न मानेको छ ।

मात्रा :
स्वरस (ताजा रस) १५–२० मि.लि.
चूर्ण (सुकाएर बनाएको धूलो) ४–६ ग्राम
क्वाथ (काँढा या चिया) ७५ मि.लि./२–३ पटक

तयारी औषधि :
ज्वरशामक क्वाथ, वायुनाशक चूर्ण, कफनाशक चूर्ण, तुलसी चिया

खेती :
लोक प्रचलनमा ज्येष्ठशुल्क एकादशीका दिन व्याडमा बीउ राखी आषाढशुल्क हरिशयनी एकादशीका दिन तुलसीको बिरुवा रोपी चतुर्मासभर पूजा गरी कार्तिकशुक्ल हरिबोधिनी एकादशीका दिन तुलसी पूजा र तुलसी विवाह गर्ने चलन छ । व्यावसायिक खेती गर्नेहरुले वैशाखदेखि नै व्याडमा बीउ रोखेर बिरुवा तैयारी गरी वर्षात्सँगै रोप्न सुरु गर्नछन् । तुलसी रोप्न व्याडमा बिरुवा तैयार गर्न पनि सकिन्छ । सोझै तैयार जमिनमै बीज छरेर उमार्न पनि सकिन्छ ।

रस : कटु , तिक्त
गुण : लघु , रुक्ष,
वीर्य : उष्ण
विपाक : कटु
दोषकर्म : कफवातशामक

दालचिनी

नेपाली नाम : तेजपति/दालचिनी/सिन्कौली
संस्कृत नाम : तमालपत्रा, तेजपत्र, गन्धजात, सुरनिर्गन्ध, गोमेदक
अंग्रेजी नाम : India Cassia Ligdnea/Nepalese Cinnamon
वैज्ञानिक नाम : Cinnumomum tamala-Buch-Ham (सिनामोमम तमला)
वानस्पतिक परिवार : Lauraceae (लउरसी)
अन्य भाषाका नाम : पिङ्गे (गुरुङ्ग), लेप्टे (तामाङ्ग), तेजपात/दालचिनी (नेवारी), पातारङ्गकी (राई), शिशी (शेर्पा), तेजपात (हिन्दी), तमालपत्र (गुजराती), तमालपत्र (मराठी), तेजपात (बंगाल), सादरस (फारसी) ।

परिचय :
दालचिनी ८–९ मिटरसम्म अग्लो हुने, मध्यम खालको सदावहार रुख हो । पात १२–१५ से.मि. लामा र चिल्ला, टल्कने, सुगन्धित हुन्छन् । फूल फागुन–जेठसम्म हल्का पहेँलो या नौनी रङ्गको झुप्पामा फुल्दछ । फल वैशाख–असोजसम्म फल्दछ एवं पाकेपछि कालो, नरम र अण्डाकार हुन्छ । आम सामाजिक प्रचलनमा यसको पातलाई तेजपात र बोक्रालाई दालचिनी भनेको पाइन्छ । तर कैयन् ग्रन्थमा यी दुईको वैज्ञानिक नाम फरक–फरक लेखेको पनि पाइन्छ । कुनै कुनै ग्रन्थमा तमालवृक्ष अथवा तेजपातको बोक्रालाई पनि दालचिनी भनिन्छ भनेको पाइन्छ ।

प्रयोग अङ्ग :
पात (तेजपात), बोक्रा (दालचिनी)

औषधीय प्रयोग :
यो उष्णवीर्य भएको हुनाले पेटमा वायु पैदा पनि गर्दैंन र पहिले नै पैदा भएको या सङ्कलित छ भने निकाल्ने काम गर्दछ । पेट फुलेको, वमन (उल्टी) होलाजस्तो भएको वा वमन भइरहेकोमा चार चम्चा पानीमा १–२ थोपा तेल मिलाएर पिउन दिनाले फाइदा गर्दछ । महिनावारीमा बढी रगत बग्ने, नाथ्री फुटेर रगत बग्ने, बवासिरका कारण रगत बग्ने या अन्य कारणले रगत बग्ने भएमा यसको काँढा (क्वाथ) नियमित पिउन दिनाले फाइदा हुन्छ । रगतमा चिल्लो बढ्दै गएमा (ट्राइग्लीसेरायड एवं कोलेष्ट्रोल) यसको काँढा (क्वाथ) नियमित पिउन दिनाले आश्चर्यजनक फाइदा पुर्‍याउँछ । बवासीर, जलोदर, अतिसार, जीर्ण अतिसार, ज्वरो, मानसिक रोग, कामशक्तिको कमी, क्षयरोग आदिमा पनि यसको उचित मात्राान नियमित प्रयोगले फाइदा गर्दछ । पक्षघात, मृगी, स्मरणशक्तिको कमी, कम्पवात, इनफ्लूएन्जा आदिमा पनि फाइदा गर्दछ ।

नोट :
दालचिनी गर्भवती स्त्रीले धेरै मात्रामा र लामो समय खानु हुँदैन, यसमा गर्भपात गराउने गुण छ ।

मात्रा :
बोक्राको धूलो ६–१० ग्रामसम्म
तेल ३–५ थोपासम्म
क्वाथ (काँढा या चिया) ५०–१०० मि.लि.

खेती :
भदौ–असोजमा बीउ सङ्कलन गरी घाममा सुकाएर सुख्खा भाँडोमा राख्नु पर्दछ र चैत्र–वैशाखमा नर्सरीमा बिरुवा उत्पादनका लागि छर्नु पर्दछ । १ वर्षे बिरुवा रोप्नका लागि सबैभन्दा राम्रो मानिन्छ । माघ–फागुनमा कलमी (कटिङ्गद्धारा व्याडमा रोप्ने) बनाई साउन–भदौमा रोप्न सकिन्छ । ३–४ मिटरको दूरीमा ठाउँ अनुसार लाइन मिलाएर रोप्नु पर्दछ ।

रस : मीठो, पीरो र केही तीतो
गुण : तीक्ष्ण
वीर्य : उष्ण
दोषकर्म : त्रिदोष नाशक

पिपला

नेपाली नाम : पिपला, पिप्ला
संस्कृत नाम : पिप्पली, कृष्ण, कटुबीजा, श्यामा
अंग्रेजी नाम : Long Peper
वैज्ञानिक नाम : Piper Longum L. (पाइपर लङ्गम)
वानस्पतिक परिवार : Piperaceae (पाइपरेसी)
अन्य भाषाका नाम : याकहाम (राई), पिपी (नेवारी), मुर्झङ्ग (थारु), पिपो (चिनियाँ), पीपर (हिन्दी), पीपली (बंगाली), पीपर (गुजराती), राली (संथाल), पीपल (उर्दू) , फिलफिलदराज (फारसी), दारफिलफिल (अरबी) ।

परिचय :
पिपला लहरायुक्त झाडिदार वनस्पति हो । पातको तलपट्टि लामो डाँठहरु फैलिएका हुनछन् भने माथिपट्टि हुँदैन । पात मुटु आकारको हुन्छ । असारदेखि असोजसम्म फूल फुल्दछ । भाले फूल लाम्चो आकारको गुच्छामा र पोथी फूल गोलाकार गुच्छामा फुल्दछ । फल साने, लाम्चो, गोलाकार र काँचोमा हरियो र पाकेर सुकेपछि कालो रङ्गको हुन्छ । फलको भित्र थुप्रै मसिना बीजहरु हुन्छन् ।

प्रयोग अङ्ग :
फल (पिपला), जरा (पिपलामूल)

औषधीय प्रयोग :
खोकी र दममा फाइदा गर्दछ । पुरानो ज्वरो र त्यसको दुष्प्रभावलाई हटाउँछ । पिपलाको मसिनो चूर्ण महको साथ चाट्नाले पुरानो अतिसार पनि समूल नष्ट हुन्छ । पिपलाको जराको चूर्ण गुड मिलाएर खाने र भैंसीको तातो दूध पिउनाले अनिद्रा रोग ठीक भई गहिरो निद्रा लाग्दछ । पिपला, मरिच र सुठो पिसेर चूर्ण बनाई बराबर भाग मिलाएकोलाई त्रिकटु भनिन्छ । यो ३ देखि ५ ग्राम महमा फेटेर आवश्यकता अनुसार दिनमा २–३ पटक चाट्नाले रुघा, पिनास, कफयुक्त खोकी, दमजस्ता चिसो र कफको प्रभाव रहने स्वास्थ्य समस्यामा फाइदा गर्दछ । वायुगोला एवं अरुचि, अपच, अजीर्णजस्ता पेट रोगमा पिपला चुसेर खानाले फाइदा गर्दछ । मुख रोगमा पनि पिपला चुस्दा फाइदा हुन्छ । पिपलाको मुख्य प्रभाव भने कफ बढेर हुने स्वास्थ्य समस्यामा हुन्छ ।

मात्रा :
चूर्ण (सुकेको फलको धूलो) २–३ ग्राम
चूर्ण (सुकेको जराको धूलो) १ ग्राम

तयारी औषधि :
त्रिकटु , सितोपलादी चूर्ण, रक्तलवङ्गादि चूर्ण, हिंग्वष्टक चूर्ण, लवणभास्कर चूर्ण ।

खेती :
लहराका आँख्लाहरुबाट जरा निस्कन्छन् । जमिनमा फैलिएका लहरामा आँख्लैपिच्छे जरा निस्केर जमिनमा गएका हुन्छन् । यसैलाई नर्सरीमा रोपेर बिरुवा बनाउने र खेती गर्ने ठाउँमा सार्न पनि सकिन्छ र सोझै सार्न पनि सकिन्छ । यो लहरे बिरुवा हुनाले हुर्केपछि थाक्रो (झेक्रो) या अन्य सहारा दिँदा फल उत्पादन राम्रो हुन्छ ।

रस : कटु (ताजामा मधुर)
गुण : लघु, स्निग्ध, तीक्ष्ण (ताजामा गुरु)
वीर्य : उष्ण
विपाक : मधुर
दोषकर्म : कफवातशामक (ताजा पित्तशामक)

पुनर्नभा

नेपाली नाम : आउले साग, पुनर्नभा, पुन्नरेझार
संस्कृत नाम : पुनर्नवा, श्रेतमूला, भीमा, शोथध्नी, विषध्नी, वर्षभवा
अंग्रेजी नाम : Spreading hogweed
वैज्ञानिक नाम : Boerrhavia diffusa L. (बोरहेभिया डियुजा)
वानस्पतिक परिवार : Nyetaginaceae (निक्टाजिनेसी)
अन्य भाषाका नाम : तम्ब्रात (चेपाङ्ग), चुरचरीया (थकाली), कुकुरीया (थारु), गजापुरेना (दनुवार), पुन्धाना (नेवारी), पुतली (मगर), लिलबद्री (माझी), रातानाउलो (राई), पुनर्नवा या गदापूर्ण (हिन्दी), पुनर्नवा (बंगाली), मोटी साटोडी (गुजराती), वशखिरा (उर्दू), हरकुकि (अरबी), देवसर्षप (फारसी), नरवेल (सिंधी) ।

परिचय :
पुनर्नवा छरपष्ट हाँगा हुने झार वर्गको, बहुवर्षीय वनस्पति हो । जरा काठजस्तो कडा हुन्छ । काण्ड प्याजी रङ्गको र काण्डको आँख्ला केही मोटो हुन्छ । प्रत्येक आँख्लामा एउटा ठूलो र एउटा सानो दुई वटा पात पलाएको हुन्छ । फूल वैशाखदेखि कार्तिकसम्म साना–साना झुप्पामा गुजुमुज्ज भएर फूल्दछ । फूल गुलावी र सेतो रङ्गको हुन्छ । फल सानो ३ मि.मि. लामो र १ मि.मि. चौडा हुन्छ ।

प्रयोग अङ्ग :
सम्पूर्ण बिरुवा (पञ्चाङ्ग)

औषधीय प्रयोग :
उक्ताल्पतामा चमत्कारिक फाइदा गर्दछ । कमलपित्त, बवासिर, जलग्रहका साथै पेटका विविध रोगमा लाभ गर्दछ भने पेटको अर्बुद रोग (क्यान्सर) मा पनि चमत्कारिक फाइदा गर्दछ । पुनर्नवाको पातको साग खानाले वात, मन्दाग्नि, गानो, पेटको तीव्र दुखाई (शूल), फियोका रोग र बाहाशोथ, अन्तरशोथ, सर्वाङ्गशोथमा फाइदा पुग्दछ । यसमा शोथनाशक गुण छ । कम मात्रामा खानाले कफ निस्सासक औषधिका रुपमा काम गर्दछ भने बढी मात्रामा खानाले वमनकारक औषधिका रुपमा काम गर्दछ । आँखाका विविध रोगमा लाभदायक छ । शरीरमा सङ्कलित बिजातीय पदार्थलाई निष्कासित गरी विषयुक्त गर्न श्रेष्ठ वानस्पतिका रुपमा परिचित छ । आयुर्वेदको दृष्टिमा पुनर्नवा पिपलाको साथमा खाए पित्तदोष हट्छ , पानको साथमा खाएमा स्तम्भन हुन्छ ,सुपारीको साथमा खाएमा कुष्ठमा फाइदा गर्दछ । आदि आदि ।

मात्रा :
स्वरस (ताजा रस) १०–१५ मि.लि.
चूर्ण (छाँयामा सुकाएर बनाएको धूलो) ४–६ ग्राम
साग (एक्लै या मिश्रित) २०–१०० ग्राम

तयारी औषधि :
च्यवनप्राश अवलेह, पुनर्नवारिष्ट, पुनर्नवादि मण्डुर, पुनर्नवागुग्गुल, पुनर्नवारसायन ।

खेती :
यसको नेपालमा व्यावसायिक खेती गरिएको छैन , झारको रुपमा जताततै पाइन्छ । दुई तरिकाबाट बिरुवा उत्पादन गर्न सकिन्छ । एक बीउ उमारेर र अर्को डाँठको आँख्लो टुक्राबाट । असोज–कार्तिकमा बीउ सङ्कलन गरी फागुन–चैत्रमा नर्सरीमा बिरुवा उमारी जेठ–असारमा रोप्नु पर्दछ । डाँठबाट बिरुवा बनाउने हो भने ८–१० से.मि. सम्मको टुक्रा काटेर वैशाख–जेठमा रोप्नु पर्दछ । यो विधि सजिलो र सस्तो छ ।

रस : मधुर, तिक्त, कषाय
गुण : लघु , रुक्ष
वीर्य : उष्ण
विपाक : मधुर
दोषकर्म : त्रिदोषशामक

बर्रो

नेपाली नाम : बर्रो संस्कृत नाम : विभीतक, अक्ष, बहुवीर्य, विषध्न, कलिन्द, कल्पवृक्ष
अंग्रेजी नाम : Belleric myrobalan
वैज्ञानिक नाम : Terminalia bellerica-Gaertn-Roxb. (टर्मिनालिया बेल्लिरिका)
वानस्पतिक परिवार : Combretaceae (कम्ब्रेटेसी)
अन्य भाषाका नाम : हरातुत (गुरुङ्ग), तुप्सी (चेपाङ्ग), बहेरी (थारु), बल (नेवारी), तामाजीसे (लिम्बु), तुकताम (राई), लोपाङ्ग (सतार), गोड्लिङ्ग (मगर), बहेडा (हिन्दी), बेवडो (गुजराती), बहेडा (उर्दू), बलेलज (अरबी), बालिलाह (फारसी) ।

परिचय :
बर्रो २५ देखि ४० मिटरसम्म अग्लो हुने थुप्रै हाँगाबिंगा भएको रुख वर्गको पतझड वनस्पति हो । बोक्रा गाढा फुस्रो, काठ केही पहेँलो र रुखको गोलाई करिब ३–४ मिटरसम्म हुन्छ । पात हाँगाको टुप्पामा एकै साथ धेरै झ्वाम्म पलाएका हुन्छन् । फूल वैशाख–जेठमा सेतो या हल्का पहेँलोपन भएको झुप्पामा फुलेको र गन्धयुक्त हुन्छ । फल असारदेखि मंसिरसम्म पाइन्छ । पाँच चिरा देखिने गोलाकार खैरो रङ्गको बाहिर बाक्लो झुस भएको फल हुन्छ ।

प्रयोग अङ्ग :
फल, बीउको गुदी (बीजमज्जा)

औषधीय प्रयोग :
बर्रो आँखाका लागि हितकारी, केशवर्धक, हदयरोगनाश, नाक र घाँटीमा रोगमा हितकारी, त्रिदोषनाशक आदि गुणयुक्त छ । यसको बीउको गुदि वेदनानाशक र शोथप्न छ । आमाशयका लागि यो श्रेष्ठ पोषक गुणयुक्त छ । आमाशयलाई लागत दिने योभन्दा राम्रो कुनै औषधि छैन । यसको फलको बोक्रा रक्ताल्पता, श्रेतकुष्ठ (दूवी), रुघा–खोकी, स्वर बसेको या धोन्द्रो भएको आदिमा लाभदायक छ । यसको आधा पाकेको फल विरेचक र पूरा पाकी सुकेको फल सङ्घोचक मानिन्छ । बर्रोको फलको बीजको गुदिबाट निकालेको तेल रौंमा लगाई हल्का मालिस गर्नाले रौं कालो, लामो, चम्किलो र पुष्ट हुन्छ ।

मात्रा :
चूर्ण (सुकेको फलको धूलो) ४–६ ग्राम
बीज (फलको भित्री बीज) प्रतिदिन १–२ वटा
तेल (बीजमज्जा या बीजतेल) आवश्यकताअनुसार बाह्रा प्रयोग

तयारी औषधि :
त्रिफला चूर्ण, त्रिफला घृत, त्रिफलासव, फलत्रिकादि चूर्ण, कासान्तक वटी, विभीतक तेल, लवंगादिवटी ।

खेती :
फागुनसम्ममा पाकेका र पुष्टफल सङ्कलन गरी व्याडमा रोपेर बिरुवा उमार्नु पर्दछ । वर्षातमा बिरुवा १८–२० हातको फरकमा सार्नु पर्दछ । डाँठको कलमी (कटिङ्ग) बाट पनि बिरुवा उत्पादन गर्न सकिन्छ । माघ महिनामा औँला जत्तिकै मोटा आँख्ला भएका हाँगाहरु काटेर नर्सरीमा जमाउने र वर्षातमा तयारी जमिनमा सार्ने गर्नु पर्दछ ।

रस : कषाय
गुण : रुक्ष, लघु
वीर्य : उष्ण
विपाक : मधुर
दोषकर्म : त्रिदोषशामक

बेल

नेपाली नाम : बेल
संस्कृत नाम : बिल्व, श्रीफल, शैलपत्र, शिवेष्ट, गन्धपत्र
अंग्रेजी नाम : Bailtruit tree/Bengal quince
वैज्ञानिक नाम : Aegle marmelos-L.Correa (एगेल मार्मेलोस)
वानस्पतिक परिवार : Rutaceae (रुटेसी)
अन्य भाषाका नाम : बेल (तामाङ्ग), बेल (थारु), बेल (राई), बेलासी (चेपाङ्ग), व्याह (नेवारी), बेलपित (लेप्चा), सिन्जो (सतार), बेल (हिन्दी), बिली (गुजराती), बेल (उर्दू), सफरजले (अरबी) ।

परिचय :
बेल १५–१६ मिटरसम्म अग्लो हुने मझौला खालको पतझर रुख हो । बोक्रा खैरो, चिरिएको, कत्ले हुन्छ । रुखमा तीखा काँडा हुन्छन् । धेरै पातहरु तीन पत्रे हुन्छन् भने केही पाँच पत्रे र एकल पनि हुन सक्दछन् । पातहरु सुगन्धित, संयुक्त र भालाकार हुन्छन् । फूल जेठ–असारमा सेतो, सुगन्धित र झुप्पामा फुल्दछ । फल पाक्न करिब एक वर्ष लाग्दछ र गोलाकार, कडा बोक्रा भएको फल जेठ असारमा पाक्दछ । पाकेको फल स्वादिष्ट हुन्छ । यसको सर्वत बनाएर पिउने चलन छ । तीन पाते बेलपत्र शिवभक्तहरुले शिवपूजनका लागि श्रेष्ठ र पवित्र वस्तुका रुपमा प्रयोग गर्दछन् ।

प्रयोग अङ्ग :
बालबेल या कलिलो बेल (औषधि) , पाकेको बेल (पोषण)

औषधीय प्रयोग :
पखाला, कब्ज, आऊँ एवं कोलाइटिस जस्ता ठूलो आन्द्रामा हुने स्वास्थ्य समस्यामा फाइदा पुर्‍याउँछ । बेलपत्रले मधुमेह रोगमा फाइदा पुर्‍याउँछ । पाकेको फल हदयरोगीहरुलाई पोषक मानिएको छ । बालबेल चूर्ण मोहीका साथ नियमित खानाले पेटका अनेक रोग निको हुन्छन् । पसिनाका कारण शरीरमा आउने दुर्गन्ध बेल–पत्रको लेपले शरीरको मालिस गरी स्नान गर्नाले स्थायीरुपमा हराएर जान्छ । शरीर सुन्निएकोमा बेल–पत्रको ताजा रसमा मरिच चूर्ण मिलाएर पिउनाले फाइदा गर्दछ । बेललाई गोमूत्रमा पिसेर तेल सिद्ध गरी बनाएको बिल्व तेल नियमित कानमा राख्ने गर्नाले कानको सुन्ने क्षमतालाई अत्यन्त बढाउँछ । आयुर्वेदको मत अनुसार फल–पित्तहर, ज्वरहर, दीपन, ग्राही र कफ निस्सारक छ । पात–वातहर, शोथहर, ज्वरध्न, ग्राही छ ।

मात्रा :
चूर्ण (सुकेको बालबेलको धूलो) ४–६ ग्राम
गुदि (काँचो कलिलो फलको गुदि) १०–२० ग्राम
क्वाथ (पकाएर बनाएको काँढा) ५०–१०० मि.लि.

तयारी औषधि :
चन्दनादि चूर्ण, कुटजाष्टक, भुवनेश्वरवटी, बिल्वादि चूर्ण, बिल्वावलेह, बधिरता नाशक तेल, बिल्वादि तेल ।

खेती :
यसको बिरुवा उत्पादन दुई तरिकाले गर्न सकिन्छ । एक बीउबाट र अर्को जराबाट पलाएको अंकुरबाट । बीउबाट भन्दा जराबाट पलाएको अंकुरबाट बनेको बिरुवाको उत्पादन क्षमता राम्रो हुन्छ । बीउको उम्रने क्षमता छिट्टै नाश हुन्छ र कीराले खाने डर धेरै हुन्छ । राम्रो पाकेको पुष्ट फललाइ रुखबाटै टिपेर त्यसको बीउ सङ्घलन गर्नु पर्दछ । आफै झरेको बेलको बीउको उम्रने क्षमता हराएर जान्छ ।

रस : कषाय, तिक्त
गुण : लघु, रुक्ष
वीर्य : उष्ण
विपाक : कटु
दोषकर्म : कफवातशामक

बोझो

नेपाली नाम : बोझो
संस्कृत नाम : बच, उग्रगन्धा, शतपर्णिका, बोधनीया, भद्रा, मङ्गल्या
अंग्रेजी नाम : Sweet flag/Sweet sage
वैज्ञानिक नाम : Acorus calamus L. (एकोसर क्यालामस)
वानस्पतिक परिवार : Araceae (एरेसि)
अन्य भाषाका नाम : छोटा (गुरुङ्ग), वच (थारु), सापी (नेवारी), सेते (तामाङ्ग), बोझो (सतार), रकालोप (लेप्चा), लुप्लाक (लिम्बु), छुर्चा (शेर्पा), बच या घोडाबच (हिन्दी), बच (बंगाली), गन्धिलो वज (गुजराती), अगरेतुर्की (फारसी), बच (उर्दू) ।

परिचय :
बोझो करिब १ मिटरसम्म अग्लो हुने झार वर्गको सुगन्धित बहुवर्षिय वनस्पति हो । २ से.मि. सम्म मोटो र करिब १ मिटरसम्म लामो जमिनमुनि फैलने जोर्नो र झुसयुक्त सुगन्धित जरा हुन्छ । यसै जराबाट लामा र भालाकार पात पलाउँछ । फूल वैशाख–जेठमा फुल्दछ र फल साउन–भदौमा फल्दछ ।

प्रयोग अङ्ग :
जमिनमुनिको जरा ।

औषधीय प्रयोग :
छारेरोग (मृगी), हिस्टेरिया एवं अन्य मानसिक रोगमा फाइदा पुर्‍याउँनुका साथै मस्तिष्कलाई श्रेष्ठ पोषण दिन्छ । स्वर बसेकोमा फाइदा पुर्‍याउँनुका साथै सुरिलो स्वर बनाउन मद्दत गर्दछ । गायकहरुको लागि यो महत्वपूर्ण वनस्पति हो । दाँत दुखेको एवं अन्य मुखरोगमा फाइदा गर्दछ । बोझोको चूर्ण दूधसँग नियमित खानाले मस्तिष्कलाई उत्तम पोषण प्रदान गर्दछ । मृगी (छारेरोग), अपस्मार, हिस्टरिया, उदासीनता, उन्माद, अनिद्रा, स्मृतिनाश आदि रोगमा यसले चमत्करिक फाइदा गर्दछ । यो कफ निस्सारक, मृदु विरेचक, शान्तिदायक, ज्वरनाशक, मस्तिष्क पोषक, ऋतुस्राव नियामक आदि गुणयुक्त छ । श्वेतकुष्ठ (दूवी) मा लेप लगाउनाले फाइदा पुर्‍याउँछ । अर्धाङ्ग र सुन्न बाथमा फाइदा पुर्‍याउँछ । आयुर्वेदमा स्मरण शक्ति बढाउने र ज्ञान तन्तुलाई स्वस्थ बनाउने तीन श्रेष्ठ औषधिमा प्रथम घोडताप्रे (ब्राहाी), दोस्रो शंखपुष्पी हो भने तेस्रोमा बोझो पर्दछ ।

मात्रा :
चूर्ण (सुकेको जराको धूलो) १–२ ग्राम
टुक्रा (मुखमा राखेर चुस्न) १–२ ग्राम

तयारी औषधि :
सारस्वत चूर्ण, अश्वगन्धारिष्ट, योगराज, गुग्गुल, सञ्जिवनी वटी, चन्द्रप्रभावटी, उन्मादगजकेशरी रस, महाशङ्कवटी, बचाचूर्ण ।

खेती :
बिरुवाको जीवित जरा (कन्द या काण्ड) लाई सङ्घलन गरेपछि बेच्न मिल्ने ठूला जरा बेच्ने र साना एवं टुप्पाका भागहरु जसमा आँख्लैपिच्छे टुसा हुन्छन् , त्यसलाई रोप्नु पर्दछ । बिरुवा चैत्र–वैशाखमा रोप्नु राम्रो हुन्छ । पानी प्रशस्त चाहिन्छ । अत : रोपिएका बिरुवामा पानी जमेर हानि हुँदैन, सुख्खा भएमा हानि हुन्छ । बिरुवा बढ्दै जाँदा पानीको सतह पनि बढाउँदै जानु पर्दछ ।

रस : कषाय, तिक्त
गुण : लघु , तीक्ष्ण
वीर्य : उष्ण
विपाक : कटु
दोषकर्म : कफवातशामक

भृङ्गराज

नेपाली नाम : भृङ्गराज, भङ्गेरी झार, आली झार, भाङ्गेझार
संस्कृत नाम : भृङ्गराज, केशरञ्ञन, कुन्तलबर्धन, भेकराज
अंग्रेजी नाम : Eclipta/False daisy
वैज्ञानिक नाम : Eclipta prostrate L. (इक्लिप्टा प्रोस्ट्राटा)
वानस्पतिक परिवार : Compositae (कम्पोजेटी)
अन्य भाषाका नाम : भिरिम्गे (गुरुङ्ग), भाङ्ग्रा (थारु), चरीझार (चेपाङ्ग), अन्तली (नेवारी), भिरिम्गे (मुसहर), खेतकेशरी (सतार), बेभुर्न (दराई), भाङ्गारिया (दनुवार), भगिरा (हिन्दी), केशराज (बंगाली), भांगरो (गुजराती), लालकेसरी (संथाल), टिक (सिन्धी), भांगरा (उर्दू), गलागरा (तेलगू) ।

परिचय :
भृङ्गराज १५–५५ से.मि. सम्म अग्लो हुने झार वर्गको एकवर्षीय वनस्पति हो । काण्ड झुसयुक्त हल्का कालो रङ्गको प्राय : थुप्रै हाँगाबिङ्गा भएको हुन्छ । पात भेट्नो नभएको ४–५ से.मि. लामो भालाकार हुन्छ । वर्षभरिनै फुल्ने स्वभावको यो वानस्पतिको फूल सेतो हुन्छ । पहेँलो फुल्ने भृङ्गराज पनि पाइन्छ । एउटामात्र बीउ भएको चेप्टो फल फल्दछ ।
प्रयोग अङ्ग :
पूरै बिरुवा (पञ्चाङ्ग)

औषधीय प्रयोग :
कमलपित्त र अन्य कलेजोको रोगमा फाइदा पुर्‍याउँछ । नयाँ या पुराना घाउ साथै अन्य छालाका रोगका रोगमा यसको रस या लेपले चमत्कारिक फाइदा पुर्‍याउँछ । टाउकोको रौँलाई स्वस्थ बनाउन यो श्रेष्ठ वनस्पति हो । रौँ स्वस्थ, कालो, चम्किलो र लामो बनाउँछ । झर्न, सुख्खा हुन र फुल्न दिँदैन । फियो बढेमा या फियोले ठीक काम गर्न नसकेमा यसले फाइदा पुर्‍याउँछ । भृङ्गराज, अमला, मेहन्दीको पात सुकाएर बराबर तौल मिलाई मसिनो चूर्ण बन्ने गरी पिस्ने । यो चूर्ण २ घण्टा पानीमा भिजाएर लेदो बनाई कपालमा लेप गर्ने र १ घण्टापछि नुहाउनाले कपाल सम्पूर्ण रुपमा स्वस्थ र सुन्दर हुन्छ । भृङ्गराज र अमला समान भाग मिलाएर हप्तामा २ पटक यस्तो लेप गर्‍यौं भने असमयमा कपाल फुल्ने, झर्ने, रुखो हुने एवं अन्य केशरोग हुँदैन । आयुर्वेदमा पुनर्यौवनका लागि भृङ्गराज कल्प गर्ने वैज्ञानिक परम्परा पनि पाइन्छ । समग्रमा भन्दा भृङ्गराज भन्दा भृङ्गराज राजबुटी समूह मै पर्दछ ।

मात्रा :
चूर्ण (सुकाएर बनाएको धूलो) २–६ ग्राम
स्वरस (ताजा रस) ५–१५ मि.लि.
लेप (बाहिरी प्रयोग) आवश्यकता अनुसार

तयारी औषधि :
षड्बिन्दु तेल, भृङ्गराज तेल, महाभृङ्गराज तेल, जेष्ठलवङ्गादि चूर्ण

खेती :
नेपालमा यसको खेती भर्खर सुरु भएको छ । यसको बीउको उम्रने क्षमता राम्रो हुने हुनाले बीउबाटै बिरुवा उत्पादन गर्ने राम्रो तरिका हो । पाकेका पुष्ट बीउलाई सङ्कलन गरी चैत्र–वैशाख महिनामा व्याडमा छरेर बिरुवा उत्पादन गर्नुपर्दछ । बिरुवा चिस्यान भएको माटोमा रोप्नु पर्दछ । यसको बजार राम्रो भए पनि जताततै उम्रने हुनाले धेरैले चासो यसमा देखिन्न ।

रस : कटु , तिक्त
गुण : लघु , रुक्ष
वीर्य : उष्ण
विपाक : कटु
दोषकर्म : कफवातशामक

राजवृक्ष

नेपाली नाम : अमलतास, राजवृक्ष
संस्कृत नाम : हेमपुष्प, दीर्घफल, नृपद्रुम:, आरग्वध :
अंग्रेजी नाम : India Lanurnum/Purging cassia
वैज्ञानिक नाम : Cassia fistula- L. (क्यास्सिया फिस्टुला)
वानस्पतिक परिवार : Leguminosae (लेग्यूमिनेसी)
अन्य भाषाका नाम : अमलतास (थारु), राजवृक्ष (नेवारी), राजवृक्ष (मगर), राजवृक्ष (राई), अर्घो (दनुवार), वृक्ष (चेपाङ्ग), अमलतास/धनबहेडा (हिन्दी), करमाडो (मारवाडी), गरमाङ्घो (गुजराती), बाहबोह (मराठी), सोनालृ (बंगाली) ।

परिचय :
राजवृक्ष ५ देखि १० मिटरसम्म अग्लो हुने मझौला खालको पतझड वनस्पति हो । बोक्रा हरियो–खैरो रङ्गको हुन्छ । पात ३४–३५ से.मि. जति लामा ६ देखि १२ पत्रहरु भएको संयुक्त हुन्छ । फूल लामा–लामा झुप्पामा उज्यालो पहेँलो रङ्गको रुखै ढाक्ने गरी फुल्दछ । फल ३०–६० से.मि. जति लामा २–३ से.मि. गोलाईका साह्रो बोक्रा भएको बेलनाकार हुन्छन् । फलभित्र कालो गुदि र करिब ८०–१०० सम्म गोला चक्का जस्ता बीउ हुन्छन् ।

प्रयोग अङ्ग :
फलभित्रको कालो गुदि (फलमज्जा)

औषधीय प्रयोग :
कमलपित्त एवं कलेजोमा अन्य रोगहरु र अरुचि, अपच, अजीर्ण, कब्ज, अम्लपित्त, वायुगोला एवं अन्य पेटरोगमा फाइदा गर्दछ । यसको पञ्चाङ्ग (जरा, फल, फूल र पात) पानीमा पिसेर दाद, चिलाउने, सुख्खापन र सबै प्रकारका छालाका रोगमा लगाउँदा तत्काल फाइदा पुर्‍याउँछ । राजवृक्षको गुदि र इमलीको गुदिलाई समान भाग पानीमा भिजाउने । पानीमा मलेर छानी सर्वतजस्तो बनाई सुत्ने बेलामा पिउनाले बिहान दिशा सफा हुन्छ साथै आन्द्रा स्वस्थ हुन्छ । दाद, कुष्ठ एवं छालाका रोगमा यसको पात सिरकासँग पिसेर लेप गर्नाले फाइदा गर्दछ । वाथका रोगीले यसको पातलाई आगोमा सेकाएर प्रभाव क्षेत्रमा सेक्नाले या पात पिसेर लेप बनाई तताएर सहनक्ने तातो लेप गर्नाले फाइदा गर्दछ ।

मात्रा :
फलको गुदि (बीउ होइन फलमज्जा) ५–२० ग्राम
सर्वत (गुदि ४–५ घण्टा भिजाएर बनाएको) ५० मि.लि.

तयारी औषधि :
महामरिच्यादि चूर्ण , रास्नादि क्वाथ, अमलतासादि तैल, अमलतासादि अवलेह, अमलतासादि अरिष्ट, माजूम अमलतास ।

खेती :
यसको बीउको उम्रने क्षमता राम्रो भएको हुनाले बिउबाटै बिरुवा बनाउनु राम्रो हुन्छ । १०–१५ वर्ष पुरानो बिउ पनि राम्रो भण्डार गरिएको छ भने सजिलै उम्रिन्छ । लौरीजस्तो देखिने लामो फल जब बोटमा खैरो रङ्गको हुँदै जान्छ तब छिप्पिएको मानिन्छ । यस्तो पुष्ट र छिप्पिएको फल टिपेर बीज सङ्कलन गर्नु पर्दछ । चैत्र–वैशाखमा नर्सरीमा बीउ रोपेर तैयार पारेको बिरुवा वर्षातमा रोप्न सकिन्छ । बीउ सिधै तयारी जमिनमा रोप्न पनि सकिन्छ ।

रस : मधुर
गुण : गुरु, मृदु , स्निग्ध
वीर्य : शीत
विपाक : मधुर
दोषकर्म : वातपित्तशामक/कफपित्तशामक

सर्पगन्धा

नेपाली नाम : सर्पगन्धा, चाँदमारी, चाँदमरुवा, फूल्चिसो
संस्कृत नाम : सर्पगन्धा, चन्द्रमार
अंग्रेजी नाम : Serpentwood/Serpentine
वैज्ञानिक नाम : CRauvolfia Serpentian-L.-Benth.ex-kurz. (रावल्फिया सर्पेन्टीना)
वानस्पतिक परिवार : Apocynaceae (एपोसाईनेसी)
अन्य भाषाका नाम : गड (सतार), च्याराङ्ग्रो (चेपाङ्ग), दलदलिया/बारुवा (थारु), सर्पगन्धा (हिन्दी) ।

परिचय :
सर्पगन्धा ६०–९० से.मि. सम्म अग्लो हुने झाडिदार सदाबहार वनस्पति हो । काण्ड फुस्रो र काठ सेतो हुन्छ । मूल जरो सोझै गहिरो जान्छ र मसिना सहायक जरा जताततै फैलिएका हुन्छन् । पाकत भेट्ने भएको पछाडि फिक्का हरियो र अगाडि गाँढा हरियो हुन्छ । फूल जेठदेखि असोजसम्म सेता या राता गुच्छामा फुल्दछन् । फल साउनदेखि मंसिरसम्म काँचोमा हरियो, छिप्पिँदा रातो र पाकेपछि कालो रङ्गको केराउ जन्नै सानो र गोलाकार हुन्छन् ।

प्रयोग अङ्ग :
जरा

औषधीय प्रयोग :
उच्च रक्तचापलाई घटाउँछ । निद्रालाई बढाउँछ । मानसिक उत्तेजनालाई घटाउँछ । चिन्ता, तनाव, विक्षिप्तता र अन्य मनोरोगमा उपयोगी छ । शारीरिक र मानसिक उत्तेजनालाई घटाई शान्ति पैदा गर्न यो उत्तम वनस्पति हो । तर योगसाधना श्रेष्ठ बाटो हो । सर्पगन्धाले शिथिलता ल्याई शान्ति पैदा गर्दछ तर योगसाधनाले चेतना या होस ल्याई शान्ति पैदा गर्दछ । उच्चरक्तचाप, मानसिक रोग आदिलाई घटाउन र निद्रालाई बढाउन यो वनस्पति श्रेष्ठ भए पनि लामो समय लगातार प्रयोग गर्नु राम्रो होइन । योगाशन, प्राणायाम, ध्यानजस्ता योग साधना सबैभन्दा राम्रो समग्र स्वास्थ्य, शान्ति र चेतना अनुभूति गर्ने मार्ग हो ।

मात्रा :
चूर्ण (उच्च रक्तचापमा) १–३ ग्राम
चूर्ण (निद्रा लगाउन) ४–६ ग्राम
चूर्ण (सामान्य प्रयोग) ०.१–१ ग्राम

तयारी औषधि :
सर्पगन्धाचूर्ण, सर्पगन्धा घनवटी, सर्पगन्धा योग

खेती :
यसको बिरुवा प्रमुखत : तीन प्रकारले उत्पादन गर्न सकिन्छ । बीउबाट, तन्तु प्रसारण विधिबाट र जरा तथा काण्डको कलमी (कटिङ्ग विधि) बाट । यसको फल भदौबाट फागुनसम्म सङ्घलन गरिन्छ र जेठ महिनामा व्याडमा लगाइन्छ । उम्रेका बिरुवाको ५–६ वटा पात पलाएपछि तैयार जमिनमा रोप्न सकिन्छ । जेठदेखि असारसम्ममा जरालाई ४–५ से.मि. को टुक्रामा काटी जमिनमा रोप्नु पर्दछ । यसबाट टुसा पलाई राम्रो बिरुवा उत्पादन हुन्छ । कम्तीमा तीन आँख्ला भएको काण्डलाई व्याडमा जमाई बिरुवा तैयार गर्न सकिन्छ ।

रस : तित्त
गुण : रुक्ष
वीर्य : उष्ण
विपाक : कटु
दोषकर्म : कफवातशामक

हर्रो

नेपाली नाम : हर्रो
संस्कृत नाम : हरितकी, पथ्या, अभया
अंग्रेजी नाम : Chebula myrobalan
वैज्ञानिक नाम : Terminalia chebula-Retz. (टर्मिनालिया चेबुला)
वानस्पतिक परिवार : Combretaceae (कम्ब्रेटेसी)
अन्य भाषाका नाम : हराई (थारु), हल (नेवारी), लिइसी (चेपाङ्ग), अरुभरेलु (शेर्पा), तोपसिङ्ग (मगर)

परिचय :
हर्रो २५–२६ मिटरसम्म अग्लो मध्यम आकारको पतझड वनस्पति हो । बोक्रा कालो/खैरो रङ्गको तलदेखि माथिसम्म सीधा चिरा परेको हुन्छ । पातमा डाठ हुन्छ । पातहरु एक–आपसमा विपरीत दिशामा रहेका हुन्छन् । फूल चैत्रदेखि असारसम्म सानो, फिक्का पहेँलो झुप्पामा फुल्दछन् । फल साउनदेखि असोजसम्म फल्दछ र चैत्रसम्म पाक्दछ ।

प्रयोग अङ्ग :
फल (छिप्पिएकोलाई हर्रो भनिन्छ भने कलिलै टिपी सुकाएकोलाई जङ्गी हर्रो भनिन्छ ।)

औषधीय प्रयोग :
ऋतुअनुसार अगल–अगल अनुपात मिलाई नियमित खानुलाई कल्प भनिन्छ । यसरी खानु श्रेष्ठ रसायन हो , जसले स्वस्थकर दीर्घजीवन दिन्छ । वर्षा ऋतुमा साथ र ग्रीष्म ऋतुमा गुडको साथ खानु पर्दछ । अन्य एक प्रयोगमा लेखिएको छ–नूनसँग हर्रो खानाले कफद्धारा उत्पन रोगमा, खाँड (बूरा) सँग खानाले पित्तद्धारा उत्पन्न रोगमा घीउसँग खानाले वायुद्धारा रोगमा फाईदा गर्दछ भने गुडसँग खानाले सबै रोगलाई फाइदा गर्दछ । प्राचीन ग्रन्थमा लेखिएको छ–हर्रो मानिसका लागि आमासमान हितकारी छ । आनै आमा बरु कहिलेकहिँ रिसाउलिन् तर पेटमा गएको हर्रो कहिल्यै पनि कुपित हुँदैन । जसको घरमा आफूलाई रक्षा गर्ने आमा छैनन् उसले हर्रोलाई आनी आमा सम्झनु पर्दछ । यसैले बुझिन्छ कि हर्रो कति लाभदायक छ । हर्रो गोगवाही, रसायन, अग्निदीपक, लघु , विरेचक, बुद्धिवद्र्धक, लेखन, वातानुलोमक, हदयलाई बदलिने, नेत्रज्योतिवद्र्धक, स्मृतिकारक, आयु–स्थापक, बलबद्र्धक, कुष्ठनाशक, ज्वरनाशक आदि सयौं गुण युक्त छ ।

मात्रा :
सुकेको फलको धूलो ४–६ ग्राम
कल्प (लामो समयका लागि) २–४ ग्राम

तयारी औषधि :
त्रिफला चूर्ण, पथ्यादि चूर्ण, चित्रक हरितकी, अभयारिष्ट, पञ्चसकार चूर्ण, भुवनेश्वर चूर्ण

खेती :
माघ–फागुनसम्ममा फल सङ्कलन गरिन्छ । फललाई ५–६ घण्टा चिसो पानीमा भिजाएर चिस्यान भएको व्याडमा रोप्नु पर्दछ । बीउ उम्रेको १ वर्षपछि १८–२० हातको फरकमा बिरुवा सार्नु पर्दछ । यसको एक वर्षभन्दा पुराना औँला आकारका कम्तीमा तीन आँख्ला भएका हाँगालाई काटेर माघ महिनामा व्याडमा जमाउनु पर्दछ । यसरी पनि राम्रा बिरुवा प्राप्त गर्न सकिन्छ ।

रस : कषाय प्रधान (लवनबाहेक पाँचै रस
गुण : लघु , रुक्ष
वीर्य : उष्ण
विपाक : मधुर
दोषकर्म : त्रिदोषनाशक

अडिर

परिचय
यसको १०–२० मि.लि. फिट अग्लो बोट हुन्छ ।
पात– पातहरुठूला–ठूला पज्ञाझैं फिँजिएका दन्तुर भएका ५–१० खण्डमा विभाजित हुन्छन् ।
भेट्नो– भेट्नो १ फुटसम्म लामो हुन्छ ।
फल– फल झुप्पामा फल्छ र गोला धेरै काँडाहरु हुन्छन् । प्रत्येक फलभित्र तीनवटा बीउहरु हुन्छन् ।

प्रयोग अङ्ग
पत्र, बीउको तेल, जरा ।

उपयोग
आमवात, शरीर दुख्ने, सुत्रिनेमा उपयोगी छ ।

मात्रा
शुद्ध तेल ५–१० मि.लि.
मूलचूर्ण –३–५ ग्राम
मालिस गर्न र सेक्नका लागि आवश्यकताअनुसार ।

अनार

परिचय
यसको मझौला खालको रुख हुन्छ ।
पात– सानो, लाम्चो र चम्किलो हरियो वर्णको हुन्छ ।
फूल– रातो वर्णको हुन्छ ।
फल– गोलाकार सूक्ष्म रुपमा ७ पाटा (खण्ड) परेको हुन्छ । फल बोक्रा, छालाजस्तो चाम्रो हुन्छ र यसभित्र दन्ताकार रसिला पङ्किबद्ध दाना हुन्छन् । रसमा पाइने स्वादका आधारमा गुलियो रस भएकालाई अनार र अमिलो रस भएकालाई दाडिम भनिन्छ ।

प्रयोग अङ्ग
फल, फलको बोक्रा ।

उपयोग
फलरस– वीर्यवर्धक, हदयलाई हितकारी ।
बोक्राको चूर्ण– झाडा–पखाला र रक्तातिसारामा उपयोगी हुनाका साथै पेटमा जूका परेको अवस्थामा पनि उपयोगी छ । प्यासनाशक पनि छ ।

मात्रा
प्यास लागेमा फलस्वरुप – १०० – ५०० मि.लि. –२ पटक ।
फल बोक्रा चूर्ण –३ ग्राम ३ पटक महसँग ।
झाडापखाला लागेमा ३ ग्राम दहीसँग ४ पटक ।

अपामार्ग

परिचय
यसलाई दत्तिवन पनि भनिन्छ । यो पहाड–तराई हरेक ठाउँमा झारजस्तो गरी उम्रेको हुन्छ ।
पात – गोला अण्डाकार केही झुसिला हुन्छन् ।
फूल – लोमो सुइरो भएको मज्ञरीयुक्त काँडेदार फूल लागेको हुन्छ ।

प्रयोग अङ्ग
पज्ञाङ्ग (पूरै बिरुवा) । पज्ञाङ्गलाई जलाएर क्षार पनि तयार गरिन्छ ।

उपयोग
खाएको पचाउने, दम खोकी, घाउखटिरा, पत्थरी तथा सर्प, बिच्छी, बौलाहा कुकुर, मुसो आदिको विष नाश गर्नका लागि समेत उपयोगी छ । दाँत सफा गर्नलाई पनि उपयोगी छ ।

मात्रा
मूल स्वरस – आधा देखि १ तोला – दुई पटक ।
क्षार – ४०० मि.ग्रा. – ८०० मि.ग्रा. बिहान–बेलुकी ।